बुधबार, मंसिर १०, २०७७

विशेष

डाक्टर बन्न छाडेर मूर्तिकलामा चम्किएकी अञ्जु

1605338486.jpg
मूर्ति बनाउन व्यस्त पाटनकी अञ्जु अवाले। तस्बिर ः दिनेश श्रेष्ठ

६० वर्षअघि हजुरबाले मूर्तिकला बनाउन सुरु गर्दा सहज थिएन। नातिनी पुस्तामा आइपुग्दा प्रविधि र व्यवसाय दुवैको साथ मिलेको छ। पाटनको अवाल परिवारले मूर्तिकलाबाट पुर्ख्यौली पेसाको संरक्षण मात्र गरेको छैन देशविदेशमा व्यापार बढाएको छ।

काठमाडाैं- राजेश अवाले छोरीलाई डाक्टर बनाउन चाहन्थे। अञ्जुलाई भने सानैदेखि कलामा रुचि। स्कुल पढ्दादेखि नै कलामा नजिक थिइन्। 

उसो त उनको परिवारको मुख्य पेसा नै थियो मूर्तिकला। अञ्जु अवालेका कलिला हात मूर्तिमा सलबलाउँदा छोरीको पढाइ बिग्रने भयो भनेर बुबा चिन्तित हुन्थे।  

पढाइमा अब्बल अञ्जु राम्रो अंक ल्याएर एसएलसी पास भइन्। छोरीलाई डाक्टरी पढाउने ढोका खुलेपछि राजेश दंग परे। विज्ञान पढाउन थाले। घरमै ट्युसनको व्यवस्था गरे। नपुग्दो केही थिएन। 

तर अञ्जुको ध्यान विज्ञानमा जाँदै गएन। मूर्तिकलाको आकर्षणले तानिरह्यो। अभिभावक छोरीको भविष्यप्रति चिन्तित भयो। उनले भने डाक्टर बन्ने सपना नै देखिनन्। बुवाको आँखा छलेर गुडिया बनाउन थालिन्।

अत्ति भएपछि बुवाको पनि मन पग्लियो। सन्तानको चाहना कल्ले पो त्याग्न सक्ला र!  राजेशले छोरीलाई मूर्तिकला सिकाउन थाले। बिस्तारै छोरी निपुण बन्दै गइन्। मूर्तिकलामा छोरीको लगनशीलता देखेर राजेश मात्र होइन, उनलाई चिन्नेजान्ने सबै खुसी छन्। अहिले उनले बनाएका मूर्ति विभिन्न देशमा निर्यात भइरहेका छन्।

विगत १५ वर्षदेखि अञ्जु तामाका मूर्ति बनाउन सक्रिय छिन्। भन्छिन्, 'मूर्ति नछोएको दिन निकै खल्लो लाग्छ।' उनी कुबेर, विष्णु, लक्ष्मी, तारा, शिव, पार्वती, कृष्ण, राधा, महाँकाल, गौतम बुद्धलगायतका मूर्ति बनाउँछिन्। 

अञ्जुले अहिलेसम्म कति मूर्ति बनाइन् लेखाजोखा छैन। 'छोरीलाई मूर्ति बनाउने पेसामा लगाउन हुँदैन भन्नेहरु धेरै थिए तर मेरो बुबाले आफ्ना चाहना मारेर पनि मलाई यहाँसम्म साथ दिनुभएको छ', अञ्जुले भनिन्। 

लगाव र धैर्यपूर्वक गरिए जुनसुकै काममा पनि सफलता मिल्ने अञ्जु बताउँछिन्। उनी भन्छिन्, ‘लगानी गर्नेबित्तिकै प्रतिफल पाँइदैन। केही समय कुर्नैपर्छ।'

अञ्जुको परिवारले तामाका मूर्ति बनाउन थालेको ६० वर्ष बित्यो। हजुरबुबाले सुरु गरेको यो पेसालाई नातिनिले निरन्तरता दिएकी छन्।

