विशेष समाचार

पोखराबाट उदाएका ‘सूर्य’ 

1604468915.jpg

प्रतिनिधिसभाका दिवंगत सदस्य सूर्यबहादुर केसी राजनीतिक व्यक्ति मात्र हाेइनन्, भौतिक एवम् सामाजिक विकासका एक शिलान्यासकर्ता पनि हुन्। दक्षिण एसियामै पहिलाेपटक चाउचाउ उद्योग खोलेर लोकप्रिय बनाउन उनले पुर्‍याएको योगदान पनि पोखरेलीहरूले चीरकालसम्म सम्झिरहनेछन्।

बाबु कीर्तिबहादुर केसी निर्माण व्यवसायी थिए। उनी छोरा सूर्यबहादुरलाई भने  धेरै पढाएर विद्वान् बनाउन चाहन्थे। 

बाबुको चाहनाअनुसार छोराले एसएलसी पास गरे। पृथ्वीनारायण क्याम्पसमा भर्ना भए। तर उनमा उच्चशिक्षामा भन्दा बाबुकै व्यवसायमा झुकाव देखियाे।  सानैदेखि बाबुसँगै फिल्डमा घुमघाम अनि व्यवसायीसँगको नियमित भेटघाटको प्रभाव परेकै थियाे। 

अनि बुवाकै पदचाप पछ्याउँदै उनी पनि निर्माण व्यवसायमै लागे। उनै सूर्यबहादुर पोखरा आसपासमा सीताराम नामबाट चिनिन्छन्। पोखरा, नेपाल, मात्र होइन दक्षिण एसियाकै औद्योगिक विकासक्रमका उनी अगुवा मानिन्छन्। उनले नै दक्षिण एसियामा पहिलाेपटक पोखरामा चाउचाउ उद्योग खोले। 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका उनका साथी आनन्दराज मुल्मी भन्छन्, ‘अवसरलाई हातबाट फुत्कन नदिने सीतारामको चाहना हुन्थ्यो। त्यसैले एक्लै वा अरुसँग मिलेर भए पनि काम हात पार्न सक्रिय रहन्थे।’ 

उनले उत्पादन, वित्तीय संस्था, जलविद्युत् क्षेत्र, घरजग्गा कारोबारमा संलग्न रहेर सफलता हात पारेका छन्। 

६३ वर्ष त्यति घर्केको उमेर त होइन। तर उनले यही उमेरमा धर्ती छाडे। मिर्गाैला, फोक्सो, मधुमेह, उच्च रक्तचापबाट ग्रसित सूर्यबहादुरको सोमबार राति साढे १० बजे पोखरास्थित आफ्नै घरमा निधन भयो।  

चाउचाउमा अग्रणी 

बजारमा अन्य चाउचाउको बोलवाला देखिए पनि सूर्यबहादुर केसी चाउचाउका अग्रणी हुन्। अहिलेका चाउचाउ कम्पनीले उनैको बाटो पच्छ्याएका छन्। उनी आफै‌ं पनि चाउचाउका पारखी  थिए। 

आफूलाई पनि मन पर्ने भएरै उनले साथीहरु कृष्ण आचार्य र फणीन्द्र श्रेष्ठकाे साझेदारीमा पोखरामा सिन्के चाउचाउ उद्योग खोले। 

उद्योग राम्रोसँगै नचलेपछि उनीहरू तयारी चाउचाउ उद्योग खोल्ने निधोमा पुगेका थिए। सूर्यबहादुरका तत्कालीन साझेदार आचार्यका अनुसार सिन्के चाउचाउ उद्योग उपयुक्त नलागेपछि तयारी चाउचाउ बनाउने सल्लाह भयो। 

उनी भन्छन्, 'हङकङबाट आएका लाहुरेले चाउचाउ ल्याउँथे। त्यो खाएपछि तयारी चाउचाउ नेपालीले मन पराउँछन् भन्ने  लाग्याे। अनि उद्याेग खाेल्न जुट्याैं‌।' 

