१४ सांसद पदमुक्त गर्नुपर्ने एमालेको मागमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
नेकपा एमालेले माधव नेपालसहितका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम ओदश दिन अस्वीकार गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दिपक कार्की र कुमार चुँडालको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्विकार गरेको हो। इजलासले निर्वाचन आयोग, संघीय संसद् सचिवालय र लुम्बिनी प्रदेश सभाबाट सक्कल फाइल झिकाउन आदेश भएको हो। सर्वोच्चले के कति आधारमा निर्वाचन आयोगले दल त्यागसम्बन्धी कानुनमा टेकेर निर्णय गरेको हो, त्यसैगरी सभामुखले के कति आधारमा निर्णय गरेका हुन् सो को सक्कल फाइलको अध्ययन गरिसकेपछि मात्रै निर्णय गर्ने भन्दै सो फाइल झिकाउन आदेश दिएको हो।
पार्टीले कानूनबमोजिम प्रक्रिया पुर्याएर निष्कासन गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको र उनीहरुकै हस्ताक्षर सनाखत गरेर नयाँ दल दर्ता भएको भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा रिट दायर गरेका थिए। ओलीले रिटमा नेपालको पार्टी नै अवैधानिक भएको जिकिर गरेका थिए। साथै, माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्नुपर्ने माग गरेका थिए। सर्वोच्चको यो आदेशसँगै माधव नेपालको पार्टीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको योजना अझै पछाडी धकेलिएको छ।
रत्नपार्कमा सामान बाँडेजसरी ह्वारह्वार पदक वितरण : ओली
नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले रत्नपार्कमा बसेर सामान बाँडे जसरी ह्वारह्वार पदक वितरण गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
मंगलवार मदन भण्डारीको जीवनी बारे लेखिएको पुस्तक श्वेत शार्दुल सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले जथाभावी पदक वितरण गरेको भन्दै आक्रोश ब्यक्त गरेका हुन्। न्यायाधिश, वकिल र पत्रकारलाई पदक वितरण गरेर उनीहरुको मुख थुन्न खोजेको ओलीको आरोप छ। आफ्नो सरकारको पालामा विरोध गर्ने बुद्धिजिवी र नागरिक समाजहरुले अहिले देउवा नेतृत्वको सरकारले रत्नपार्कमा बसेर सामान वितरण गरेजसरी पदक वितरण गर्दापनि विरोध नगरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
अध्यक्ष ओलीले वर्तमान सत्तारुढले मन्त्रीको आकांक्षीलाई २५ जनाभित्रमा समेट्न नसकेका कारण मन्त्रीपरिषद् बिस्तारमा ढिलाई भएको टिप्पणी गरे। सरकारले युवापुस्तामा वर्तमान राजनीतिप्रति निराशा र वितृष्णा पैदा गर्ने काम गरेको उनको आरोप छ। उनले वर्तमान सरकारलाई ग्रहणको संज्ञा दिदैँ त्यसतर्फ हेरे अशुभ हुने तर्क छ।
यस्तै अनेरास्ववियूको नयाँ नेतृत्वको सपथग्रहण कार्यक्रममा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भईरहेको गम्भिर आरोप लगाएका छन्।
अध्यक्ष ओलीले सरकारले प्रहरी परिचालन गरेर आफ्ना पार्टी निकट विद्यार्थी संगठन, युवा संगठन र कर्मचारी संगठनको कार्यालयमा गुण्डागर्दी गरेको भन्दै त्यसको प्रतिवादमा उत्रन पनि पार्टी निकट अनेरास्ववियूका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्। अनेरास्ववियूको नयाँ नेतृत्वको सपथग्रहणका लागि मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताले भयरहित ढंगले जीवनयापन गर्न चाहेको उल्लेख गर्दै त्यसका विरुद्ध सरकार लागे प्रतिवादमा उत्रनुको विकल्प नरहेको पटक पटक दोहोर्याए।
