बिहिबार, मंसिर १८, २०७७

विशेष समाज
1605239190.jpg

उत्तरी भेगको इलाममा सधैं कागे मेलाले तिहारको बहार लिएर आउँथ्यो। वर्षमा एकपटक लाग्ने मेला यो वर्ष न लाग्यो, न तिहारको बहार आयो।

relifeinsurance

पहिलेपहिले त जबसम्म कागे मेला सकिँदैन, त्यहाँका मानिस पाहुना सत्कार गर्न व्यस्त रहन्थे। आजभोलि त्यो व्यस्तता पनि छैन। न व्यस्त बन्ने भावना नै बाँकी छ।

बरु इलामको उत्तरी भेगमा बस्ने मानिस आजभोलि त्यही मेलाको सम्झना गरेर बसिरहेका छन्। कारण– कोरोनाले मेला लाग्नै कहाँ दियो र !

कागेमा बेंसीको अम्बादेखि चिया, चिराइतोजस्ता लोकल उत्पादन समेत किनबेच हुन्छ। मेला हेर्न आउनेलाई चिया, चटपटे बेच्नेको भीड पनि सानो हुँदैन। तिहारका झिल्झिले बत्तिदेखि भाइटीकाका गिफ्ट र टीका सामग्री बेच्न इलाम बजारदेखि भारतसम्मका व्यापारी मेलामा आउँथे।

यसबीच मेलामा अत्यधिक चल्ती हुने मदिरालाई चटक्कै भुल्नु पनि हुँदैन। स्थानीय मदिराको प्यालासँगै दुःखसुखको गफ गर्न पाउने अवसर पनि कागे मेला नै हो।

साविकको जमुुना गाविसमा रहेको उक्त ठाउँमा जब ‘वारी जमुना पारी जमुना..’ गीत घन्किन्थ्यो, मन त्यसै फुरुङ्ग हुन्थ्यो। लाग्छ खेमराज गुरुङले त्यो गीत जमुनावासीकै लागि लेखिदिए र गाइदिए।

मेला सुरु भएपछि नै जमुनामा तिहारको रमझम सुरु भइहाल्छ। टाढा गएका मान्छे पनि मेलामै घर फर्किन्छन्। चाडवाड नजिकिँदै गर्दा ठाउँ सम्झाउने अलार्म जस्तो पनि हो, कागे।

‘आउँछ नि ! धेरै याद आउँछ त्यो कागे मेलाको। त्यो त हाम्रो शान हो। त्यो बेलाको याद झन् धेरै आउँछ जुन बेला गोलरक्षक दौरा सुरुवालमा हुन्थे,’ वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा रहेका स्थानीय गोविन्द खनालले म्यासेन्जरमा कागे मेला सम्झिए, ‘खेलाडीहरु गमबुट काटेर गोलबुट बनाउँथे। गाउँकै खेलाडी नोर्बु लामा र राम बहादुर डिफेन्समा हुँदा राष्ट्रिय टिमका लोकबन्धु गुरुङ फिका पर्थे। मेला हुँदा फोटोमा हेरेर यो सबै याद ताजा हुन्थे। यो वर्ष मेलै लागेन।’

नेपालमा रहँदा र मेला लाग्दा एउटा स्टल उनको पनि हुन्थ्यो। वैदेशिक रोजगारीको ९ वर्षपछि पनि उनले त्यो याद भुल्न सकेका छैनन्।

‘अहिले धेरै कुरा परिवर्तन भएका छन्। कम्पनीमा विदा बसेरै रेडियोबाट मेलाको लाइभ सुन्थेँ। त्यसले शरीरमा छुट्टै उर्जा भर्थ्यो। शरीर यहीँ भए पनि मन जमुना पुगिहाल्थ्यो,’ उनले विदेशबाट भावना पोखे, ‘अझ आफ्नो गाउँले फुटबल जित्दा त स्वर्गीय आनन्द हुन्थ्यो।’

यसरी सुरु भयो मेला ?

स्थानीय जानकारका अनुसार यो मेला करिब वि.सं. २०२५–२०३० बीचबाट बाट सुरु भएको हुनुपर्छ। र, मेलाको संस्थापक भने पक्कै पनि रुपमा खिमराज गुरुङ नै हुन्।

उनी उदार मनका, मदिराका सौखिन थिए र बालबच्चा भेला गरेर फुटबल खेलाउँथे। त्यसमाथि तिहारको रौनक लाग्दै गर्दा उनले यस्तो खेल गराउँथे। उनी पञ्चायत कालमा उपप्रधान पञ्चसमेत थिए। यसकारण गाउँमा उनको प्रभुत्व पनि राम्रो थियो।

