बुधबार, कात्तिक ५, २०७७

कला - साहित्य
1602918904.jpg

- रामलाल जोशी

‘आगे, जिल्ला कैलाली, साविक दोदोधरा गाविस ७ झागडीपुर निवासी बिर्खराम पाण्डेको नाति, तुल्सीराम पाण्डेको छोरा, वर्ष २७ को म इन्द्रराम पाण्डेकी श्रीमती वर्ष २१ की पारुदेवी रावल (पाण्डे) लाई, ऐ जिल्ला सुंगरखाल गाविस–३ फलेबिसौनी बस्ने श्री कालुसिंह  बाेहराकाे नाति, भैरवसिंह बोहराको छोरा, वर्ष आन्दाजी ३३ को श्री ढुन्के बोहराले म परदेश भएका बेला ललाई–फकाई, जवानीको राप देखाई, अनेक प्रलोभनमा पारी, आठ तोला सुन, चार तोला चाँदी, सात लाख रुपैयाँ बैंकको चेकबुक, मूल्यवान् साडी र अन्य सामानका साथमा तीन वर्षकी नाबालक छोरीसमेतलाई भगाएर लगेकाले निजको घरघरानबाट मेरा सम्पूर्ण सरसामान, गरगहना र रुपैयाँपैसासमेत असुलउपर गराई, बिहेमा लागेको ब्याखर्च दुई लाख र जारीसमेत भराई, अर्काकी जोई लिन्या निज ढुन्के बोहरालाई चारपाटा मुडेर डाँडा कटाई पाऊँ भनी दायाँबायाँ औंठाको ल्याप्चेसहित श्रीमान्का चरणमा नियाँ–निसाफका लागि यो उजुरीपत्र पेस गरेको छु। 

आगे किमधिकम्

–इन्द्रराम पाण्डे।’

लेनदेनको हरहिसाब राख्ने र तमसुक लेखिरहने पुराना साहू हंसराम आचार्यसँग उजुरीपत्र लेखाएपछि बूढाले पातमा तेलमोसो दले। छोरो इन्द्रतर्फ बढाउँदै भने, ‘लौ दुवै औंलाको ल्याप्चे ठोक।’

इन्द्रले पातको तेलमोसो दुवै हातको बूढीऔंलामा दल्यो। थपक्क ल्याप्चे लगायो।

‘लौ हिँड् अब ठानामा।’

ऊ केही नबोली बाबुको पछिपछि लाग्यो। सेतो पटुकी कसेर उसकी आमा पनि पछिपछि लतारिइन्।

उजुरीपत्र लगेर बूढाले प्रहरीको टेबुलमा थपक्क राख्दिए। इन्स्पेक्टर राजु शाह पत्रिकामा आँखा डुलाइरहेथे। बूढालाई घुरेर हेरे। उजुरीपत्र हातमा लिए। पढेजस्तो गरे र फिस्स हाँसे।

‘अब ब्वारी नै हिँडिदिएपछि कथा त सक्किगो नि बाजे।’ 

बूढाको निधारका नसा तनक्क तानिए। ‘म पनि झगडीपुरका मुख्याको मान्छे हुँ। दिनदशा लागेर मात्र हो। तेसरी नेहप्नुस् असैसाप्।

‘छोरीको झगडामा जितौंला नसोच्नू, जोईको झगडामा हारौंला नसोच्नू’ त्यस्सै भन्या हो र? लफडा त बल्ल सुरु भयो। काँ उस्सै सक्किगो भन्नुहुन्छ, असैसाप तपाईं?’

कुर्सीमा बसेका इन्स्पेक्टर राजु शाह फेरि हाँसे। घंगारुको लट्ठी औंलामा नचाए। आँखा तरेर बूढालाई खाउँला झैं गरी हेरे।

‘म असैससै होइन, बुझ्नुभयो? इनिस्पेक्सटर हुँ, इनिस्पेक्टर भन्नुस् मलाई।’

‘ओहो, फूली नै हेर्न बिर्सेछु– असैसाप् माफ पाऊँ। अरे कस्तो हुस्सु म! इनिस्पेक्टर साप् माफ पाऊँ।’ बूढाले हात जोडे। आफ्ना धमिला दृष्टि विस्फारित गरे।

पर दुबीचौरमा चारपाँच जना बसेको देखे। कोही चिनेजस्ता, कोही नचिनेजस्ता।

इन्स्पेक्टर राजुले भने– ‘तपाईंको कुरा सुनेर मैले तिनीहरूलाई बोलाइदिएको छु। उः त्यहाँ बस्या छन्। एकचोटि आफैं कुरा गर्नुहुन्छ कि?’