तयारी चाउचाउ खाइराखेका लाहुरेहरू लगानी गर्न तयार भए। 

सबै जोरजाम गर्दा १५ लाख जुट्यो। रकम नपुगेपछि उनीहरुले नेपाल औद्योगिक विकास निगमलाई गुहारे। 

निरन्तरकाे प्रयासपछि निगमले ३५ लाख दियो। जापानबाट मेसिन भित्र्याए। उद्योगका अध्यक्ष फणीन्द्रमान श्रेष्ठ र प्रबन्ध निर्देशक कृष्ण आचार्य बने। 

उनीहरुले थप लगानीका लागि विदेशमा बसेका साथीहरूलाई गुहारे। अनि स्थापना भयो ०३९ सालमा चाउचाउ उद्योग। सुरुमा  ६५\७० जनाको लगानी रहेको संस्थापक आचार्यले बताए। 

अन्ततः रारा चाउचाउ उत्पादन सुरु भयो। रारा बिस्तारै दक्षिण एसियाकै पहिलो चाउचाउमा दरियो। नेपालमा यो उद्योग सुरु भएको ६ महिनापछि भारतमा म्यागीले उत्पादन थालेको हो। 

रारा चाउचाउले राम्रै बजार पायो। ‘चाउचाउ भनेकै रारा’ भन्ने छाप बस्यो। राराबाहेक अरु उत्पादन पनि बिस्तारै बजार आउन थाले। तर रारा रुचाइयो। 
रारा चाउचाउको बजार अहिले पनि उत्तिकै छ।

‘ब्रान्डिङ गर्न चोकचोकमा पकाएर खुवायौं। उद्योगबाट छुट्टिए पनि त्यो स्थापनाका लागि अनुमति लिनेदेखि जापानबाट मेसिन ल्याउँदाका थुप्रै अनुभव छन्,’  आचार्य भन्छन्, ‘चाउचाउलाई खाजा–खानाका रुपमा स्थापित गर्न सकियो।’

समयक्रमसँगै उद्योगबाट श्रेष्ठ अलग्गिए। आचार्य पनि बाहिरिए। अरु लगानीकर्ताले पनि लगानी फिर्ता लिए। ०५८ सम्म आइपुग्दा सूर्यबहादुरले उद्योग एकलौटी बनाए। 

जलविद्युतमा लगानी

सूर्यबहादुरले जलविद्युतमा पनि राम्रै लगानी गरेका छन्। उनकाे अगुवाइमा कास्कीकै विभिन्न नदीखोलामा हाइड्रोपावर खुलेका छन्।

टाक्स हाइड्रोपावर प्रालि, भगवती हाइड्रोपावर प्रालि, सिभिल हाइड्रोपावर प्रालि, गण्डकी हाइड्रोपावर प्रालि, मडक्यु (सिक्लेस) हाइड्रोपावर प्रालि, युनाइटेड इदीमर्दी हाइड्रोपावर प्रालि, अपर सेती हाइड्रोपावर प्रालिमा उनको लगानी छ। 

शिक्षा र खेलकुदमा लगाव 

शिक्षा र खेलकुद क्षेत्रमा पनि सूर्यबहादुरको योगदान उत्तिकै छ।

उनी नेपाल इन्जिनियरिङ कलेज, नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज, नेपाल मेडिकल कलेज, कालिका बहुमुखी पब्लिक क्याम्पस आदिका अध्यक्ष, संस्थापक तथा सञ्चालकसमेत हुन्। 

सहारा क्लबले बर्सेनि पोखरामा गर्ने फुटबल प्रतियोगितामा उनकै उद्योग हिमश्री फुड्सले मुख्य साथ दिँदै आएको छ। रारा चाउचाउलाई ब्रान्डिङ गर्न प्रतियोगिताको नाम नै ‘आहा ! रारा गोल्डकप’ राखिएको छ। 

काठमाडौंबाहिर पहिलो वाणिज्य बैंक 

पोखरा नगर पञ्चायतका तत्कालीन प्रधानपञ्च उत्तम पुनसँग उनी सुरुदेखि नै प्रतिस्पर्धी देखिए। 

जग्गाको काम लिएर नगरपालिका पुग्दा अवरोध गरेपछि सूर्यबहादुरले म पनि तपाईं बसेको कुर्सीमा आएर बस्ने क्षमता राख्छु भनेका थिए रे! 

