काठमाडौं– पछिल्लो समयमा कारागारमा रहेका कैदीबन्दीमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ।
कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार देशैभरका ७१ कारागारमा १० हजार ६०८ जना राख्न सक्ने क्षमता छ।
ती कारागारमा अहिले २४ हजार १६४ कैदीबन्दी राखिएका छन्। कारागार संक्रमण रोकथाम र नियन्त्रण उपचारका भइरहेका कार्यबारे नेपाल समयका लागि बीपी अनमोलले कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोख्रेलसँग गरेको कुराकानी–
कैदीबन्दीमा पनि कोरोना संक्रमण देखिएको छ। अहिले देशैभरको अवस्था के हो?
देशभरका सातवटा कारागारमा संक्रमण देखिएको छ। १०९ जना कैदीबन्दीलाई संक्रमण भइसकेको छ। तीमध्ये ४९ जना संक्रमणमुक्त भइसकेका छन्। ६० जना उपचाररत छन्।
केन्द्रीय कारागार जगन्नाथ देवलमा संक्रमितको संख्या ५० पुगेको छ। आइतबार मात्रै ३५ जना कैदीबन्दीलाई संक्रमण देखिएको थियो।
त्यस्तै पर्सामा ३३ जना कैदीबन्दीमा देखियो। २९ जना संक्रमणमुक्त भएका छन्। चार जनाको उपचार भइरहेको छ। बाँकेमा आठ जनामा संक्रमण देखिएमा सबै संक्रमणमुक्त भइसकेका छन्।
सिरहामा सात जनामा संक्रमण देखिएकामा तीन जना संक्रमणमुक्त भए भने चार जनाको उपचार भइरहेको छ। सुनसरीमा आठ जना संक्रमित भएका छन्।
चार जना संक्रमणमुक्त भइसके। स्याङ्जामा एकजनामा देखिएकामा संक्रमण मुक्त भइसकेका छन्। त्यस्तै सिन्धुपाल्चोकमा दुई जनामा संक्रमण देखिएको छ। जगन्नाथ देवलमा सुरक्षार्थ खटिएका ५६ जना सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको छ।
कैदीबन्दी कसरी संक्रमित भए? उनीहरूको कुनै ट्राभल हिस्ट्री त केही हुँदैन नि?
कैदीबन्दीलाई पनि बिरामी भएका बेला अस्पताल लैजानुपर्ने हुन्छ। अर्काे कुरा अदालत पनि लैजानुपर्छ। निषेधाज्ञा हुनुअगाडि त अदालत पनि लैजानुपथ्र्यो। अस्पतालमा भीडभाड नै हुन्छ। त्यहाँबाट पनि संक्रमण भयो कि भन्ने हाम्रो अनुमान छ।
अन्यत्रका कैदीबन्दीलाई उपचारका लागि काठमाडौं ल्याइएका बेला पनि भएको हुन सक्छ। सुरक्षाकर्मी सरुवा भइराख्ने र केन्द्रीय कारागारमा रहेका सुरक्षाकर्मीमा पनि संक्रमण देखिएकाले त्यसबाट पनि संक्रमण भएको देखिन्छ।
कतिपय सुरक्षाकर्मी संक्रमित भएको जिल्लाबाट सरुवा भएर आएका छन्। जनशक्ति अभावले तत्काल अन्यलाई सुरक्षामा खटाउन नसकिने भएकाले पनि उहाँहरुको प्रत्यक्ष कन्ट्याक्टबाट सरेको देखिन्छ। उहाँहरु कारागारभित्र गएर सुरक्षा गर्नुपर्ने, रेखदेख र निगरानी गरिरहनुपर्ने भएकाले पनि कैदीबन्दीमा संक्रमण देखिएको हो।
संक्रमित कैदीबन्दीलाई कसरी राखिएको छ? तपाईंहरुले आन्तरिक रुपमा आइसोलेसन बनाउने तयारी गर्नुभएको छ कि?
हामीले आन्तरिक रुपमा पनि आइसोलेसनमा राख्न सकिने हिसाबले व्यवस्था गरेका छौं। कतिपय ठाउँमा काम भइरहेको छ। भित्र रहेका कसैलाई ज्वरो वा अन्य कुनै लक्षण देखिनेबित्तिकै हामीले स्वाब संकलन गरेर उनीहरुलाई अलग्गै आइसोलेट गर्छौं।
रिपोर्ट नआएसम्म समूहमा राख्दैनौं। पोजिटिभ देखिएमा अन्यत्र पठाउने गरिएको छ। अहिले कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा पठाइरहेका छौं। उपचार गर्नुपर्नेलाई बलम्बुस्थित कोभिड अस्पतालमा लग्ने गरिएको छ।
हामीले भविष्यका लागि पनि तयारी गरेका छौं। भद्रबन्दीगृहमा बनेको नयाँ भवनमा दुई सय जना राख्न सकिने गरेर छुट्याइएको छ। त्यस्तै केन्द्रीय कारागारको विद्यालय भवन पनि खाली छ।
त्यसमा ५० जना क्षमताको व्यवस्था गरेका छौं। अर्को एक सय बेड क्षमताको पनि आइसोलेसन कक्ष बनाउन सकिने हिसाबले काम भइरहेको छ। हामीले अन्यत्र पनि कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर ठाउँ पहिचान गर्दैछौं।
संक्रमण बढ्दै गयो भने त कारागारभित्र जोखिम हुन सक्छ नि होइन र?
