बुधबार, मंसिर १०, २०७७

खेलकुद संवाद

अब क्लबले फुटबल एकेडेमी सञ्चालन गनुपर्छ : उपेन्द्रमान सिंह (अन्तर्वार्ता)

1605176197.jpg

अखिल नेपाल फुटबल संघ (एन्फा) को ग्रासरुट योजना पहिलोपटक एसियाली फुटबल महासंघ (एएफसी) को प्राथमिकतामा परेको छ। नेपाल यसैबाट ‘एएफसी ग्रासरुट चार्टर ब्रोन्ज’ सदस्यता प्राप्त गर्न सफल भयो। 

यस्तो सदस्यता प्राप्तिपछि फुटबल विकासमा उत्कृष्ट उपलब्धि हासिल हुने दाबी एन्फाका अधिकारीहरुको छ। ग्रासरुट फुटबल कार्यक्रम र नेपाली फुटबल विकासका विविध विषयबारे पूर्वखेलाडी, एन्फाका उपाध्यक्ष एवम् ग्रासरुट तथा युवा कोअर्डिनेटर उपेद्रमान सिंहसँग नेपाल समयका लागि विनय ज्योति सापकोटाले गरेको कुराकानी :

ब्रोन्ज लेभलको सदस्यता भनेको के हो? सदस्यता दिने एएफसीको मापदण्ड के रहेछ? 

ग्रासरुट फुटबल एएफसीले २०१६ देखि सुरु गरेको कार्यक्रम हो। एएफसीले सुरुमा सबै राष्ट्रका प्रतिनिधिलाई बोलाएर वर्कसप आयोजना गरेको थियो।

६ देखि १२ वर्षसम्म उमेरका बालबालिकालाई फुटबलमा कसरी आकर्षित गराउने? यो खेल कसरी लोकप्रिय र नम्बर वान बनाउने? भन्ने एएफसीको ध्येय हो। यिनै विषयलाई केन्द्रमा राखेर ग्रासरुटको विकास गरिएको हो। केटाकेटीलाई सानै उमेरदेखि रमाइलो गर्दै फुटबल सिकाउनु ग्रासरुटको लक्ष्य हो।

सदस्यता प्राप्तिका सम्बन्धमा एएफसीले २० वटा मापदण्ड तय गरेको छ। हामीले सोही मापदण्डमा आधारित भएर काम थाल्यौं। सुरुदेखि नै ‘ब्रोन्ज सदस्यता लिने’ लक्ष्य राखेका थियौं। काम गर्दैै जाँदा सफल भयौं।

एएफसीले सदस्यताका विभिन्न तह (चार्टर्ड मेम्बरसिप लेभल) तोकेको थियो। त्यसैअनुरुप काम गरेपछि सदस्यता प्राप्त भएको हो। यस्तो सदस्यता एसियाका २४ राष्ट्रले पाएका छन्। यीमध्ये चारवटाले गोल्ड र चारवटा राष्ट्रले सिल्भर लेभलको सदस्यता पाएका छन्। 

नेपाली फुटबलमा ग्रासरुटका कार्यक्रम कसरी अघि बढ्दै छ?

कार्यक्रम सुरु भएको चार वर्ष भयो। हामी २०१८ मा नेतृत्वमा आइसकेपछि ४५ वटै जिल्लाका प्रशिक्षकलाई वर्कसप गरायौं। दुई वर्षअघि भदौमा जिल्ला संघहरुलाई खेल सामग्री वितरण गरेर नयाँ कार्यक्रम सुरु गरेका थियौं।

हामीले चार वर्षको योजनासहित कार्यक्रम अगाडि बढाइरहेका छौं। दुई वर्षमा १८ हजार बालबालिकाले फुटबल खेलेका छन्। स्थानीय तहसँग पनि समन्वय भइरहेको छ।

यसमा फुटबल फेस्टिबल भन्ने कार्यक्रम पनि छ। यसअन्तर्गत दुई सयजति बच्चा मैदानमा आउँछन्, त्यहाँ विभिन्न क्रियाकलाप हुन्छ। बच्चाको पढाइमा बाधा नपरोस् भनेर शनिबार मात्र यो कार्यक्रम गरेका थियौं। यस्तो कार्यक्रम एक वर्षसम्म चलायौं।

त्यसपछि लिग गरायौं। कोरोनाले गर्दा राष्ट्रिय लिग बाँकी छ। यसअघि नेपालमा योजनाबद्ध रुपले ग्रासरुट कार्यक्रम थिएन। 
यसबाट नेपाली फुटबलको विकासमा के कस्ता फाइदा पुग्छ?

