बुधबार, मंसिर १०, २०७७

विशेष समाज

'डाउन टु अर्थ' हाम्रा बा 

प्रकाश/किरण/रोशन केसी 

1605321652.jpg

सधैं सक्रिय भइरहनुपर्ने हाम्रा बुवाको पछिल्लो समयका दिन पनि आरामभन्दा काममा बित्थ्यो। अन्तिम दिन कात्तिक १७ गते पनि सकीनसकी कामकै सिलसिलाका फोनहरु गरिरहनुभएको थियो। सायद उहाँमा जिन्दगीको अन्तिम क्षण हो भन्ने आभास थिएन। त्यसैले सक्रिय नै भइरहनुभयो। एक दिन पनि आफूलाई फुर्सदमा राख्नुभएन। 

हजुरबुवा कीर्तिबहादुरकै प्रभावले हाम्रा बुवा सूर्यबहादुर केसी कन्सट्रक्सनको काममा संलग्न हुनुभएको हो। त्यसपछि बल्ल चाउचाउमा हात हाल्नुभयो। चाउचाउ कम्पनी त्यतिबेला धेरैजना व्यवसायी मिलिजुली सुरु गर्नुभयो। पछि चाउचाउ हुँदाहुँदै क्रिम्स वेफर उत्पादन पनि सुरु भयो। यो २०४८ सालतिरको कुरा हो। त्यसमा बुवासहित धेरैजनाको लगानी थियो। त्यतिबेला क्रिम्स वेफरको बजार धेरै राम्रो थियो। तर सामूहिक लगानीमा चलेको त्यो उद्योग बन्द हुन पुग्यो। 

तनहुँको जामुनेमा गण्डकी ब्रिक्सको नामबाट गुणस्तरीय चाइनिज इँटाको उत्पादन सुरु भयो। अहिले माछापुच्छ्रे ब्रिक्सको नामले चिनिएको छ। त्यो कम्पनी पनि यही समूहले नै २०४५ सालतिर सुरु गरेको हो। पछि यो समूहले कम्पनी बेचे पनि अहिलेसम्म जामुनेको इँटाको बजार राम्रो छ। फरक क्षेत्रका धेरैजनाको लगानी भएका कारण कम्पनी बेच्नुपर्ने अवस्था आयो। 

रारा चाउचाउले बजारमा राम्रो प्रभाव जमाइरहेका बेला बजारमा ब्राउन चाउचाउको प्रवेश भयो। त्यसपछि बुवाले आहा चाउचाउको उत्पादन सुरु गर्नुभयो। चाउचाउलाई मैदा चाहिने भएको मैदा उद्योग पनि स्थापना गर्नुभयो। सुनसरीको इटहरी नजिकै झुम्कामा पूर्वतिरका व्यवसायीलाई साथमा लिएर त्यो उद्योग खुलेको हो। 

त्यसपछि बुवाले शिक्षा क्षेत्रतिर पनि लगानी सुरु गर्नुभयो। यो बहुदल आइसकेपछिको कुरा हो। नयाँ व्यवसाय र काम थप्दै गए पनि निर्माण व्यवसाय भने निरन्तर चलिरहेकै थियो। २०४६ पछिको एक दशक नेपालमा चाउचाउ र निर्माणको क्षेत्रमा हाम्रो राम्रो उपस्थिति रह्यो। 

काठमाडौंको नेपाल मेडिकल कलेज, पोखरामा हाल सञ्चालनमा रहेको एअरपोर्टको टर्मिनल भवन, त्रिभुवन विमानस्थलमा आन्तरिकतर्फको टर्मिलन भवन पनि बुवाकै कम्पनीबाट बनेको हो। पोखरा एअरपोर्टको काम २०५२ मा सुरु भएर २०५४ मा सकिएको हो।

