बुधबार, मंसिर १०, २०७७

कला - साहित्य

काव्याञ्जली कवितासङ्ग्रह : सामाजिक विसङ्गतिमाथि विद्रोही स्वर

1605328339.jpg

पृष्ठभूमि

कविता विधा नेपाली साहित्यमा देखा परेका कथा, उपन्यास, निबन्ध, नाटकजस्ता विधाहरूमध्ये पुरानो विधा मानिन्छ। गद्य कविताको थालनी गोपालप्रसाद रिमालबाट वि। सं। १९९२ तिरबाट भए पनि पद्य कविता धेरै अगाडिदेखि प्रचलनमा आएको हो। 

सूत्रात्मक रूपमा गहिरा र प्रभाव पार्ने मीठा कुराहरू कवितामा पाइने हुँदा पद्य कविताप्रति पाठकहरू बढी प्रभावित थिए। पछिपछि गद्यमा पनि राम्रा र मीठा कविताहरूको विकास हुन थालेपछि गद्य र पद्य दुवै खालका कविताहरूले पाठकलाई रुचिअनुसार प्रभाव पार्न थालेको पाइन्छ। 

कविताको सिङ्गो स्वरूपमा एउटा हात पद्य र अर्को हात गद्य हो भन्ने पनि छन् गद्य वा पद्य जे भए पनि पाठकलाई प्रभाव पार्न सक्ने कवितात्मकता यस विधामा आवश्यक देखिन्छ।  

आदिकवि भानुभक्त आचार्य, कविशिरोमणि लेखनाथ पौडेल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, राष्ट्रकवि माधवप्रसाद घिमिरेजस्ता व्यक्तिहरूको प्रसिद्धि पद्य कविता विधाबाटै भएको हो।

गोपालप्रसाद रिमाल, मोहन कोइराला, भूपि शेरचनजस्ता कविहरूले गद्य कविता विधाबाटै आफ्नो वर्चस्व स्थापित गरे। महाकवि देवकोटा त पद्यमा मात्र सीमित रहेनन्, उनले गद्य र पद्य दुवै विधामा एकछत्र प्रभुत्व जमाए।

कविताका पारखीमध्ये केहीले भावलाई महत्त्व दिएका छन्, केहीले विषयवस्तु प्रमुख ठान्छन् भने कोहीले शैली पक्षलाई जोड दिएको पाइन्छ। कविको कवितात्मक अनुभूतिको प्रमुख भूमिका रहने यस विधामा कविकै कल्पनाको सहायताले साकार रूप लिने हुँदा अनुभूतिको महत्त्व पनि कम देखिँदैन। 

गद्य होस् वा पद्य कविताका आआफ्ना नीति(नियम हुन्छन्, तिनलाई पालन गरेर लेखिएका कविताहरू नै दीर्घजीवी बन्न पुग्छन्। आदिकवि भानुभक्तदेखि वर्तमानसम्म आइपुग्दा कविता लेखनले धेरै फड्को मारिसकेको छ। 

कवि रवीन्द्र भट्टराईको 'काव्याञ्जली' कविता सङ्ग्रह २०७६ सालमा प्रकाशमा आएको छ। यहाँ सो कवितासङ्ग्रहलाई यसै सन्दर्भमा हेर्न खोजिएको हो र यहाँ समीक्षात्मक टीकाटिप्पणी गर्न लागिएको छ।  

कवि चिनारी

कवि रवीन्द्र भट्टराईको जन्म २०२५ साल वैशाखमा भएको हो। उनी इलामको पीपलबोटे गाउँमा जन्मिएका हुन्। हाल काठमाडौँको तारकेश्वर- १० मनमैजुमा बसोवास गरेका उनले नेपाली र कानुन विषयमा स्नातकोत्तर गरेका हुन्। 

वकालत र प्राध्यापन दुवै क्षेत्रमा उनको संलग्नता रहे पनि प्रमुख पेसा वकालत हो। पुस्तक र आवधिक प्रकाशनका लागि अनुवाद र सम्पादन कार्य उनको कामको अर्को क्षेत्र हो। उनले  फाट्टफुट्ट समीक्षात्मक लेख पनि लेख्दै आएको पाइन्छ। 

भट्टराई फौजदारी कानुन र दण्डप्रणालीमा बढी दख्खल राख्छन्। २०७६ चैत २२ गते देखि फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन २०७४ अन्तरगतको सजाय सुझाब समितिको विज्ञ सदस्यका रूपमा नेपाल सरकारले नियुक्त गरेका अधिवक्ता रवीन्द्र भट्टराई नै 'काव्याञ्जली' कृतिका कृतिकार हुन्। 

