शुक्रबार, मंसिर १९, २०७७

समाचार

दसैंमा आवतजावत रोक्न यस्ताे छ उपत्यकाका जिल्ला प्रशासनको तयारी

1601716826.jpg

काठमाडौं– दसैं सुरु भइसकेको छ। विगतमा काठमाडाै‌ं उपत्यकाबाट दसैं मनाउन घरतर्फ जाने मानिसको भीडभाड हुन्थ्यो। किनमेल गर्न बजारमा मानिसको चहलपहल हुन्थ्यो। यसपालि परिस्थिति सहज छैन। 

relifeinsurance

विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण यस वर्ष दसैं मनाउन घरतर्फ जाने मानिसको संख्या न्यून छ। बजार क्षेत्रमा मानिसको चहलपहल नै छ। 

सरकारले पनि दसैं जो जहाँ छ त्यही बसेर मनाउन आग्रह गरेको छ।

काठमाडौं उपत्यकामा अहिले कोरोना भाइरसको संक्रमण उच्च छ। त्यस्तै भारतसँग सीमा जोडिएका तराईका जिल्लामा पनि संक्रमण उस्तै छ। 

अहिले दैनिक रुपमा संक्रमित हुनेमध्ये उपत्यकामा धेरै छन्। त्यसमा पनि सबैभन्दा धेरै काठमाडौंमा छन्।

दसैंको समयमा मानिसको आवतजावत बढ्न सक्छ। कोरोना महामारीका समयमा दसैं मनाउने नाममा भीडभाड गर्ने, जमघट हुने लगायतका कामहरु हुन सक्छन्। यो बेला बजारमा कालोबजारीदेखि लिएर विभिन्न आपराधिक गतिविधि पनि बढ्न सक्छ।

कोरोना महामारीकै बीच दसैंलगायतका चाडपर्वलाई ध्यानमा राखेर उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले  विशेष कार्ययोजना बनाएका छन्। 

काठमाडौंमा १० वटा अनुगमन टोली परिचालन

जिल्ला प्रशासन कार्यालय काठमाडौंले दसैंको समयमा अत्यावश्यकबाहेक बाहिर ननिस्कन जिल्लावासीलाई आग्रह गरेको छ। कोरोना भाइरसको हटस्पट बनेको काठमाडौंमा धेरै चहलपहलले महामारी झनै फैलिन सक्ने भन्दै प्रशासनले यस्ताे आग्रह गरेको हो। 

मानिसको चहलपहल रोक्न तथा बजारमा हुने कालोबजारीलगायतका कानुनविपरीत काम रोक्न जिल्ला प्रशासन कार्यालयले १० वटा अनुगमन टोली बनाएको छ। 

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सहायक प्रमुख जिल्ला अधिकारीहरुको नेतृत्वमा तीन र प्रशासकीय अधिकृतको नेतृत्वमा सातवटा टोली परिचालन गरिएकाे बताए। 

‘टोलीले विभिन्न क्षेत्रमा अनुगमन गर्छन्। सरकारले जारी गरेको मापदण्ड पालना गरे–नगरेका विषयमा हाम्रो फोकस हुन्छ,’ उनले भने, ‘यातायातमा बढी भाडा लिएको विषय, उनीहरुले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरे–नगरेको पनि निगरानी हुन्छ।’

केही दिनअघि अनुगमनकै क्रममा १७ वटा गाडीलाई  पाँच–पाँच हजार रुपैयाँ जरिवाना गरेको उनले बताए। काठमाडौंंकै चारवटा कम्पनीमा म्याद नाघेका खाद्यवस्तु नयाँ मिति राखेर बिक्री  भइरहेको सूचनापछि छापा मारेर अपरेसन चलाएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले दसैंको समयमा अझ निगरानी बढाउने जनाएको छ।

‘हाम्रो मुख्य ध्यान मापदण्ड पालना गरिएको छ वा छैन भन्ने विषयमा नै केन्द्रित हुन्छ। हामीले कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेका सेवा बन्द गरेका छौं,’ उनले भने, ‘कार्यालयको जनशक्तिलाई मुख्य रुपमा कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका काममा परिचालन गर्छौं।’ उनले अहिले सर्वसाधारणलाई हिँडडुल गर्नमा रोकटोक नगरिए पनि सबैले मापदण्डको अनिवार्य रुपमा पालना गर्नुपर्ने बताए।

‘व्यापार व्यवसाय गर्ने मानिसले पनि स्वास्थ्यका मापदण्डलाई ध्यानमा राखेर गर्नुपर्यो। चाडपर्व घरमै बसेर मनाउनुपर्यो। अनावश्यक रुपमा बाहिर हिँडडुल गर्ने काम गर्नुभएन,’ उनले भने।

