शनिबार, वैशाख ८, २०८१

गायक प्रमोद खरेलसँग क्रिकेट वार्ता

गायक नभएको भए अलराउन्डर क्रिकेटर हुन्थें होला।
 |  आइतबार, असोज ११, २०७७

विनय सापकोटा

विनय सापकोटा

आइतबार, असोज ११, २०७७

कोरोना महामारीका बाबजुद विश्वमा छिटफुट रुपमा खेलकुद प्रतियाेगिता चलिरहेका छन्। युनाइटेड अरब इमिरेट्स (यूएईमा) इन्डियन प्रिमियर लिग (आईपीएल) जारी छ।

triton college

नेपालमा पनि निकै हेरिन्छ आईपीएल। त्यसो त क्रिकेट क्रेजीको संख्या ठूलै छ नेपालमा। यस्तैमा पर्छन्, गायक प्रमोद खरेल पनि। सामाजिक सञ्जालमा पनि उनी क्रिकेटलगायत खेलकुदबारे लेखिरहन्छन्।

धनगढी प्रिमियर लिग (डीपीएल)का ब्रान्ड एम्बेसडरसमेत रहिसकेका गायक खरेललाई नेपाल समयका विनय ज्योति सापकोटाले क्रिकेटका ३० प्रश्न सोधेका छन्ः

क्रिकेटमा निकै रुची राख्नुहुन्छ। कुनै विशेष कारण छ ?

रुचीको त कारण हुँदैन, सेल्फ मोटिभेटका लागि हो। स्पोर्टस् पहिल्यैदेखि मन पराउँथेँ।

corrent noodles
Metro Mart

हेर्नेमात्रै हो कि कहिलेकाहीँ खेल्नु पनि हुन्छ ?

पहिला हल्लकाफुल्का खेल्थेँ, व्यावसायिक रुपमा भने होइन। धेरै चाहिँ हेर्ने र गफ गर्ने, विश्लेषण गर्ने नै हो।

क्रिकेटमै बढी रुची कसरी जाग्यो ?

झापालगायत पूर्वतिर खेलको प्रभाव धेरै नै छ। फुटबलको त उर्वर भूमि नै हो झापा। त्यसैले पनि हो कि ! अनि तराईका भागमा क्रिकेट पनि धेरै खेलिन्छ। भारतीय र पाकिस्तानी क्रिकेट वातावरणको प्रभाव पनि होला।

आईपीएल चलिरहेको छ। कुन टिमलाई सपोर्ट गर्दै हुनुहुन्छ ? 

सुरु भएदेखि नै मुम्बई इन्डियन्सलाई समर्थन हो। पहिलो सचिन तेन्दुलकर मन पर्थ्यो। सचिनपछि अहिलेका खेलाडीमा रोहित शर्मा मन पर्छ। उनीहरु मुम्बईमा भएकाले सपोर्ट मुम्बईलाई नै।

द हन्ड्रेड, टी–टेन जस्ता नयाँ विधा आउँदैछन्, यसबाट कत्तिको उत्साहित हुनुहुन्छ ?

हेरौं, त्यसको प्रभाव कत्तिको पर्छ। त्यसमै भर पर्छ।

गायक नभएको भए क्रिकेटर हुनुहुन्थ्यो होला ? भएको भए बलर, ब्याट्सम्यान के हुनुहुन्थ्यो ?

स्पेसल बलर हुन्थेँ होला। स्पेसल ब्याट्सम्यान पनि हुन सक्थेँ। सायद अलराउन्डर हुन्थेँ कि !

गाउन छोडेर खेल्न थालौं जस्तो लाग्दैन कहिलेकाहीँ ?

भ्याइन्न नि, कहिलेकाहीँ फ्रेन्डली म्याच चाहिँ खेल्छु।

तपाईंको आदर्श क्रिकेटर को हो ?

सचिन तेन्दुलकर

मन पर्ने खेलाडी (नेपाली) सँग कत्तिको भेट हुन्छ ? भेट्दा के गर्नुहुन्छ ?

भेट भइरहन्छ। क्रिकेटको गीत गाउँदा, सपोर्ट, अवार्डका कार्यक्रम हुँदा पनि भेट हुन्छ। भेट्दा क्रिकेटबारे साधारण गफ हुन्छ।

खेल हेर्न रंगशालामा कत्तिको पुग्नुहुन्छ ?

मैदानमा पुगिरहन्छु। कीर्तिपुरमा, धनगढीमा क्रिकेट हेरेको छु।

घरमा क्रिकेटको माहोल कस्तो छ ? अरु पनि क्रिकेट क्रेजी हुनुहुन्छ परिवारमा ?

