बुधबार, कात्तिक ५, २०७७

कला - साहित्य संवाद

ज्ञान र अनुभव हस्तान्तरण प्रक्रियालाई राष्ट्रिय चरित्र बनाउनुपर्छ : रमेशनाथ पाण्डे

1602901733.jpg

छोटो अवधिमै छैटौंं संस्करण आइसकेको ‘कूटनीति र राजनीति’ पुस्तकका लेखक एवं पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेको हालै ‘क्रान्ति र प्रतिक्रान्ति’ प्रकाशन भएको छ। पटकपटक मन्त्री भएका कूटनीतिज्ञ एवं राजनीतिज्ञ पाण्डेसँग पत्रकारिताको अनुभव पनि निकै लामो छ। पाण्डेसँग उनको नयाँ कृतिबारे नेपाल समयले गरेको कुराकानीको अंश : 

‘कूटनीति र राजनीति’ अनि ‘क्रान्ति र प्रतिक्रान्ति’ पुस्तकको उस्तैउस्तै शीर्षक राख्नुको रहस्य के हो?
    
कुनै रहस्य छैन। अन्तर्राष्ट्रिय सन्दर्भमा जसरी कूटनीति र राजनीति जोडिएका छन् त्यसैगरी आन्तरिक सन्दर्भमा क्रान्ति र प्रतिक्रान्ति जोडिएका हुन्छन्। नेपालको प्रसंगमा पनि कूटनीति र राजनीति एकआपसमा आबद्ध छन् अनि क्रान्तिलाई प्रतिक्रान्तिले निरन्तर पछ्याइरहेको छ। त्यसैले नेपालको मूल व्यथा बुझ्न ‘कूटनीति र राजनीति’ र यसको परिणाम बुझ्न ‘क्रान्ति र प्रतिक्रान्ति’ को अध्ययन आवश्यक छ। 

शीर्षकले किताबको विषयलाई प्रस्ट्याएको छ। आशा गर्छु, कूटनीति र राजनीतिलाई जस्तै विज्ञ पाठकहरुले ‘क्रान्ति र प्रतिक्रान्ति’ लाई पनि मन पराउनु हुनेछ। 

नेपाली राजनीतिबारे तपाईंको अनुभवका धेरै कुरा ‘कूटनीति र राजनीति’ मा आइसकेका छन्। ‘क्रान्ति र प्रतिक्रान्ति’ मा फरक के छ? 

‘कूटनीति र राजनीति’ निरन्तर चलिरहने विषय हुन्। नेपालको सन्दर्भमा कूटनीति र राजनीतिले निम्त्याएका क्रान्ति र प्रतिक्रान्तिको चक्रव्यूह पनि चलिरहेको छ। यसबाट मुलुक बिलखबन्दमा परेको छ, इतिहास गरिब हुँदै गएको छ। अब त यसले भूगोललाई पनि गाँजेर गरिब बनाउन थालेको छ। 

यी विषयमा चेतनशील नागरिकले लेख्नुपर्छ, लेखिरहनुपर्छ। नेतृत्वको आँखा खोल्ने प्रयास निरन्तर भइरहनुपर्छ। युवा पुस्तालाई अनुभव सुनाएर विगतका गल्ती नदोहोर्याउन प्रोत्साहित गरिरहनुपर्छ।   

कुनै पनि अनुभवको परिणाममा सुख वा पीडाको अनुभूति हुँदा लाग्छ– यो नै पूर्ण हो, यो नै अन्तिम हो। तर, पूर्णताको यो निष्कर्ष अस्थायी हुन्छ। अर्को चरणमा फेरि उस्तै सुख वा पीडा भोग्दा अनुभव अपुरो रहेको महसुस हुन्छ। सार के हो भने व्यक्ति वा देशको अनुभव कहिल्यै पूरा हुँदैन। व्यक्तिको अन्त्य अपूरो अवस्थामै हुन्छ। देशले अनुभवबाट सिक्दै गयो भने परिस्कृत समाजको निर्माण हुन्छ। तर हामीले अनुभवबाट सिक्न सकिरहेका छैनौं। 

नेपाललाई कारुणिक भविष्य भोग्न नदिने र विश्व समुदायमा दयाको पात्र नबनाउने हो भने हामीले अनुभव बिर्सनु हुँदैन। अनुभवलाई संस्थागत रुपमै स्मरणीय बनाउनुपर्छ। मेरो पहिलो पुस्तक ‘कूटनीति र राजनीति’ ले नेपालको कूटनीतिक र राजनीतिक अनुभवलाई प्रस्तुत गरेको छ भने ‘क्रान्ति र प्रतिक्रान्ति’ ले त्यही अनुभवलाई निरन्तरता दिएको छ। ‘क्रान्ति र प्रतिक्रान्ति’ को थप महत्त्वपूर्ण पक्ष विश्वेश्वरप्रसाद कोइरालाले सुन्दरीजलमा बन्दी रहँदा मलाई लेख्नुभएका केही चिठी यसमा समावेश छन्।  
  
राजनीतिमा लागेको कमैले मात्र पुस्तक लेखेको पाइन्छ। तपाईंचाहिँ कसरी प्रेरित हुनुभयो? 

