बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बचेको दूध छिमेकमा बेच्दाबेच्दै खडा भयो करोडौंको व्यवसाय

बचेको दूध छिमेकमा बेच्दाबेच्दै खडा भयो करोडौंको व्यवसाय

काठमाडौं सुन्दरीजलमा रहेको गाई फार्ममा यतिबेला बाबुरामको संरक्षणमा २५० गाई छन्। त्यहाँबाट उत्पादित झन्डै १३ सय लिटर दूध बिहानै सहरका विभिन्न चोकचोकमा पुगिसक्छ भने फार्ममा २८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
 |  शनिबार, भदौ २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २०, २०७७

काठमाडौं– १० वर्षअघि घरमा बालबालिका र बाआमालाई दूध खुवाउन गाई पाल्न थाल्दा बाबुराम कार्कीले सायदै सोचेका थिए गाईपालनले यति ठूलो व्यावसायिक रूप लेला भनेर। सोचून् पनि कसरी?

triton college

त्रिवि, अर्थशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक कार्की सोही विषयमा अध्ययन–अनुसन्धानमा केन्द्रित थिए। साथीभाइ र वरपरकाले उनलाई प्राज्ञिक व्यक्तित्वका रुपमा चिन्थे। उनको परिचय उदीयमान अर्थशास्त्रीका रूपमा बन्दै थियो।

निकट भविष्यमै त्रिविबाट विद्यावारिधि उपाधि लिने तरखरमा रहेका बाबुरामको व्यक्तित्व अहिले सफल गाईपालक किसानका रूपमा स्थापित भइसकेको छ।

विश्वविद्यालयमा पढाउने प्राज्ञिक व्यक्तित्व त अनुसन्धानमा लाग्नुपर्ने होइन? उनी भन्छन्, ‘रिसर्च धेरै भयो। धेरैले लेखे। अब कार्यान्वयनको बेला हो। ठूल्ठूला थेसिस लेख्दै पुस्तकालयमा थन्क्याएर परिवर्तन हुन सक्दैन।’

प्राध्यापन र गाईपालन सँगसँगै अगाडि बढाइरहेका उनी भन्छन्, ‘दुवै काम मेरो जिम्मेवारीमा छन्। सकेसम्म पूरा गर्दै अघि बढ्नेछु। अन्य युवालाई प्रोत्साहन गर्न पनि म दुवै पेसा छाड्ने पक्षमा छैन।’ दुवै पेसा एकैसाथ अघि बढाउँदा समय व्यवस्थापनमा कठिनाइ नभएको उनको भनाइ छ।

corrent noodles
Metro Mart

काठमाडौं सुन्दरीजलमा रहेको गाई फार्ममा यतिबेला बाबुरामको संरक्षणमा २५० गाई छन्। त्यहाँबाट उत्पादित झन्डै १३ सय लिटर दूध बिहानै सहरका विभिन्न चोकचोकमा पुगिसक्छ भने फार्ममा २८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

सात करोड लगानी गरिसकेका बाबुराम अब आठ करोड थपेर फार्मलाई अत्याधुनिक बनाउने प्रक्रियामा छन्। फार्ममै डेरी उद्योग स्थापना गर्ने, युवालाई गाईपालन सम्बन्धी प्रशिक्षण दिने, फलफूल, तरकारी र मासुजन्य उत्पादनका लागि व्यवसाय विस्तार गर्ने योजना पनि उनले अगाडि बढाइसकेका छन्।

यसरी सुरु भयो उद्यम

केटाकेटी र बूढाबूढीलाई शुद्ध दूध ख्वाउन साह्रै समस्या थियो। दूध शुद्ध पाउनै मुस्किल भएपछि उनले घरमै गाई पाल्न थाले।

घरमा खाएर बचेको दूध वल्लो घर पल्लो घरतिर बिक्री हुन थाल्यो। यसपछि उनले गाइपालनलाई व्यावसायिक रूप दिने निधो गरे। भक्तपुरमा जग्गा लिजमा लिएर गाई फार्म खोले। भक्तपुरमा आफ्नो व्यवसायमा ठूलो क्षति भएपछि केही निराश भएका बाबुरामले हरेश खाएनन्। सुन्दरीजलमा फार्म सारे। त्यहाँ अहिले राम्ररी जमेका छन्।

कामदारदेखि म्यानेजरसम्म आफैं

सुरुमा कामदार र म्यानेजर आफैं थिए बाबुराम। कोही आएर साहुजी खै त? भनेर उनैलाई सोध्दा चाबहिलतिर गएका छन् भनेर जबाफ दिन्थे। विश्वविद्यालयमा पढाउन जाँदा बाइकमा दूधको क्यान हुन्थ्यो।

