बिहीबार, वैशाख १३, २०८१

कारबाहीको फाइल दराजमा थन्क्याएर डा. पुकारचन्द्रलाई पुनः नियुक्ति

तर आफूलाई कारबाही सिफारिस गरिएको फाइल हालसम्म पनि गुपचुप बनाउन डा. श्रेष्ठले ठूलो राजनीतिक शक्ति प्रयोग गरेका थिए।
 |  शुक्रबार, असोज ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ८, २०७८

काठमाडौं- विवादित डा. पुकारचन्द्र श्रेष्ठ सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अंग प्रत्यारोपण केन्द्र)को कार्यकारी निर्देशकमा पुनः नियुक्त भएका छन्। मंगलबारको मन्त्रिपरिषद् बैठकले डा श्रेष्ठलाई केन्द्रको निर्देशकमा पुनः नियुक्त गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट डा. श्रेष्ठले बिहीबार नियुक्तिपत्रसमेत बुझिसकेका छन्।

triton college

डा श्रेष्ठ यसअघि पनि उक्त केन्द्रमा कार्यकारी निर्देशक भइसकेका व्यक्ति हुन्। पटकपटक विवादमा आएका उनलाई नेकपा माओवादी केन्द्रको सिफारिसमा केन्द्रको कार्यकारी निर्देशकमा पुनः नियुक्त गरिएको हो। निवर्तमान केपी ओली सरकारले डा. श्रेष्ठलाई हटाएर डा प्रेम ज्ञवालीलाई कार्यकारी निर्देशक तोकेको थियो। तर देउवा सरकारले भने डा श्रेष्ठलाई नियुक्त गर्न नीतिगत व्यवस्था नै परिवर्तन गरेको छ। 

स्वास्थ्य व्यवसायी डा. श्रेष्ठ ललितपुरस्थित निदान अस्पतालका सञ्चालक हुन्। यसअघि पनि केन्द्रमा कार्यकारी निर्देशक भएका बेला आफ्नै अस्पतालमा बिरामीलाई सिफारिस गर्न चलखेल गरेकोलगायतका आरोप बारम्बार उनीमाथि लाग्दै आएका छन्। 

मानव अंग तस्करीमा संलग्नता! 

२०७६ साल असोज २९ गते निदान अस्पतालका प्रमुख रहेका डा. पुकारको अस्पताल निदानका ३ जना उच्च पदस्थ अधिकारीसहित ५ जनालाई पक्राउ गरेको थियो। पक्राउ गर्नुको कारण थियो- आपसी मिलेमतोमा गरिएको मिर्गौला तस्करी। कुनै नाता सम्बन्ध नै नपर्ने व्यक्तिलाई भान्जा बनाएर एक बिरामीलाई मिर्गौला प्रत्यारोपण गरिदिएको आरोप उनीहरूमाथि लागेको थियो। यसमा डा श्रेष्ठको संलग्नता भएको आरोप लागेको थियो। 

corrent noodles
Metro Mart

असोज २९ गते पक्राउ पर्नेमा थिए पुकारकै अस्पताल निदानका सिईओ विपेन्द्र प्रधान, चिकित्सक डा राजेश पन्त, कानुनी सल्लाहकार कुमुद भट्टराई थिए। यसैगरी, जिल्ला प्रशासन कार्यालयमा अधिकृत रहेका रामचन्द्र आले र मिर्गौला दाता शंकरलाल लामा थिए। लामा मिर्गौला ग्रहणकर्ता हुन् भने आलेले जिल्ला प्रशासनमा रहेका मिर्गौला 'तस्करी'मा प्रशासनिक रूपमा सघाएको आरोप लागेको थियो। उनीहरूलाई जिल्ला अदालत ललिपुरले पुर्पक्षका लागि जेल चलान गरेको थियो। 

सञ्जीव घिसिङ शंकरलाल लामाको भान्जा भएको भनी सेटिङमा नक्कली प्रमाणीकरण गरी शंकरलालको मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपणका लागि खडा गरिएका कागजातमा फोटो हेरफेर गरी चलखेल भएको थियो। 

यस विषयमा मानव बेचबिखन ब्युरोले अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा डा श्रेष्ठको संलग्नता भएको आरोप लागेको थियो। घिसिङले डा श्रेष्ठको संलग्नता भएको बयान दिएका थिए। तर शक्तिकेन्द्रलाई रिझाएर आफूमाथि लागेका आरोप दबाउन डा श्रेष्ठ सफल भएका थिए। उनको अस्पतालबाट पक्राउ परेका तीनै जना पुर्पक्षका लागि थुनामा पठाइएको थियो। 

कारबाही सिफारिसको फाइल दराजमा थन्क्याएर पुनः नियुक्ति

यसअघि प्रत्यारोपण केन्द्रमा कार्यकारी निर्देशक भएका बेला २०७४ पुसमा केन्द्रस्थित डा श्रेष्ठ प्रशासनले मनोमानी गरेको भन्दै त्यहाँ कार्यरत नर्सहरूले आन्दोलन चर्काएका थिए। उक्त आन्दोलन दबाउन डा श्रेष्ठले अनेक भूमिका खेलेका थिए। कतिपय नर्सहरूलाई धम्क्याएको समेत आरोप उनीमाथि छ। 