माइती नेपालको भवनमात्रै होइन पोखरा खानेपानी आयोजनाको बाँध पनि केसी कन्स्ट्रक्सनले नै गरेको हो। धरानको बिपी मेमोरियल क्यान्सर अस्पताल, लामाचौरको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको भवन पनि बुवाले नै बनाउनुभएको हो। उहाँ १८ वर्षकै हुँदा पोखराको रामबजारस्थित भारतीय पेन्सनक्याम्पको भवन पनि केसी कन्स्ट्रकसनले बनाएको हो। 

फेवातालको बाँध र सिद्धार्थ राजमार्ग बनाउने बेलामा भालुपहाडको चट्टान फोर्ने जिम्मा हजुरबुवाको पालामा भएको हो। हजुरबुवाको काममा सघाउन बुवा १४ वर्षको उमेरदेखि नै लाग्नु भएको हो। त्यतिबेला नै राइस मिल, तेल मिल थियो रे हजुरबुवाको। 

पोखराको प्रधानपञ्च भएका बेलामा पनि बुवाले व्यवसायलाई कुनै न कुनै रुपमा निरन्तरता दिइरहनुभएको थियो। बहुदल आइसकेपछि भने उहाँको राजनीतिक जीवन स्वाभाविक रुपमा सक्रिय भएन। त्यसपछि व्यवसायमै दुरदृष्टि राखेर थप काम अगाडि बढाउनुभयो। निर्माणको कामले तीव्रता त पायो नै बैंक स्थापना लगायतमा बुवा जुट्नुभयो। 

बुवा कहिल्यै पनि खाली बस्न नसक्ने। धेरै कुरामा उहाँ सिपालु हो। थोरै पैसा हुनेबित्तिकै जग्गामा लगानी गरिहाल्नु हुन्थ्यो। जग्गाको लगानी जहिल्यै पनि राम्रो थियो उहाँको। त्यही समयमा बुवाले पोखरा १४ मा गोरखा भिलेज रिसोर्ट भनेर सुरु पनि गर्नुभएको हो। त्यसमा गल्फ कोर्स पनि समावेश थियो। 

गोरखा भिलेजमा गोरखा दरबारको मेन हल, क्षत्री बाहुन भिलेज, गुरुङ मगर भिलेज, नेवा भिलेजको अवधारणसहित उहाँले त्यो काम थाल्नुभएको थियो। द्वन्द्व सुरु भइसकेपछि गोरखा भिलेजको काम रोकियो। त्यति नै बेला हो पोखरामा फूलबारी रिसोर्टको काम सुरु भएको पनि। 

२०५८ सालतिर बुवाले हाइड्रोतिर पनि लगानी सुरु गर्नुभयो। तालमा बाँधको काम गरेको, फेवा ड्यामबाट बत्ती उत्पादन गरेको देखेपछि नै हाइड्रोतिर ध्यान गएको हो। उहाँले हाइड्रोको बारेमा पनि धेरै ज्ञान राख्नुभएको थियो त्यतिबेला।

नेपालमा निजी क्षेत्रबाट बिजुली उत्पादनको बाटो खुलेपछि बुवाले काम सुरु गरिहाल्नु भयो। यसका लागि उहाँका केही प्रोजेक्टहरु इन्जिनियर महेन्द्रबहादुर गोदार, पुल्चोक इन्जिनियरिङ क्याम्पसका अर्जुन पौडेललाई साथमा लिएर तयारी गरिरहनुभएको थियो। 

बिजुली उत्पादन भएपछि नेपाल र नेपालीको आर्थिक अवस्था राम्रो हुन्छ भन्नेमा उहाँ त्यतिबेला नै प्रष्ट हुनुहुन्थ्यो। अहिले जति क्षमतामा हामीले बिजुली उत्पादन गरिरहेका छौं, त्यसले पोखराको माग धान्न सक्छ। गण्डकी हाइड्रोपावर (४.८ मेगावट) बाट हामीले काम थालेको हो। अहिले हामीसँग ६ वटा प्रोजेक्ट छन्। 

