काठमाडौं– सरकारले नियमित उडान नभएका मुलुकमा पनि अन्तर्राष्ट्रिय उडान थप गर्ने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले नियमित उडान नभएका मुलुकमा पीसीआर रिपोर्ट नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान संख्या थप गर्न लागिएको जानकारी दिए।
पीसीआर नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाइन्सले थप उडान माग गरेमा अनुमति दिइनेछ।
कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गरिने मन्त्री भट्टराईले जानकारी दिए।
श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वयमा उडान व्यवस्था गरिनेछ।
विदेशी भूमिमा अप्ठ्यारो अवस्थामा रहेका नेपालीप्रति सरकार संवदनशील रहेको र उनीहरुको स्वदेश फिर्तीका लागि सरकारले सक्दो प्रयास भइरहेको मन्त्री भट्टराईले बताए।
प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेलबीच उच्चस्तरीय परामर्शबाट अन्तर्राष्ट्रिय उडानको संख्या थप गर्ने समझदारी भएको हो।
यसअघि उपप्रधानमन्त्री पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री भट्टराई र श्रममन्त्री रामेश्वर राय यादवबीच उडान थपका विषयमा छलफल भएको थियो।