छैन। ममात्र हो।

मन पर्ने खेलाडी (विदेशी) एक जनासँग भेट्न पाउने हुनुभयो भने कसलाई भेट्नुहुन्छ ?

रिकी पोन्टिङ

क्रिकेट म्याच हेर्नकै लागि विदेश जानुभएको छ ?

विदेशमा म्याच हेर्न दुबई, हल्यान्ड पुगेको थिएँ।

कन्सर्ट–कार्यक्रमसँग समय जुधेर म्याच हेर्न नपाएको कत्तिको छ ?

छ। कहिलेकहिँ रेकर्डिङ रोकेर पनि म्याच हेर्छु। खासगरी नेपालका म्याच।

पछिल्लो पटक हेरेको म्याच याद छ ?

आईपीएलमा राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सको

कुनै त्यस्तो म्याच छ, जुन बारम्बार सम्झिराख्नु हुन्छ ?

त्यस्तो धेरै म्याच छ। एउटा भन्नुपर्दा हङकङ र नेपालको म्याच थियो ट्वान्टी–ट्वान्टी। त्यसमा अन्तिम बलमा शरद भेषावकरले चौका हानेर नेपाललाई जिताएका थिए। त्यो सम्झिरहन्छु।

कुनै त्यस्तो म्याच छ, जुन बिर्सन चाहनुहुन्छ ?

त्यस्तो छैन। खेलमा हारजित भइहाल्छ। आफूले सपोर्ट गरेको टिमले हार्यो भने अर्कोले त जितिरहेको हुन्छ नि।

कुनै म्याच दोहोर्‍याएर, तेहेर्‍याएर हेर्नुभएको छ ?

छ। युवराज सिंहले ६ छक्का हानेको बारम्बार हेर्ने गरेको छु।

हेर्दाहेर्दै झ्याउ लागेर हेर्न छोडेको कुनै म्याच छ ?

झ्याउ लागेको त धेरै छ।

म्याच हेर्दा कत्तिको एक्साइटेड हुनुहुन्छ ? त्यस्तो बेला के गर्नुहुन्छ ?

हुन्छु नि। कतिपय खेल धेरै खतरा हुन्छन्– उच्च स्कोर हुने, एक बलमा डिसिजन हुने खेलमा एक्साइटमेन्ट ज्यादा हुन्छ। अहिले भन्दा पनि पहिले–पहिलेको एक्साइटमेन्ट धेरै हुन्थ्यो। त्यतो बेलामा विषेश एक्टिभिटी चाहिँ खासै केही हुँदैन।

मन परेको टिमले म्याच हार्दा कत्तिको मुड अफ हुन्छ ? त्यस्तो बेला के गर्नुहुन्छ ?

मुड अफ हुन्छ। आज जितेको भए हुन्थ्यो भन्ने हुन्छ। हारेर केही गर्ने भन्ने त केही छैन।

लामो समयसम्म क्रकेट म्याच भएन, त्यतिबेला अत्यास लागेन ?

यसबेलाको वातावरण नै फरक छ नि ! संगीतका कन्सर्टहरु भएनन्, रेकर्डिङ भएन । साथै गेम पनि भएन। त्यसलाई बैग्लै रुपमा लिनुपर्छ।

पहिले कक्षाकोठामा क्रिकेटको कुरा कत्तिको गर्नुहुन्थ्यो ?

स्कुल पढ्दा, कलेज पढ्दा क्रिकेटको ध्यान खासै थिएन। पछि टिचिङका समयमा भने म्याच, टुर्नामेन्टबारे गफ हुन्थ्यो। नेपालको म्याच भइरहेको छ भने बाटो हिँडिरहेको बेलामा पनि गाडी साइड लगाएर हेर्ने गरेको छु।

कुनै विद्यार्थी छन्÷थिए, जसलाई तपाईं भविष्यको क्रिकेटर देख्नुहुन्थ्यो ?

थिए। कजेलमा राम्रै खेल्ने थिए। तर उनीहरु माथि आएको चाहिँ पाइनँ।

भर्खरै छोरी जन्मिएकी छन्, उनलाई क्रिकेटर बनाउँ भन्ने लाग्दैन ?

त्यस्तो त लाग्दैन। त्यो त समयले बताउने कुरा हो।

क्रिकेटबारे फेसबुकमा कमै लेख्नुहुन्छ, तर ट्वीट धेरै गर्नुहुन्छ, किन ?