टास्क हाइड्रोपावरबाट १ मेगावाट, भगवती हाइड्रोपावर ४.५ मेगावट, सिक्लेस हाड्रोपावर १३ मेगावाट, युनाइेड इदीमर्दीबाट ६ मेगावाट बिजुली उत्पादन भइरहेको छ। ४.५ को सिभिल हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगिसकेको छ। सेती नदीमा ३२ मेगावाटको करुवा सेती हाइड्रो पनि निर्माणाधीन छ। २० मेगावाटको अर्को परियोजना पिपिए प्रक्रियामा छ। अरु २ वटा परियोजनाका बारेमा पनि बुवाले सोचिरहनुभएको थियो। 

बुवाले सिमेन्ट उद्योगमा पनि चासो दिनुभयो। दाङ सिमेन्टमा उहाँले चासो देखाउनुभएको थियो। उहाँ पहिलोपटक बिरामी भएर उपचार गरेर आइसकेपछि बुवाका पार्टनरहरुले आँट गर्न सक्नुभएन। पछि त्यो परियोजना होलसिन भन्ने स्विस कम्पनीले लिएर चाइनिजसँग सहकार्य गरेको छ। पछिल्लो समय त कम्पनी होङ्सीले लिइसक्यो। त्यसमा बुवाको अझै पनि केही लगानी छ। 

हाम्रो बुवाले जति काम गर्नु भयो फेजवाइज गर्नुभएको छ। राजनीतिमा अलि निस्क्रिय रहेका बेला नै उहाँले उद्योगधन्दामा अलि माथि उठेको हामीले पनि अनुभूति गरेका छौं। 

२०५४ सालमा बुवाकै अगुवाइमा माछापुच्छ्रे बैंक दर्ता भएको हो। त्यतिबेला माओवादी द्वन्द्व पनि चलिरहेकै थियो। त्यो अवस्थामा पोखराबाट क्षेत्रीयस्तरको वाणिज्य बैंक खोल्नका लागि बुवाले कुरा मिल्ने ६–७ जनासँग सरसल्लाह गर्नुभयो। त्यसको कन्सेप्ट पछि राष्ट्रियस्तरकै वाणिज्य बैंकमा जाने नै थियो। गयो पनि। 

आनन्दराज बतास, कालु गुरुङ अंकलहरुसँगको सहकार्यमा बैंक अगाडि बढेको हो। बैंक भनेको एक्लै स्थापना गर्न सक्ने त कुरै भएन। फेरि बुवा कहिले पनि बैंकको अध्यक्ष हुन्छु भनेर चाहना पनि राख्नु भएन। संस्थापक त हुनुभयो, अध्यक्ष हुनुभएन। संस्थापक अध्यक्ष बैंकिङ लाइनकै शंकरमान डंगोल हुनुभयो। बैंकमा कुनै बेला ठूलै हलचल पनि आयो। अहिले भने फरक व्यवस्थापनका साथ राम्रोसँग चलिरहेको छ। 

त्यति बेला बुवाले कन्स्ट्रक्सनको कामलाई पनि एकदमै प्राथमिकता राख्नुभएको थियो। भवन निर्माणमा त्यति बेला केसी कन्स्ट्रक्सन मुलुकभर टप फाइभमै थियो। पछि कन्स्ट्रक्सनमा धेरै प्रतिस्पर्धा हुन थालेपछि बुवाले केही सेलेक्टिभ काममात्र गरौं भन्नुभयो। त्यसै गरियो। निर्माणको काममा धेरै प्रतिस्पर्धा भएकै कारण बुवाले हाइड्रोतिर ध्यान दिनुभएको हो। 

बुवाका त्यतिबेलाका व्यावसायिक साझेदार हरि पाण्डे अंकल र अरु धेरै इन्जिनियरहरुले बुवाको बारेमा धेरै प्रशंसा गरिरहेको हामी सुन्छौं। हरि अंकलकै प्रेरणाबाट बुवा हाइड्रोमा आउनुभएको हो। हरि पाण्डे अंकल जलस्रोत मन्त्री भएर आएपछि केसीजी अब हाइड्रोमा जानुपर्छ भन्नुभएको हो। गण्डकी हाइड्रोपावर नै उहाँसँगको साझेदारीमा बनेको हो। भगवती हाइड्रोमा त उहाँ नै अध्यक्ष हुनुहुन्छ अहिले। 