बालबालिकामा भाइचारको सम्बन्ध बढ्छ। नेपालले पनि ग्रासरुटको कार्यक्रम गर्दो रहेछ, फुटबलमा अघि बढ्दै रहेछ भन्ने सन्देश जान्छ। फिफा र एएफसीले नेपाललाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ।

राष्ट्रिय फुटबल टिम बलियो हुन्छ। एएफसीले सुविधा बढाउँछ। ग्रासरुटलाई आर्थिक सहयोग आउँछ। बालबालिकाको शारीरिक र मानिसक विकासमा सहयोग पुर्याउने काममा खर्च गर्न सकिन्छ।

ग्रासरुट कार्यक्रमअन्तर्गत रुपन्देहीमा फुटबल खेल्दै बालबालिका।

तपाईंले फुटबल खेल्न सुरु गर्दा र अहिले बालबालिकालाई फुटबलमा आकर्षित गराउने कार्यक्रममा के अन्तर छ?

हामीले फुटबल खेल्न थालेको १४–१५ वर्षको उमेरदेखि हो। बाहिरतिर त १६–१७ वर्ष उमेरमा पुग्दा खेलाडीहरु सिनियर टिममा डेब्यू गरिसक्छन्।

हामीले फुटबलमा पनि भविष्य छ है भनेर यसतर्फ आकर्षित भएका हौं। हाम्रो पालामा यू–१६ को अन्तर्राष्ट्रिय खेल हुन्थ्यो। त्यसका लागि छनोट हुन्थ्योे।

यू–१६ बाट यू–१८ मा पर्दै सिनियर टिमसम्म पुगिन्थ्यो। पहिले सानै उमेरमा खेलाउने भन्ने नै थिएन। अहिलेका कार्यक्रमले ६ वर्षदेखिका बालबच्चालाई नै समेटेको छ। राष्ट्रिय टिम बलियो बनाउन ग्रासरुट धेरै प्रभावकारी हुन्छ।

फुटबलमा लाग्दा बालबालिका बिग्रिन्छन् भन्ने अभिभावक पनि छन्? यसले चाहिँ ग्रासरुटलाई कत्तिको प्रभाव पारेको छ?

हामीले धेरैभन्दा धेरै स्कुलसँग सहकार्य गरेर यो कार्यक्रम अघि सारेका हौं। ग्रासरुटको खेल शनिबार मात्र पार्नुको अर्थ पनि त्यही हो। बालबालिकाको पढाइमा असर पार्नु त भएन।

फुटबल खलेर बच्चा बिग्रिन्छ भन्ने सोच बदल्नुपर्छ। फुटबल लागेर पनि मान्छे सफल बन्न सक्छ। यी सबै कुरालाई ध्यानमा राख्दै काठमाडौंका विभिन्न स्कुलमा कार्यक्रम चलाएका छौं। 

गैंडाकोट क्षेत्रीय रंगशालामा ग्रासरुट कार्यक्रममा सहभागी बालबालिका। 

एन्फाले ग्रासरुटअन्तर्गतकै ‘विद्यालय फुटबल लिग’ पनि सुरु गर्ने भनेको थियो। तर सबैलाई समेट्न नसकेपछि योजना आलोचित भयो नि?

योजनाबारे नबुझेर आलोचना भएको हो। एन्फाले पहिला युथका लागि क्विक्स कप चलाउँथ्यो। त्यसमा धेरै विद्यार्थी सहभागी भए पनि उपलब्धिमूलक हुन सकेन।

क्विक्स कपमा नकआउट मात्र हुन्थ्यो। त्यसैले प्रतियोगिताको निरन्तरता भएन। एक पटक बाहिरिएपछि अर्को एक वर्षसम्म प्रतियोगितामा खेल्नै नपाउने अवस्था भयो।

त्यसलाई परिर्वतन गर्दै एउटा बच्चाले पाँच–छ महिनासम्म खेल्न पाओस् भनेर स्कुल लिग सुरु गरिएको हो।

काठमाडौं उपत्यका आसपासबाहेक अन्यत्र विद्यालय फुटबलको सम्भावना कत्तिको देख्नुभएको छ?