काव्यात्मक स्वरूप

'काव्याञ्जली' कवितासङ्ग्रह कवि भट्टराईको पहिलो काव्य कृति हो। कवि र लक्ष्मीदेवी घिमिरेको संयुक्त प्रकाशकत्वमा प्रकाशित कृतिको आवरण डेमाइन्ड डिजिटलले रूपाङ्कन गरेको हो भने पृष्ठ सजावटको काम भुवन भट्टराईले गरेका छन्। 

सङ्ख्या उल्लेख भएका ९४ पृष्ठ र सङ्ख्या उल्लेख नभएका आवरणसहितका २० पृष्ठ गरी ११४ पृष्ठमा यो सङ्ग्रह तयार भएको छ। कवितासङ्ग्रह कविले आफ्ना बाबुआमा छविलाल र महेश्वरामा समर्पण गरेका छन्। 

सङ्ग्रहका बारेमा प्रसिद्ध साहित्यकार कृष्ण धरावासीले 'समयको खबरदारीको बिम्बको आँचल' शीर्षकमा पाँच पृष्ठको समीक्षा लेखेका छन्। 

त्यसपछि 'जेजस्तो भयो यो यस्तै भयो है' शीर्षकमा स्वयम् कविले आफ्ना तीतामीठा कुराहरू व्यक्त गरेका छन्। कविता सङ्ग्रहको प्रकाशनको चरणसम्म आइपुग्नमा आफूलाई उत्प्रेरणा र मार्गदर्शन गर्ने अनि आफ्नो काव्यको समीक्षात्मक लेखिदिने धरावासीसम्मका विभिन्न व्यक्तिलाई सम्झना गर्दै कृतज्ञता ज्ञापन गरेका छन्। 

अन्य सहयोगी र शुभेच्छुकलाई पनि यथायोग्य धन्यवाद गरिएको छ। यसपछि तीन पृष्ठमा कविताहरूको नामसहितको विषयसूची छ। अनि मात्र सुरु हुन्छ कविताको सिलसिला। 

सङ्ग्रहको पहिलो कविताको शीर्षक 'पारिजात' हो। यो कविता साहित्यकार पारिजातलाई लक्ष्य गरेर लेखिएको छ। उता अन्तिम कविता 'युद्धप्रसाद मिश्रप्रति' शीर्षकमा छ जुन साहित्यकार मिश्रका बारेमा छ। 

बीचमा अन्य शीर्षकका कविता गरी जम्मा ८२ कविताहरू सङ्गृहीत छन्। गद्यका ५७ र पद्यात्मक २५ वटा कविता राखिएको सङ्ग्रहमा अगाडि गद्य अगाडि छन् भने पद्यात्मक कविता अन्त्यतिर राखिएका छन्। 

पृथक रूपमा राखिए पनि खण्डै छुट्याएर गद्यात्मक र पद्यात्मक कविता राखिएको भने छैन। त्यति हुँदाहुँदै पनि 'मुक्ति जीवन' शीर्षकको गजलको बान्कीको कविता गद्यतर्फ मिसिएको छ। 

सङ्ख्यात्मक हिसाबले असीको सेरोफेरो निकै हो तापनि आयतनका हिसाबले यसमा रहेका सबै कवितालाई छोटा कविताकै कोटीमा राखेर हेर्ने खालका छन्। कृतिको अन्तिम आवरणपृष्ठमा कविको फोटो, चिनारी, सङ्ग्रहभित्रका दुई कविता र कृष्ण धरावासीको टिप्पणीको उद्धृतांश, आईएसबीएन (नम्बर) र मूल्य राखिएको छ। 

काव्यगत समीक्षा

नेपाली कविताको उठान पद्यबाटै भएको हो तापनि समयको गतिसँगै गद्य पनि समवर्ती भएर आएको छ। एकताका गद्यले बढी पखेटा फिँजायो किरु जस्तो पनि लाग्थ्यो तर वर्तमानमा फेरि पद्यको विस्तार भएको पाइन्छ।

'काव्याञ्जली' कविता सङ्ग्रहमा गद्य र पद्य दुवै खालका कविताहरू छन्। सङ्ख्यात्मक रूपले पद्यभन्दा गद्य कविताहरू धेरै छन्। गद्य-पद्य दुवै कविताको आयतन एकै किसिमको छैन। कुनै कविता दुई पृष्ठसम्म तन्किएका छन् भने कुनै कविता एक पृष्ठभित्रै अटेका छन्। 

