काठमाडौं- कोरोना भाइरस संक्रमण पत्ता लगाउन गरिएको पीसीआर परीक्षणमा प्रश्न नउठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विश्व स्वास्थ्य संगठनले नै कोरोना भाइरस संक्रमण पत्ता लगाउनका लागि प्रयोग गरेको पीसीआर परीक्षणमाथि प्रश्न नउठाउन आग्रह गरे।
विश्व स्वास्थ्य संगठनले नै गरेका प्रयासका बारेमा प्रश्न उठाउनु गलत भएको उनले बताए।
साथै कोरोना संक्रमितको लागि आइसोलेसनको कुनै अभाव नभएको उनले बताएका छन्। प्रवक्ता गौतमले कोरोना संक्रमणपश्चात् संक्रमितलाई राख्नको लागि होम आइसोलेसन, संस्थागत आइसोलेसन र अस्पताल गरी तीन किसिमको व्यवस्था गरिएको जानकारी दिए।
घरमा बस्न मिल्ने अवस्था (छुट्टै कोठा, छुट्टै शौचालय, लगायत एक्लै बस्न मिल्ने स्थान भएमा) संक्रमितलाई होम आइसोलेसनको व्यवस्था गरिएको छ। जसको लागि निश्चित मापददण्ड बनाइएको छ।
त्यस्तै होम आइसोलेसन बस्न नमिल्नेको लागि पर्याप्त मात्रामा संस्थागत आइसोलेसनको व्यवस्था गरिएको र लक्षण सहितका संक्रमितलाई भने अस्पतालमा राखिने जानकारी दिए।