बुधबार, कात्तिक ५, २०७७

विशेष

हामी कोही अपरिचितसँग किन नजिक हुन्छौं?

1602902453.PNG

परम्परागत धारणा छ– आफूजस्तै व्यक्तिसँग बढी नजिक भइन्छ।  त्यसो होइन, संंसारलाई हेर्ने र विश्लेषण गर्ने समान दृष्टिकोणले मानिस एकअर्कासँग नजिक हुन्छ। 

कोही अपरिचितसँग पहिलोपल्ट भेट हुनेबित्तिकै लाग्छ– ऊसँग राम्रै दोस्ती गाँसिएला। सायद त्योभन्दा पनि बढी। हामी सबैले जीवनमा एक न एकपटक यस्तो अनुभव गरेकै हुनुपर्छ। अर्थात् कसैलाई देख्नासाथ मनमा एक प्रकारको ‘क्लिक’ हुन्छ।

प्रायः व्यक्तिव्यक्तिबीच समान विचार हुँदा मित्रता झाँगिन्छ। दुवैलाई कुनै चित्रकारको चित्रकला समान रुपले मन परेको हुनुपर्छ वा अखबारमा छापिएको समाचार शीर्षकमा दुवैको एउटै प्रतिक्रिया हुन सक्छ। अथवा दुवैलाई कुनै रमझम मेलामा प्रस्तुत गीतसंगीत झूर लाग्न सक्छ।

जे भए पनि त्यस्ता व्यक्तिसँग चिनजान भएको केहीबेरमै यो राम्रो वा नराम्रो भनेर आफ्ना मनका कुरा साट्न थालिन्छ। हाँसीमजाक चल्न थाल्छ र राम्रो–नराम्रोको सिफारिस गर्न थालिन्छ। व्यक्तिको पृष्ठभूमि र पेसा–व्यवसाय थाहा नपाउँदै ऊसँग एक खालको सम्बन्ध बनिसक्छ। एकअर्कामा प्रभाव जमिसकेको हुन्छ।

तर, कसैसँग पहिलोपल्ट कुराकानी गरेपछि सम्बन्ध त्यहीं सकिन्छ र ऊ कहिल्यै सम्झाना नआउने गरी पाखा लाग्छ। कसैसँग भने पहिलो कुराकानी आत्मीय भइदिन्छ, वर्षौंदेखिको साथी जस्तो। यस्तो किन त? 

यसमा हामीले कोसँँग कुरा गरिरहेका छौं भन्ने विषयले होइन कि हामीले के कुरा गरिरहेका छांैं र त्यसबारे हाम्रा धारणा कस्ता छन् भन्ने महत्त्वपूर्ण हुन्छ।

हामीले गर्ने कुराकानी चाहे त्यो परिचितसँग होस् वा अपरिचितसँग, व्यक्तिगत नभएर वरपरका सांसारिक विषयमाथि हुन्छ। त्यही कुराकानीले हामीलाई एकअर्कासँग नजिक बनाउँछ। 

कोलोम्बिया विश्वविद्यालयका प्रोफेसर माया रोसिनाग मिलनका अनुसार यो भनेको ‘संयुक्त रूपमा संसार बनाउनु’ हो। उनको विचारमा राम्रो सम्बन्धको गुह्य पनि यही हो।

साझा अनुभूति

सम्बन्धबारे अहिलेसम्म भएका धेरै अनुसन्धान व्यक्तिले एकअर्काबारे के अनुभव गर्छ भन्नेमा केन्द्रित छन्। प्रोफेसर मिलनको भनाइमा ती अनुसन्धानले सम्बन्धको तेस्रो पक्ष अर्थात् ‘साझा अनुभूति’ लाई छुटाइरहेका छन्।

प्रोफेसर मिलन लेखक सिएस लेविसलाई उद्धृत गर्दैै भन्छिन्, ‘जब व्यक्तिले साझा अनुभूति गर्न थाल्छन् तब उनीहरु नजिकिन्छन्। आफ्ना अनुभव एकअर्कालाई सुनाउन थाल्छन्।’ 

मिलनको भनाइमा साझा अनुभूतिको भावना ‘सिंगल लेन्स’ जस्तै हुन्छ। दुवैले यही लेन्सबाट आफू वरपरको संसार नियाल्छन्, धारणा मिल्छन्, एकरूप हुन्छन् र अन्ततः एकाकार हुन्छन्।