अध्यक्ष ओलीले जनताको हितमा केन्द्रित भएर अघि बढन पनि अनेरास्ववियूका नेता, कार्यकर्तालाई निर्देशन दिए। उनले मुलुकलाई समृद्ध बनाउने अभियानलाई लक्ष्य बनाएर युवा, विद्यार्थीहरुले अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए।
सभामुखको राजीनामा माग
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख अग्नीप्रसाद सापकोटाको राजीनामा मागेको छ।
मंगलबार सुरु भएको राष्ट्रियसभाको दोस्रो बैठकमा बोल्दै एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले पदीय मर्यादा कायम गर्न नसकेको भन्दै सभामुख सापकोटाको राजीनामा मागेका हुन्। बैठक सुरु हुनासाथ सदा झैं एमालेका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए। त्यसपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद श्रेष्ठलाई बोल्ने अनुमति दिएका थिए। बोल्ने क्रममा सांसद श्रेष्ठले आफ्नो पार्टीले दलको अनुशासन तोडेका १४ जना सांसदहरुलाई कारबाही गरेको सिफारिस अनुसार उनीहरुलाई पदमुक्त नगरेर सभामुख सापकोटाले पदीय मर्यादालाई कायम गर्न नसकेको आरोप समेत लगाए।
सांसद श्रेष्ठले गैर सांसदहरुलाई सांसद भनेर संसदमा राखिन्छ भने त्यसले त्यो संसदको र संविधानको रक्षा हुन्छ कि हुँदैन ? भनि प्रश्न समेत गरे। उनले संविधान विपरित, संसदको मर्यादा विपरित आफ्नो दलले कारबाही गरेर १४ जना सांसदहरुलाई सभामुख सापकोटाले पदमुक्त नगरेसम्म राष्ट्रियसभा पनि चल्न दिने अवस्थामा आफ्ना पार्टी नरहेको पनि स्पष्ट पारे।
१० बुँदेको ध्येय अदालतलाई प्रभावित गर्नु मात्र : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमतिको मुख्य ध्येय अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्नु रहेको बताएका छन्। आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा उनले पार्टी एकता जोगाउनका लागि भनेर गत असार २७ गते राति गरिएको दश बुँदे सहमति केवल अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्न मात्रै गरिएको दाबी गरेका हुन्। अध्यक्ष नेपालले एमालेको तत्कालीन कार्यदलले गरेको सहमतिको नियत र भाषासमेत जालझेलपूर्ण रहको भन्दै आलोचना गरेका छन्। उनले त्यतिबेलाको वार्ता फगत नाटक, अलमल्याउने र फसाउने चाल मात्र थियो भनेका छन्।
दश बुँदे सहमतिलाई आफू पक्षका नेताहरुले फेस सेभिङका रुपमा प्रयोग गरेको अध्यक्ष नेपालको टिप्पणी छ। उनीहरुले पार्टी एकताका लागि प्रयास गर्नेभन्दा आफ्नो सेटलमेन्ट खोजेको राजनीतिक प्रतिवेदनमा उल्लेख छ।
कुलमानको पक्षमा सर्वोच्चको आदेश
सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले मंगलबार कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। रिट निवेदक हितेन्द्रदेव शाक्यले कुलमानलाई काम गर्न नदिन अन्तरिम आदेशको माग गरे पनि अदालतले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको हो।
यद्यपि सरकारसँग कारण देखाऊ आदेश भने माग गरेको छ। विद्युत् प्राधिकणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय खारेजीको माग गर्दै यसअघिका कार्यकारी निर्देशक शाक्य सर्वोच्च पुगेका थिए। आफूलाई सोही पदमा पदस्थापना गर्न र सरकार, ऊर्जा मन्त्रालयलगायतलाई सहयोग गर्न आदेश माग गरेका थिए।