गद्यमा 'निरन्तरता', 'इलाम विरामी भएको छ', 'आहत कलम', 'मलाई झर्को नलगाउन', र पद्यमा 'किसान', 'कला', 'जागिरे बाध्यता' शीर्षकका कविता छोटा कदका छन्। 'क्षमा गर मनोज झपेन्द्र', 'यस्तै छ यस्तै भैरहेछ', 'मान्छे र मूर्ति', 'निदाउन आतुर', 'पुल्ठेहरूलाई', 'म किन कविता लेखौं', 'मेरो घर', 'मानेभञ्ज्याङ', 'सहिद साथीलाई चिठी' जस्ता गद्य कविता र 'मुक्ति जीवन', 'बलिदान गर्नेप्रति' जस्ता पद्यात्मक कविता सङ्ग्रहमा रहेका अरू कविताभन्दा लामा खालका छन्। लामा हुन् वा छोटा, उनका कविता मानवीय संवेदनशीलता प्रकट गर्दै विद्रोहको स्वर ध्वनित गर्ने खालकै छन्। 

कवि रवीन्द्रको कविता लेखनको थालनी पद्यबाट भएको हो। यो कुरा उनले 'जेजस्तो भयो यो यसझतै भयो है' शीर्षकको लेखनीमा खोलेका छन्। गुरु चन्द्रधर काफ्लेले सिकाएको छन्दको कखरा, आफ्ना बाबुले सुनाएको श्लोक तथा आमा र पल्ला घरकी काकीले गाएका सिलोक सुनेर तिनकै प्रेरणाबाट पद्यकविता सिर्जना सुरु गरेको उनले बताएका छन्। 

गद्यमा पनि कविता लेख्न सकिन्छ भन्ने चाहिँ उनलाई एसएलसी सकेपछि मात्रै लागेको रहेछ। यसको मतलब कवि भट्टराई गद्यभन्दा पद्य कविताप्रति झुकाव राख्ने व्यक्ति हुन् भन्ने स्पष्ट बुझ्न सकिन्छ। यसो भए पनि 'काव्याञ्जली' कविता सङ्ग्रह गद्यात्मक कविताबाट सुरु भएको छ र सङ्ख्यात्मक हिसाबले पनि सङ्ग्रहमा गद्य कविता नै बढी छन्।

माटो अर्थात् देशप्रतिको इमानको खोजी

गद्यमा होस् वा पद्यमा होस्, उनको एउटा अडान छ त्यो के भने (धर्ती रहे मात्रै मान्छे बाँच्छस् धर्ती नै नरहे अर्थात् देशै नरहे मान्छे कसरी रहन्छ र? देश रहनु भनेको भूगोल मात्र हैन देशभित्रका मान्छेमा रहने इमान्दारी हो। धर्म-संस्कृति, इमान-जमान, मानमर्यादा बिर्सिएर व्यक्तिगत स्वार्थमा मुछिँदै दयामाया कुनै नराखी धाकधक्कु मात्र लुटको खेती गर्न थाल्छ मान्छे भने त्यो बेलाको अभिशप्त धरातलमा सत्य कुरा पनि असत्य साबित हुन्छ भन्ने कुरालाई कवि यसरी व्यक्त गर्छन् :

धरातल अभिशप्त भएपछि —
सत्य रोपे पनि झुट उम्रिन्छ, 
मीठो रोपे पनि तीतो फल्छ,
सेतो बनाउँदा कालो बन्छ, 
अनि मान्छेहरू सगरमाथासँग दाँज्न खोज्छन्।। (एकछिन भ्रमसित)

कवि 'जननीजन्मभूमिश्चस्वर्गादपि गरियसी' भन्ने उक्तिलाई शिरोपर गर्दै आफ्नो देशलाई नै सर्वोपरि ठान्छन् र स्वदेशको माटोमै देशवासीको मौलिकता अडेको हुन्छ भन्ने कुरामा विश्वास राख्छन्। 

माटोलाई नै उच्चताको शिखर मान्दै यसैलाई अस्तित्वको र प्रतिष्ठाको आधार बनाएर माटोमै पुण्य रोप्नुपर्छ भन्ने उनको तर्क छ। माटोविना जीवन एकछिन पनि टिक्न सक्दैन भन्ने कुरा बताउँछन्। 