मिलनले टोरी हिगिन्ससँग गरेको संयुक्त अनुसन्धानमा साझा अनुभूति कुन हदसम्म हुन्छ भन्ने मापन गरिएको थियो।

अनुसन्धानका क्रममा प्रत्येक जोडीलाई ‘हामी प्रायः एकै समयमा एउटै विषयमा सोचिरहेका हुन्छौं’ वा ‘छलफलका क्रममा हामी एउटै धारणामा आइपुग्छौं’ जस्ता विषयमा उनीहरुसँग सहमति र असहमति सोधिएको थियो। 

अनुसन्धानबाट के देखियो भने जुन जोडीले उस्तै अनुभूत गर्छन्– उनीहरू एकअर्काप्रति प्रतिबद्ध हुन्छन्। उनीहरु एकअर्काबारे थाहा पाउँदै गएपछि भावनात्मक रुपमा अझ नजिक हुन्छन्। 

मिलन–हिगिन्सले एउटा परिकल्पना गरे– साझा अनुभूतिको बलियो भावना भएका जोडीले कुनै बेला त्यो भावनामा कमी आएको अनुभव गरे भने उनीहरु त्यसलाई पुनस्र्थापित गर्न खोज्छन्।

अनुसन्धानमा त्यस्ता जोडीलाई प्रयोगशालामा बोलाएर साझा अनुभूतिसम्बन्धी प्रश्नको उत्तर लेख्न लगाइएको थियो। प्रत्येकसँग खानाको स्वाद र चित्रबारे प्रतिक्रिया लिइएको थियो। उनीहरुले आआफ्नै पाराले उत्तर दिएका थिए।

अनुसन्धानमा सहभागी जोडीलाई उनीहरुका पार्टनरले दिएका प्रतिक्रियाबारे भने गलत जानकारी दिइयो। आधालाई एकअर्काको बुझाइ समान भएको बताइयो भने आधालाई बुझाइ फरक भएको बताइएको थियो।

त्यसपछि ती जोडीलाई असम्बन्धित चित्र देखाएर त्यसबारे कुराकानी गर्न भनियो। अनुसन्धानकर्ताले बेग्लै बसेर उनीहरुको अन्तरक्रिया विश्लेषण गरे। 

जुन जोडीको एकअर्कासँग बलियो सम्बन्ध थियो र पछि उनीहरुको अनुभूति असमान रहेको गलत जानकारी दिइएको थियो, ती जोडीले त्यसलाई पुनस्र्थापना गर्न ठट्टा गरेको पाइयो। उनीहरुले प्रयोग गर्ने शब्द र तिनका अर्थमा पनि समानता थियो। ‘प्रतिक्रिया जेजस्तो आए पनि अनुभव समान थियो,’ मिलन–हिगिन्सले भने।

अनुसन्धाताहरुले साझा अनुभूतिले अपरिचितलाई कसरी नजिक बनाउँछ भन्नेबारे अर्को अनुसन्धान गरे। एकअर्कालाई सामाजिक सञ्जालबाट मात्रै चिनेका व्यक्तिहरुलाई प्रयोगशालामा बोलाए। त्यहाँ उनीहरुलाई अस्पष्ट चित्र दिएर त्यसबारे अर्थ लगाउन लगाए।

एकअर्काप्रति दरो साझा अनुभूति गर्नेहरुले एकै समयमा एउटै कुरा बोलेका थिए– ‘मैले भन्नै लागेको थिएँ... खासमा यो हो जस्तो लाग्छ...’ जस्ता वाक्यांश। उनीहरूले चित्रबारे उस्तै धारणा व्यक्त गरे, आपसमा ठट्टा गरे र चित्रमा देखिएका काल्पनिक मानिसलाई उस्तै नाम दिए। 

बोलाइएकामध्ये केही जोडीको एकआपसमा ‘क्लिक’ भइसकेको थियो– स्क्रिनको अर्कोतिर बसेका व्यक्तिसँग उनीहरूको तालमेल मिलिसकेको थियो। 

मिलन–हिगिन्सको अनुसन्धानले हामी आफूजस्तै मान्छेसँग मात्रै आकर्षित हुन्छौं भन्ने परम्परागत धारणालाई चुनौती दिएको छ। 

