महेन्द्रनगर– संगठित रुपमा सरकारी छाप र दस्तखत किर्ते गरेको अभियोगमा पक्राउ परेका यातायात व्यवस्था कार्यालय कैलालीका सहायक कम्प्युटर अपरेटर जितेन्द्र रानासहित पाँच जनालाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षका लागि कारागार चलान गरेको छ।
जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपाल बास्तोलाको एकल इजलासले मुद्दामा थुनछेक आदेश गर्दै चोरीका मोटरसाइकल र स्कुटरका नक्कली कागजात बनाई बेचबिखन गिरोहमा संलग्न कम्प्युटर अपरेटर रानासहित पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो।
जिल्ला प्रहरी कार्याय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले उक्त मुद्दाका पाँच जना पुर्पक्षका लागि कारागार चलान गरिएको बताए। उनका अनुसार दस जना धरौटीमा रिहा भएका छन्।
पुर्पक्षका लागि कारागार चलान हुनेमा यातायात कार्यालय कैलालीका कम्प्युटर अपरेटर जितेन्द्र राना, कञ्चनपुरको लालझाँडी गाउँपालिकाका रामनिवास राना, शुक्लाफाँटा नगरपालिकाका श्यामकुमार राना, बेदकोट नगरपालिका–६ का हरेन्द्र राना र बेदकोट नगरपालिका–१० का सुवेश राना छन् । रासस