उनका विचारमा माटो नै जीवनको आधार होस मानिसको पहिचान होस कला संस्कृति सारा कुरा यसैमा निहित हुन्छन्। हाम्रा वीर पुर्खाहरू बलभद्र, अमरसिंह, भक्ति थापाजस्ता जन्माउने माटो हो भन्दै माटोले सत्य उमार्छ, निष्ठा फलाउँछ र इमान चम्काउँछ भन्ने कुरा कवि यसरी लेख्छन् ः

माटो – सगरमाथा हो
माटो – पहिचान–गाथा हो
माटो – ज्यान हो माटै परान हो।।
अरनिको – कला बचाउने चिज हो, माटो
बलभद्र, भक्ति, भीमसेन जन्माउने बीज हो माटो
माटो सत्य उमार्छ, निष्ठा फलाउँछ र इमान चम्काउँछ।। (माटो)

तर समाजले यो कुर बुझ्न सकेन। सभ्यताको नाउँमा कुकृत्य र विसङ्गत वैलिएको छ, निष्ठावान् व्यक्ति पाउन निकै कठिन छ। सच्चापनभन्दा कृत्रिमताको बाहुल्य छ। सास नभएका मूर्तिहरू मन्दिरमन्दिर बस्छन्, तिनीहरूलाई आस्थाको भरमा एक थुँगा फूल चढाए पनि पुग्छ तर सास भएका मूर्तिहरूले देश चिनेनन् देशवासी चिनेनन्।

उनीहरूको विरोधमा कुनै आवाज आयो भने त्यसको ज्यान खतरामा पर्छ। डाडुपन्यूँ लिएर बसेकामा समेत इमान्दारी नभएको देशमा रहनुपरेको स्वीकार गर्दै मान्छेलाई हतियारमा उल्था गरेर डर र त्रासमा बाँच्नुपरेको कटु अनुभव कविको छ। 

देश र सामाजिक दुःखदर्दको बोध र पुनर्जागृतिको चेतना

कविताका माध्यमबाट आफ्ना कथाव्यथा पोख्न कवि आतुर छन्। उनीभित्र धेरै आर्तनाद छन्। उनको छातीमा देश दुखेको छ। परिवेश आक्रान्त छ, समाजलाई अरूको दुःखदर्द सुन्ने फुर्सद छैन। अरूको मर्म बुझ्न सक्ने दयामायालाई समादर गर्न सक्ने मानिस किन जन्मन सकेनन्? कविका मनभित्र यस्ता खालका प्रश्न छचल्किन्छन् र उनी भन्छन् :

एकादेशमा एउटा मेरै देश छ
देश के भनौँ अलिकति पुर्खाको शेष छ
परिवर्तित भए पुर्खाका सन्तानहरू
र सभ्य हुनुको ठूलो रेस छ
आधुनिकताको छुट्टै परिवेश छ
छ पूरै के भनौँ अलिकति अवशेष छ।। (एकादेश)

पाश्चात्य देशहरू निकै अगाडि देखि विकसित छन्। उनीहरू नयाँनयाँ आविष्कारहरू थपिँदै गएको देख्न चाहन्छन्। हामीले कल्पनै गर्न नसकिने चन्द्रमामा बस्ती बसाउने तरखरमा समेत उनीहरू पुगिसके। 

हामी भने एक्काइसौँ शताब्दीको नारा लाउँदै छौँ र विसङ्गतिका पोकापुन्तुरा बोकेर पाँच हजार वर्ष पुरानो सभ्यतालाई विकारग्रस्त बनाउँदै अँगालिरहेछौँ। बस्तीबस्तीमा काटमार डरत्रास धाकधम्कीजस्ता अपराध व्याप्त भएका छन्। 

जनघनत्व बढिरहेको छ, आयस्रोत कम भएर मानिस के खाऊँ के लाऊँको अवस्थामा छन्। हिंसा, भोकमरी दिनप्रतिदिन बढ्दो छ। वनजङ्गल मासिँदै छन्, लोपोन्मुख जङ्गली जनावर हराउँदै छन्। यस्तो भयावह अवस्थामा अरूले रकेट बनाए, चन्द्रमामा पुगे भनेर मात्र के गर्नु? यस्तो आशय कवि रवीन्द्र भट्टराई कवितामा यसरी प्रकट गर्छन् ः

