शुक्रबार, मंसिर १९, २०७७

विशेष समाचार
1603420924.jpg

कोरोना महामारीसँगै गरिएको लकडाउनले झन्डै पाँच महिना मुलुक ठप्प भयो। लकडाउन खुलेको र चाडबाडको मौसम हुँदा पनि अधिकांशको व्यवसाय लयमा फर्किन सकेको छैन। कारण महामारी झन् बढेको छ। 

relifeinsurance

आमनागरिक घुमघाम, किनमेल गर्ने ‘मुड’ मा छैनन्। गत वर्षको तुलनामा यो दसैंमा ५० प्रतिशत पनि कारोबार नभएको व्यवसायी बताउँछन्। 
तर केही यस्ता व्यवसाय छन्। जसलाई महामारी फलिफाप भएको छ। 

स्यानिटाइजर र मास्क 

कोरोना भाइरस संक्रमणबाट बच्ने मुख्य उपाय मास्क र स्यानिटाइजरको प्रयोग, साबुनपानीले हात धुनु र भौतिक दूरी कायम राख्नु हो। विश्व स्वास्थ्य संगठनले नै भौतिक दूरी कायम राख्दा, मास्कको प्रयोग गर्दा, साबुनपानीले हात धुँदा र स्यानिटाइजरको प्रयोग गर्दा संक्रमणको जोखिम कम हुने बताउँदै आएको छ। यसले गर्दा मास्क, स्यानिटाइजर र साबुन  व्यापार उल्लेख्य बढेको छ। 

माग बढेसँगै ठूला व्यावसायिक घराना निम्बस, गोल्यानलगायत समूह स्यानिटाइजर उत्पादनतर्फ लागेका छन्। अधिकांश औषधि उत्पादक कम्पनीले पनि स्यानिटाइजर उत्पादन गरिरहेका छन्। गुणस्तरीय स्यानिटाइजरको माग बढेपछि उत्पादन सुरु गरेको लोमस फर्मास्युटिकल्सका निर्देशक प्रणवजंग पाण्डे बताउँछन्। उनी भन्छन्, ‘मागअनुसार उत्पादन पुर्‍याउनै धौधौ छ।’ 

नेपाल औषधि उत्पादक संघका अनुसार चैतयता ७० करोड रुपैयाँ बराबर स्यानिटाइजर कारोबार भएको छ। उत्पादन र कारोबार अनियन्त्रित रूपमा भइरहेकाले संघसँग यकिन तथ्यांक छैन।

सामान्य अवस्थामा स्यानिटाइजर कारोबार वार्षिक बढीमा पाँच करोड रुपैयाँको हुने संघका पूर्वअध्यक्ष दीपक दाहालको भनाइ छ। 

आयातित स्यानिटाइजर प्रयोग पनि उत्तिकै बढेको छ। विभिन्न मुलुकबाट साउन र भदौमा मात्रै २५ करोड २४ लाख रुपैयाँ बराबरको स्यानिटाइजर आयात भएको छ। अन्य डिसइन्फेक्सनका सामग्री साउनमा १० करोड रुपैयाँ बराबरको आयात गरिएको छ। 

स्यानिटाइजरसँगै मास्क प्रयोग पनि बढेको छ। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १४ करोड ५२ लाख १४ हजार रुपैयाँको मास्क आयात भएको छ। स्वदेशमै मास्क बनाउन  दुई महिनामा १०४ वटा मास्क बनाउने मेसिन भित्रिएको भन्सार विभागको तथ्यांक छ। 

यही अवधिमा एक करोड ९० लाख १४ हजार बराबरको मास्क निर्यात पनि भएकोे छ। तथ्यांकअनुसार १६ मुलुकबाट मास्क आयात भएको छ। सबैभन्दा धेरै चीनबाट सात करोड १२ लाख २२ हजार रुपैयाँको ५२ हजार ५५६ थान मास्क आयात गरिएको छ। 

साबुन व्यवसाय पनि उत्तिकै बढेको छ। व्यवसायीका अनुसार कोरोना महामारी सुरु भएसँगै हात धुन प्रयोग गरिने साबुनको माग शतप्रतिशतले उकालो लागेको छ। 

भन्सार विभागको तथ्यांकअनुसार पहिलो दुई महिनामा ३२ करोडका साबुन आयात गरिएको छ। उत्तिकै बराबर स्वदेशी साबुनको प्रयोग पनि बढिरहेको छ। 

