बिहीबार, वैशाख १३, २०८१

अक्सिजन र पानी खोजिरहेका आईसीयूका बिरामी

शरीर थकित छ। आईसीयूका बिरामी कोही सिलिन्डरबाट आक्सिजन आउँदैन भन्छन्, कसैले पानी माग्छन्। नर्सलाई खबर गर्छु, तपाईंले सहयोग गरिदिनुस् न दाइ भन्छन्।
 |  शनिबार, भदौ २७, २०७७

जियालाल साह

जियालाल साह

शनिबार, भदौ २७, २०७७

वीरगन्ज– १८ गते बिहान रिपोर्टिङका लागि गाउँतिर जाने तयारीमा थिएँ। अचानक टाउको, घाँटी र जिउ दुख्यो। ज्वरो पनि आउलाजस्तो भयाे। जान सकिनँ। साँझपख ज्वरो आएपछि सिटामोल किनेर खाएँ। छुँदै छोएन।

triton college

भोलिपल्ट डा. निरज सिंहलाई जानकारी गराएँ। उहाँले केही औषधि पठाएर शनिबार बिहान क्लिनिकमा आउन भन्नुभयो। औषधिले पनि ज्वरो १०२ बाट घटेन।

शनिबार बिहानै क्लिनिकमा गएँ। उहाँले सामान्य परीक्षण गरेर औषधि दिनुभयो र एक पटक पीसीआर परीक्षण गराउन पनि सुझाव दिनुभयो। नारायणी अस्पतामा स्वाब दिएर आएँ। थकान महसुस भएको थियो। कतै नगई डेरामै बसें।

भोलिपल्ट बिहान ७ बजे जिल्ला जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरको फोन आयो।

‘कता हो भाइ? सुरक्षित रहनू, कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ।’

corrent noodles
Metro Mart

छाँगाबाट खसेजस्तो भएँ। असिनपसिन भयो। केही बोल्नै सकिनँ। फोन राखेको पनि पत्तै भएनछ। अब के होला, कसो गर्ने होला? अन्योलमा परें। यस्तो अवस्थामा डेरामा बस्न उचित लागेन। डा. सिंहसँग सल्लाह लिएँ। उहाँले अस्पतालको आइसोलेसनमा बस्न सुझाव दिनुभयो।

सामुदायिक आइसोलेसन चलाइरहेका सानो पाइलाका कार्यकारी अधिकृत कञ्चन झालाई जानकारी गराएँ। उहाँले नआत्तिन भन्नुभयो। अवस्था सामान्य भएपछि वाटिका होटलमा सर्न सुझाव दिनुभयो।

केहीबेरमा जनस्वास्थ्य अधिकृत ठाकुरले गण्डक अस्पतालमै बेड खाली रहेको जानकारी दिनुभयो।

इन्चार्ज डा. उदयनारायण सिंहले व्यवस्थापकलाई जानकारी गराइसक्नुभएको रहेछ। अनि ११ बजेतिर घरअगाडि गाडी आउँछ तयार रहन भनियो। कपडा मिलाएँ। झोला तयार पारें। हल्का खानेकुरा खाएर गाडी पर्खिन थालें। केहीबेरमै जिल्ला प्रहरी कार्यालयबाट फोन आयो– ‘गाडी सुरेश आयलनिर पुग्दै छ, तपाईं त्यहाँ गइहाल्नुस्।’ केही बेरमै गाडी आयो।

घरमा फोन गरेर बासँग सामान्य कुराकानी गरें। भर्खरै ब्रेन ट्युमरको शल्यक्रिया गर्नुभएका उहाँलाई कोरोना संक्रमित भएको भन्न सकिनँ। म कार्यरत नेपाल समय मिडिया र नेपाल पत्रकार महासंघ पर्सा शाखामा जानकारी गराएँ।

गाडी गण्डक अस्पतालअगाडि पुगेर रोकियो। चालकले तपाइँ यतै बस्नुस्, भित्रबाट मान्छे लिन आएपछि मात्र जानुहोला भनेर गए।