उनका अनुसार अन्तर निकाय समन्वय गरेर पनि अनुगमन गरिनेछ। ‘प्रहरी, वाणिज्य विभाग, स्थानीय तह सबैसँग समन्वय गरेर नै हामी हिँडेका छौं,’ उनले भने, ‘सर्वसाधारणलाई माइकिङ गरेर, प्रचार प्रसार गरेर पनि हामीले सम्झाउने काम गर्छौं।’

उनका अनुसार चाडपर्वमा हुने आपराधिक घटना, चोरीडकैती हुन नदिन पनि आवश्यक सुरक्षा रणनीति अपनाइएको छ।

‘यो बेलामा सर्वसाधारण आफै‌ैले बुझ्ने हो। कोरोना भाइरस संक्रमण फैलिँदो अवस्थामा ध्यान दिनुपर्यो,’ उनले भने, ‘अनुरोध पनि बेवास्ता गर्ने मापदण्ड पनि पालना नगरेर हिँड्ने हो भने कोरोना संक्रमण हुन सक्छ।’

उनले तत्काल लकडाउन गर्ने वा बन्द गर्ने कुनै तयारी नगरिएको भन्दै संक्रमणको जोखिमका बारेमा सबै सचेत हुनुपर्ने बताए।

मानिस आफैं सचेत हुने ललितपुरको अनुमान

जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि दसैंको समयमा हुने मानिसको चहलपहल लगायतका बारेमा आवश्यक तयारी अघि बढाएको छ। 

‘हाम्रो अनुमान त्यति धेरै मानिसको चहलपहल नबढ्ला भन्ने हो,’ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने, ‘जनता पनि बिस्तारै सचेत हुँदै गइरहेका छन्। कोभिडको महामारी भएका बेला सबैले ध्यान दिनुपर्यो।’

उनका अनुसार ललितपुर जिल्ला प्रशासन कार्यालयले सातवटा अनुगमन टोली बनाएको छ। ती टोलीले नियमित रुपमा अनुगमन थालिसकेका छन्। 

‘कानुन उल्लंघन गर्नेमाथि कारबाही गर्छौं। कहींकतै कानुनविपरीत काम गरेको भेटिए १०० नम्बरमा र जिल्ला प्रशासन कार्यालयमा खबर गर्न आग्रह गर्छु,’ उनले भने। सार्वजनिक रुपमा सर्वसाधारणलाई सचेत गराउने काम भइरहेको उनले बताए। 

‘७–८ महिना भइसक्यो कोरोनाको महामारी भएको, जनताले सचेत हुनु नै सबैभन्दा राम्रो कुरा हो। सावधानी सबैले अपनाउनुपर्यो,’ उनले भने। 

कानुन उल्लंघन गर्नेलाई छाड्दैनौं- हुमकला पाण्डे, प्रमुख जिल्ला अधिकारी (भक्तपुर)

उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरमा कोरोना संक्रमणको असर केही कम छ। तर, यहाँ पनि जिल्ला प्रशासन कार्यालयले दसैंको समयमा हुने सर्वसाधारणको चहलपहल रोक्नदेखि लिएर कालोबजारी नियन्त्रणका लागि नियमित अनुगमन गरिरहेको छ।

भक्तपुरमा चाडपर्व लक्षित सुरक्षा योजना बनाएका छौं। नजिकिँदै गर्दा हुन सक्ने चोरी, अपराधलगायतका कालोबजारी नियन्त्रण गर्ने गरी कार्ययोजना बनेको छ। हामीले दैनिक रुपमा अनुगमन टोलीमार्फत काम गरिरहेका छौं। कालोबजारीलगायत बढी मूल्य लिने, म्याद नाघेका खाद्यवस्तु बिक्री गर्नेहरुलाई पनि कारबाही गरिरहेका छौं।

साथै दसैंको समयमा हुने मानिसको भीडभाड नियन्त्रणका लागि पीठहरुमा बलि नदिन स्थानीय निकाय, सरोकारवाला निकाय समितिहरुसँग बसेर छलफल गरेका छौं। उहाँहरुले पनि बलि नदिने निर्णय गर्नुभएको छ। शक्तिपीठहरुमा पनि डोरी टाँगेर सुरक्षाकर्मी परिचालन गरिएको छ। माइकिङ गरेर पनि हामी मानिसलाई सचेत गराइरहेका छौं।

चाडपर्वमा एकअर्काको घरमा मानिस नजाउन् भन्न सूचना टाँसेर जानकारी गराएका छौं। त्यसको हामीले नियमित रुपमा निगरानी पनि गरिरहेका छौं। मानिसलाई लकडाउन खुलेसँगै बाहिर जाने, लाइन लागेर जाने लगायतका काम धेरै कम भइरहेको छ। मापदण्ड उल्लंघन गरेर जुवातास खेल्ने र जम्मा हुने काम भए नभएको अनुगमन गरिरहेका छौं। कसैले कानुनभन्दा बाहिर गएर काम गरेमा हामी कारबाही गर्छौं। 

प्रतिक्रिया दिनुहोस्