‘छि, छि, छि! त्यो नकटी बाइफाले राँडसँग म के कुरा गर्दा हुँ इनिस्पेक्टर साप्। तेस छँडुल्नीको त मुखै हेर्न मन छैन। थुक्क गतिछाडा राँड।’ बूढाले पिच्च भुइँमा थुके।

‘अनि मैले तपाईंलाई आफ्नो छोरो पनि बोलाउनु भनेको थिएँ। बोलाउनुभयो त?’

बूढा पछाडि फर्के। ‘इनिस्पेक्टर साप्, यै त हो मेरो छोरो। तिनी चाइँ मेरी श्रीमती हुन्। एउटै त हो मेरो छोरो। मेरो छोरो त्योजस्तो चार सय बीस काँ छ र साप्? त्यो पोइल गएको सुनेपछि मर्माहत भएर आयो। के गर्नु? उइले नगर भनेको मानेन। अइले यो गति भयो साप्।’

ढाडमा हात बाँधेकी कुप्री बूढी पछिपछि हिँडिन्। निन्याउरो मुख लगाएको मायालाग्दो नौजवान रूखको छायामा उभियो। तमतमाउँदो अनुहार। झुस्स बढेका दारी। गम्भीर र शान्त स्वभाव। 

इन्स्पेक्टर राजुले लामो सास तानेर सोधे, ‘अच्छा! त्यो पोइल जाने आइमाईको लोग्ने तपाईं हो?’

इन्द्रले मुन्टो हल्लाएर हो भन्ने संकेत मात्र ग¥यो, केही बोलेन।

‘कसरी छाडेर जान सकेकी, हैट! के नाम अरे तपाईंको?’ युवक उसै चुप लागेको देखेर बूढा आफैंले भने– ‘इन्द्र हो इनिस्पेक्टर साप् यस्को नाम। मायाले हामी इन्द्रे भन्छौं।’

बाबुछोरा दुवैलाई इन्स्पेक्टर राजुले सुस्तरी दुबीचौरमा हिँडाए। ढाडमा हात बाँधेर बूढी पछिपछि हिँडिन्। बूढा आफ्नै धुनमा बोलिहिँडे–
‘मेरो छोराको जिन्दगी त बर्बादै पार्दिई नि इनिस्पेक्टर साप, बेस्सेले। नियाँ दिलाई पाऊँ साप्, हामी साह्रै अन्यायमा प¥यौं।’

‘त्यस्ती आइमाई त मैले दुनियाँभरमा कइँ देखिनँ साप्। कसरी हाम्रा भाग्यमा आइलागी?’ बूढीले एकपल्ट ढाड सोझो गरेर बोलिन्।

बूढा, बूढीतिर फर्केर आँखा तरे। आँखैको भाकामा सायद उनले भने, ‘तँ नबोल्। बोल्ने जति मै बोलुँला।’ बूढीले आँखाको भाका बुझिन् सायद। त्यसै गरिन्।

बूढा बोल्न थाले–

‘भएभरका गहना बोकेर गई इनिस्पेक्टर साप्। यौटो तिलहरी, यौटो मंगलसूत्र, औंठी र हार गरेर आठ तोला सुन लगी। छोराले विदेशबाट पठाउने गरेको पैसा उसैको खातामा थियो। सात लाख जति रुप्पे लगी। चाँदीका पायल। ब्यांकको चेकबुक। नौलानौला साडी सब गुटुमुटु पारेर लगी राँडले। ती सबै छेराई पाऊँ साप्। अनि के रे, मेरो छोराको घरबार उडाउने त्यो माकीपोइ ढुन्के बोहरासँग एक लाख रुप्पै जारी पनि भराई पाऊँ हजुर।’

दुबीचौरमा पुग्दा बूढाको दिमाग बेतोडसँग रन्क्यो। टाढैबाट चिनेचिने जस्ती देखिने त पोइल गएकी आफ्नै बुहारी रैछे– पारु। 
बूढाले मुख फर्काए–

‘छि छि छि! कसरी मुख हेर्नु बेस्सेको।’ फेरि पिच्च गरे, ‘थुक्क!’