अस्पताल र उपचार व्यवस्थापन गतिलो नभएको संकेत यहींबाट मिल्न थाल्यो। एक घण्टासम्म कोही आएन। डेराबाट हिँड्दा औषधि खान भुलेछु। पानीको बोतल छुटेछ। अघिल्तिरबाट एकजना नर्स जाँदै थिइन्। ‘औषधि खानुछ, अलिकता पानी छ भने पाऊँ न’ भनें। उनले भनिन्, ‘दाइ हात धुन जाँदै छु एकछिनमा ल्याइदिन्छु।’

ती नर्स हात धोएर त आइन्। तर पानी ल्याइनन्। तीनचार घण्टापछि फेरि आइन्। अझै पनि पानी ल्याइनन्। भन्दै थिइन्– ‘क्याबिनमा राखिदिन भनेको अहिलेसम्म सुनेका छैनन्। अब डाक्टरसाप् कराउँछन्।’

चार बज्नै लाग्दा अर्की नर्स आइन्। कोठा सफा गर्नु परेकोले समय लागेको भनिन्, म गाडिबाट ओर्लिएर उनको पछि लागें। पहिलो तलाको १०२ नम्बर कोठा देखाइदिइन्। म आइसोलोसन कक्षभित्र छिरें।

अक्सिजन सिलिन्डर आईसीयू कक्षमा लैजाँदै गरेका यी आफैं पनि आईसीयूका बिरामी हुन्। 

आइसोलेसनभित्र छिर्दा

कोठामा पस्नेबित्तिकै ह्वास्स गन्हायो। जताततै सुई छरिएका, ठाउँठाउँमा रगतका टाटा। खानेकुरा पोखिएका। नर्सलाई भनें, ‘कोठा सफा हुँदै छ भन्नुभएको हैन? यसमा त केही गरेको रैनछ। यस्तो फोहोरमा कसरी बस्नु?’ ‘खै दाइ थाहा छैन मलाई। अहिले छेउतिर बस्दै गर्नू, म सफा गर्ने मान्छे पठाइदिन्छु’ भनेर उनी गइन्।

बान्ता आउला जस्तो भयो। तर उपाय केही थिएन। झोला राखें। बेडको तन्ना हटाएँ। अस्पतालका प्रमुखसमेत रहेका चिकित्सक डा. उदयनारायण सिंहलाई फोन गरें। उहाँले पनि सफा गर्ने मान्छे आउँदै छ भन्नुभयो। धेरै बेर कुर्दासम्म कोही आएन।

एकैछिनपछि आईसीयूबाट एक वृद्ध बाहिर निस्किए। उनी एउटा हातमा चढाइरहेको स्लाइनको बोतल र अर्को हातमा खाने पानीको बोतल बोकेर स्याँस्याँ गर्दै थिए। बाहिर रहेको जारबाट बोतलमा पानी भर्न आएका रहेछन्। जारमा पानी थिएन। बोतलले जारमा ढकढक ठोक्न थाले।

म हेरेको हेरै भएँ। के हुँदै छ? आईसीयूका बिरामी किन यता आएका? कोही छैन रेखदेख गर्ने? उनले पानी भरिदिन इसारा गरे।

मलाई निकै कमजोरी महसुस भएको थियो। आँखा बेस्सरी दुखिरहेको थियो। वृद्धलाई पानी भरिदिएँ। मलाई पनि प्यास लागेको थियो। बोतल थिएन। तल्लो तलामा गएर नर्ससँग खाली बोतल मागें। क्याबिनमा आएँ। बोतल राम्ररी धोएँ। प्यास मेटें।

आईसीयूका बिरामीको दुर्गति देखेपछि म बसेको क्याबिनमा सफाइ कर्मचारी आउलान् भन्ने आस मर्यो। बाथरुमबाट बाल्टिन र कुचो ल्याएँ। सबै फोहोर एउटा बट्टामा राखें।

साबुन लिएरै आएको थिएँ, हात धोएँ। बिस्कुट खाएँ। औषधि खाएर एकछिन पल्टिएँ। साढे सात बज्न लागेको थियो। बाहिर ड्रमको आवाज आयो। हेरें, दुईजना कुचिकार बरन्डा सफा गर्दै रहेछन्। कोठा आफैंले सफा गरे पनि औषधि र फोहोरको गन्ध आउन छाडेको थिएन। मेरो अनुरोधपछि उनीहरुले फिनेल छर्किदिए।

साढे ८ बजेतिर एउटी नर्स आइन्। ५/६ किसिमका औषधि दिइन्। साढे ९ बजेतिर खाना आयो। दाल, भात र चना थियो। तरकारी अमिलो थियो। औषधि खाएर सुतें।