रकेट बनेर के भो रु
चन्द्रमामा टेकेर के भो रु    
    धाक, त्रास र अपराधहरू अचेल 
    बस्तीमा स्थायी बासिन्दा भएका छन्,
वन मासिँदैछ, जङ्गलबाट सिंह हराउँदो छ,
    मान्छे आफै मान्छेहरूको जङ्गल बनाइरहेछ,
हिंसा, भोकमरी र त्राहीमामको मङ्गल  छ त्यही जङ्गलमा,
    पाँच हजार वर्ष पुरानो विवेकको सारलाई उपहास गर्दै 
मान्छेहरू एक्काइसौँ शताब्दी भन्न थालेका छन्।।(एक्काइसौँ शताब्दी)

राजनीतिक सामाजिक विसङ्गतिप्रतिको चिन्ता

कवि वर्तमानसँग अति नै आहत भएका छन्। जताततै उनले बेथिति मात्र देखेका छन्। सभ्यताका नाउमा मान्छेहरू असभ्य बन्दै गएका छन्। हामी घोडेटोबाट गोरेटोतिर पो लम्किँदै छौँ कि भन्ने उनलाई प्रतीत भएको छ। 

जटिलता थपिँदो छ, परिवर्तनको नारा जतिसुकै लगाए पनि गतिहीनता र मतिहीनतामा परिवर्तन आएको छैन। सङ्कीर्णता, जटिलता, ज्यादती, आक्रमणहरू जस्ताको तस्तै छन्। गरिबीको कारण केही मानिस मानिसहरू पेटीमै खात लाग्न बाध्य छन्। 

बाटोघाटो, पुलपुलेसा निर्माण हुन सकिरहेका छैनन्। सीमित मानिसहरू पुरानै संरचनालाई नयाँ किसिमले उपभोग गरेर मनमस्तीमा डुबेका छन्। उनीहरूलाई पद र प्रतिष्ठाले अन्धो बनाएको छ। 

आफूले गरेका अपराधहरू छोपछाप गरेर दूधले न्वाए झैँ पवित्र ठान्ने उनीहरू जनताका नजरमा भने गिरेकै छन् तर के गर्नु? निरीह जनताले अपहरण, बलात्कार, अपमान र दुःखकष्टबाट मुन्टो उठाउन सकेकै होइनन्। केही मानिस पर्ख र हेर को मनस्थितिमा छन्। 
आन्दोलित भएर कतिपयले विद्रोह नगरेका पनि होइनन् तर तिनीहरूले कारागारका कालकोठरी कुरेर मात्र धर पाएनन् मृत्युलाई समेत वरण गर्नुपर्याे। 

उनीहरू सहिद भए परिवर्तनका लागि, दुःखीहरूको अधिकारका लागि, तर खै? उनीहरूको बलिदानले ल्याएको प्रजातन्त्रले गुटबन्दी, धोका, अपहरण र बलात्कारजस्ता विसङ्गति मात्रै जन्मायो, हुर्कायो। प्रजातन्त्रको अर्थ राम्ररी नलागेको भाव कवि कवितामा यसरी पोख्छन् ः

के हो हजुरबा ‘प्रजातन्त्र’?
मान्छेजस्तो हुन्छ कि हात्तीजस्तो हुन्छ त्यो?
प्रजातन्त्र काँक्राको चिचिलो वा फर्सीको गट्टाजस्तो ?
साँच्चै कस्तो चाहिँ हुन्छ हजुर बा ! (दुःखीको दिन)

सहिदलाई सम्बोधन गर्दै उनले लेखेका छन् :

तिमी सहिद भएयता 
मुलुकमा प्रजातन्त्र आएको छ 
जनताले जयगान गाएको छ 
झैझगडाको भो कुरै नगरौं
जसले जे गर्न भए कै छ 
देश यसरी गुज्रिए पनि 
मलाइत सन्च सुविस्तै छ 
त्यसैले व्यक्तिगत तर्फबाट तिमीलाई 
भावपूर्ण श्रद्धाञ्जली छ हार्दिक श्रद्धाञ्जली छ।। (सहिद साथीलाई चिठी)

प्रजातन्त्रका लागि लडेका, छातीमा गोली थापेर जीवनको बाजी लगाएका सहिदहरूले दुनियाँको आँखा खोल्न आफ्नो ज्यान गुमाए। न्याय र निष्ठाको लडाइँस्वरूप सङ्घर्ष गरेकै कारण प्रजातन्त्र त आयो तर नाम मात्रको। 