स्याँस्याँ गर्दै बूढी एक कुनामा गएर बसिन्। इन्द्र विचारशून्य भएर उभिइरह्यो। उसको मुख विकृत भएन। दिमागका नसा तातेनन्। रिसले रगत उम्लिएन। बरु पारुलाई देख्नासाथ उसको मनमा मायाको हुन्डरी मच्चियो। भावविह्वल भएर उसले पारुको काखमा हेरिरह्यो, जहाँ चार वर्षकी छोरी अपरिचित मुसाफिरलाई झैं निर्निमेष हेर्दै बसेकी थिई।

पारु भुइँतिर हेरेर हरियो दुबोमा बसेकी थिई। फिलिमको भिलेनजस्तो लाग्ने ढुन्के बोहरा केही साथीसँग अलक्कै बसेको थियो। इन्स्पेक्टर राजुले माझीऔंलामा घंगारुको लट्ठी नचाए–

‘ओई लैला–मजनुहरु!, अर्काको सम्पत्ति कुम्ल्याएर मोज गरौंला भन्ठानेका छौ हँ? काँ हालिस् भन् आठ तोला सुन? सात लाख रुपैयाँ? चाँदीका पायल? बैंकको चेकबुक? साडी र अरू कपडा? काँ छन् भन्?’

दुबोमा बसेकी पारुले छोरीलाई भुइँमा ओह्राली। तुनामा बाँधेको झुप्पो खोली। काँतर स्वरले भनी–

‘एउटा सिन्को पनि ल्याकी छैन। सब सिसमको दराजभित्रै छन्। इः साँचो।’ साँचोको झुप्पो इन्स्पेक्टरतिर बढाइदिई।
‘साँचो? साँचो हो कि झूटो हो भन्?’ इन्स्पेक्टर राजु कड्किए।

‘मेरो श्रीमान्को कसम मैलो झूटो बोलेकी छैन।’

इन्द्रको मन एकदम कुँडिएर आयो। उसलाई लाग्यो– पारुले उसको कसम खाएकी होइन। इन्द्रले आफ्नो अनुहार पर कतै क्षितिजतिर डुलायो। इन्स्पेक्टरले साँचो बूढाका हातमा थमाइदिए। 

इन्स्पेक्टर फेरि जंगिए–

‘एई ढुन्के, ठूलै आँटले अर्काकी जोई भगाइ होलास् नि! उसकी स्वास्नीको जारी तिर्नुपर्दैन?’

‘तानेर ल्याको होइन हजुर! पारु मायै गरेर आकी हो। जारी त कसरी तिर्नु हजुर? तिर्दैन।’ ढुन्के जब्बर भएर इन्स्पेक्टरतिर फर्कियो।

‘लौ सुन्नुहोस्, इनिस्पेक्टर साप् यस डाँकाको कुरा। अर्काकी स्वास्नी उडाउँछ। अझ ठूलो स्वरले डुक्रन्छ साँढे।’ 

बूढाका नसा उफ्रिए–

‘ए इन्द्रे, के टुलुटुलु हेरिराख्याछस् जारको मुख? च्वाट्टै छिनाल्देन त्यसको घाँटी।’

‘नाइँ बाबा नाइँ। यसलाई काटें भने पारुले दुःख पाउँछे। म तेसो गर्दिनँ।’

इन्द्रको मुहार निरीह र मायालु देखियो।

‘छोरो भनाउँदो पनि कस्तो पाजी नामर्द रैछ? आफ्नी जोई लिने जारलाई पनि कोइ छाड्दो हो? मेरी जोई त्यसरी लिएको भए म त्यसलाई दुई टुक्रा गर्ने थिएँ। हाम्रो जमानामा त जोई लिने जारलाई सिरुपाते खुकुरीले छपक्कै छप्काउँथे। उत्तिसे मगरले जार काटेर भागेको था छैन पाजी?’

