भरतपुर- चितवनमा थप १८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा चितवनका १७ र रौतहटका एक जना गरि १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।
संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै १४ जना छन् । जसमध्ये २१ देखि ८० वर्षका ८ जना पुरुष र २३ देखि ५९ वर्षका ६ जना महिला रहेका छन् ।
उनीहरु भरतपुर महानगरपालिका वडा नं २, ५, ६, ७, १० र ११ का हुन् । उनीहरुको भरतपुर अस्पताल स्वाब केन्द्र र पुरानो मेडिकल कलेजबाट स्वाब संकलन गरिएको हो ।
खैरहनी नगरपालिकाका थप ३ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये २२ वर्षका एक पुरुष, ३४ र ३१ वर्षका २ महिला रहेका छन् । उनीहरु तीन जना नै क्वारेन्टिनमा थिए ।
यस्तै रौतहटका ३३ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको छ । उनको भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएको हो । बिहीबार राति भरतपुर प्रयोगशालामा कुल ३०२ नमुना परीक्षण गरिएको थियो ।