दोस्रो दिन

बिहानदेखि झाडापखाला सुरु भयो। सात बजे नर्स आएर अर्को सुई लगाइदिइन्। ज्वरोले छाडेको थिएन। नर्सलाई आफ्नो पीडा सुनाएँ। नसुने झैं गरेर गइन्। पानी खाएँ। घरबाटै ल्याएको स्याउ र बिस्कुट खाएँ। साढे आठ बजेतिर खाजा आयो। चना, स्याउ, एउटा अण्डा र दुईवटा रोटी।

रोटी काँचै रहेछ। चना पनि अमिलो। अण्डामात्र खाएँ। आराम गरें। दिउँसो साढे १२ बजे दाल, भात, तरकारी ल्याइदिए। अमिलो तरकारी छुनै मन लागेन। दालभात खाएँ। कमजोरी बढ्दै थियो। कोरोनाका लक्षण देखिएकाले चिकित्सकले अस्पतालमै बस्न सल्लाह दिए।

तर यहाँ रेखदेख गर्ने कोही छैन। आईसीयूतिर गएँ, कुनै चिकित्सक भए झाडापखाला र कमजोरीको औषधि दिन्छन् कि भनेर। कोही थिएनन्। नाम मात्रको आईसीयू रहेछ। मोनिटर चलेका थिएनन्। एसी नचलेकाले दुर्गन्ध फैलिएको थियो।

एउटा कुनामा सानो पाइलाको पुनर्स्थापना केन्द्रमा काम गर्ने सुनिल प्रधान भेन्टिलेटरको सहायताले सास फेर्दै रहेछन्। कुराकानी भयो। चिकित्सकलाई फोन गर्न सल्लाह दिए। डा. उदयनारायण सिंहलाई झाडापखाला र कमजोरीका बारेमा जानकारी गराए। उहाँले निर्देशन दिएपछि राति नर्स आएर औषधि दिइन्। खाना त उस्तै थियो। तैपनि थोरै खाएर सुतें।

तेस्रो दिन

निकै गलेछु। दिनभर आराम गरें। बाहिर निस्कन सकिनँ। राति औषधि खाएर सुतें।

सलाइन चढाउनुपर्ने यी बिरामी पनि हातमा रोपिएको निडलसहित आईसीयू कक्ष बाहिर पानी भर्दै छन्।

चौथो दिन

बिहान ४ बजे ढोकामा कसैले बेस्सरी हिर्कायो। खोलेर हेरें। आईसीयूमा रहेका सुनिल दाइ रहेछन्। सोधें, ‘के भयो दाइ?’ उनले भने, ‘छिटो आइज यता कुनातिर! ती वृद्धा मर्न लागिन् यार, अक्सिजन नै छैन।’

नर्सिङ स्टाफहरु कोही थिएनन् त्यहाँ। उनी आफैं आईसीयूका बिरामी, हातमा निडल छ। दुई जना भएर ती वृद्धा नजिकै सिलिन्डर लग्यौं। अक्सिजन चढाइदियौं। सास बढिसकेको रहेछ। अक्सिजन दिएपछि उनलाई सास फेर्न सजिलो भयो।

मान्छे अक्सिजन नपाएर कसरी छटपटाउँदो रहेछ भन्ने नजिकैबाट देखें। हामीले अक्सिजन नदिएको भए ती वृद्धाको अवस्था के हुन्थ्यो होला?

राति फेरि त्यस्तै भयो। आईसीयू कक्षमा दुईवटा सिलिन्डर थिए। आफैं गएर किरणदेवी कर्ण र २०१ नम्बरका बिरामी मुनिलाल पटेललाई अक्सिजन चढाइदिएँ। फोन गर्दा नर्स आउँदैनन्। आए पनि पीपीई छैन भन्छन्। उल्टै मलाई पो काम लगाउन थाले। म झन् शिथिल हुँदै गएँ।

आफ्नो क्याबिनमा आएँ। मनमा विभिन्न कुरा खेल्न थालें। पर्साका प्रमुख जिल्ला अधिकारीलाई फोन गरें, उठेन। तल नर्सकहाँ फोन गरें। ‘दाइ मान्छे आएको छैन। आएपछि म पठाइदिन्छु’ भनिन्। सिलिन्डर फेर्न साढे १० बजेसम्म कोही आएन।

