शुक्रबार, मंसिर १९, २०७७

विदेश समाज समाचार

इच्छामृत्यु वैध बनाउँदै न्युजिल्यान्ड, ६५ प्रतिशतको समर्थन

1604062527.jpg

न्युजिल्यान्डमा गरिएको एक जनमत संग्रहमा युथेनेसिया अर्थात् इच्छामृत्युलाई वैध बनाउने पक्षमा व्यापक जनसमर्थन जुटेको छ। 

relifeinsurance

१७ अक्टोबरमा भएको मतदानको सुरुआती परिणामअनुसार ६५ प्रतिशतभन्दा बढीले इच्छामृत्युको अधिकार उपयोग गर्न पाउनुपर्ने पक्षमा मत दिएका छन्। 

इच्छामृत्युको अधिकारको समर्थन गर्नेहरुले यसलाई ‘इच्छा’ र ‘गरिमा’ का साथ जीवन बाँच्न चाहनेको जित भनिरहेका छन्। 

देशमा भएको आमनिर्वाचनसँगै इच्छामृत्युमा जनमतसंंग्रह गराइएको थियो। आमनिर्वाचनमा प्रधानमन्त्री जेसिन्डा आर्डनले ठूलो मतले विजयी भइन्।

जनमतसंग्रहको मतगणना केही पछि सुरु गरियो। शुक्रबार भएको मतगणनाको प्रारम्भिक परिणामअनुसार ६५.२ प्रतिशत न्युजिल्यान्डबासी युथेनेसियाका पक्षमा छन् भने ३३.८ प्रतिशतले यसको विरोध गरेका छन्। 

यो परिणामले न्युजिल्यान्ड पनि ती केही देशमा सामेल हुने स्पष्ट भएको छ जहाँ चिकित्सकको सिफारिसमा इच्छामृत्युको अनुमति दिइन्छ। 

मानसिक रोगी जोखिममा पर्न सक्ने  

न्युजिल्यान्डमा कानुन सुधारका लागि अभियान चलाइरहेका डेभिड सेमुरले यसलाई ‘ठूलो विजय’ भन्दै अब बन्ने नयाँ कानुनले न्युजिल्यान्डलाई मानवताका लागि अधिक दयालु बनाउने दाबी गरेका छन्। 

उनले भनेका छन्, ‘हजारौं न्युजिल्यान्डवासी जसले सायद अति दुःखदायी मृत्युलाई सहन गरे होलान्, उनीहरुसँग अब इच्छा, गरिमा, नियन्त्रण र आफ्नो शरीरमाथि स्वतन्त्रता हुनेछ र कानुनको शासनले यो स्वतन्त्रताको रक्षा गर्नेछ।’

यद्यपि, न्युजिल्यान्डमा चर्चहरुको संगठन साल्भेसन आर्मीले भने कानुनमा सुरक्षाका पर्याप्त उपाय नभएका बेला इच्छामृत्युको अनुमति दिने कानुन बनेमा आफ्नो जीवनलीला सिद्ध्याउनका लागि बाध्य पारिने घटना हुन सक्छ। 

साल्भेसन आर्मीले भनेको छ, ‘कमजोर, खासगरी वृद्ध र मानसिक रोगको सिकार भएकाहरु यो कानुनका कारण जोखिममा पर्नेछन्।’
न्युजिल्यान्डको मेडिकल एसोसिएसनले यसलाई ‘अनैतिक’ भनेको छ। 

अरू देशमा पनि छ यस्तो व्यवस्था

इच्छामृत्युलाई सबैभन्दा पहिले वैध बनाउने देश हो, नेदरल्यान्ड्स्। सन् २००२ मा नेदरल्यान्ड्स्मा इच्छामृत्युलाई कानुनी मान्यता दिइए लगत्तै बेल्जियमले पनि यसलाई वैध बनाएको थियो। 

सन् २००८ मा लग्जमबर्ग, २०१५ मा कोलम्बिया र २०१६ मा क्यानडाले इच्छामृत्युलाई कानुनी रुप दिए।  यस्तो व्यवस्था अमेरिकाका केही राज्य र अस्ट्रेलियाको भिक्टोरिया राज्यमा पनि छ। 

युथेनेसियाबारे पोर्चुगलको संसदमा पनि बहस भइरहेको छ। यद्यपि, यसै साता जनमतसंग्रह गराउने मागलाई भने त्यहाँको संसदले अस्वीकार गरिदिएको छ।

नेदरल्यान्ड्स्मा अक्टोबरदेखि नै १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई इच्छामृत्युको अधिकार दिइएको छ। 

जर्मनीमा सन् २०२० मा बनाइएको कानुनअनुसार लामो समयदेखि बिरामी रहेका व्यक्तिले चिकित्सकको मद्दतमा आफ्नो जीवनको अन्त्य गर्ने फैसला गर्न पाउँछन्। कानुनअनुसार चिकित्सकले सहमति दिएनन् भने उनलाई सहमतिका लागि बाध्य बनाउन सकिँदैन। 

स्विजरल्यान्डमा ‘युथेनेसिया’ को अनुमति छैन तर ‘असिस्टेड सुसाइड’ को अनुमति छ। फरक के मात्रै हो भने ‘असिस्टेड सुसाइड’ मा मृत्युका लागि अर्काको सहयोग लिनुपर्छ, आफैं आफ्नो ज्यान लिन पाइँदैन। 

न्युजिल्यान्डमा इच्छामृत्युसम्बन्धी कानुन सन् २०२१ बाट लागू हुनेछ। यस अन्तर्गत मानसिक रुपमा स्वस्थ वयस्क व्यक्ति जसको ६ महिनाभित्र मृत्यु हुने सम्भावना छ र उसले ‘असहनीय पीडा’ अनुभव गरिरहेको छ भने उसलाई प्राण घातक औषधि दिन सकिनेछ। 

यसका लागि बिरामीको अनुरोधपत्रमा उपचारमा संलग्न चिकित्सक र अर्का स्वतन्त्र चिकित्सकको हस्ताक्षर हुनुपर्नेछ। बिरामीमा कुनै प्रकारको मानसिक समस्यासमेत रहेको सन्देह छ भने मानसिक चिकित्सकको सल्लाह पनि जरुरी हुनेछ। 

प्रधानमन्त्री जेसिन्डा आर्डनले मृत्युको अधिकारसम्बन्धी नयाँ कानुनको समर्थन गरेकी छन्। उनले भनेकी छन्, ‘यसबारे अनिच्छाका बाबजुद पनि जनमत संग्रहका लागि म राजी भएँ किनभने विधेयक अगाडि बढाउने यही एउटा तरिका थियो। 

न्युजिल्यान्डको संसदले अघिल्लो वर्ष नै इच्छामृत्युलाई वैध बनाउन अनुमति दिए पनि आमनागरिकको चाहना बुझ्नका लागि यसलाई लागू गरिएको थिएन। -एफपी र अन्य एजेन्सीको सहयोगमा
 

प्रतिक्रिया दिनुहोस्