नभन्दै उनी पछि पोखरा नगर पञ्चायतको सभापति बने। त्यति मात्र होइन, उत्तम पुनले पोखरामा मुख्य कार्यालय रहने गरी नेपाल विकास बैंक खोले। 

जुन बैंक अहिले अस्तित्वमा छैन। व्यवसाय चौपट भएर कम्पनी लिक्विडेसनमा गइसक्यो। 

सूर्यबहादुरले पोखरा र आसपासका केही व्यवसायीलाई साथ लिएर पुनलाई टक्कर दिन ‘क’ वर्गको वाणिज्य बैंक (माछापु्च्छ्रे बैंक) स्थापना गरे, पोखरामा। जुन राजधानी काठमाडौंबाहिर प्रधान कार्यालय हुने गरी खुलेको पहिलो वाणिज्य बैंक हो। 

अहिले उपेन्द्र महतोको टिमसँग यो बैंकको अधिक सेयर छ। र मुख्य कार्यालय पनि काठमाडौं सरेको छ। 

२७ वर्षमै प्रधानपञ्च

सूर्यबहादुर केसी दुई पटक पोखरा नगर पञ्चायतमा प्रधानपञ्च भए। ०४१ र २०४३ सालमा उनले नगर पञ्चायतको नेतृत्व गरे। 

०४१ सालमा पोखरा नगर पञ्चायतको नेतृत्व गर्दा उनी २७ वर्षका थिए। पोखरामा दीपेन्द्र सभागृह निर्माण, महेन्द्रपुल पुनर्निर्माण लगायतका उदाहरणीय काम उनले गरेका थिए। 

राजनीतिमा सक्रियता

२०४६ पछि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध भए। उनले राप्रपामा जिल्ला अध्यक्ष हुँदै पोखरा महाधिवेशनबाट पार्टीको केन्द्रीय कोषाध्यक्षको जिम्मेवारी पाए।

०५१ सालमा प्रत्यक्षतर्फको चुनाव लडे तर जितेनन्। एमालेका तुलबहादुर गुरुङ विजयी हुँदा उनी तेस्रो भएका थिए। 

दोस्रो स्थानमा कांग्रेसका महादेव गुरुङ आएका थिए। तर मतान्तर धेरै थिएन। ०६४ सालमा राप्रपाबाट संविधानसभा सदस्य बनेका उनी ०७४ सालमा कांग्रेस प्रवेश गरे। 

चुनावताका प्रवेश गरेका उनलाई कांग्रेसले समानुपातिकबाट प्रतिनिधिसभा लगेको थियो। तत्कालीन एमालेमा प्रवेश गर्ने चर्चा चलेको भए पनि तत्कालीन माओवादीसँग भने उनको ठूलै टसल थियो। 

एमाले र माओवादी चुनावी तालमेलमा जुटेपछि उनी कांग्रेसमा प्रवेश गरेका थिए। 

बहुदलका पक्षमा पोखरा नगर पञ्चायत

पोखरा नगर पञ्चायतका तत्कालीन प्रधानपञ्च उत्तम पुनविरुद्ध अविश्वासको प्रस्तावका कारण नगर पञ्चायतको मध्यावधि निर्वाचन हुने भयो। 

त्यसमा केसी प्रधानपञ्चको उम्मेदवार थिए। पोखराका संस्कृतिकर्मी एवं सूर्यबहादुरका समकक्षी तीर्थ श्रेष्ठ भन्छन्, ‘उहाँले सहयोगका लागि आग्रह गर्नुभयो। म उहाँको पक्षमा लागें। एक प्रकारले पञ्चायतको चुनावमा कांग्रेस र कम्युनिस्ट दुबै पक्ष कोही खुलेर, कोही गोप्य रुपमा उहाँको पक्षमा परिचालित भएँ।’ 