‘ए बाजे, तपाईंलाई थुन्दिऊँ म? पुलिस चौकीभित्र आएर जे पायो त्यै बोल्ने?’ इन्स्पेक्टर राजुले फेरि माझीऔंलामा घंगारुको लट्ठी नचाए।
बूढाको पारा स्वाट्टै घट्यो शून्य डिग्रीमा। लत्रक्क परेर भने– ‘हामीलाई नियाँ चाहियो इनिस्पेक्टर साप् नियाँ।’

‘के को नियाँ? के चाहनुहुन्छ तपाईं?’

‘चाहन्नँ त इनिस्पेक्टर साप्’, बूढा भन्न थाले, ‘हामी चाहन्थ्यौं– छोराले कुल घरानकी संस्कारित कन्या बिहे गरोस्। नाम चलेका कुटुम्बकी छोरी ल्याओस्। पन्चेबाजा बजाएरै बिहे होस्। समाजका अगाडि डोलीमा चढाएर बुहारी ल्याओस्। त्यसरी ल्याउँदा त्यसको मान्यतै फरक हुन्थ्यो।

छोरोले सकभर हामीले मागेकै केटीसँग बिहे गरोस्। आफैंले मन पराए पनि हाम्रो मन राखेर गरोस्। उसलाई कसले छोरी दिन्थेन र?

सुबेदार कृष्ण भण्डारी तयार थिए। मुखिया बलरामले हाम्रै घरमा छोरी पठाउने इच्छा गरेका थिए। जगत सुवेदीले एकमात्र छोरी मञ्जुको हात इन्द्रेलाई थमाइदिने विचार गरेका थिए। मंसिरमा आफ्नै जातकी बुहारी भित्र्याउने उसकी आमाको कत्रो रहर थियो।

के गर्नु इनिस्पेक्टर साप्? छोरो कुलंगार परेपछि। हामी सबैका रहर माटोमा मिल्यो।

उसले कात्तिककै मैना राजकाँडा रावलकी छोरी भगाएर ल्यायो। बाहुनको छोरो भएर क्षेत्रीकी छँडुल्नी उडाइम¥योे।

सासूले सम्झाउँदा उल्टो सासूलाई जवाफ लगाई– ‘तिमी सतमा बसेर के नाप्यौ र?’ यस्तो उसको स्वभाव थियो बुहारीको। 

दमले थलिएकी सासूले राति खोक्दा ऊ वचनका सुइरा रोप्थी–

‘सुत्न पनि नदिने भए कालका जुठाहरूले। कैले छुटकारा पाउने हो, इः पिचासबाट खै?’

लौ भन्नोस् इनिस्पेक्टर साप् यस्ती पनि कसैकी बुहारी हुन्छ दुनियाँमा? यस्तीबाट के चाहनु हामीले? चाहेर पनि के गर्नु इनिस्पेक्टर साप्।’

बूढाको नजिक आइबसेकी बूढी एकोहोरो ख्वाङख्वाङ गर्न थालिन्। 

टाउको मुसारेर बूढाले भने– ‘दमले सक्किन लागी बूढी।’

इन्स्पेक्टर राजु गम्भीर बनेर पारुतिर फर्किए। पारु गम्भीर देखिन्थी। काँतर दृष्टिले घरिघरि इन्द्रलाई हेर्थी। इन्द्रको धीर गम्भीर र भावुकता देखेर होला उसको मुखमण्डल थप मलीन भएको थियो।

इन्स्पेक्टरले भने–

‘पारु, सासूससुरालाई छोडेर किन यस्तो ग¥यौ? यस्तो भलादमी लोग्नेलाई किन धोका दियौ? धनसम्पत्ति छँदै थियो। ती सब छोडेर किन गयौ? आखिर के चाहन्छ्यौ तिमी?’

