रुपन्देहीमा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार गर्नेगरी तीन वटा रणनीति अबलम्बन गरिएको छ। नेपाल–भारत करिब ६० किलोमिटर खुला सीमालाई दृष्टिगत गरी नेपाल सरकारको नीति अनुरुप सीमालाई नियन्त्रण गर्ने, मुख्य नाका बेलहिया बाहेक अन्य नाकाहरुबाट आवतजावत बन्द गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खटाइएको छ।
सुरक्षामा खटिएको जनशक्तिले काम गरे–नगरेको विषयमा विभिन्न निकायहरुबाट अनुगमन समेत भएको छ। त्यसैगरी संक्रमित व्यक्तिले अरुलाइै कोरोना सार्न नसकोस् भनी भीडभाड हुन नदिने, मास्क लगाएर हिँड्न लगाउने, सार्वजनिक सेवा प्रवाह गर्दा सामाजिक भौतिक दूरी कायम गर्न लगाउने जस्ता रोकथामका क्रियाकलाप पनि सञ्चालन गरेका छौं।
त्यसैगरी संक्रमित व्यक्तिको पहिचान, उसको सम्पर्कमा आएका व्यक्तिको पहिचान र परीक्षण गरी आइसोलेसन सेन्टरमा राख्ने, लक्षण देखिएका बिरामीलाई कोरोना अस्पतालमा लगी उपचार गराउने कार्यहरु गरेका छौं।
संक्रमण फैलिन नदिन मानिसहरुको आवतजावतलाई कम गर्न संक्रामक रोग ऐन बमोजिम आवश्यक आदेश जारी गरेका छौं। यसरी रुपन्देही जिल्लामा हामीले रोकथाम, नियन्त्रण र उपचारका सबै विधिहरु प्रयोग गरेर संक्रमण फैलिन नदिन सक्रिय रुपमा कार्य गरिरहेका छौं।
यी उपायमात्र पर्याप्त हुँदैनन्। सरकारी योजनामा जनस्तरबाट पर्याप्त समर्थन र सहयोग नभएमा सफलता पाउन कठिन हुन्छ। त्यसैले स्थानीय जनप्रतिनिधिहरुसँग छलफल गरी जनप्रतिनिधिहरुलाई समेत कोरोना विरुद्धको अभियान सञ्चालन गर्न अनुरोध गरेका छौं। स्थानीय तहहरुले पनि सक्रियतापूर्वक गतिविधि सञ्चालन गरिरहेका छन्।
जिल्लामा कोरोना संक्रमणको संख्या बढ्नुमा लकडाउन अन्त्य हुनासाथ एक जिल्लाबाट अर्को जिल्लामा जानेको संख्या बढ्न गएर हो। त्यसको साथै सार्वजनिक सवारी साधनहरु चल्न थालेपछि मानिसहरु जम्मा हुने, नजिक हुने काम हुन थाल्यो।
व्यापारिक एवं औद्योगिक कृयाकलाप बढ्दै जाँदा कामदारहरु आउने क्रम सुरु भयो। विगतमा स्कुलहरुमा भएका क्वारेन्टिनहरु खाली भए। मानिसहरु होम क्वारेन्टिनमा बस्न थाले। यी सबै कृयाकलाप हुँदा जनस्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण पालना हुन सकेन। जसको कारण संक्रमण बढ्न गएको हो।
कोरोना संक्रमण बढ्दै जाँदा मानिसहरु भयभित हुनु स्वभाविक हो। तर यसबाट जोगिने उपाय खोजेर समाजमा फैलिनबाट बचाउनु, संक्रमण देखिइसकेको व्यक्तिलाई लक्षण देखिए अस्पतालमा लैजान र नदेखिएमा आइसोलेसनमा निश्चित अवधि राख्नु नै श्रेयष्कर हुन्छ।
तसर्थ भयभित भएर होइन, आशावादी भएर बसौं। कोरोनाविरुद्ध एकताबद्ध भई जनचेतना फैलाऔं। मास्स लगाऔं, एक अर्काबीचको भौतिक दूरी, सामाजिक क्रियाकलापमा उपस्थित हुँदाको दूरी कायम गरौं। आफू बचौं र अरुलाई पनि बचाऔं भन्ने अभियान आफैँबाट थालनी गरौं।
नेपाल सरकारबाट स्वीकृत मापदण्डहरु पालना गरेमा संक्रमण फैलिन पाउँदैन। त्यसैले यस्ता मापदण्डको पालनामा स्थानीय तह, प्रदेश एवं सबै तहका सरकारको महत्वपूर्ण भूमिका हुन्छ। अतः विषयवस्तुको गाम्भिर्यता र विद्यमान अवस्था समेतलाई मध्यनजर गरी संक्रमणबाट जोगिन सबैको सहयोग अपेक्षित छ।
(रुपन्देहीका प्रमुख जिल्ला अधिकारी समेत रहेका पन्थसँग नरेश केसीले गरेको कुराकानीमा आधारित)