आन्दोलन थमथम्याउन राजनीति दलको शरण पर्नेदेखि कर्मचारीहरूलाई प्रलोभनमा पार्नेसम्मका काममा उनको व्यस्तता बढेको थियो। 

कर्मचारी भर्ना प्रक्रियामा मनोमानी गरेको, कार्यरत कर्मचारीलाई मनोमानी रुपमा अवकाश थमाएको लगायतका आरोप लगाएर डा श्रेष्ठविरुद्ध कर्मचारी आन्दोलनमा उत्रिएपछि मन्त्रालका चिकित्सा महाशाखा प्रमुख डा भोलाराम श्रेष्ठको नेतृत्वमा छानबिन समिति बनेको थियो। उक्त समितिले अध्ययन गरी डा श्रेष्ठलाई कारबाही सिफारिस गर्दै तत्कालीन स्वास्थ्य सचिव डा पुष्पा चौधरीलाई प्रतिवेदन बुझाएको थियो।

तर आफूलाई कारबाही सिफारिस गरिएको फाइल हालसम्म पनि गुपचुप बनाउन डा श्रेष्ठले ठूलो राजनीतिक शक्ति प्रयोग गरेका थिए। कारबाही सिफारिस भएको प्रतिवदेन गुपचुप राखेर पटकपटक विवादमा तानिएका र कारबाही सिफारिस भएका डा. श्रेष्ठलाई पुनः उही केन्द्रको प्रमुखको उपहार दिएको हो। 

गायिका आनीको नाम भजाएर व्यापार 

डा पुकार उनै हुन्, जसले गायिका आनी छोइङ डोल्माको नाम भजाएर व्यापारसमेत गर्दै आएका छन्। आनीले आरोग्य फाउन्डेसन खोलेकी छन्। उक्त फाउन्डेसनको महासचिवमा डा श्रेष्ठ आफैँ बसेका छन्। आरोग्य फाउन्डेसन र निदान अस्पताल एकै भवनमा छन्। 

मिर्गौलाका बिरामीलाई डाइलाइसिस सेवा दिन र प्रत्यारोपणअघि गर्नुपर्ने एचएलए-लगायतका विभिन्न जाँचमा सहयोग गर्नेलगायत फाउन्डेसनको उद्देश्य छ। फाउन्डेसनले एचएलए, डाइलाइसिस र ल्याब सेवा प्रदान गर्दै आएको छ। निदान अस्पतालले फाउन्डेसनको ल्याबलाई नै प्रयोग गरेपछि फाउन्डेसन पनि डा. श्रेष्ठसँग रुष्ट भएको सार्वजनिक भएको थियो। फाउन्डेसनको ल्याब प्रयोग गरे पनि निदानले रकम उठाएपछि फाउन्डेसन निदान सञ्चालक डा श्रेष्ठसँग रुष्ट भएको थियो। 

फाउन्डेसनमा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसमेत सदस्य छन्।  उनीहरूले समेत फाउन्डेसनका नाममा व्यापार भएको भन्दै असन्तुष्टि व्यक्त गरेको बताइएको छ। फाउन्डेसनमा संयुक्त राष्ट्र संघमा सहायक महासचिव भइसकेका कुलचन्द्र गौतम उपाध्यक्ष छन्। यस्तै डा श्रेष्ठकी पत्नी नवीना पनि फाउन्डेसनकी सदस्य हुन्। 

अनियमितताका शृंखलैशृंखला

डा श्रेष्ठ केन्द्रको कार्यकारी निर्देशक रहेका बेला उपकरण खरिदमा अनियमितता भएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले उल्लेख गरेको थियो। केन्द्रमा उनी निर्देशक रहेका बेला करिब १४ करोड रुपैयाँ अनियमितता भएको उल्लेख गरेको छ। 

यसका साथै महालेखाले आफूलाई बढी अनुकुल हुने र कमिसन आउने खालका उपकरण खरिदमा अनावश्यक चासो दिने र कतिपयस अवस्थामा हस्तक्षेप समेत गर्ने समेत उल्लेख गरेको छ। 

केन्द्रमा प्रमुख भएका बेला डा श्रेष्ठले पटकपटक सार्वजनिक खरिद ऐन र नियमावलीका व्यवस्था उल्लंघन गरी सामग्री खरिद गरेको आरोप लगेको छ। तोकिएबमोजिमको ढाँचामा लागत अनुमान तयार गरी खरिदका लागि बोलपत्र आह्वान गर्नुपर्नेमा त्यसको पालना नगरी पटकपटक खरिद गरिएको उल्लेख गरिएको छ।

खरिद सम्झौता नभएको समेत भुक्तानी भएको र लागत अनुमानभन्दा बढी भुक्तानी भएको समेत उल्लेख गरिएको छ। यसअघि नै केन्द्रको कार्यकारी निर्देशक भएर विवादित बनेका श्रेष्ठ अझै कति विवादित हुने हुन् भन्ने उनको कार्यशैलीले देखाउनेछ। 

प्रकाशित: Sep 24, 2021| 06:20 शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्