माइतीघरमै सिर्जना स्थल

अञ्जु बिहानै उठ्छिन्। परिवारका लागि खाना बनाउने देखि अन्य काम गर्छिन्। दुई सन्तानकी आमा अञ्जु घरको काम सक्नेबित्तिकै इमाडोलबाट पाटनतिर लाग्छिन्। पाटन उनको माइतीघर हो।

दिनभर मूर्ति बनाउन र अरुले बनाएका मूर्तिलाई पूर्ण आकार दिन व्यस्त हुन्छिन्। बेलुका घर फर्केपछि गृहिणीको जिम्मेवारी त छँदै छ। मूर्तिको बजार व्यवस्थापनमा भने पतिको साथ रहेको उनी बताउँछिन्। 

छोराहरुलाई पनि कलामा रुचि छ अन्जु भन्छिन्, ‘मलाई  पनि  उनीहरुले जे मन लाग्छ सोही काम गरुन् भन्ने लाग्छ। मैले जसरी बुबाआमाको सपनालाई भत्काएँ त्यसरी नै मेरो चाहना छोराहरुले नभत्काऊन् भनेर मैले छोराहरुसँग कुनै चाहना राखेकी छैन।’ 

कसरी बन्छ मूर्ति 

सुरुमा मैनबाट एउटा मास्टरपिस बनाइन्छ। अनि त्यो मास्टरपिसबाट अन्य मूर्ति बनाउन सेट हुने गरी एउटा ब्लक निर्माण गरिन्छ। ब्लक बनाउन सिमेन्ट तथा एमसिल्डको प्रयोग गरिन्छ। यसमा विशेष किमिमको रबरको पनि प्रयोग हुन्छ। 

'एउटा मास्टरपिस बनाउन एक महिनाजति लाग्छ', अञ्जु भन्छिन्, ‘मूर्ति कत्रो बनाउने भन्ने आकारअनुसार पनि समय लाग्छ।' मास्टरपिसका लागि ब्लक बनाउन पनि साइजअनुसार समय लाग्ने उनले बताइन्। 

सिमेन्टको ब्लक बनाउँदा केही सस्तो पर्न जान्छ। त्यो आफंैले पनि बनाउन सकिन्छ तर लामो समय प्रयोग गर्न सकिँदैन। पछिल्लो समय विशेष किसिमको रबर आएको छ। त्यो रबर केही महँगो परे पनि पटकपटक गरी लामो समयसम्म  प्रयोग गर्न मिल्छ। 

मास्टरपिसबाट बनेको ब्लकमा तामा पगालेर हालेपछि सोही साइजअनुसार तामाले आकार लिन्छ र मूर्ति तयार हुन्छ।

व्यापारका लागि विदेशी बजार नै ताक्नुपरेकाे छ

मूर्ति बनाउन पनि निकै समय लाग्छ। बिक्रीपछि राम्रो मूल्य पाइने अञ्जु बताउँछिन्। अञ्जुले बनाएका मूर्ति स्वदेशमा भन्दा विदेशमा बढी बिक्री भएका छन्।

नेपालमा भने व्यापार उतिसारो छैन। धेरै नेपाली मूर्तिभन्दा तस्बिरमा पूजा गर्न रुचाउँछन्। त्यसैले पनि मूर्तिको व्यापारका लागि विदेशी बजार ताक्नुपर्ने उनको भनाइ छ। 

उनी भन्छन्, ‘पैसा कमाउन खोज्नेले यो पेसालाई संकटमा पारेका छन्। नक्कली मूर्ति बनाएर बेच्नेका कारण पनि सक्कली मूर्ति ओझेलमा परेको छ।' 

उनले बनाएका मूर्ति बौद्ध धर्मावलम्बीले धेरै खरिद गर्छन्। विभिन्न गुम्बामा बिक्री हुन्छ। उनी भन्छिन्, 'हामीले बनाएको ८० प्रतिशत मूर्ति विदेश निर्यात हुन्छन्। हाम्रो व्यापार हुने नै गुम्बामा हो।'