अहिले उनी म्यानेजरको भूमिकामा सीमित छन्। तैपनि सकेसम्म गाईफार्मबाट बाहिर जानै चाहँदैनन्, विश्वविद्यालयमा पढाउन जानुबाहेक। उनी भन्छन्, ‘अहिले त फार्म छाड्नै परेको छैन। अनलाइनबाटै क्लास भइरहेको छ।’

शिक्षणका क्रममा उनले विद्यार्थीलाई कहिल्यै गाईपालनप्रति नकारात्मक सोच्न दिएनन्। त्यसैले त उनलाई विपत् पर्दा विद्यार्थीले नै हौसला र आर्थिक सहयोगसमेत जुटाइदिए।

उनीसँग अहिले दूध ढुवानीका लागि आफ्नै गाडी छ। वितरण संयन्त्र बनाइसकेका छन्। बजार बनेको छ। मागअनुसार दूध पूरा गर्न नसक्दा मात्रै चिन्ता लाग्छ। उनी सुन्दरीजलबाट चाबहिल, डिल्लीबजार, मैतीदेवी, पुरानो बानेश्वरसम्म दूध पुर्याउँछन्। त्यहाँबाट स्थानीय वितरकले बिक्री गर्छन्। भन्छन्, ‘लकडाउन नभएको भए दैनिक १८ सय लिटर जति उत्पादन हुन्थ्यो।’

असामाजिक पनि भने

गाईफार्ममा व्यस्त हुनुपर्दा, चाडबाड र पारिवारिक जमघटमा सामेल हुन सकिँदैनथ्यो। कोही आफन्त बित्दा मलामी जानेसम्म फुर्सद हुँदैनथ्यो। उनी भन्छन्, ‘सुरुसुरुमा मलाई कतिपयले असामाजिक पनि भने। आफैंलाई पनि दिक्क लाग्थ्यो। अब यो एकोहोरो हुने भयो भनेर उडाए पनि।’ अहिले तिनै मान्छेले प्रशंसा गर्न थालेका छन्।

विदेशमा बस्ने युवा प्रभावित

बाबुरामको उद्यमबाट विदेशमा रहेका नेपाली युवा प्रभावित छन्। उनी भन्छन्, ‘विदेशमा बस्ने युवाको धेरै फोन आउन थालेको छ। हामी पनि फर्केर आउँछौं सिकाइदिनुपरो भनेर।’ उनले कतिपयलाई सिकाउन थालेका छन्। गाई छनोट, दानाको योजना, दूधको गुणस्तर बारेमा प्रशिक्षण दिँदै आएका छन्। प्रशिक्षणलाई पनि व्यवसायको महत्त्वपूर्ण अंग बनाउने उनको योजना छ।

केही महिनापछि उनको फार्म अत्याधुनिक बन्दै छ। गाईको थुनबाट दूध सीधै प्याकेटमा जाने व्यवस्था गर्ने प्रविधि भित्र्याउन लागिएको उनले बताए। उनले भने, ‘लकडाउन नभएको भए दसैंअगाडि सक्ने योजना थियो।’

लगानीको स्रोत

ओखलढुंगाको मध्यमवर्गीय परिवारका बाबुराम पैसावाल होइनन्। सानो लगानीबाट उद्यम सुरु गरेका उनले त्यसैलाई बढाउँदै लगेका हुन्। व्यवसाय स्थापित हुँदै गएपछि बैंकले ऋण पत्याउन थाल्यो। अहिले व्यवसाय विस्तारका लागि उनलाई बैंकले ८ करोड रुपैयाँको प्रोजेक्ट फाइनान्सिसङ गरेको छ। बागमती प्रदेशको कृषि मन्त्रालयले प्रोत्साहन दिएको छ। विदेशमा बसेका धेरै व्यक्तिबाट पनि सहयोग प्राप्त भएको उनले बताए।

राज्यसँगको अपेक्षा

गाईपालनलाई राज्यले उद्योगका रूपमा लिएको छैन। त्यस्तै गाई आयातमा प्रतिबन्ध छ। उनी भन्छन्, ‘भारतबाट उन्नत जातका गाई सहज रुपमा आयात गर्ने वातावरण बन्नुपर्छ।’

गाईपालनमा पूर्वाधार र प्रविधिको विकास पनि राज्यबाटै हुनुपर्छ। ऋण लगानीलगायतका अन्य प्रोत्साहनका कार्यक्रम पनि ल्याउनुपर्ने उनको आग्रह छ। किसानले लागतअनुसार मूल्य पाउनुपर्ने व्यवस्था राज्यले नै गरिरदिए सहज हुन्छ।