मोबाइल  

लकडाउन खुलेसँगै अस्वाभाविक रूपमा मोबाइलको व्यापार बढ्यो। व्यवसायीका अनुसार १५ देखि २५ हजार रुपैयाँ पर्ने स्मार्टफोनको माग अत्यधिक छ।

उनीहरूका अनुसार यो रेन्जका मोबाइलको माग ५० प्रतिशतले बढेको छ। तर, नेपालमा सर्वाधिक आयतित सामग्री आपूर्ति गर्ने भारतमा समेत कोरोना संक्रमण रहेकाले आयातमा समस्या भइरहेको छ। जसले गर्दा ग्राहकको मागअनुसार मोबाइल पु¥याउन नसकिएको व्यवसायी बताउँछन्। 

साउन–भदौमा मोबाइल सेटको आयात सात अर्ब ४६ करोड मूल्यको आयात भएको देखिएको छ। अघिल्लो वर्षको यही अवधिमा चार अर्ब ४० करोडको मोबाइल आयात भएको थियो। अर्थ मन्त्रालयका अनुसार नेपालमा वार्षिक करिब १८ अर्ब बराबरको मोबाइल सेट आयात हुन्छ। 

स्कुलदेखि विश्वविद्यालयसम्मको पढाइ अनलाइनमा भइरहेकाले पनि स्मार्टफोनको माग बढेको छ। जानकारहरूका अनुसार अन्तर्राष्ट्रिय उडान बन्द भएको, विदेशबाट आउने–जानेको संख्या घटेका कारण पनि व्यक्तिगत तवरबाट हुने मोबाइल ‘सप्लाई’ घटेको छ। यसले पनि माग बढाएको धेरैको बुझाइ छ।

त्यस्तै, पछिल्लो समय लकडाउनका कारणले अवैधानिक तवरबाट भित्रिने मोबाइल नभित्रिएकाले पनि बजारमा माग बढेको छ। नेपालमा करिब ३० प्रतिशत मोबाइल चोरी पैठारीबाट आउने बताइन्छ। 

अनलाइन डेलिभरी

लकडाउन र कोरोना महामारीले अनलाइनबाट किनमेल गर्नेको जमात बढाएको छ। अनलाइन सपिङमा भविष्य देखेर ठूला व्यावसायिक घराना पनि ई–कमर्समा लगानी गर्न कस्सिएका छन्। अहिले नयाँ अनलाइन सपिङ प्लेटफर्मको बाढी आएको छ। 

वेबसाइटविना फेसबुक, इन्स्टाग्राममार्फत अनलाइन कारोबार गर्नेहरू पनि छ्यापछ्याप्ती छन्। भीडभाडले कोरोनाको जोखिम बढाउने भएपछि ग्राहक अनलाइन सपिङमा आकर्षित भएका छन्। 

सस्तोडिल डटकमका संस्थापक अमुन थापा कोरोनाले अनलाइन अर्डर तीन गुणाभन्दा बढेको बताउँछन्। उनी भन्छन्, ‘कोरोनाले अनलाइन किनमेलको संस्कृति बढाएको छ। अब यसले निरन्तरता पाउनेमा हामी ढुक्क छौं।’

विद्युतीय कारोबार

लकडाउनपछि विद्युतीय कारोबारमा पनि बढोत्तरी भएको छ। नगद कारोबार गर्दा पैसाको माध्यमबाट कोभिड संक्रमित हुने डरले उपभोक्ता बाध्य भएर डिजिटल कारोबार गर्न थालेका छन्। 

आइएमई पे, प्रभु पे, खल्ती, सेल पे, ईसेवा, कनेक्ट आईएीसलगायत अनलाइन पेमेन्ट गेटवेहरूको लकडाउनसँगै कारोबार बढेको छ। 

बैंक खाताबाट सीधै गर्न सकिने अनलाइन कारोबार पनि ह्वात्तै बढेको छ। एटीएम, डेबिट कार्ड, क्रेडिट कार्ड, इन्टरनेट बैंक, मोबाइल बैंकिङ, क्युआर कोडलगायत प्लेटफर्मबाट कारोबार बढेको नेपाल राष्ट्र बैंकको भनाइ छ। 

राष्ट्र बैंकको तथ्यांकअनुसार यो अवधिमा ३० प्रतिशत डिजिटल कारोबार बढेको छ। 

इन्टरनेट 

लकडाउनपछि आममानिस घरभित्रै थुनिएर बसे। यसको परिणाम इन्टरनेटको माग पनि बढ्यो। सामाजिक सञ्जाल प्रयोगकर्ता ह्वात्तै बढेपछि इन्टरनेट सेवा प्रदायक (आईएसपीको) ब्यान्डविथ खपत पनि ३५ प्रतिशतसम्म बढेको छ। 

