धनगढी- सडक माथिबाट खसेको ढुंगा लागेर दुईवटा जिपमा क्षति पुगेको छ। दार्चुलाको मार्मा गाउँपालिका–३ रिल पहिरो क्षेत्रमा माथिबाट खसेको ढुंगा लागेर बा २१ च ७२७९ नम्बरको स्कारपियो र से १ ज ८४९ नम्बरको बोलेरो जीपमा क्षति पुगेको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दका अनुसार लटिनाथबाट गोकुलेश्वरतर्फ जाँदै गरेको जिप चालकले रोकेर भाडा संकलन गर्दै गर्दा माथिबाट खसेको ढुंगा लागेर जिपमा क्षति पुगेको छ।
ढुंगा लागेर बोलेरो जिपको अगाडि र स्कारपियोको पछाडिको भागमा क्षति पुगेको सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले बताए।
स्थानीयका अनुसार ८८ वर्षदेखि रिलमा पहिरो गइरहेको छ। रिल पहिरोका कारण दार्चुलाको मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिका जोड्ने बिटुले लटिनाथ पारिबगर खण्डेश्वर सडक सञ्चालनमा समस्या भइरहेको मार्मा गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष पुष्करसिंह बिष्टले बताए।
‘पहिरोका कारण वडा नम्बर ३ को सल्लेथुम वस्ती जोखिममा छ,’ अध्यक्ष विष्टले भने, ‘स्थानीय रनबिर सिंह बिष्टको घर पनि जोखिममा छ।’
मार्मा गाउँपालिका वडा नम्बर ३ रिलमा विसं १९९० सालको भूकम्पका कारण पहिरो गएको थियो। बेलाबेलामा पहिरो खसिरहने भएकाले सो क्षेत्रको नाम रिल पहिरो रहन गएको विष्टले बताए।