सम्भावना पर्याप्त छ। देशका विभिन्न ११ ठाउँमा स्कुल लिग सुरु गर्ने भएका छौं। तर एकैपटक ११ वटा जिल्लामा चलाउन सकिँदैन। काठमाडौंको योजनाचाहिँ पाइलट प्रोजेक्टका रुपमा हेरिरहेका छौं। यो सफल बनेपछि अन्य जिल्लामा सुरु गर्छाैं।

हामीले पहिलो प्राथमिकता स्कुलको मैदानलाई दिएका छौं। मैदान नभएको स्कुलले प्रशिक्षण गराउन सक्दैन। त्यसैले होम ग्राउन्ड अनिवार्य छ। कोच अनिवार्य चाहिन्छ। स्कुलको आफ्नै टिम हुनुपर्ने भन्ने छ। यसले विद्यार्थीलाई लिगमा बलियो बनाउँदै लैजान्छ।

खेलको गुणस्तर बच्चाबाटै बढ्दै जान्छ। सीपको विकास हुँदै जान्छ। ६ महिनासम्म लिग सञ्चालन हुन्छ। त्यसको टप टिमले नेसनल लिग खेल्छ। त्यसैबाट राष्ट्रिय टिमका लागि ट्यालेन्ट हन्ट गर्न सक्छौं।

हरेक वर्ष अधिकांश जिल्लामा फुटबल प्रतियोगिता हुन्छ। तर इलाम, झापा, धनकुटा, रुपन्देही र काठमाडौंजस्ता जिल्लाबाट मात्र धेरै खेलाडी उत्पादन हुने गरेका छन्? कारण के होला? 

ती जिल्लामा ग्रासरुट कार्यक्रभन्दा पनि फुटबलका प्रतियोगिता धेरै हुन्छन्। धेरै प्रतियोगिता हुँदा खेलाडीले प्रशिक्षण गरिरहने भयो। प्रतियोगिता खेलिरहने भयो।

त्यसैबाट आफ्नो प्रतिभा र क्षमता देखाएर राष्ट्रिय टिममा आउन सफल भएका हुन्। तर जहाँ धेरै खेल हुँदैन त्यहाँबाट फुटबलमा आउन गाह्रो छ। त्यसैले ग्रासरुटबाट देशैभर खेल सञ्चालन गर्नुपर्छ भन्ने लागेको छ। यसले देशका सबै ठाउँलाई समेट्दै जान्छ।

धेरै ठाउँ समेटिसकेपछि खेलाडी पनि धेरै हुन्छन्। प्रतिस्पर्धा कडा हुन्छ। परिणामस्वरुप राष्ट्रिय टिम बलियो हुन्छ। हाम्रो लेभल पनि माथि जान्छ।

यसका लागि योजना के छ त?

पहिला एन्फाको स्काउटिङ टिम थिएन। सबै देशमा स्काउटिङ टिम हुन्छ र यसले ट्यालेन्ट हन्ट गर्छ। हामीले भर्खरै स्काउटिङका लागि गाडी किनेर टेक्निकल टिम तयार गरेका छौं।

यो टिमले जिल्लाजिल्लामा गएर खेलाडी छनोट गर्छ र केन्द्रसम्म ल्याउन पहल गर्छ।

हामीले ‘सबै क्षेत्रमा खेल विकास गरौं’ र ‘सबैलाई खेलको अवसर प्रदान गरौं’ भन्ने एन्फाको सिद्धान्तमा काम गर्ने हो।

एन्फामा हामीसँग चार जनाको टेक्निकल डिपार्टमेन्ट छ। जसमा टेक्निकल डाइरेक्टर ग्यारी फिलिप्स छन्। उनको मातहतमा अन्य चार जना प्रमुख हुनेछन्। यी चार प्रमुखले प्रदेश एन्फा समिति प्रमुखसँग समन्वय गर्छ। प्रदेशले जिल्लासँग समन्वय गरेर हामी ट्यालेन्ट हन्ट गर्छौं।

अब योजनाअनुसार काम गर्न चुनौती केके छन्?