काम नपाएर किसानी लाग्ने होइन

किसानलाई मर्यादापूर्वक काम गर्ने व्यवस्था मिलाउन सकेसम्म पहल गर्ने बाबुराम बताउँछन्। उनी भन्छन्, ‘काम नपाएर किसानीमा लाग्ने होइन। रोजेर लाग्नुपर्छ।’

केही काम पाएन अनि खेतीकिसानीमा लाग्यो भन्ने बूढापाकाको भनाइप्रति उनको विमति छ। उनले भने, ‘यसलाई छनोटको व्यवसाय बनाउनुपर्छ।’ कतिपय किसान परिश्रमअनुसार उत्पादनको मूल्य नपाउँदा दिक्क छन्। त्यसैले बिचौलियालाई निमिट्यान्न पार्नुपर्ने उनको धारणा छ। यस्तै स्वरोगारमूलक कार्यक्रम ल्याएर सरकारले सबै युवालाई समेट्न नसकेको उनको भनाइ छ। उनले भने, ‘स्वरोजगार होइन, व्यावसायिक रोजगार हुनुपर्छ।’

बेच्नेले दूध बेच्छ, खानेले चिया

सहरी क्षेत्रमा दूध खाने संस्कृति नभएको बाबुराम बताउँछन्। दूध खाने भनेका बालबालिका, वृद्धवृद्धा र बिरामी मात्र हुन्। उनले भने, ‘त्यसैले सहरमा खपत भएको धेरै दूध चियामा मात्र प्रयोग भएको छ। मानिसले दूध भनेर खाएको छैन। बेच्नेले दूध बेच्छ, तर किन्नेले चिया खाएको छ।’ दूध नियमित खाने बानी बसाल्नुपर्ने उनी बताउँछन्।

बाबुरामसँग अब दुई वटा योजना छन्– एउटा दूध उत्पादन लागत प्रतिलिटर ६० रुपैयाँबाट ४० मा झार्ने र अर्को स्वस्थ्य दूध उत्पादन गर्ने। उनले भने, ‘दूध उत्पादन लागत ४० रुपैयाँ भयो भने ७० रुपैयाँमा बेच्न पाउँछु। यसबाट मलाई लिटरमा ३० रुपैयाँ बच्छ।’ यस्तै फार्ममै डेरी सञ्चालन गर्ने पनि योजना रहेको उनले सुनाए।

उनको फार्ममा अहिले ५५ लिटरसम्म दूध दिने गाई छन्। एउटा गाईलाई एक दिनमा एक हजार रुपैयाँ खर्च हुन्छ। समग्रमा एक लिटर दूध उत्पादन गर्न ६० देखि ६५ रुपैयाँसम्म खर्च हुन्छ। उनी भन्छन्, हामी ७० देखि ८० रुपैयाँसम्म लिटरमा बेच्छौं। पसलमा बेच्नेले केही मार्जिन राख्नु स्वाभाविकै हो।’

नेपालमा दूध स्वस्थताको मापन गरिँदैन। स्याउ कुहिएजस्तो दूध पनि कुहिन्छ। गाई बिरामी भए दूध अस्वस्थ हुन्छ। दूधको लेभलिङ गरिएको छैन। डिपार्टमेन्ट स्टोरमा नेपाली दूध पाइँदैन। विदेशीहरु नेपाली दूध रुचाउँदैनन्। हाम्रो दूधको गुणस्तरमा विश्वास छैन उनीहरूलाई।

अब प्रविधि भित्र्याउने र ब्रान्डका रुपमा विकसित गर्ने योजना छ। यो वर्षको अन्त्यसम्म डेरी उद्योग सञ्चालन गर्ने उनले बताए।

दुःखद क्षण

२०७४ सालसम्म आइपुग्दा झन्डै डेढ सय गाईका मालिक भइसकेका बाबुरामका झन्डै एक सयवटा गाई आगलागीमा परेर भष्म भएपछि उनी हतोत्साही भए। त्यतिबेलाको विपत् सम्झँदै उनी भन्छन्, ‘केही समय निकै हतास भएँ। व्यवसाय छोड्ने निर्णय गरेको थिएँ। साथीभाइ र विद्यार्थीले सहयोग गरे। मिडियाले सहयोग गर्यो।’ परिवारबाट पनि सहयोग मिलेपछि उनलाई केही राहत महसुस भयो। अनि फार्म सुन्दरीजलमा स्थानान्तरण गरे।

सम्बन्धित समाचार

तरकारी खेतीमा रमाएका सुब्बासा’प!

 

प्रकाशित: Sep 05, 2020| 09:24 शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।