मेरो ट्वीटरमा म्युजिक र क्रिकेट दुवैका फ्यानहरु फलोवर हुनुहुन्छ। अनि फेबसुकमा त्यसै पनि कम लेख्न थालेको छु। ट्वीटरमा चाहिँ समाज मन पराउने, खेल मन पराउने मानिसको एउटा जमात देखेको हिसाबले लेख्ने गरेको हो। ट्विटरमा लेख्न मजा आउँछ फेसबुकमा भन्दा।

कुन देशको क्रिकेट जर्सी सबैभन्दा धेरै मनपर्छ ?

न्युजिल्यान्डको। कालो छ, युनिक लाग्छ। अनि यस्तो छ कि, जित्यो भने त्यही जर्सी मनपर्छ हार्यो भने त्यही जर्सी नराम्रो लाग्छ। साथै बंगलादेश र पाकिस्तानको जर्सी एकै खालको ग्रिन भएकाले कहिलेकाहिँ झुक्किन्छ। अष्ट्रेलियाको पनि ग्रिन मिसिएको छ।

क्रिकेटबाहेक अन्य खेल कत्तिको हेर्नुहुन्छ ?

फुटबल हेर्छु।

क्रिकेटमा क्रेजी भएर कुनै कुरा गुमाउनुभएको छ ?

छैन। कहिलेकाहिँ कामहरु छुट्छ।

नेपाली क्रिकेटको विकास अपेक्षाकृत रुपमै भइरहेको छ कि हुनुपर्ने जति भएको छैन ?

अपेक्षाकृत छँदै छैन नि। देशमा एउटा राम्रो ग्राउन्ड छैन, इनडोर अभ्यास छैन। क्रिकेटलाई बढाउनुपर्छ भनेर भिजन देखिएको छैन। मनमा छ होला तर देखिएको छैन।

नेपाली क्रिकेटमा सुधार्नुपर्ने कुराहरु के के लाग्छ ?

क्रिकेटमा त सुधानुपर्ने कति छ कति छ। गाउँगाउँमा क्रिकेट गराउनका लागि मैदानै छैन नेपालमा। खेलाडीलाई प्रेरणा दिने खालका सुविधाहरु बढाउनु पर्छ।
खेलाडी घाइते भएर उपचार गराउनु पर्यो भने खेलाडी संघले पैसा माग्नुपर्ने अवस्था छ। राज्यबाट खेलाडीको सुरक्षा नभएको फिल भएको छ।

क्यानको नेतृत्व गर्ने अवसर पाउनुभयो भने के गर्नुहुन्छ ?

त्यस्तो अवस्था त नआउला। आइहाले क्रिकेटको दीर्घकालिन विकास कसरी गर्ने, तत्काल के गर्ने त्यसको योजना ल्याउँथें। क्रिकेटका पूर्व खेलाडी, प्रशिक्षक, फलोवर्सहरु र पत्रकारसमेतसँग छलफल गरी योजना बनाउने साथै क्रिकेट विकास हुने कुराहरु सरकारसँग मागेर अघि बढ्न सकिन्छ। भ्रष्टाचार नगरी काम गर्थें।

१० वर्षमा नेपालको क्रिकेट कहाँ पुग्ला ?

यही अवस्थामा त कहिँ पनि पुग्दैन। भएका खेलाडी बूढा हुँदै जान्छन्। रिटायर्ड हुन्छन्। ट्यालेन्टहरुले अवसर नपाइकनै उमेर सकिन्छ। देशमा एउटा पनि मैदान नभइकन त कहिँ पुग्दैन। राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल भएमा र खेलाडीले एक्सपोज पाएमा केही होला। नभए त कहिँ पुग्दैन।

टी–२० विश्वकपको फाइनलमा कुुन–कुन देशको भिडन्त सशक्त लाग्छ ?

यसमा अप्सनहरु छन्। इन्डिया–अष्ट्रेलिया, अष्ट्रेलिया–इंग्ल्याण्ड र इन्डिया–पाकिस्तानको भिडन्त सशक्त लाग्छ।

थाहा भएसम्म तपाईंले सबैभन्दा पहिले हेरेको क्रिकेट म्याच ?

पहिला त कहिले हेरियो यादै भएन।

क्रिकेटको समाचार दिने सबैभन्दा विश्वसनीय साइट कुन लाग्छ ?

म आईसीसी नै हेर्छु, कि क्रिकइन्फो हेर्छु।

प्रकाशित: Sep 27, 2020| 00:53 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।