सबैभन्दा ठूलो चुनौती पूर्वाधार अभाव हो। स्कुल, जिल्ला र प्रदेशमा प्रतियोगिता गराउन मैदान छैन। आर्थिक रुपमा सबल नभएपछि गाह्रो हुन्छ। त्यसैले एएफसी र फिफाले सहयोग गर्नुपर्छ। उनीहरुले केही बजेट दिएका पनि छन्। त्यसलाई न्यायोचित र पादरदर्शी रुपमा खर्च गर्नुपर्नेछ। 

खेलका लागि प्रायोजक आवश्यक पर्छ। हामीसँग प्रशिक्षक र रेफ्री पनि पर्याप्त छैनन्। त्यसैले हामी प्रशिक्षक र रेफ्री उत्पादन पनि गरिरहेका छौं। अहिले एन्फाले प्रशिक्षक उत्पादनका लागि कोर्स सञ्चालन गरिरहेको छ।

अब ब्रोन्जबाट सिल्भर र गोल्ड सदस्यता लिन कसरी अघि बढ्ने त?

गोल्ड र सिल्भरका लागि त धेरै गाह्रो छ। फुटबल विकाससँग जोडिएका धेरै प्रक्रिया छन्। ग्रासरुटलाई पूर्ण व्यवस्थित रुपमा सञ्चालन गनुपर्छ। एकेडेमी सञ्चालन गर्नुपर्छ।

बच्चालाई पढाउने, चाइल्ड केयर र होस्टेलको व्यवस्था हुनुपर्छ। प्रशिक्षण योजनाबद्ध हुनुपर्छ। हामीले अहिले आधारभूत योजनामा रहेर काम गरेका छौं।

सिल्भरमा जाँदा चाहिँ भएका कार्यक्रम पूर्ण व्यवस्थित हुनुपर्छ। सिल्भर पाएपछि गोल्डमा पुग्न अझै धेरै काम गर्नुपर्छ।

क्लबको एकेडेमीबारे एन्फाले के योजना ल्याउँदै छ? क्लब लाइसेन्सिङका लागि पनि एकेडेमी अनिवार्य छ होइन?

हाम्रो अन्तिम लक्ष्य नै यही हो। क्लबलाई लाइसेन्सिङ दिन एकेडेमी सञ्चालनका लागि हामीले विद्यालयस्तरमा लिग सुरु गरेका हौं। क्लब एकेडेमी र विद्यालयका विद्यार्थीलाई कसरी मर्ज गर्न सकिन्छ भनेर सम्भाव्यता अध्ययन गर्दै छौं।

यसको कार्यतालिका आइसकेको छैन, प्रक्रियामा छ। क्लब र स्कुललाई सहयोग होस् भनेर विन–विन अवस्थामा काम गर्न लागेका हौं। यसमा स्कुल र क्लबको आपसी सहकार्य रहनेछ।

क्लब एकडेमीका लागि एन्फाले नै मध्यस्थता गर्ने हो। यसबारे क्लब र स्कुलसँग कुरा अघि बढिरहेका छन्। समन्वय गर्ने एकेडेमीलाई एन्फाले मान्यता दिनेछ। सबैभन्दा पहिले विभागीय क्लबबाट सुरु गर्नेछौं।

बंगलादेशमा अभ्यास गर्दै नेपाली राष्ट्रिय फुटबल टिम। 

अबका एकेडेमी कस्ता हुन्छन् त?

अब एन्फाले एकेडेमी चलाउने होइन कि क्लबले चाहिँ एकेडेमी चलाउने हो। एन्फाले दुई तीन वटा एकेडेमी चलाउनु भन्दा ए डिभिजनका १४ क्लबले एउटा एउटा मात्र एकेडेमी सञ्चालन गर्न सकेमा धेरै प्रभावकारी हुनेछ।

एन्फा सबैको पहुँचमा नपुग्न सक्छ। एउटै संस्थाले धेरै एकेडेमी सञ्चालन गर्न सक्ने कुरा होइन। क्लब त समुदाय स्तरको हुन्छ। त्यसैले स्थानीय स्तरमा फुटबल विकासका लागि क्लबले एकेडेमी सञ्चालन गर्नुपर्छ। यसले क्लबप्रति अपनत्व बनाउँछ र प्रतिस्पर्धा बढ्छ।

क्लबका उत्कृष्ट खेलाडीलाई राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउने र पछि क्लबमै छोडिदिने भन्ने योजनाका साथ हामी अघि बढेका छौं।

एन्फाले ४५ जिल्लामा र क्लबहरुलाई ४५ देखि ५० वटा प्रशिक्षण स्थलको व्यवस्था गरिदिने भन्दै आएको छ। यो सम्भव छ? 