अब हाइड्रोपावर नै गर्नुपर्छ भनेर हामी ३ भाइ छोरामध्येबाटै इन्जिनियरिङ पढ्न पुल्चोक पठाउनुभएको हो। पुल्चोकमा नाम निस्कँदा बुवा निकै खुसी हुनुभएको थियो। अर्जुन पौडेल अंकल त्यतिबेला २६–२७ वर्षको हुनुहुन्थ्यो। उहाँसँग धेरै ज्ञान थियो हाइड्रोको। अहिले नेपालको हाइड्रो सेक्टरमा पौडेलको ठूलो योगदान छ। बुवाले जहिले पनि योङहरुसँग बसेर सल्लाह लिन रुचाउनुहुन्थ्यो। अर्जुन अंकलहरुसँग योजना र आइडिया थियो। त्यसमा बुवाहरुले पुँजी थप्नुभयो। जसबाट ट्युन मिल्न गयो। 

बुवासँग अचम्मकै क्षमता थियो। हिसाब गर्न क्यालकुलेटर नै नचाहिने। एकदम छिटो हिसाब निकाल्ने। निर्माणका लागि चाहिने नक्सा पनि आफैले कोरेर आर्किटेक्टलाई सुझाउनुहुन्थ्यो। चाउचाउकै कुरा गर्दा पनि उहाँमा ए टु जेड कति मैदा, कति सुप भनेर हरेक चिजको आंकलन गर्नसक्ने क्षमता थियो। हाइड्रोका लागि साइटमै नगए पनि कुन संरचना कहाँ बनाउँदा उपयुक्त हुन्छ भन्न सक्नुहुन्थ्यो। पछिल्लो समय उहाँ शारीरिक रुपमा स्वस्थ नभएकाले साइटमा धेरै पुग्न सक्नुभएको थिएन। त्यही पनि कहिलेकाहिँ त उहाँ निस्कनुभयो फिल्डमा। 

शिक्षा क्षेत्रमा पनि बुवाको योगदान धेरै छ। आफू जन्मेहुर्केको ठाउँ भएर काजीपोखरीमा कालिका बहुमुखी क्याम्पस स्थापना गर्नुभयो। देहावसानसम्म पनि उहाँ उक्त क्याम्पसको अध्यक्ष रहनुभयो। सन्तबहादुर गुरुङ, बलवीरसिंह नेगी, महेश गुरुङ सरहरुलाई साथमा लिएर त्यो क्षेत्रको विकासका लागि कलेज पनि चाहिन्छ भनेर बुवा शिक्षामा लाग्नुभएको हो। भवन निर्माणदेखि अरु कामका लागि उहाँले सुरुदेखि नै सक्रियता देखाउनुभयो। 

त्यसपछि काठमाडौंमा सानोस्तरबाट नेपाल इन्जिनियरिङ कलेज स्थापना गर्नुभयो। त्यसमा बुवामात्रै एक्लै हुनुहुन्थेन। पार्टनरसिपमा सुरु भएको हो। दीपक भट्टराई सर, हरि पाण्डे अंकल र बुवाका अरु साथीहरु मिलेर कलेजको कन्सेप्ट ल्याउनुभएको हो। नेपाल मेडिकल कलेज पनि बुवाहरुले नै खोल्नुभयो। मेडिकल कलेजको भवन त बुवाले आफैले बनाइदिएर पछि हिसाब मिलाउनुभएको हो। कलेजलाई असजिलो परेका बेला आफू पदबाट हटेर लोन दिलाएर सर्भाइभ गराउनुभएको हो। 