नयाँ प्रविधिले निर्माण गरिएका मूर्तिहरुका कारण मौलिक मूर्तिहरु बिक्री हुन छाडेको अञ्जुको अनुभव छ। उनी भन्छिन्, 'मेसिनले बनाएका मूर्तिहरु सस्तो पर्ने हुनाले हातले बनाएका मूर्ति कम बिकेका हुन्।' 

मूर्ति बनाएर सन्तुष्टि मिलेको छ? उनी मुस्कुराउँदै भन्छिन्, ‘यस पेसामा भोकै पनि भइँँदैन, भकारी पनि भरिँदैन।’ बनाएका मूर्ति सबै बिक्री भएका छन्। 

तीन पुस्ताको अन्तर के त? 

राजेश अवालले २००० भन्दा बढी प्रकारका मूर्ति बनाइसके। उनले सबै भगवान्को मूर्ति बनाएका छन्। आफूले काम गर्न नसकेपछि आफ्नो पेसा कसले धान्छ भन्ने चिन्ता अहिले राजेशलाई छैन।

भन्छन्, ‘मेरो बुवााले सुरु गर्नुभएको यो पेसा मैले छोराछोरीलाई हस्तान्तरण गरेको छु।’ 

अञ्जुका हजुरबुवाले यो पेसा अंगाल्दा कुनै प्रविधि थिएन। सबै कुरा हातले नै बनाउनुपर्ने अवस्था थियो। अहिले प्रविधि भित्रिएका छन्।

बुबाले भन्दा केही नयाँ प्रविधि अपनाएँ, त्यसैले केही सहज त भयो तर पनि नेपालमा यस पेसालाई ठूलो प्रभाव पार्ने गरी परिवर्तन नभएको राजेश बताउँछन्। 

यसमा अञ्जुको पनि समर्थन छ। भन्छिन्, ‘हामीसँग लगानी अभाव छ, आइडिया छैन, प्रविधिमैत्री हुन सकेका छैनौं। तर मूर्तिको पहिचान मेटिने गरी प्रविधिको प्रयोग गर्न नहुने उनको सुझाव छ। उनी भन्छिन्, तर प्रविधिको प्रयोगविना  पेसा फस्टाउन गाह्रो छ।’

राज्यले पनि मूर्तिकला पेसालाई खासै नसघाएको गुनासो उनको छ। संसारमा ठूलाठूला मूर्ति बनेका छन्। तर नेपालमा सामूहिक रुपमा मूर्ति बनाउने परिवेश निर्माण हुन नसकेको प्रति अवाले परिवारको गुनासो छ। यस पेसामा आबद्ध नेपालीमा एकता हुने हो भने धेरै काम गर्न सकिने उनी बताउँछिन्।।

कोरोना संक्रमणले गर्दा  आठ महिनादेखि व्यापार ठप्प छ। एउटा पनि मूर्ति बिक्री भएको छैन। तर पनि अवाले परिवार मूर्ति बनाउन व्यस्त छ। त्यसो त ६० वर्षको अवधिमा अवाले परिवारको आफ्नै ग्राहक छन्।

पहिला मूर्ति बेच्न घरघर हिँड्नुपथ्र्यो। अहिले ग्राहक आफैं आउँछन्। उनीहरुले बनाएका मूर्ति जापान, चीन अमेरिका, सिंगापुर, भारतलगायतका देशमा निर्यात हुन्छ। उतैबाट अर्डर आउँछ। अहिलेसम्म उनीहरुले १० हजार वटा मूर्ति बनाएर बिक्री गरिसकेका छन्। 

मूर्ति बेचेरै घरको खर्च चल्छ। परिवार पाल्न मूर्तिको कमाइले पुगेको छ। ज्यालादारी र कर्मचारीलाई पनि तलब खुवाउन पुग्छ। 

प्रतिक्रिया दिनुहोस्