४५ जिल्लामा पहिलेदेखि नै मैदान छ। त्यसलाई व्यवस्थित गर्ने भनेका हौं। क्लबका लागि मैदान खोज्ने र बनाउने काम हुँदै छ। च्यासलको त बनिसक्नै लाग्यो।

एन्फाले जिल्ला, क्लब, एएफसी र फिफासँग समन्वय गरेर सहयोग गर्ने भनेको हो। हामीले केही महिनाअघि मात्र पहाडी जिल्लालाई १० लाख र तराईका जिल्लालाई ६ लाख रुपैयाँ  दियौं पनि।

यसले मैदानमा रेस्टरुम र ड्रेसिङ रुम बनाउन सहयोग हुन्छ। यसबाहेक त्यहाँको पूर्वाधार विकासका लागि एन्फाले पहल गर्ने छ। 
कार्यक्रमअन्तर्गत पोखरा, नारायणी र जनकुपरमा मैदान निर्माण भइरहेको छ।

धरान, बुटवल, काठमाडौं र रौतहटका टेक्लिकल सेन्टर राख्ने योजना कहाँ पुग्यो? 

धरान, बुटबल र काठमाडौंमा त एकेडेमी सञ्चालनमा छ। रौतहटमा पनि महिला खेलाडीका लागि टेक्निकल सेन्टर बनाउने काम पूरा भएको छ।

पोखरामा पनि बनाउने योजना छ। मैदान उपलब्ध हुने क्षेत्रमा थप्दै जाने हो।।

अब ग्रासरुटका कार्यक्रम कहिले सुरु होलान् त?

जकपुरलगायत केही ठाउँमा सुरु हुने प्रक्रियामा छ। महामारीको अवस्था कस्तो हुन्छ, त्यसलाई विचार गरेर सुरु हुन्छ। पहिले त स्कुल खुल्नुपर्यो। हाम्रो ठूलो हिस्सा स्कुल हो।

केही समयअघि ४–५ ठाउँमा सुरु भइसकेको थियो। तर त्यहाँको सरकारले फेरि रोकिदियो। कार्यक्रम अहिल्यै सुरु गर्ने तयारीमा छौं। कोरोना बाधक बनेको छ।

केन्द्र सरकारले त स्वीकृति दिएको छ। तर स्थानीय सरकारले स्वीकृति दिनसक्ने अवस्था छैन। फुटबलभन्दा स्वास्थ्य ठूलो कुरा हो।
ग्रासरुटको खेल विकासका लागि सरकारी सहयोग पर्याप्त छ?

हामीले युवा तथा खेलुकद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को मातहतमा काम गर्ने हो। यी निकायले ग्रासरुटका लागि बजेट छुट्याएका छैनन्।

यो फिफा र एएफसीको कार्यक्रम हो। सहयोग पनि उनीहरुबाटै भइरहेको छ। यसका लागि एक करोड २० लाख जति बजेट छुट्याएर खेल सामग्री वितरण गरेका छौं।

त्यसैबाट होम एन्ड अवे गरेर सबै लिग गराउने भनेका छौं। यात्रा खर्च पनि त्यसबाटै व्यहोर्नुपर्छ।

संघीय सरकारबाट बजेट प्राप्त नभए पनि स्थानीय सरकारबाट सहयोगको अपेक्षा गरेका छौं। स्थानीय सरकरले खेलकुदका लागि रकम विनियोजन गरेका छन्।।

अहिले बंगलादेशमा खेल्न गएको राष्ट्रिय टोलीमा युवा खेलाडी समावेश छन्। के नेपाली फुटबल अब पुस्तान्तरण हुन थालेको हो?

हो। पुराना केही खेलाडी कोरोना पोजेटिभ देखिएपछि नयाँ खेलाडीले राष्ट्रिय टिममा पर्ने मौका पाए। उम्दा टिमका लागि खेलाडीको पोटेन्सियल जाँच्ने अवसर पनि भयो।

मैत्रीपूर्ण भए पनि खेलाडीलाई कौशल प्रदर्शन गर्ने मौका हो यो। त्यसैले पहिलोपटक मौका  पाएका खेलाडीका लागि हामी सकारात्मक रहनुपर्छ।

राष्ट्रिय फुटबल टिममा ‘ब्याकप प्लेयर’ छैनन्। त्यसका लागि यो खेल राम्रो अवसर हो। नयाँ खेलाडी जन्मन सक्छन्। 

प्रतिक्रिया दिनुहोस्