उनी प्रधानपञ्च र काजीमान गुरुङ उपप्रधानपञ्चमा निर्वाचित भए। त्यस निर्वाचनपछि केसीकोे छवि समाजमा उदार, विनम्र र विकासप्रेमीका रुपमा देखिन थाल्यो। 

०४३ चैतमा स्थानीय निकाय निर्वाचनको घोषणा भयो। कांग्रेसले पत्रकार केशवराज पराजुलीलाई प्रधानपञ्च र उनै तीर्थ श्रेष्ठलाई उपप्रधानपञ्चको उम्मेदवारको रुपमा प्रस्तुत  गर्यो। 

केसी प्रधानपञ्च र तीर्थ उपप्रधानपञ्चमा निर्वाचित भए। केसी त्यतिबेला ३० र तीर्थ २८ वर्षका थिए। 

भिन्न राजनीतिक पृष्ठभूमिका लक्का जवानहरू प्रधान र उपप्रधान हुँदा कतै यसले विकास निर्माणको काममा बाधा त पुग्दैन भन्ने आशंका पनि केही पोखरेलीमाझ थियो। 

तीर्थ श्रेष्ठ भन्छन्, ‘बिस्तारै हाम्रोबीच छलफल हुन थाल्यो। संवादले सम्भावनाको द्वार खोल्दोरहेछ। पोखराको विकासका सम्बन्धमा हाम्रा विचार त्यति फरक रहेनछन्। जब यो कुरा हामीले बुझ्यौं। सहकार्य हुन थाल्यो।’ 

त्यस क्रममा महेन्द्रपुल पुनर्निर्माण, तरकारीमा आत्मनिर्भर पोखराको निर्माण, साँघुरा बाटाहरुलाई फराकिलो र कालोपत्रे गर्ने योजना, अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता, भानु जयन्तीका अवसरमा खुला कविता प्रतियोगिता सुरु भए।  

राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, रविबाली कार्यक्रम, पोखराका कविहरुको प्रतिनिधि कविता संग्रहको प्रकाशन, विदेशबाट पोखरेली कलाकारहरूले सिर्जना गरेको दृश्यचित्र उपहार प्रदान गर्ने परम्परा, पोखराको पहिलो टाउन प्रोफाइल तयार गर्ने जस्ता कार्य पनि सम्पन्न भए। 

सूर्यबहादुर र तीर्थ पोखरा नगर पञ्चायतको प्रधान र उपप्रधानपञ्चका रुपमा कार्यरत रहँदा पञ्चायत व्यवस्थाविरुद्ध निर्णायक आन्दोलनका रूपमा ०४६ को जनआन्दोलन भयो। 

त्यस बेला बहुदलीय व्यवस्थाको पक्षमा पोखरा नगर पञ्चायतको बैठकद्वारा एउटा प्रस्ताव पास भयो। आन्दोलनको उभारको बीच त्यसको खासै चर्चा हुन सकेन।

तीर्थ भन्छन्, ‘केसीजीकै निवासमा उहाँलाई सहमत गराएर मैले ‘वर्तमान राजनीतिक समस्या समाधान गर्न श्री ५ महाराजधिराजबाट बहुदलीय शासन व्यवस्था बक्स भएमा पोखरा नगर पञ्चायतको यस बैठकले शिरोधार्य गर्ने व्यहोरा मौसूफको जुनाफमा बिन्ती जाहेर गर्ने’ प्रस्ताव पेस गरेको थिएँ ।’

दुईजना वडाध्यक्षबाहेक अरु सबैले सहमति जनाएकाले बहुमतका आधारमा त्यो प्रस्ताव पारित भयो। 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
ताजा अपडेट