काठमाडौं- छिमेकी मुलुक भारतमा कोरोनाबाट सबैभन्दा बढि प्रभावित अमेरिकाको समेत रेकर्ड तोड्ने गरी संक्रमण फैलिएको छ ।
पछिल्लो २४ घण्टा अर्थात बुधबार एकै दिनमा भारतमा ८२ हजार ८ सय ६० जना संक्रमित थपिएका छन् । जुन विश्वमै अहिलेसम्म एकै दिनमा कुनै देशमा यति ठूलाे संख्यामा संक्रमित थपिएकाे याे पहिलाे पटक हो ।
यसअघि अगस्ट ३० अर्थात गत आइतबार भारतमा ७९ हजार ४ सय ५७ जना संक्रमित थपिएका थिए । अमेरिकामा जुलाई २४ मा ७८ हजार ५ सय ८६ जना संक्रमित थपिएका थिए । उक्त दुबै रेकर्ड तोड्दै भारतमा यति ठूलो संख्यामा संक्रमित थपिएका हुन् ।
भारतमा पछिल्लो एक महिना यता विश्वमै सबैभन्दा बढि कोरोना संक्रमित थपिएका छन् । अगस्ट २ देखि सेप्टेम्ब २ सम्ममा भारतमा २० लाख ४४ हजार २ सय ६६ जना संक्रमित थपिएका छन् ।
ताकी यहि अबधीमा अमेरिकामा १४ लाख ७२ हजार ७ सय २५ र ब्राजिलमा १२ लाख ६७ हजार ७ सय ४५ जना संक्रमित थपिएका छन् ।
भारतमा एक महिना अघि अर्थात अगस्ट २ सम्ममा १८ लाख ५५ हजार ३ सय ३१ जना कोरोनाबाट संक्रमित भएका थिए । एक महिनाको अबधिमा दोब्बरभन्दा बढिले संक्रमित थपिएका छन् । हाल भारतमा संक्रमितको संख्या ३८ लाख ४८ हजारभन्दा धेरै पुगेको छ ।
यस्तै भारतमा एक महिनाको बीचमा कोरोनाकै कारण २९ हजार २ सय २५ जनाको मृत्यु भएको छ । एकमहिनाअघि अर्थात अगस्ट २ मा मृतकको संख्या ३८ हजार १ सय ६१ थियो भने हाल ६७ हजार ४ सय ८६ पुगेको छ ।
पहिलो चरणको लकडाउन खुलेसँगै भारतमा कोरोना संक्रमण तिब्र गतिमा फैलिनका साथै मृत्युदर पनि ह्वात्तै बढेको थियो ।
भारतमा सबै बढि संक्रमित र मृतक महाराष्ट्र राज्यमा छन् । जहाँ कोरोनाबाट ८ लाख २५ हजार ७ सय ३९ जना संक्रमित भएका छन् भने २५ हजार १ सय ९५ जनाको मृत्यु भएको छ ।