शुक्रबार, मंसिर १९, २०७७

समाचार

चुनाव लड्न नपाउँदा थालेको व्यवसायले बनायो करोडपति

1603336574.jpg

धनगढी– राजनीति पेसा हो कि समाजसेवा ? हुनुपर्ने समाजसेवा हो। तर अहिले राजनीतिमा लाग्ने शीर्ष नेताहरू नै ‘जोगी बन्न राजनीति गरेको हो र !’ भन्ने गर्छन्। 

relifeinsurance

त्यसैले राजनीतिक पेसा बनेको छ। कतिपयले राजनीतिलाई कमाइखाने भाँडो बनाएका छन्। 

पेसा छोडेर राजनीतिमा लागेका थुप्रै छन्। कतिपयले भने राजनीतिलाई अझै समाजसेवा मानेर जीविकोपार्जनका लागि भिन्नै पेसा अँगालेका छन्। नेपाली समाजमा नगण्य व्यक्तिमध्ये हुन् डेजी पाण्डे।

कैलाली बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति पाण्डे राजनीतिलाई समाजसेवाका रुपमा लिएर जीविकोपार्जनका लागि माछापालनमा जुटेका छन्। 
भजनी नगरपालिका–९, पचमुडिया गाउँको पश्चिमतर्फ जंगलछेउको घोडतालमा उनको माछा फार्म छ। 

९० बिघामा फैलिएको प्राकृतिक तालमा उनले तीन वर्षदेखि व्यावसायिक माछापालन गर्दै आएका छन्। ताल ठेक्का लिएबापत भजनी नगरपालिकालाई उनी वार्षिक ४५ लाख रुपैयाँ बुझाउँछन्। 

यसरी सुरु भयो माछापालन

कैलाली लम्कीचुहा नगरपालिका–९ प्रतापुरका पाण्डे २०७४ सालको  निर्वाचनमा प्रदेश सभा सदस्यमा उठ्ने तयारीमा थिए। 

स्ववियु सभापति, अनेरास्ववियुको जिल्ला, क्षेत्रीय, केन्द्रीय तहमा संलग्न रहेर काम गरेका उनले सेती अञ्चल इन्चार्जको समेत जिम्मेवारी सम्हालेका थिए।

त्यसैले चुनावमा टिकट पाउने लगभग पक्का थियो। तर, पाएनन्। सोही समय भजनी नगरपालिकाले ताल ठेक्काका लागि बोलपत्र आह्वान गरेको थियो। 

उनले वार्षिक ४५ लाख दिने गरी बढीबढाउमा टेन्डर भरे। टेन्डर स्वीकृत भयो। ‘अरुले ३५ लाखसम्म हालेका रहेछन्– मैले पाएँ,’ पाण्डेले भने, ‘पहिले १८ लाखमा ठेक्का गएको तालमा मैले ४५ लाख दिएँ।’

उनले कैलाली मत्स्य तथा कृषि कम्पनी प्रालि दर्ता गरे। घोडतालमा अहिले पाण्डेको पौने दुई करोड लगानी छ। 

माछाका भुरा, दाना, पानी, बिजुली बत्ती, कर्मचारी लगायत गरी त्यति नै खर्च हुने उनी बताउँछन्। यस वर्ष ६ लाख ५० हजार माछाका भुरा पोखरीमा हालेका छन्। वार्षिक ३५÷४० लाखको भूरा पोखरीमा हाल्ने गरेको उनको भनाइ छ। 

पोखरी रेखदेख र काममा सहजताका लागि पाँच जना कर्मचारी छन्। माछा मार्न दैनिक ज्यालादारीमा दिनमा ४०/५० जना मजदुर खटिएका छन्। ‘माछाको महाजाल तान्न झन्डै ५० जना जनशक्ति चाहिन्छ’, पाण्डेले भने, ‘त्यो जनशक्ति नजिकैका गाउँबाट मगाउँछु।’

तालमा हालेका भुरामध्ये तीन लाख मात्र बाँचे पनि लगानी उठेर पर्याप्त फाइदा हुने उनी बताउँछन्। उनले भने, ‘एउटा माछा दुई सयमा मात्र बिक्री भए वार्षिक ६ करोडको कारोबार हुन्छ।’ 

उनले सुरुमा ठूला भुरा किनेर तालमा हालेका थिए। यसो गर्दा ठूलो रकम खर्च हुँदो रहेछ। उनले भने, ‘साना भुरा सस्तोमा पाइन्छ। यो वर्ष आफ्नै पोखरीका माछा हाल्छु।’ 

तालमा डुँगा सयर

तालमा माछा पालनसँगै अवलोकनका लागि डुंगाको व्यवस्था गरिएको छ। उत्तर, दक्षिण, पश्चिमतर्फ जंगल छ। तालमा डुंगा सयर गर्दै माछासँग खेल्दै सुन्दर दृश्य अवलोकन गर्न सकिने पाण्डे बताउँछन्। 

नगर क्षेत्रभित्र २५ बढी प्राकृतिक ताल रहेको भजनी नगरपालिकाले जनाएको छ। सो क्षेत्रमा घोडतालबाहेक ८० हेक्टर क्षेत्रफलमा फैलिएको लौकाहा भौकाहा, ४० हेक्टर क्षेत्रफलमा फैलिएको सोनिया, ६६ हेक्टर क्षेत्रफलमा फैलिएको पुरैना, ३५ हेक्टर क्षेत्रफलमा फैलिएको खौरहवा प्राकृतिक ताल छन्।  नगरपालिकाले १९ वटा ताल ठेक्कामा दिएको छ। 

भजनी नगरपालिका राजस्व फाँटका अधिकृत रेखा चौधरीले नगरभित्र रहेका १९ ताल माछा पालनका लागि ठेक्कामा दिएको बताइन्। ताल ठेक्काबापत वार्षिक ९५ लाख संकलन हुने उनको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्