तपाईंको प्रश्न विचारोत्प्रेरक छ। पुस्तक किन लेख्ने? किन पढ्ने? मेरो विचारमा किताब नलेख्नु भनेको ज्ञान र अनुभव अर्को पुस्तालाई हस्तान्तरण नगर्नु हो। हामीले एउटा पुस्ताको ज्ञान र अनुभव अर्को पुस्तामा हस्तान्तरण प्रक्रियालाई राष्ट्रिय चरित्र बनायौंं भने मात्रै इतिहास दोहोरिने खतरा रोकिन्छ। 

राजनीति, कूटनीति, प्रशासन र सुरक्षा निकायका मात्र हैन चिकित्सा अथवा कृषिजस्ता हरेक पेसाका व्यक्तित्वहरुको संस्मरण, ज्ञान र अनुभवको संकलन अर्को पुस्तालाई हस्तान्तरण गर्नैपर्छ। यस्तो ज्ञान र अनुभव आर्जनमा राज्यको लगानी छ। त्यसैले यसलाई राष्ट्रिय इतिहासको कोषमा जम्मा गर्नुपर्छ।

आफ्नो अनुभव र ज्ञानलाई आफैंसँग सीमित गरेर विसर्जनतर्फ लैजानु इतिहासलाई अपूरो राख्ने भूल हो भने नपढ्नु ज्ञानबाट वञ्चित हुनु हो। के पढ्ने, कसरी बुझ्ने र कसरी उपयोग गर्ने त्योचाहिँ व्यक्तिको विवेकको कुरा हो। 

प्रत्येक पुस्ताले आफ्नो अनुभव र ज्ञानलाई अघिल्लो पुस्ताको अनुभव र ज्ञानको तराजुमा तौलिएर निष्कर्ष निकाल्नुपर्छ र आफ्नो लक्ष्य आफैंले निर्धारण गर्नुपर्छ। युवा पुस्ता जति सक्षम हुन्छन् त्यति नै देश बलियो हुन्छ। यही सत्यले अनुभव, अध्ययन र ज्ञान अर्को पुस्तामा हस्तान्तरण गर्नुपर्छ भन्ने दायित्वबाट म लेखनमा प्रेरित भएको हुँ। 

यस्ता कृति लेख्दा के कुरामा बढी ध्यान दिनुपर्ने रहेछ? 

सत्यतथ्य अकाट्य हुनैपर्छ। विश्लेषण विवेकयुक्त र मूल्यांकन मननयोग्य हुनैपर्छ। 

पुस्तक लेख्न खोजअनुसन्धानमा कति समय दिनुभयो ? अथवा तपाईंको डायरी नै पर्याप्त थियो? 

पत्रकारिताले मलाई सुनेको, देखेको र पढेको कुरा टिपेर राख्न सिकायो। तपाईंलाई थाहैै छ, म १३ वर्षको उमेरमा पत्रकारितामा प्रवेश गरेको थिएँ– तत्कालीन लोकप्रिय दैनिक ‘कमनर’ को सहप्रकाशन ‘दैनिक जनता’ को सम्पादकका रुपमा। म दैनिक डायरी पनि लेख्छु। 'क्रान्ति र प्रतिक्रान्ति' को प्रकाशनपछि अर्को पुस्तक लेख्ने काम पनि सुरु भइसकेको छ। 

अब पनि राजनीति र कूटनीति विषयमै लेख्नहुन्छ कि अन्य विधा?

सृष्टिकालदेखि मानिस सुखको खोजीमा भौंतारिएको छ। सुखी हुने अतृप्त तृष्णा पूरा नहुँदै मृत्यु र पुनर्जन्म भइरहेको छ। यसबारे उपन्यास लेख्न थालेको छु। त्यस्तै अर्को एउटा पुस्तक नेपालको सुरक्षा कवचका रुपमा परराष्ट्र नीति र कूटनीतिक सीपबारे लेख्दै छु।

तपाईंले दोहोर्याए पढेका पुस्तक कुनकुन हुन्?

बाबुराम अचार्यको ‘अब यस्तो कहिल्यै नहोस्’ र योगी नरहरिनाथको ‘अनुसन्धानात्मक इतिहास’ दोहोर्याएर तेहेर्यएर पढेको छु। यसैगरी बर्टाड रसेलको ‘माइन्ड’ र जेफ्री आर्चरको ‘फस्ट एमोङ इक्वेल्स’ पनि धेरै पटक पढेको छु। 

पढ्ने समय र ठाउँ निश्चित छन् कि?  

पढ्ने र लेख्ने दुवै काम घरमै रहेका बेला गर्छु। राति अबेरसम्म पढ्न र लेख्न आनन्द लाग्छ। 

तपाईंको विचारमा नेपाली पाठकले कस्ता पुस्तक बढी मन पराउँछन्? 

यसै भन्न सक्दिनँ। ‘कूटनीति र राजनीति’ पाठकले धेरै मन पराएकै कारण यसै साता छैटौं संस्करण प्रकाशित भएको छ। ‘क्रान्ति र प्रतिक्रान्ति’ पनि धेरै पाठकले मन पराएको सूचना पाएको छु। 

प्रतिक्रिया दिनुहोस्