निकटतम सम्बन्धका आयामबारे अनुसन्धान गरिरहेका क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक पाल इस्टविक भन्छन्, ‘मिलन–हिगिन्सको शोधको आकर्षक पक्ष समानता वा आफूजस्तै हुनु भनेको दुई व्यक्तिले सँगै पत्ता लगाउने कुरा हो। समानता भनेको दुई व्यक्तिले त्यसै क्षणमा सिर्जना गरेको वा पत्ता लगाएको समान अनुभूति हो। त्यसअघि यो कुनै कागजमा लेखिएको हुँदैन।’

यद्यपि हामीलाई आफूजस्तै साथी खोज्न प्रोत्साहित गरिन्छ। तर, साझा अनुभूतिको सिद्धान्तले के संकेत गर्छ भने अर्को व्यक्तिलाई नेदेखेसम्म हाम्रो प्राथमिकता हामीलाई नै थाहा नहुन सक्छ। 

धेरै अनलाइन डेटिङ साइटहरु कुनै व्यक्तिबारे धेरै सूचना संकलन भयो भने आदर्श जोडी बनाउन सहज हुन्छ भन्ने आधारमा स्थापित छन्। तर, नयाँ सम्बन्ध त संयुक्त सिर्जनाको कार्य हो। त्यसैले सही जोडी कुन हो भन्ने पहिल्यै आँकलन गर्न गाह्रो हुन्छ।

गहिराइमा पुग्नु

मिलन–हिगिन्सको शोधले हामीले व्यक्तिगत र पेसागत अन्तरक्रियालाई कसरी व्यवस्थित गर्छौं भन्नेतर्फ संकेत गर्छ। हामीले सामाजिक निकटता बनाइराख्यौं भने आफ्ना अनुभूति, संवेग र बाहिरी संसारबारे कुरा गर्ने अवसर पाउँछौं। त्यसबाट साझा अनुभूति निर्माणको सम्भावना रहन्छ। 

हो, हामीले त्यो त गरिरहेकै हुन्छौं– पहिलो डेटिङ जाँदा कुनै सांस्कृतिक गतिविधिमा सहभागी हुन भनिन्छ। प्रदर्शनीस्थल वा संग्रहालयमा घुम्दै कलाबारे कुरा गर्नु प्रत्यक्ष कुरा गर्नुभन्दा उपयुक्त हुन्छ पनि। सहकर्मीसँग कार्यालयबाहिर भेटेर गफ गर्दा नयाँ वातावरणमा नयाँ भावना विकसित गर्न सहयोग पुग्छ। सम्बन्ध बलियो हुन्छ।

अहिले कोरोना महामारीका बेला ती सबै काम गर्न सम्भव छैन। सार्वजनिक स्थल बन्द छन्। सामुदायिक क्रियाकलाप प्रतिबन्धित छन्। प्रत्यक्ष भेटघाट भिडियो कलले प्रतिस्थापन गरेका छन्। स्वास्थ्यका लागि यो सबै गर्नु आवश्यक पनि छ। 

तर यो व्यवहारले व्यक्तिहरुको साझा अनुभूति निर्माण क्षमतामा प्रतिकूल प्रभाव पार्न सक्छ। भिडियो कलमा बाह्य विश्व देखिँंदैन। यसमा त तपाईं र तपाईंले कुरा गर्ने मान्छे मात्र मुखामुख गरिरहेका हुन्छन्। र, मान्छेहरुलाई यो विधि दिक्कलाग्दो हुन सक्छ। 

तर मिलन–हिगिन्सले गरेको अनलाइन प्रयोगले भने एउटा आशा देखाएको छ। त्यो के भने भर्चुअल दुनियाँमा पनि आपसी तालमेल बनाउने न्यूनतम सम्भावना रहन्छ। चुरो कुरा, साझा अनुभूतिको सिद्धान्तले के संकेत गर्छ भने जब हामी आफूबाहेकका विषयमा केन्द्रित हुन्छौं तब हाम्रो सम्बन्ध नजिकिँदै जान्छ। बाहिरी संसारका बारे कुरा गर्दै, आफ्ना जिज्ञासाको गोडमेल गर्दै जाँदा एकअर्कासँग नजिकिन्छौं। 

यसो हुँदा कुनै साथी, अपरिचित वा अन्तरंग मित्रसँग कुरा गर्दा जहिल्यै कुरा गर्न केही न केही विषय बाँकी नै हुन्छ।

(इयान लेस्लीले बीबीसी वर्क लाइफमा लेखेको यो सामग्री महेश्वर आचार्यले अनुवाद गरेका हुन्।)
 

प्रतिक्रिया दिनुहोस्