कागे मेला मूल समारोह समितिका सचिव पदमा रहेर काम गरिसकेका तारा न्यौपानेले सुनाए, ‘त्यतिबेला यसो भेला हुने, रमाइलो गर्ने, तरुण–तन्नेरीहरु भेला भएर गफगाफ गर्ने गर्दै पछि मेलाको रुपमा विकसित हुँदै गएको मैले पनि सुनेको हुँ। त्यहीँ भेला भएका मानिसलाई खिमराजले फुटबल प्रतियोगिता गराउँथे।’

त्यतिबेला, खेल गराउँदा शिल्ड राख्ने चलन थियो। कसैकसैले मृत्यु भइसकेका बाबुआमाका नाममा शिल्ड राख्थे र गेम गराउँथे। गाउँस्तरको प्रतिस्पर्धा हुन्थ्यो।

कपचाहिँ जसले तीन वर्ष लगातार जित्छ, उसले लान पाउँथ्यो। नभए सिजनको विजेता हुन्थ्यो। जमुनामा फुटबलको सुरुवात यसरी नै भएको हो। ‘यसले पछि गएर मात्र कागे मेलाको नाम पाएको हो। त्यतिबेला खेल चाहिँ काग तिहार पछि मात्र हुन्थ्यो,’ न्यौपानेले भने, ‘काग तिहारबाट सुरु हुने भएर कागे मेला हुन थालेको हो।’

पहिले मावु, जमुना, माइमझुवा, सुलुबुङ लगायतका ठाउँको खेल मात्र हुन्थ्यो। दुई तीन दिन खेल गराएपछि प्रतियोगिता सकिहाल्थ्यो। तर अहिले चाहिँ प्रतियोगितामा जिल्लाभरिका धेरै टिम प्रतिस्पर्धामा हुन्छन्।

त्यसैले काग तिहारपछि भाइटीकासम्ममा खेल नसकिने भएकाले यमपञ्चकको पहिलो दिन खेल सकिनेगरी मेला आयोजना हुने गरेको छ।

मेलाको विकास

पञ्चायतकालमा त सुरुवती चरणमा नै थियो। त्यसपछि केही विकास भयो। मेला राति पनि लाग्थ्यो। दिउँसो खेल भइहाल्थ्यो। त्यहीबीचमा अवस्थामा माओवादी द्वन्द्व सुरु भयो। तर फुटबलमा रस पसेका गुरुङ समुदायले खेल रोकिन कहाँ दिन्थे र ? पुस्तैनी निशाना जो थियो।

एकदुई साल त नखेलाउँ भन्नेसम्मको हल्ला चल्यो। यता फुटबल नभएपछि युवाको ओठमा तिहारभरि हाँसो नदेखिने अवस्था आयो। ‘जोश हुनुपर्ने उमेरका मानिसमा खुसी नहुनु दुर्भाग्य हो। त्यसैले गाउँका डिकबहादुर साँवा, उमेश गुरुङ, इन्द्र गुरुङलगायतको टिमले गाउँ वरपरकै स्थानीय टिमलाई बोलाएर मेला टिकाउन सफल बन्यौ,’ न्यौपानेले भने, ‘हाम्रो प्रतियोगिता ठूलो स्पोन्सरबाट गर्ने होइन। यसो दुई चार सय आफैंले उठाएर पुरस्कारको व्यवस्था गर्यौँ।’

द्वन्द्वकालमा रातिको मेला लाग्न भने सम्भव भएन। तर, समयअनुसारका विलासी खेलहरु मेलाका आकर्षण थिए। प्रौढलाई मदिरा, युवालाई जुवा, डाइस र गफ छाँट्ने ठाउँ र बालबालिकालाई मानिसको जमघट हेर्ने समय मेलाको आकर्षण बन्न थाले।

प्रेम जोडीलाई भेटघाट गर्ने मौका पनि मेलाले जुराइदिन्थ्यो। कसैकसैको त जोडी नै बाँधिन्थ्यो। 

शान्ति सम्झौता भएयता चाहिँ मेलाले व्यापक प्रभाव पार्न थालेको छ। जमुनाबासीले तिहारको लागि किनमेल गर्न अन्य बजार धाउनु पर्दैन।

फुटबल नै किन ?

जमुनामा गुरुङ समुदायका मानिस लामो समयदेखि बसोबास गर्दै आएका हुन्। उनीहरु फुटबलमा असाध्यै रमाउँछन्। ‘यहाँ फुटबललाई मरिहत्तै नै गर्ने खालको परम्परा छ। मेलामा पनि गेमकै कुरा हुन्छ,’ न्यौपानेले भने।

यसैको उपज हो खिमराज गुरुङले फुटबल खेलाउन सुरु गरेका। जमुनामा खेल हुँदा गुरुङहरुकै मात्र एक टिम हुन्छ– घोन्डे एक्सटी– नसामै फुटबल भरिएको जस्तो।