ती श्रद्धापुञ्जप्रति समादर व्यक्त गर्दै झगडामा अल्मलिएर देश लठीभद्र पार्न हुँदैन भन्ने आशय कविको छ। कतिपय मानिस गाँस, बास, कपासकै अभावमा रुल्मलिएका छन्, एक पेट खान नपाउनेका लागि प्रजातन्त्र आएको वा नआएको थाहा नपाउनेका लागि तिनको जीवनस्तर उकासेरै प्रजातन्त्र आएको अनुभूति दिलाउनु र तिनलाई पनि प्रजातन्त्रको आवश्यकता महसुस गराउनुपर्ने खाँचो आज छ। सही किसिमको प्रजातन्त्र स्थापनाका लागि अगाडि बढ्नुपर्ने सन्देश पनि कविले व्यक्त गरेका छन् :

मेरो सङ्घर्षशील मित्रहरू
एउटै मनका फरकफरक शरीरहरू 
एकै विचारका फरकफरक अभिव्यक्तिहरू
आऊ हामी सबै मिलेर 
एउटा हिमनदी बनाऔँ
हिमनदीको साझा गीत गाऔँ
हो बादल नफाटी 
भित्रँदैन शरद
पस्दैन उज्यालो भित्र दैला र जस्केला नखोली
आऊ!! हामी बन्दघरका दैला र जस्केला खोल्ने गरी
प्रवाहका गीत गाऔँ।। (सङ्घर्ष)

समस्त देशको वास्तविकता बताउनेहरूलाई उग्रवादी र व्यवस्थाविरोधी भनेर अपमान गरिनु हुँदैन। किनभने देशका अत्यधिक जनता दुःख र पीडामा घोलिएका छन्। तिनीहरूका कथा हरेक व्यक्तिका मनभित्र दुख्नुपर्छ। 

देशमा देखिएका बेथितिलाई प्रस्तुत गर्नेहरूलाई पुल्ठो लगाएर, पोल लगाएर विरोधीमा दर्ज गरिन हुँदैन। सत्तासीनहरूले यो कुरा बुझ्नुपर्छ र जनताको आवाजलाई ध्यान दिनुपर्छ। प्रजातन्त्र आएपछि देशमा उन्नति हुन्छ, सबैलाई सुख हुन्छ, यो जस्तो उच्च शासनविधि संसारमा अर्को छैन। 

गरिबहरूले सुख पाउँछन्, नारीहरूका अस्मिता र सम्मान अक्षुण्ण हुन्छन्स शासक र शासितको भेदै हट्छ, कसैलाई कसैले शोषण गर्दैन र सबैको भलो हुन्छ भनिन्थ्यो। तर, मान्छेमान्छेबीच ठूलो र सानोको खाडल झन् झन् बढ्दै गएको छ। विश्वास अविश्वासमा बदलिएको छ। नारीहरू झन् आफ्नै घरभित्रै पनि असुरक्षित हुन थालेका छन्। नारीउपरको हिंसाले चरम रूप लिन थाल्यो र जनताले प्रजातन्त्रकै गलत व्याख्या गर्छन् कि भन्ने डर बढेको छ। 

मान्छेमान्छेबीचका विभेदका खाडल सबैभन्दा घातक चिज हो, त्यो रहेसम्म न्यायपथमा पुग्न सकिँदैन भन्ने कवि रवीन्द्रको बुझाइ र भनाइ छ ः

जैलेसम्म रहन्छ अन्तर यहाँ ठूला र सानाबीच
जैलेसम्म बगिरहन्छ मनमा विभेदको आँचल
तैलेसम्म चलिरहन्छ जनमा विद्वेषको भावना 
पुगिँदैन तथापि न्यायपथमा केवल कथा–कल्पना।। (न्यायअर्चना)

प्रवाहमय सघन राष्ट्रिय भावना 

सुगौली सन्धिपूर्वको विशाल नेपालको स्मरण गर्दै सम्झौताबाट सीमित आकारमा खुम्चिएको नेपालको भूभागको सिमानासमेत सुरक्षित हुन नसकेको पनि कविले चर्चा गरेका छन्। 

पटकपटक सिमाना सार्ने गरेकोमा दुःखी हुँदै अझ कालापानी, लिपुलेक, लिम्पियाधुराजस्ता सम्झौतामा स्वीकार गरिएका नेपाली भूभागलाई समेत छिमेकीले हस्तक्षेप गरेको कुराले कवि व्याकुल बनेर गाउँले साथीहरूसँग गुहार माग्दै यसो भन्छन् :

