काठमाडौं– लामो रस्साकस्सीपछि अब नेपाली अर्थोडक्स चिया आफ्नै व्यापार चिह्नसहित विश्वबजारमा जाने भएको छ ।
हालसम्म निर्यातकर्ताले आआफ्नै उद्योगको व्यापारचिह्न प्रयोग गरेर निर्यात गरिरहेको चिया अब सरकारले जारी गरेको ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालयज’ नामक व्यापारिकचिह्न लागेको तयारी चिया विश्व बजारमा जाने भएको हो।
‘चियाको राजधानी’ इलामको फिक्कलमा सार्वजनिक गरिएसँगै अब १२ उद्योगका चिया ट्रेडमार्कसहित जाने भएका हुन्।
‘अत्यन्तै धेरै सास्ती खेपेर लोगो कार्यान्वयनमा आयो। अब हामीले नेपालको चिया भनेर बाहिर दिन सक्छौँ,’ चिया उद्योगी उदय चापागाईंले भने ।
उनले उद्योगको आफ्नै ब्राण्ड भए पनि अब नेपालको चिया भनेर बेच्न पाइने भएकोमा खुशी व्यक्त गरे।
नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४ ले तय गरेका मापदण्ड र आचारसंहिता पालना गरेका चिया उद्योग र सहकारीलाई ट्रेडमार्क प्रयोग गर्न इजाजत प्रदान गरिएको छ।
चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशककै संयोजकत्वमा मार्क अनुगमन, व्यवस्थापन तथा नियमन समिति गठन भएको छ ।
चिया उद्योगीको संस्था हिमालयन अर्थोडक्स टी प्रोड्युसर्स एशोसिएशन (होट्पा)ले ‘नेपाल टी क्वालिटी फ्रम दि हिमालयज’ लेखिएको ट्रेडमार्क तयार गरेर बोर्डमा पेश गरेको थियो।
समितिले तयार पारेको शत प्रतिशत मापदण्ड पूरा भएमा मात्र उद्योगले ट्रेडमार्क पाउनेछन्।
चियाको ट्रेडमार्क पाउन उद्योगीले सर्वप्रथम बोर्डमा निवेदन गर्नुपर्छ भने बोर्डले आवश्यकतानुसार स्थलगत अवलोकनपछि ट्रेडमार्क दिन्छ।
‘नेपाली बजारको माग पूरा भएर अन्तर्राष्ट्रिय बजारमा पुग्ने एउटै मात्र कृषिजन्य वस्तु चिया हो,’ बोर्डका कार्यकारी निर्देशक डा विष्णु भट्टराईले भने।
चियाको प्रवद्र्धन मात्र नभई गुणस्तरको मापन गर्नसमेत ट्रेडमार्क मुख्य रहेको कृषि तथा पशुपन्छीमन्त्री घनश्याम भुसालको भनाइ छ ।
रासस