उसले इन्स्पेक्टरलाई ‘दाजु’ भनी र शान्त–गम्भीर भएर भन्न थाली– 

‘छन त सब थियो नि! तर लोग्नेबिनाको घर घरजस्तो थिएन। चिहानघाटजस्तो थियो।  चार वर्षसम्म बाटो कुर्दाकुर्दा पनि इन्द्र फर्केर आएन। मर्न सकिनँ। अनि के गर्नु?’ 

विवाह गरेर आउने अरू युवतीजस्तै म पनि चाहन्थें–

लोग्ने मेरो आकाश बनोस्। उसले कहिले घाम देओस्, कहिले शीतल। गड्याङगुडुङ गरेर कहिले तर्साओस्। बादल मडारिएझैं मडारिएर डर देखाओस् कहिले। स्वच्छन्द भई कहिले खुला छाती देओस् सुत्न। कहिले पानी बर्से झैं बर्सेर आङ रुझाओस्! एउटी स्त्रीले चाहने यही त हो। मेरो रहर थियों– सधैं उसको छाया बनेर साथमा रहूँ। कसकी स्वास्नीले यस्तो चाहन्न, लौ भन्नोस्? 

ससुराले मीठो बोलिदिऊन्। सासूले आमाले जस्तै टाउको मुसारिदिऊन्। मैले राम्रो लाउँदा उनीहरू खुसी भइदिऊन्, मिठो खाँदा सन्तुष्ट। मैले शृंगारपटार गरेको देख्दा भनिदिऊन्– आहा! कति राम्री हाम्री बुहारी! आखिर मायामै त अडिएको हुन्छ नि मान्छेको मन। 

बिहे गरेको छोरो घरमा बेरोजगार बसिरहँदा आमाबाबुको मुख पनि अँध्यारो भैहाल्दो रहेछ। आमाबाबुका अँध्यारा मुख देख्न नसकेर एक वर्षपछि ऊ विदेश गैहाल्यो। काखमा सानी नानी लिएर म हँसियाबिनाकी बिँडजस्ती बनिबसें।

मलाई लाग्थ्यो– सासूससुरा खुसी भएर बसून्, म सेवा गरिरहूँ। भोक लाग्दा खाना मागून्, प्यास लाग्दा पानी, निद लाग्दा ओच्छ्यान भनून्, रोग लाग्दा दबाई। भनून्– तिमी छोरी समान हौ नानी, मन लागेको कुरा खाऊ। सुहाउने लुगा लगाऊ। दुई दिनको जिन्दगीमा आफ्ना रहर र इच्छा नमार।

मेरा पाइला नरोकून्। मनमा बन्देज नलगाऊन्। मेरो उमेर हेरेर हाँस्न÷बोल्न दिऊँन। भनून्– रमाउने उमेरै हो, रमाओस्। 

दाजु, त्यसो भइदिएको भए म कति फुरुंग हुँदी हुँ। खुसी भएर सासूससुराको गुमुत पनि सोहोर्दी हुँ। भगवान् मानेर साँझ–बिहान पुज्दी हुँ। गाली मात्रै नगरेका भए पनि चित्त बुझाएरै बस्दी हुँ। तर त्यसो भएन दाजु। 

उनीहरू त मलाई गाँस नपाएर खान आएकी जस्ती ठान्न थाले। बास नपाएर बस्न आएकीजस्ती मान्न थाले। सासू भन्न थालिन्– खान–लाउन नपाएकी कंगालकी छोरी, मेरो छोराको सम्पत्ति उडाउन थाली। इन्द्र विदेश गएपछि त झन् दुर्वचन लाउन थालिन्– ‘आँखामा गाजल लाउने आइमाई बेस्से हुन्छे। घरबाट खुट्टा बाहिर निकाल्ने राँड फिरन्ता पातर्नी हुन्छे।’

कतै निस्कँदा पनि भन्न थालिन्– ‘कुनचाहिँ नाठोलाई भेटेर आइस्, हँ छैमला? यसरी बेस्से भएर डुल्नुभन्दा त पोइल जानु नि राँडले।’

ससुरा भन्न थाले– ‘भोलिदेखि बाहिर निस्किस् भने तेरो खुट्टा काट्दिन्छु। कसैसँग हाँसको देखें भने तेरा जामला च्यात्दिन्छु।’ यसरी ममाथि बन्देज लगाए। 