क्याबिनदेखि आईसीयू कक्षसम्म भात, तरकारी, सुई, मास्क, पन्जा छरपस्ट छन्। डस्टबिन कसैले प्रयोग गरेको छैन। ज्यादै दिक्क लाग्यो। सरफाइ र खानाको जिम्मेवारी वीरगन्ज महानगरपालिकाले लिएको रहेछ।

पितृशोकमा रहेका मेयर विजयकुमार सरावगीलाई फोन गर्न मन लागेन। खाना खुवाउने हिमाल भान्छाघरका साहुको नम्बर पत्ता लगाएँ। फोन गरेर गुनासो गरें। उनले बिरामीका लागि ल्याउने खानाको गुणस्तरबारे केही बताएनन्। बरु मलाई भने भिन्नै खाना पठाउने वचन दिए।

त्यसपछि मेरो नाममा अलग्गै खाना आउन थाल्यो। दालभात, आलुको तरकारी, पहिलाको भन्दा राम्रो थियो। साँझ सुई लगाउन नर्स आइन्। पीपीई, दुईतीनवटा मास्क, पन्जा लगाएकी थिइन्। म पनि मास्क लगाएर दूरी कायम गरेर बसेको थिएँ।

नर्स निकै हतास देखिन्थिन्। निडल झिक्दा र लगाउँदा भुइँभरि रगत लतपतियो। स्लाइनको बोतल जोडिदिएर ‘दाइ सकिएपछि यो बन्द गरिदिनुहोला’ भनेर उनी गइन्। राति साढे १० बजेतिर खाना ल्याएका एकजना दाइलाई स्लाइन लगाइदिन अनुरोध गरें। उनले निकाल्दा र लगाउँदा रगतैरगत भयो।

खाना खाएँ। एकछिन आईसीयूतिर गएँ। सुनिल दाइ र वीरगन्ज महानगरपालिकाका योजना फाँटका रविन पटवारी दुबै जना मुखमा अक्सिजन जोडेर स्याँस्याँ गर्दै थिए।

उनीहरुले रातिका लागि तीन चारवटा सिलिन्डर ल्याइदिनुहास् न भने। शरीर थकित छ। सुतेको पनि छैन। आईसीयूका बिरामी कोही सिलिन्डरबाट आक्सिजन आउँदैन भन्छन्, कसैले पानी माग्छन्। नर्सलाई खबर गर्छु, तपाईंले सहयोग गरिदिनुस् न दाइ भन्छन्। बिरामीको सेवा गर्दै समय बितेको पत्तै भएन।

गण्डक हस्पिटलका सञ्चालक रहबर अन्सारीलाई फोन गरें। सम्पर्क हुन सकेन भन्यो। नर्सलाई खबर गर्छु कोही छैन दाइ भन्छन्।

आफै विरामी भए पनि छटपटाइरहेकालाई यसै हेरेर बस्न मिलेन। पालैपालो गरेर आईसीयू कक्षमा दुईवटा सिलिन्डर लग्यौं। मुनिलाल पटेल बेडमा छटपटाइरहेका थिए। सुनिल दाइको सहयोगमा सिलिन्डर फेरिदिएँ। सबै बेडमा सिलिन्डर राखेपछि क्याबिनमा आएँ। औषधी खाएर सुतें।

 

पाँचौं दिन

बिहान १० बजे सिलिन्डर फेर्न आउनुपर्नेमा ११ बजेसम्म कोही आएन। भरिएको सिलिन्डर एउटा मात्र बाँकी थियो। नर्सलाई फोन गर्दा ल्याउँदै छ भन्ने जवाफ आयो। सुनिल दाइ भने सुई लगाउने बेला नर्स आएको बाहेक अरु कोही नआएको भन्दै आक्रोश पोखिरहेका छन्। उनी अब सक्दिनँ म अर्को कोठामा सर्छु भन्न थाले।

मैले पनि केही भन्न सक्ने अवस्था थिएन। दिउँसोको खाना खाएँ। एकछिनमा सुनिल दाइ र रविन पटवारीले आईसीयूबाट मेरो नजिकैको कोठामा सर्न प्रस्ताव गरे। नर्सलाई सोध्यौं, मिल्दैन भने। कारण सोध्दा थाहा छैन भनेर पन्छिए।