अहिलेको अवस्था सामान्य नै छ। तर, कारागारमा संक्रमण बढ्यो भनेर आत्तिनुपर्ने अवस्था छैन। हामीले आवश्यक सबै मापदण्ड पूरा गरेर सावधानीपूर्वक काम गरिरहेका छौं।
७१ वटा कारागारमध्ये सात वटा कारागारमा सानो संख्यामा संक्रमण देखिँदैमा आत्तिनु पर्दैन। कारागारमा रहेका व्यक्तिका आफन्त र परिवार आत्तिहाल्नुपर्ने अवस्था छैन।
कोभिड– १९ को संक्रमणलाई ध्यानमा राखेर हामीले लकडाउनदेखि नै बाह्य भेटघाट बन्द गरेका थियौं। अहिले कैदीबन्दीलाई अस्पताल र अदालत लैजाँदा साथमा जाने सुरक्षाकर्मीका लागि पीपीई मास्क, ग्लोब लगाउने र निश्चित दूरी कायम गरेर लैजाने व्यवस्था गरेका छौं।
नयाँ आउने कैदीबन्दीलाई पनि क्वारेन्टिनमा राख्ने गरिएको छ। अस्पताल लगेर ल्याउँदा पनि क्वारेन्टिनमा राखेर मात्रै भित्र लैजान्छौं। कारागारभित्रका ब्लक र समूहमा पनि जान आउन रोकेका छौं। त्यसो गर्दा एउटा ब्लकमा संक्रमण भइहाल्यो भने पनि अर्काेमा हुन नदिन प्रयास गरिएको छ। सबै कारागारमा साबुनपानी र स्यानिटाइजरको अनिवार्य राखिएको छ।
कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी छन्। सर्वोच्च अदालतदेखि संसदीय समिति र मानवअधिकार आयोगले पनि मापदण्ड पुगेका कैदीबन्दी रिहा गर्न सकिने सुझाव दिएका थिए। यसमा कस्तो काम भइरहेको छ?
मुलुकी अपराध संहिता २०७४ को दफा १५५ अनुसार एक वर्षभन्दा कम कैद सजाय भएका व्यक्तिले कैदको सट्टा पैसा तिरेर पनि बाहिर निस्कन पाउने भन्ने व्यवस्था छ।
त्यो व्यवस्था लागू भएको छ। त्यसअन्तर्गत अहिलेसम्म २१९ जना रिहा भइसके। बालसुधार गृहबाट २२८ जना अभिभावकको जिम्मा लगाएर पठाइसकिएको छ।
गणतन्त्र दिवसमा पनि २३३ जनाले आममाफी पाइसके। संविधान दिवस आउँदै छ। हामीले उदारतापूर्वक कसरी कैदीबन्दी घटाउन सकिन्छ भनेर काम गरिरहेका छौं।
त्यस्तै जेष्ठ नागरिक ऐनबाटे सहुलियत पाउने कैदीबन्दीलाई सहुलियत दिएर रिहा गर्न सकिन्छ भनेर पनि राज्यले काम गरिरहेको छ। कारागारमा क्षमताभन्दा धेरै बढी क्षमतामा कैदीबन्दी छन्। जति धेरै भए त्यति राज्यलाई नै भार हो। त्यसैले क्षमताभन्दा धेरै रहेका कैदीबन्दी कसरी कम गर्न सकिन्छ भनेर हामी लागिरहेकै छौं।
राज्य व्यवस्था समितिले संक्रमण देखिएका सबै कारागारका कैदीबन्दी एवम् सुरक्षाकर्मीको पीसीआर परीक्षण गर्न निर्देशन दिएको छ नि?
हामी समितिले दिएको निर्देशन कार्यान्वयन गर्ने प्रयासमा छौं। अहिले पनि पीसीआर परीक्षण गरेरै त संक्रमण भए नभएको देखिरहेको त हो नि।
अहिलेसम्म हामीले कैदीबन्दी, सुरक्षाकर्मी र कर्मचारी गरेर ९१६ जनाको पीसीआर परीक्षण गरिसकेका छौं। अब आवश्यकताअनुसार नै गर्ने हो। सबैको गर्नलाई त समय लाग्छ आवश्यक छ कि छैन त्यो पनि हेर्न पर्छ।
राज्यको पीसीर परीक्षण पनि सित्तैंमा हुने कुरो होइन त्यो भनेको राज्यको खर्च हो। लक्षण देखिएको वा कोही कन्ट्यान्ट टे्सिङ र स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्डअनुसार नै हामीले पनि कारागारमा रहेका कैदीबन्दी र सुरक्षाकर्मीको परीक्षण गर्दै आएका छौं।