मेरा केही रहर हाँसेरै निख्रिरहेका थिए, केही इच्छा बोलेर। केही चाहना आँखाबाट निख्रिरहेका थिए, केही पैतलाबाट। केही रहर हाँसखेल गर्दै निख्रिरहेका थिए। केही ठट्टा र मजाकमा। 

यिनीहरुले मेरा आँखा बन्द गरिदिए। बोल्ने मुख थुनिदिए। सँुघ्ने नाकमा ठेडी कोचिदिए, सुन्ने कानमा बुजो। मेरो हाँसो उत्ताउलो हुन्छ भनेर हाँस्न बन्देज गरिदिए। घुमन्ते आइमाई बेस्से हुन्छ भनेर पाइला रोकिदिए । 

अब भन्नुस् दाजु, मूलको पानी बाँध बाँधेर रोक्न सकिन्छ? बाँध फुट्दैन? 

जब मान्छेको आवाज दबाउन खोजिन्छ, मनको कुरा भित्रै गुम्सिरहन सक्दैन। त्यो सुस्केरा भएर निस्किन्छ। आँखाबाट भए पनि झर्छ। मान्छेको मनलाई दबाउनु भनेको भित्रै दबेका रहरलाई झन् उकास्नु हो। 

के भनूँ दाजु? भन्ने कुरा त कति छन् कति। मान्छेको जात हो, भगवान् जस्तो हुँदैन। इन्द्रको बाटो कुर्दाकुर्दै धैर्यको बाँध टुट्यो।

म दुखियाले अब के चाहनु? चाहने दिन हातबाट फुत्केर गए। अब भाग्यको खेलमा लतारिने हो।’

यति भनिसक्दा पारुका आँखाबाट आँसुका ढिक्का खस्न थाले। 

इन्स्पेक्टर राजु पनि भावुक देखिए। एकाएक उनको मनमा अनेक प्रश्न खडा भए। पूरा जिन्दगी भोगिसकेका मान्छेलाई यति पनि थाहा नहुँदो रैछ कि? कस्ताकस्ता रहर र इच्छाबाट गुज्रिन्छ जिन्दगी? प्रकृतिले भरिदिएका जिन्दगीका रंग किन यत्तिकै खुइलिएर जान्छन्?

कस्ताकस्ता मनोकांक्षाले अधुरो बनाउँछ जिन्दगीलाई? पूरा गर्न सकिने इच्छालाई पनि चिताको धुवाँबाट मात्रै उडाउनु जिन्दगीको सार्थकता हो? 

उनले एउटा निरर्थक प्रश्न इन्द्रको अनुहारमा झुन्ड्याइदिए– 

‘भन भाइ के चाहन्छौ तिमी?’ 

उफ! इन्द्र झनै निरीह भयो। के भनोस् उसले। मनको कुरा हो, जो मुखमा ल्याएर यस अवस्थामा ओकल्न सक्दैनथ्यो। चाहन त ऊ कति चाहन्थ्यो पारुलाई। चराको झैं जिन्दगी भइदिए यस अवस्थामा पनि कति रमाउँदो हो ऊ? 

पाँच वर्षअघि पनि इन्द्रले यस्तै प्रश्नको सामना गरेथ्यो। राजकाँडाको ढुंगेनी डाँडामा उभिएर पारुले यही मायालु प्रश्न फ्याँकेकी थिई– इन्द्रका सामु–

‘बाबाले अर्कैसँग ब्या गरिदिने पक्का गरिसके। अब के गर्नु मैले? के गर्न सक्छौ तिमी, भन?’