सुनिल दाइले भने, ‘मलाई धेरै गाह्रो भइसक्यो। मलाई आराम चाहिएको छ। म बरु माथिल्लो तहका डाक्टरसँग अनुरोध गर्छु।’ साँझसम्म दुवैजना अर्को कोठामा सरे। एउटा मात्रै बेड थियो। मेरो कोठामा भएको अर्को बेड लगे। राति खाना खाएर आईसीयूतिर गयौं। कोठा सरे पनि अक्सिजन अभावले छटपटिइरहेका बिरामीलाई केही नहोस् भन्ने थियो।

राति १० बजे दुईजना स्टाफ सिलिन्डर लिएर आए। उनीहरुसँग पीपीई थिएन। मैले र सुनिल दाइले राखिदियौं। क्याबिनमा आएँ। निद्रै लागेन। डेढ दुई बजेतिर आईसीयूमा हेर्न गएँ। सबै ठिक रहेछ। फर्किएर आएर सुतें।

बिहान साढे ५ बजे बाहिर हल्ला सुनें। ढोकामा आईसीयूमा भर्खरै भर्ना भएका छपकैयाका किस्मत मन्सुरी रहेछन्। उनले भने, ‘दाइ मेरो अक्सिन सकियो। त्यो बुढिया कराइरहेको छ। हिँड्नुस् न कोही छैन त्यहाँ।’

आँखा मिच्दै बाहिर आएँ। आईसीयूको बाथरुमबाट धारा फुटेर एनआईसीयू, आईसीयू, क्याबिन जताततै पानी, रगत, सिंगान, सुई, र प्याड असरल्ल थिए। बिरामीको कपडा पनि भिजेका थिए। बोल्न सक्ने जति आक्रोश पोखिरहेका थिए। कोही डाक्टर बोलाउन भन्दै थिए।

किरण कर्णले हातको इसाराले मलाई बोलाइन्। मन्सुरीचाहिँ पहिला मलाई अक्सिजन लगाइदिनुस् भन्दै थिए। मन्सुरीलाई सम्झाएँ। बिस्तारै सास फेर्दै गर्नुस् भनें। किरण कर्णका आँखा राता भइसकेका थिए। सास फेर्न कठिन भइरहेको थियो।

अक्सिजनको सिलिन्डर बाहिरबाट एक्लै बोकेर ल्याएँ। नट कसें। किरणलाई अक्सिजन जोडिदिएँँ। उनलाई बल्ल राहत महसुस भयो। मन्सुरीलाई पनि अक्सिजनको सिलिन्डर चढाइदिएँ। सबै बिरामी कराउन थाले।

वातावरण कोलाहलपूर्ण बन्यो। कोही डाक्टरलाई र कोही आफन्तलाई फोन लगाउन भन्दै थिए। नर्कमा पुगेछु जस्तो लाग्यो। आइसोेलेसन वार्डमा सबै जानकारी गराएँ। एकजना नर्सले भनिन्, ‘दाइ हामीलाई पनि थाहा छ। मान्छे आउँदैनन्। आएपछि पठाइदिन्छौं।’

केहीबेरमा डा. निरज सिंहको फोन आयो। उहाँले भन्नुभयो, दिउँसो ११ बजेतिर गाडी आउँछ। तपाईं र सुनिलजी वाटिकाको सामुदायिक आइसोलेसन वार्डमा जानुहोला।

मैले हुन्छ त भनें तर आईसीयूका गम्भीर बिरामीलाई कसले सहयोग गर्ला भन्ने लागिरहेको छ।

पत्रकारिता गर्दा र अन्य बिरामी भेट्दा धेरै पटक आईसीयू गएको छु। तर, यस्तो आईसीयू पहिलो पटक देखियो जहाँ बिरामी आफैं अक्सिजन सिलिन्डर र पानीका लागि कराइरहेका हुन्छन्।

अहिलेको आइसोलेसन अलिक सफा र सहज छ। निकै कमजोर महसुस गरिरहेको छु। गण्डक अस्पतालको आईसीयूका बिरामीको अवस्था सम्झेर पनि होला छटपटी बढ्दो छ।

प्रकाशित: Sep 12, 2020| 17:40 शनिबार, भदौ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।