काठमाडौं– ब्राजिलियन फुटबलर नेयमार जुनियरसहित पेरिस सेन्ट जर्मेन (पीएसजी)का तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ। नेयमारसहित डिमारिया र लियोनार्दो पेरेडेसलाई कोरोना देखिएको हो।
पीएसजीले खेलाडीलाई कोरोना देखिएको पुष्टि गर्दै लेखेको छ, ‘तीन खेलाडीमा कोरोना संक्रमणको पुष्टि भएको छ। तीनै जना स्वास्थ्य प्रोटोकल अनुसार सुरक्षित रहेका छन् ।’
पीएसजीले जारी सम्पन्न युरोपियन च्याम्पियन्स लिगमा फाइनलसम्मको यात्रा तय गरेको थियो। कोरोना संक्रमित पाइएका तीनै जना खेलाडीले सो खेलमा सहभागिता जनाएका थिए। यसकारण पीएसजीले लिग वानको नयाँ सिजनको सुरुवात गरेको छैन।
पीएसजीले सेप्टेम्बर १० बाट मात्र घरेलु लिगमा खेल्न सुरुवात गर्नेछ।
‘द रक’लाई पनि कोरोना
विश्वप्रशिद्ध रेस्लर एवम् कलाकार ‘द रक’ (ड्वेन जोहान्सन)लाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। जोहान्सनसँगै उनको परिवारमा पनि कोरोना पुष्टि भएको छ।
पूर्व रेस्लर र फास्ट एन्ड फ्युरियसका स्टारलाई कोरोना देखिएपछि उनले एक भिडियोमा भनेका छन्, ‘मसँगै श्रीमती लाउरेन र दुई छोरीहरू जस्मिन र टियन्नालाई पनि कोरोना देखिएको छ। यो मेरो लागि चुनौतिपूर्ण समय हो। मेरो पहिलो कर्तव्य भनेको परिवारको सुरक्षा गर्नु हो।’
‘द रक’ २०२० का उच्च पारिश्रमिक पाउने हलिउड कलाकारसमेत हुन्।