गुरुङ समुदाय अहिले पनि उत्तिकै जोशका साथ फुटबल खेल्छन्। न्यौपाने भन्छन्, ‘अहिले त खेल गुरुङ समुदायमा मात्र सीमित रहेन, ठूलो रुप लिन थाल्यो। खेलाडी यही माटोमा खेलेर जन्मिएका पनि छन्।’

आज राष्ट्रिय टिममा सम्मिलित छिरिङ गुरुङ, दर्शन गुरुङ यही माटोमा खेलेका खेलाडी हुन्। उनीहरु अहिले फुटबल खेल्नका लागि बंगलादेशमा छन्।

लोकबन्धु गुरुङ जमुनाको मैदानमा अत्यधिक खेलेका खेलाडी हुन्। उनी फुटबलको शिखरमा हुँदा पनि कागे मेलामा खेलेका छन्।

यहाँ भारतका खेलाडी पनि स्थानीय टिममा सम्मिलित हुन आइपुग्छन्। उनीहरु आएर यहाँका टिममा समावेश हुन्छन् र खेलेर मनोरञ्जन गरेर, गराएर जान्छन्।

नेपालका खेलाडीे सीमावर्ती भारतमा गएर खेल्ने र भारतका यता आएर खेल्ने गर्दा आपसी भ्रातृत्व पनि बढेको छ। सवारीको पहुँच नहुँदा सुके, मानेभञ्ज्याङ, रेलिङका खेलाडी आउँथे। अहिले यातायातको सुविधा भएपछि भने दार्जिलिङ, सिक्किमका खेलाडी पनि आउने गर्छन्। 

पछिल्लो चरणमा एउटा एउटा टिमसमेत लिएर आउँछन्। तर उनीहरु आएर यताकै टिममा परेर खेल्ने चलन चाहिँ धेरै छ। जौबारी, मेङ्मा, तुम्लिङटारलायत क्लबबाट उनीहरु खेल्ने गर्छन्।

सम्पूर्ण खेलको जिम्मेवारी चाहिँ खेल आयोजक समितिले लिन्छ। मेलाको आयोजनाका लागि मेला आयोजक समिति छुट्टै हुन्छ तर आपसमा सम्बन्धित।

विस्तारै बहुआयामिक

मेलाले विस्तारित रुप लिन थालेपछि। ठूलो बजार लाग्न थाल्यो। जमुनाको स्कुल मैदानमात्र यसका लागि पर्याप्त भएन। घरधुरीको संख्या बढ्दै जाँदा मेलाको आकार स्वभावैले बढ्न थाल्यो। मानिसले मेलाका लागि पैसा र सामान जोहो गर्न थाले।

तिहारको सामान खरिद गर्न पनि मेलाकै भर पर्न थालेपछि मेला इतिहासको निशानी मात्र रहेन। वर्तमान समाजको हिस्सा बन्यो। स्थानीयको आयस्रोत अलैंची भएकाले तिहार सम्ममा अलैंची बिकिसकेको हुन्छ। यसकारण उनीहरुले मेलामा दिल खेलेर खर्च गर्न सक्छन्।

यसले परिवारमा तिहार धुमधामसँग मनाउने वातावरण बन्छ। खेलका अलावा उठेको पैसा भानुदय आधारभूत विद्यालयलाई पनि सहयोग हुन्छ। विद्यालयकै प्रांगडमा नै हो मेला लाग्ने गरेको।

केही वर्ष अघिमात्र मेला स्थल नजिकै ढाप पोखरी निर्माण भएको छ। त्यहाँ बोट चलाउन थालिएको छ। वरपर सजाएर पर्यटकका लाग आकर्षक गन्तव्य बनाइएको छ। यसले पर्यापर्यटन बढाउने स्थानीयको विश्वास छ। अब यसलाई झनै व्यापक बनाउन स्थानीय जुटेका छन्।

मेलाकै लागि अब नयाँ मैदान बन्दैछ। मैदानका लागि तालगाउँमा तोयानाथ भट्टराईले १० रोपनी जग्गा पनि दिएका छन्। त्यसको आसपासमा १५ रोपनी समितिले किनेर बनाएको मैदानमा यो वर्षको मेला गराउने योजना थियो। तर युवाको खेल भावना बुझेका जमुनाबासीले यो वर्ष मेला गराउनै सकेनन्।

आजकै दिन पोहोर युवामा जुन जाँगर थियो, त्यो यो वर्ष छैन। ओठमा जुन हाँसो देखिन्थ्यो, त्यो पनि कम देखियो।

यो साल काग तिहारमा सुनसान मेलास्थल हेरेर धेरै मानिस चुकचुकाइरहेका छन्। आज मज्जाले थाहा भयो, कागे मेला जमुनाबासीको हृदयमा कति गहिरो गरी बसिसकेको रहेछ।

फाइल तस्बिरहरु : जमुना इलामको फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्