स्व. सूर्यबहादुर केसी

कलेजहरु स्थापना गर्न उहाँले सबै भारहरु आफ्नो टाउकामा लिएर पद छाडेर स्थापित गराएका उदाहरण छन्। पोखरामा होटल म्यानेजमेन्ट कलेज खोल्न पनि दीपक भट्टराई सरको मुख्य देन हो। अहिले अशोक पालिखे अंकल त्यसको अध्यक्ष हुनुहुन्छ। पहिला पहल गर्ने अशोक अंकल नै हो। बुवाहरुसँग कुरा मिलिसकेपछि हामी पनि सँगै जाऊँ भनेर अगाडि बढियो। बुवासँग जग्गा थियो, त्यही जग्गमा भवनहरु बनाइयो। पछि जग्गालाई सेयरमा परिणत गरियो। 

पछिल्लो समयमा बुवाकै रुचिअनुसार निर्माण कम्पनीलाई हामीले थप सक्रिय बनाइरहेका छौं। पोखरा विश्वविद्यालयको भवन, सूर्य नेपालको फ्याक्ट्री हामीहरुले नै बनाएको हो। नेपाल आर्मीको मुख्यालयको भवन जुन राष्ट्रपतिबाट उद्घाटन भयो। हामीले त्यो भवन निर्धारित समयअघि नै सकेको हो। काठमाडौं जिल्ला अदालतको भवन पनि केसी कन्स्ट्रक्सनले नै बनाउने जिम्मा पायो। 

त्यसो त २०५४ सालतिरै मर्दी खानेपानी आयोजनाको काम हामीले गरेको हो। पर्वतमा पनि सामुदायिकस्तरको खानेपानी आयोजना बनाइयो। त्यसमा स्थानीयस्तरमा निकै विवाद पनि भएको थियो। 

अहिले केसी कन्स्ट्रक्सनको हातमा गोदावरीको सम्मेलन केन्द्र निर्माणाधीन छ। यो जेभीको काम हो। केसी–समानान्तरले काम गरिरहेको छ। काठमाडौंमा मुख्यमन्त्रीहरुको निवासकोे पनि जेभीमै काम भइरहेको छ। 

हजुरबुवा पहिला कोलकातामा हुनुहुन्थ्यो रे। भारतमा धार्मिक द्वन्द्व बढेपछि नेपाल आएर उताको अनुभवले काम गर्नुभयो। उहाँबाट बुवाले सिक्नुभयो। बुवाबाट हामीले सिकेका छौं। बुवामा जे काम पनि छिटो सिक्ने, चासो दिने भएकाले हजुरबुवालाई सजिलो भयो। 

समाजसेवामा बुवाको चासो उस्तै थियो। सेवाको कुरा हामीले भन्नु त्यति उपयुक्त पनि नहोला। बुवाले सहयोग गरेको विषय हामीलाई नभने पनि थाहा भने हुन्थ्यो। कति कहाँ सहयोग गर्नुभएको छ हामीलाई अवगत छ। जहाँ जसलाई गर्नुभयो राम्रो ठाउँमा गर्नुभयो। कसैलाई जागिर लगाउनेदेखि आर्थिक सहयोग गर्न उहाँ कहिल्यै हिचकिचाउनुभएन। 

उहाँ ‘डाउन टु अर्थ’ मान्छे। जसलाई पनि सहयोग गर्नुपर्छ भन्ने भावना थियो। ठूलो सानो भनेर कसैलाई हेर्नुहुन्थेन। कसैलाई भनेर सहयोग हुन्छ भने भन्दिनुहुन्थ्यो। पोखरेलीहरुले कति माया गर्थे भन्ने हामीले उहाँ बिरामी हुँदा नै महसुस गरेका थियौं। उहाँले पनि महसुस गर्नुभएको थियो। सेवा नै उहाँको सबैभन्दा ठूलो धर्म थियो। कसैलाई जागिरका लागि भन्दिनुपर्ने हो कि, छात्रवृत्तिका लागि हो कि जुन कामका लागि पनि उहाँ सहयोग गर्न अघि बढिहाल्नुहुन्थ्यो। वरिपरि मान्छेहरु भए भने, कोही भेट्न आयो भने उहाँले बोर मान्नेभन्दा पनि खुसी हुने गर्नुहुन्थ्यो। 