मंसिरमा अर्कै युवकसँग लगनगाँठो निश्चित गरिएकी पारुले आफ्नो संकटापन्न मायालु जीवनको निर्णय लिने जिम्मा इन्द्रलाई छोडिदिएकी थिई। 

बालवयदेखिकी प्रेमिकालाई कार्तिक शुक्ल चतुर्दशीका दिन इन्द्रले ढुंगेनी डाँडाबाट भगाएको थियो। 

उसको वक फुट्यो। गम्भीर भएर भन्न थाल्यो–

म पनि चाहन्थें सर– आफू परदेश हिँडेपछि बाआमाले पारुलाई माया गरेर राखून्। आफ्नो सुखसुबिस्ताका लागि कराऊन्। तर अरूको खुसी नखोसिदिऊन्। बुहारीको चित्त नदुखाऊन्। माया गरेर आएको मान्छेको चित्त चाँडै दुख्छ भन्ने कुरा बुझिदिऊन्। बुहारीलाई उसको चाहना पूरा गर्न दिऊन्। खाई, लाई भनेर नकराइदिऊन्। छोराको खुसी बुहारीमै गाँसिएको हुन्छ भन्ने कुरा बुझिदिऊन्। 
बस्, यत्ति भएको भए अरू गर्ने त म छँदै थिएँ। बाआमाले यत्ति बुझ्नु थियो। 

चाहन त कति चाहेको थिएँ पारुलाई। चाहेरै पाएको पनि थिएँ, सर। उसको साथ, सयौं जुनी चाहेको थिएँ– उसको माया। तर सर, पहिलो पहरमै चुँडिएर गयो मायाको डोरी। फुस्केर गयो भरोसाको गाँठो। भत्केर गयो विश्वासको चौतारी। फुटेर गयो ऐना। 

यी सब कुरा शून्यमा परिणत भए सर। अब चाहनुको के अर्थ? जुन कुरा जिन्दगीबाट फुत्केर गयो, अब त्यसका लागि रोएर के गर्नु?’

ऊ चुप भयो। उसको मौनतासँगै पारुले आँसुका धारा छोडी। उसलाई लाग्यो होला, कत्ति आलोकाँचो निर्णय भयो जिन्दगीमा। 

कति कमजोर हुँदा रैछन् विश्वासका गाँठाहरु, सहजै फुस्केर जाने। कति निर्बल हुँदा रैछन्, बन्धन र बाचाहरू, सजिलै तोड्न सकिने।

निगालाका चोया जोडेर बनाएको डोकोजस्तो जिन्दगी, न सपना भर्न सकिने न प्राप्ति जोगाएर राख्न सकिने!

इन्स्पेक्टर राजु भावुक बने। गम्भीर भएर भने–

‘भाइ, गल्ती सच्याएर सँगै हिँड्न सकिँदैन? तपार्इंहरु दुवैका अतृप्त चाहना  जीवित छन् भने के नै बिग्रेको छ र?

मृत्युबाहेक त्यस्तो कुनै बाटो छैन, जसलाई सुधारेर हिँड्न नसकियोस्। गलत अक्षरलाई इरेजरले मेटेर नयाँ लेखेझैं जिन्दगीका गल्ती मेट्न सकिन्छ भाइ। जिन्दगी भनेकै गलत बाटोमा हिँडेर सही मार्ग पहिल्याउने अवसर हो। 

पारुको जिन्दगी कागजको सेतो पाना होइन भाइ! जसमा सानो दाग लाग्नेबित्तिकै च्यातेर रद्दीको टोकरीमा फ्याँकियोस्। यो त्यस्तो शिलापत्र पनि होइन जहाँ एकचोटि खोपिएका अक्षर सदाकाल रहिरहून्। यो त बालकले लेखेको सिसाकलमका त्यस्ता अक्षर हुन् जसलाई बारम्बार सच्याउन सकियोस् र जिन्दगी सुन्दर बनाउन सकियोस्।’

इन्स्पेक्टरका भावुक कुराले बूढा रन्किए। आँखा राताराता पारेर बूढा उठे। बूढीनजिक गएर भने–

‘हिन घर।’

इन्द्र अबोध बालक झैं उभिइरह्यो। 

पारुलाई लाग्यो, इन्द्रले पनि त्यसरी नै ‘हिन घर’ भनेको भए... अहो! 

अनन्त आशा र करुणाका साथ पारुले इन्द्रका अनुहारमा हेरिरही। इन्द्र निर्जीव मुढो जसरी ठिंग भइरह्यो। टाढा कतै लाउड स्पिकरमा गीत बजेको सुनियो–

लैजा, लैजा ओ मेरो प्रियतम

लैजा, मलाई कतै दुर लैजा।  
 

 

प्रतिक्रिया दिनुहोस्