काठमाडौं– सामाजिक सञ्जाल फेसबुकमार्फत कोभिड–१९ को पिसिआर रिपोर्ट सम्बन्धी झुटो अफवाह फैलाएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा पर्वत मोदी गाउँपालिका–७ घर भई पोखरा महानगरपालिका–५ बस्ने २९ वर्षीय ईश्वर रिमाल र चितवन भरतपुर महानगरपालिका–४ घर भई पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने २२ वर्षीय निरज लम्साल छन्।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखराबाट कोभिड–१९ पीसीआर परीक्षण गरेको रिमालको रिपोर्टलाई उनीहरू दुई जना मिलेर उल्टोपाल्टो गरी सामाजिक सञ्जालमा पोष्ट गरी झुटो अफवाह फैलाएको प्रहरीको आरोप छ।
उनीहरु विरुद्ध झुटो अफवाह फैलाउन नहुने सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।