हामीमध्ये किरण युकेमा पढिरहँदा ल आफ्नै देशमा आउनुपर्छ भन्नुभयो। अनि फर्केर आएपछि किरणलाई काठमाडौं राखेर भन्नुभयो, ‘मैले तिमीहरुलाई सबै कुरा पुर्याएको छु। खान लाउन बस्न पुग्छ तिमीहरुलाई। अब केही कुरा गर्ने हो भने सम्हाल्ने तिमीहरुले हो। हुन्छ भन्छौ भने आँट्छु।’ अनि किरणबाट जवाफ गयो, ‘हुन्छ बुवा आँटौं।’ 

उहाँ रोजगारी सिर्जना गर्नतिर ध्यान दिइरहनुभएको हुन्थ्यो। दाङमा सिमेन्ट उद्योगको कुरा भइरहेको थियो, त्यो सुरु हुन्थ्यो भने धेरैले रोजगारी पाउँथे। तर अब ड्याडीलाई आराम गराउनुपर्छ भनेर धेरैचोटि आराम गराउन धेरै प्रयास गर्यौं। झन् सेकेन्ड टाइम बिरामी पर्दा र मिर्गाैला प्रत्यारोपण गरेर आएपछि धेरै प्रयास गर्यौं। बाहिरफेर धेरै काम नगर्नाेस्, अब हजुरलाई गर्नुपर्ने नै के छ र भन्यौं। घुम्नुस्, बस्नोस् भन्यौं। तर उहाँ भन्नुहुन्थ्यो, ‘हेर, जुन दिन मेरो दिमाग चल्न छोड्छ र काम गर्न छोड्छु म त्यो दिन सिद्धिएँ भने हुन्छ।’ 

उहाँ जहाँ र जुन कार्यक्रममा गए पनि आर्थिक सहयोग गरिहाल्नुहुन्थ्यो। पहिलापहिला हामी सानो हुँदा त केही थाहा हुँदैनथ्यो। तर जहिलेदेखि थाहा पाउन थाल्यौं, हामी कसैले पनि उहाँको त्यो बानीमा एकरति पनि गुनासो गरेनौं। उहाँ जति सहयोग गर्नुहुन्थ्यो, त्यसभन्दा धेरै आनन्द प्राप्ति गर्नुहुन्थ्यो। हामी दंग पथ्र्याैं, उहाँको सहयोगी भावना देखेर। हामीलाई हाम्रो बुवा भएरमात्रै भनेको होइन, वास्तवमै मानवीय गुण उहाँमा असाध्यै धेरै थियो र उहाँ हामीलाई मानवीय हिसाबमै पनि आदर्श पात्र लाग्छ।

हामीमध्ये रोशनलाई याद छ, ‘एकजना भाइले इन्जिनियरिङ पढ्न इच्छा गरेको थियो, तर पैसा थिएन, बुवालाई त्यो कुरा थाहा भएपछि उहाँले छात्रवृत्तिका लागि भन्दिनुभयो। तर बुवाले उनलाई पढेपछि हाम्रो कम्पनीहरुमा काम गर्नुपर्छ भनेर कहिल्यै भन्नुभएन, त्यो अपेक्षा राख्नुभएन।’ मन उहाँको निकै ठूलो थियो। कसैले आएर उहाँका अघि सहयोग माग्दा खालि हात गएको कमै देख्यौं। सकेसम्म भनेर हुने कुरा र आफूले गरेर हुने कुरामा उहाँले कहिल्यै नगरेको र नभनेको भन्ने भएन। 