सुन्यौ त गाउँले साथी हो,
‘पुर्खाको प्यारो छाती त्यो’
ऐलेको खबर छापामा पनि
लेखेको सबै यै छ रे,    
पुर्खाको रगत बगेको खोल्सी,
मुखिया कान्छाले बेचे रे, मुखिया कान्छाले बेचे रे।।(बूढी खोल्सो पनि बेचे रे)

देशभित्रको अन्याय अत्याचार र देशबाहिरको हस्तक्षेपलाई देखेर खप्न नसकेका कवि आफू नेपाली भएकाले नेपाल आमाप्रतिको कुनै अन्याय नसहने कुरा यसरी व्यक्त गर्छन् :

छातीमा बैरीको लाती बज्रिँदा कसरी सहूँ?
आमामा खेलबाड गर्दा फिलिङ्गो कसरी नहूँ?
जननी जन्मभूमिको अपमान सैह्य हुन्छ र?
दुष्टका पाइतालामा दबेर बस्न मिल्छ र? (राष्ट्रिय पीडामा)

सारा हामी निडर वीर छौँ मर्न डर के मलाई 
यौटा जीवन जननीभूमिमा प्रेमले मिल्नलाई 
हामी हाम्रो पन लडीलडी विश्वभरमा बचाऔँ
मातृभूमि जननी–मुखमा कान्ति मृदु जगाऔँ।। (नेपालीपना)

म सत्यको मित्र र पक्षपाती 
असत्यका लागि खुबै नजाती 
के क्षेत्री बाहुन र के किँराती 
आफन्त मेरा सब जात जाति।। (म)

उन्नत परिवर्तनप्रतिको आशा र आह्वान

आफ्नो जन्मभूमिलाई विशेष महत्त्वपूर्ण ठान्ने कवि रवीन्द्र भट्टराईले यस कविता सङ्ग्रहका माध्यमबाट देशमा रहेका विभिन्न विसङ्गतिविरुद्ध चुनौती दिने विद्रोही स्वर ओकलेका छन्। 

जीउज्यानले भेटेसम्म सामाजिक सुधारका लागि अग्रसर हुने दृढ विश्वास पनि उनले व्यक्त गरेको पाइन्छ। राणाकालबाट पञ्चायती काल र प्रजातन्त्र कालमा आइपुग्दा पनि सार्थक परिवर्तन नभएकोमा कविको गम्भीर गुनासो छ। 

देशमा गणतन्त्र आएको छ, सिंह दरबार गाउँगाउँमा पुगेको छ भनिन्छ तर आफूलाई सगरमाथाभन्दा अग्लो ठान्नेहरूको एकछत्र मोजमस्ती जारी छ। हिजो पनि यस्तैको हालीमुहाली थियो र आज पनि यस्तैको हाइदुहाई रहेकै छ। 

यिनै मानिसले देशका सामान्य सीधासाधा मानिसलाई भुल्याइरहेका छन्, झुक्याइरहेका छन्। तर यो देश यिनीहरूको रजाइँको मात्र विषय होइन, हामीसबैको उत्तिकै अधिकार छ। जनताभन्दा माथि कोही हुन सक्दैन भन्दै सारा नेपालीको दु:ख हटाउने सन्देश बोकेर आउन नयाँ वर्षहरूलाई कविको यस्तो आह्वान छ :

निष्ठा, सत्कर्म सेवाका प्रवाह–धार बहाउनू
तेजिला, चम्किला सोचले मान्छेका मनमा छुनू
अर्काको दुःख हाँसोमा कहिल्यै नउडाउनू
बरु घाउ र पीडामा शीतल लेप लगाउनू ।।
गीत–सङ्गीतले पूर्ण सौन्दर्य–गान गाउनू
मिचाहावृत्तिका गाथा कसैका नसुनाउनू
उन्नति, मैत्री, सत्सङका समाचारहरू ल्याउनू 
ए, नयाँ साल यसपालि लौ बाटो नबिराउनू।। (नयाँ वर्षको शुभकामना)

निष्कर्ष

काव्याञ्जली कविता सङ्ग्रहमा रहेका कविताहरूले सिङ्गै देशको वस्तुस्थितिलाई चिनाएका छन्। देश गणतन्त्रमय भएको छ, सीमित व्यक्तिको हातमा रहेको अधिकार धेरैतिर बाँडिएको छ तर प्रजातन्त्रका नाउँमा छाडातन्त्र फैलिएको देखिन्छ भन्ने आशयका साथ देशमा रहेका अन्याय र अत्याचार निर्मूल हुनुपर्ने सन्देश यस सङ्ग्रहले प्रस्तुत गरेको पाइन्छ। यसमा रहेका कविता लामो समयको उपज हुन्। यिनीहरूले पञ्चायत कालदेखि गणतन्त्रकालसम्मका अनुभवलाई बहन गरेका छन् र राणा शासनको क्रूरतालाई पनि आँकलन गरेका छन्। 