कोरोनासँगै सुरु भएको ‘वर्क फ्रम होम’ र भिडियो मिटिङले इन्टरनेटकै खपत बढाएको नेपाल नेटवर्क अपरेटर ग्रुपका अध्यक्ष समितजन थिङ बताउँछन्। 

उनी भन्छन्, ‘घरभित्र थुनिएका व्यक्तिले बढी समय इन्टरनेटमा बिताउँदा ब्यान्डविथ खपत एकतिहाइ बढेको छ।’

सामान्य अवस्थामा आईएसपीहरूको लोकल ब्यान्डविथ खपत ११ सय २२ जीबीपीएस रहेकोमा लकडाउन अवधिमा बढेर १५ सय ५३ जीबीपीएससम्म पुगेको थियो। 

यस्तै, ३३४ जीबीपीएससम्म खपत भइरहेको अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत बढेर ४१८ जीबीपीएसससम्म पुग्यो। 

कोभिडले मोबाइल सेवा प्रदायक टेलिकम कम्पनीहरूको व्यापार पनि बढाएको छ। यस अवधिमा भ्वाइस कलका साथै मोबाइलबाट डाटा खोलेर इन्टरनेट चलाउने ग्राहक बढेका छन्।

नेपालमा खपत भइरहेको कुल इन्टरनेट ब्यान्डविथमा टेलिकम कम्पनीहरूको ११ प्रतिशत र फिक्स्ड सेवाको ८९ प्रतिशत हिस्सा छ। तैपनि संख्याका आधारमा फिक्स्ड सेवाका भन्दा मोबाइलबाट इन्टरनेट चलाउने ग्राहक धेरै भएको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक छ।

ल्यापटप 

‘वर्क फ्रम होम’ र अनलाइन पढाइले ल्यापटपको व्यवसाय पनि बढेको छ। ल्यापटपको माग बढेसँगै व्यवसायीले अस्वाभाविक रुपमा मूल्यसमेत बढाएका छन्। लकडाउन खुलेको महिना दिन हुँदा पनि ल्यापटपको सहज आपूर्ति हुन सकेको छैन। लकडाउनले अन्तर्राष्ट्रिय उडान र सडकबाट समेत ढुवानी हुन नसकेपछि ल्यापटप र मोबाइलको सहज आपूर्ति हुन नसकेको मोबाइल ल्यापटप विक्रेता बताउँछन्।

चाटर्ड प्लेनमा महँगो भाडा तिरेर आयात गर्नुपर्दा ल्यापटपको मूल्य बढेको कतिपय व्यवसायीको तर्क छ। ‘ग्रे मार्केट’ ठप्प भएकाले पनि ल्यापटपका आधिकारिक विक्रेतामार्फत किन्नेहरू बढेका छन्। चालु आवको पहिलो दुई महिनामा मात्रै विभिन्न मुलुकबाट एक अर्ब २४ करोडका ल्यापटप मुलुक भित्रिएका छन्। 

दुईपांग्रे सवारी 

दसैंतिहार र नयाँ वर्षमा सामान्यभन्दा सवारीसाधनको बिक्री बढ्छ। हरेक वर्ष दसैं आसपास काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो सो (गाडी, मोटरसाइकल मेला) लाग्थ्यो। एकाध दिन चल्ने मेलाबाट अर्बौंको कारोबार हुन्थ्यो। व्यवसायीका अनुसार दसैंतिहारमा मात्रै वर्षभरमा हुने कारोबारको करिब ४० प्रतिशत व्यापार हुन्थ्यो। 

यो वर्ष कोरोना महामारीले अटो मेला लाग्न पाएन। तर व्यापार लयमा फर्काउन अटो कम्पनीहरूले विभिन्न किसिमका अफर ल्याएका छन्। 

एचएच बजाजकी महाप्रबन्धक पुनम सिंह गत वर्षको जस्तो नभए पनि व्यवसाय सन्तोषजनक रहेको बताउँछिन्। ‘करिब ७० प्रतिशत व्यापार भइरहेको छ,’ उनी भन्छिन्, ‘सार्वजनिक सवारीभन्दा सुरक्षित र सजिलो हुने भएकोले दुईपांग्रे सवारीमा ग्राहकको माग बढेको छ।’

प्रतिक्रिया दिनुहोस्