बुवा कहिल्यै पनि हार मान्ने मान्छे होइन। पछिल्लो समय पनि उहाँका धेरै योजना थिए। बर्दियामा चाउचाउ फ्याक्ट्री तयार गरिसक्नुभएको थियो। त्यो काम साढे २ वर्षको दौरानमा आफैं लागेर पूरा गर्नुभएको थियो। लकडाउन नभएको भए चैतबाटै सुरु हुन्थ्यो होला। त्यहाँ ३ सय जनालाई रोजगारी सिर्जना हुन्छ। चाउचाउको उद्योग यहाँको भन्दा बढी क्षमताको हो, सँगसँगै जुस फ्याक्ट्री पनि थियो। 

पछिल्लो समय उहाँको ध्यान कृषिमा थियो। चिया खेतीका लागि झापामा जग्गा लिनुभएको थियो। केरा खेती गर्ने, अरु पनि खेती गर्ने र निर्यात गर्ने योजना थियो। निर्माण, उद्योग, जलस्रोतपछि उहाँ अबचाहिँ कृषिमा जाने भनेर लाग्नुभएको थियो। पछिल्लो समय उहाँको धार्मिक आस्था गहिरो थियो। आफैं पनि ध्यान गर्नुहुन्थ्यो। धर्म बचाउने हाम्रो कर्तव्य हो भन्नुहुन्थ्यो। 

परिस्थितिले बुवा राजनीतिमा लाग्नुभएको हो। पोखरा नगर पञ्चायतको प्रमुख हुँदा विकासमा ध्यान दिनुभयो। विकासकै कारणले उहाँले दोस्रोपटक पनि चुनाव जित्नुभयो। उहाँ जनताप्रेमी हुनुहुन्थ्यो। विकासप्रेमी हुनुहुन्थ्यो। उहाँ नगर प्रमुख हुँदा दीपेन्द्र सभागृह बन्यो। महेन्द्रपुल नयाँ बनाउनुभयो। पोखरालाई हरित सहर बनाउने भनेर वृक्षरोपणको अभियान चलाउनुभयो।

सडकका दायाँबायाँ जतातै रुख रोपिए। सडक बनाउनुभयो। पार्कहरु बनाउनुभयो। प्रजातन्त्र आएपछि अरु पनि राजनीतिमा सक्रिय भएपछि उहाँ राप्रपामा लाग्नुभयो। २०५१ सालमा चुनाव लड्नुभयो, पराजित भए पनि भोट राम्रो ल्याउनुभएको थियो। २०६४ सालमा राप्रपाबाटै संविधान सभा सदस्य हुनुभयो। बुवा संविधान सभामा सक्रिय हुनुहुन्थ्यो। संविधान लेखनका लागि लाग्नुभयो। भलै पहिलो संविधान सभाबाट संविधान बन्न सकेन। 

पछिल्लो समय उहाँ कांग्रेस प्रवेश गर्नुभयो। किन कि उहाँको आस्था र विचार प्रजातान्त्रिक नै थियो। कांग्रेस सभापति शेरबहादुर देउवाले पहिल्यैदेखि नै आइदिनुपर्यो भन्नुभएको रहेछ। प्रजातान्त्रिक धारको व्यक्ति भएको हुँदा पनि कांग्रेस नै उत्तम लाग्यो। हामी बुवाको सपना पूरा गर्ने बाटोमा लाग्छौं। सबै हाम्रा संस्थालाई केसी ग्रुपअन्तर्गत राखेर काम गर्छाैं। सबै पोखरेलीहरुले बुवालाई गर्नुभएको मायालाई सम्मान गर्ने गरी हामी अघि बढ्छौं। 
...
छोराहरुका रुपमा बुवासँगका हाम्रा आफ्नाआफ्ना व्यक्तिगत सम्झना पनि छन्। 

रोशनः कान्छो भएको हुनाले पनि म बुवाको अलि बढी प्यारो थिएँ। बुवाकै कुरा मानेर म इन्जिनियरिङतिर लागेँ। पढेर देशमै केही गर्नुपर्छ भन्ने बुवाको सोचाइअनुसार लागेँ। बुवाको चाहनाअनुसार इन्जिनियनिरिङतिर नै बढी ध्यान दिइरहेको छु। कहिल्यै पनि हार नमान, धैर्य राख भन्ने बुवाको शिक्षा हुन्थ्यो। राम्रो काम गर्दा कहिँबाट पछि नहट भन्नुहुन्थ्यो। 