सबैजसो कविताले देशको रुल्मलिएको असहज परिस्थितिलाई बिम्बित गर्न खोजेका देखिन्छन्। गद्य कवितामा एकै किसिमको बनोट छैन भने पद्यात्मक कवितामा शिखरिणी, अनुष्टुप, शार्दूलविक्रीडितजस्ता छन्द बढी छन्। कतिपय ठाउँमा छन्दको नियमहरूको पालनामा कविको दृष्टि पुगेको छैन। 

काव्यमा शृङ्गार रस छैन, शान्त रस नगन्य छ, करुण रस छ तर त्यो पनि त्यस्तो सशक्त छैन। बरु, रसका दृष्टिले सिङ्गो काव्यमा वीर रसको बाहुल्य छ। सन्तोषभन्दा असन्तोषको भावाभिव्यक्ति बढी छ। निमुखा, गरिब र तल्ला वर्गप्रतिको सहानुभूति तिख्खर छ। नारीको गुणगान र उनीहरूप्रतिको संवेदनशीलतालाई त्यति समेट्न नसके पनि उनीहरूउपरका अन्याय र अत्याचारविरुद्धको आवाज भने सशक्त छ। 

देशप्रतिको आशक्ति बढी छ। राष्ट्रिय भावना बढी झाङ्गिएको छ। राजनीतिक व्यङ्ग्य छ तर धेरै सशक्त हुन सकेको छैन। जनतामा नै सार्वभौमसत्ता रहेकोले उनीहरूलाई सर्वोपरि ठान्नुपर्ने आशय स्पष्टै छ। 

सहिदप्रतिको समादर भाव बढी छ। प्रकृतिप्रेमले पनि केही ठाउँ पाएको छ तर त्यसप्रति कविको बढी नै चासो भने देखिँदैन। मानवताको ह्रासप्रतिको चिन्ता देखाउँदै जीवनको परिभाषा खोजिएको छ। प्रजातन्त्र मानसिक तहमा नआएको गुनासो गर्दै नेपालमा खै कस्तो प्रजातन्त्र आयो भन्ने प्रश्नचिह्न खडा गरिएको छ। सङ्घर्षमय जीवनमा हराइरहेको मानवता र शान्तिको खोजी गरिएको छ। 

नयाँनयाँ संविधानले पनि प्रजातन्त्रमाथि न्याय गर्न नसकेको गुनासो छ। भोकमरीबाट बचाउने अन्नदाता किसानहरूप्रति राज्यले दृष्टि दिन नसकेको आशय व्यक्त भएको छ। लिपुलेक, कालापानी र लिम्पियाधुराजस्ता देशका विभिन्न भूभागमा छिमेकी देशलाई ढलीमली गराएर बस्ने नेताहरूप्रतिको आक्रोश कवितासङ्ग्रहले पोखेको छ। देशका तमाम विसङ्गतिहरूका विरुद्धमा उत्रनुपर्ने कविको सबैलाई आह्वान छ। सामाजिक विसङ्गतिको विद्रोहात्मक स्वरलाई बुलन्द गर्ने भावनात्मक सङ्घर्ष बोकेको कविता सङ्ग्रह हो खासमा काव्याञ्जली।

आलङ्कारिक शैली र शिल्पका दृष्टिकोणबाट त्यति उच्च बन्न सकेको छैन यो कविता सङ्ग्रह। काव्यशिल्पताको कवितात्मक उचाइ छुन बाँकी नै देखिए पनि विषय र सन्देशका हिसाबले कमजोर छैनन् कवि रवीन्द्र भट्टराईका कविता। नेपाली काव्यजगतमा रवीन्द्र भट्टराईको 'काव्याञ्जली' सामाजिक सचेतना जगाउने जागरूक काव्य हो। अन्याय र अत्याचारका विरुद्ध न्याय र सद्भावनाको खोजी गर्ने यो कविता सङ्ग्रह विशृङ्खल लेखनक्रमले उनिएको विद्रोही स्वरको खण्डकाव्य हो। (गृहस्थी प्राध्यापन गर्छन्।)


 

प्रतिक्रिया दिनुहोस्