लगानीकर्ताको हित रक्षा गर्न सरकार प्रतिबद्ध : अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्माले सेयर कारोवारमा संलग्न लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। मंगलवार अर्थ मन्त्रालयमा नेपाल धितापत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि जाँचबुझ गर्न गठित जाँचबुझ समितिको प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले सेयर कारोबारमा ठुलो संख्यामा आम जनता सहभागी भइरहेको भन्दै सेयर कारोबारमा आउने सर्वसाधारणको हितको रक्षा गर्नु सरकारको दायित्व भएको बताएका हुन्। उनले प्रतिवेदनको अध्ययन गरी जाँचबुझ समितिले दिएको सुझाव अनुसार आवश्यक प्रक्रिया अगाडी बढाउने पनि बताए। जाँचबुझको प्रक्रियाले सेयर बजारलाई व्यवस्थित र सुरक्षित बनाउन मद्दत पुग्ने उनको दाबी छ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले कानूनविपरीत सर्वोत्तम सिमेन्टको शेयर आफन्तको नाममा खरीद गरिदिएर विवादमा तानिएका थिए। सरकारले २०७८ भदौ १६ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको थियो। सो समितिले मंगलवार अर्थमन्त्रीलाई प्रतिवेदन पेश गरेको हो।
अर्थमन्त्री जनार्दन शर्माले त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै समग्र विकास रणनीति स्पष्ट नभएकाले पुँजिगत बजेट खर्च गर्न चुनौती रहेको बताएका छन्।
विभागले आयोजना गरेको ‘सरकारको पूँजीगत खर्च तथा नेपालमा प्रत्यक्ष बैदेशिक लगानी’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री शर्माले राष्ट्रिय हितलाई ध्यानमा राखेर वैदेशिक लगानी खुल्ला गर्नुपर्ने बताए।
चरेस कारोबारको आरोपमा ९ जना पक्राउ
हस्तकलामा सामग्रीभित्र लागू औषध चरेश राखेर ओसारपसार गर्दै आएका नौं जना गिरोह पक्राउ परेका छन।
नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी हस्तकलाका सामग्रीभित्र चरेश राखेर ओसारपसार गर्दै आएका म्याग्दीका श्यामप्रसाद रोका, बीरबहादुर रोका, दिलबहादुर रोका, धादिङका अनिलबहादुर घले, सुनबहादुर गुरुङ, याङकी भनिने जितबहादुर तामाङ, माईला भनिने कृष्णबहादुर तामाङ, नुवाकोटका सेसे भनिने उर्पा तामाङ र बीरबहादुर तामाङलाई सार्वजनिक गरेको हो। उनीहरुको साथबाट कतार पठाउन हस्तकलाको सामानमा प्याक गरि राखेको ७ केजी ६१४ ग्राम चरेश बरामद गरिएको पनि व्यूरोका प्रमुख एसएसपी हृदय थापाले जानकारी दिए।
हाते कागजका डायरीहरुमा सो चरेश बरामद गरेर कतारलगायतका मुलुकहरुमा सो गिरोहले पठाउने गरेको पाइएको पनि व्यूरोले जनाएको छ। यसअघि उनीहरुले यसरीनै अचारको भाडोमा समेत चरेश राखेर भारत हुँदै हङकङ, थाईल्याण्ड, टर्की लगायतका देशहरुमा पनि लागू औषधहरु ओसार पसार गर्दै आएको पाइएको एसएसपी थापाले बताए।
तेस्रो कार्यकाल पनि सम्हाल्दै क्यानडेली प्रधानमन्त्री
क्यानडाको प्रधानमन्त्रीका रुपमा जस्टिन ट्रूडोले तेस्रो कार्यकाल जिम्मेवारी सम्माल्ने भएका छन्।
संसदीय चुनावमा ट्रूडोको लिबरल पार्टीले सबैभन्दा धेरै सिटमा जित हाँसिल गरेको हो।बहुमतबाट केही पछि परेको ट्रूडोको पार्टीले अल्पमतको सरकार बनाउने भएको हो। यसअघि पनि ट्रूडोको पार्टीले अल्पमतको सरकार बनाएको थियो। कोरोना भाइरसको महामारीकै बेला ट्रूडोले बहुमतको अपेक्षामा चुनावको घोाषणा गरेका थिए।
कन्जरभेटिभ पार्टी दोस्रो ठूलो बने पनि ट्रूडोको पार्टीलाई पछि पार्न सकेन। ट्रूडोले देशलाई महामारीबाट बाहिर लैजाने अभियानका लागि स्पष्ट मतको खोजीमा चुनाव गराएका थिए। सोमबार भएको मतदानको गणना जारी रहँदा ट्रूडोको पार्टी कुल ३३८ सिट मध्ये कम्तीमा १५८ सिटमा अघि रहेको छ। कन्जरभेटिभ पार्टी १२१ सिटमा अघि रहेको छ।
भिडियो