किरणः म चाहिँ सानैदेखि बुवासँग अट्याच थिएँ। राति बुवासँगै सुत्नुपर्ने हुन्थ्यो। बुुवाका सबै सजिलो र अप्ठेरो समयमा सधैं सँगै भएँ। जीवनका लागि बुवाले दिनुभएको सन्देश एउटा घटनाबाट सम्झन्छु। हामीहरु एकपटक टेन्डर हाल्न नारायणगढ गएका थियौं।

तिनै दाजुभाइ बुवासँग गएका थियौं। बिहान नारायणगढ पुगेर बसपार्कमा एउटा सामान्य ठाउँमा जेरीपुरी खायौं। बेलुकाचाहिँ काम सकेर फर्किएर स्टार होटलमा डिनर गर्यौं। अनि बुवाले भन्नुभयो, ‘बिहान हामीले जेरीपुरी खाएको ठाउँमा खाने मान्छे यहाँ स्टार होटलमा आउँदैन र यो स्टार होटलमा डिनर खाने मान्छे त्यो जेरीपुरी पाइने ठाउँमा गएर खाँदैन। जिन्दगी राम्रोसँग बुझ्नुपर्छ। जस्तो पनि हुन सक्नुपर्छ।’ 

गण्डकी हाइड्रोपावर बनाउने पालामा धेरै ठूलो समस्या भएको थियो। निकै ठूलो विरोध भएको थियो। फिल्डमा त्यस्तो विरोध देखेपछि बेलुका घरमा आएर रोशन र मैले भन्यौं, ‘२–४ करोड खर्च भयो–भयो। यो प्रोजेक्ट नगरौं भो, छोड्दिम्। हामीलाई नपुग्दो के छ र !’

तर बुवाले तिमीहरुले नगर्ने भए नगर म गर्छु भन्नुभयो। जब त्यो ठाउँमा बत्ती बल्यो, सबै खुसी हुनुभयो। अनि बुवाले भन्नुभयो, ‘त्यो बेला हार मानेको भए प्रोजेक्ट पूरा हुँदैनथ्यो। जीवनमा त्यसरी हार मान्यौ भने तिमीहरुले गरिखाँदैनौ।’ बुवाले हार नमान्न ठूलो शिक्षा दिनुहुन्थ्यो। 

प्रकाशः बुवाले असाध्यै माया गर्नुहुन्थ्यो। बुवालाई जति आदर गर्थें र सुझाव पनि दिन्थें। सशस्त्र द्वन्द्वका बेला विदेश गएर बसौं भनेको थिएँ, त्यो कुरामा उहाँ सहमत हुनुभएन। जस्तो भए नि आफ्नै देशमा बस्नुपर्छ भन्नुभयो। देशको माया गर्नुहुन्थ्यो र हामीलाई पनि त्यही कुरा सिकाउनुभयो। उहाँ साह्रै लचिलो हुनुहुन्थ्यो। संयम हुनुहुन्थ्यो। फ्याट्टै रिसाउने बानी थिएन।

हामीले गल्ती गर्दा पनि उल्टै माया गरेर हामीलाई महसुस गराउनुहुन्थ्यो। एकपटक मेरो पढाइ राम्रो भएन। बल्लबल्ल गरेर फोनमा सुनाएँ। धेरै डर लागेको थियो। तर, ल राम्रो गरेर पढ्नू भन्नुभयो। मैले महसुस गरेँ। जसलाई पनि सहयोग गरिहाल्ने बुवाको बानीबाट म साह्रै प्रभावित छु। सानो ठूलो कसैलाई नठानी सबैलाई भाउ दिनुहुन्थ्यो। 

(भरत कोइरालासँगको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्