आख्यानकार तथा सम्पादक अर्चना थापाको ‘कठपुतला’ कथा संग्रह प्रकाशित छ। उनको सम्पादनमा ‘टेलिङ अ टेल’ र ‘स्वअस्तित्वको खोज’ यसअघि नै पाठकमाझ आइसकेका छन्।
‘आह्वान समूह’ की संस्थापक थापा प्रकाशन गृह ‘अक्षर क्रिएसन’ की सञ्चालक हुन्। लैंगिक विषयसँग सम्बन्धित उनका लेखरचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित छन्।
पछिल्लोपटक थापाको सम्पादनमा ‘स्मृतिकथामा सत्त्व’ स्मृतिहरूको संग्रह प्रकाशन भएको छ। सोही कृतिमा आधारित रहेर थापासँग नेपाल समयले गरेको कुराकानी –
‘स्मृतिकथामा सत्त्व’ योे शीर्षकका बारेमा स्पष्ट पारिदिनुस् न।
स्मृतिकथा भन्नाले विगतका अनुभव भन्ने स्पष्ट हुन्छ र सत्त्व भनेको ‘स्व’ वा कथा लेख्ने व्यक्तिको स्मृति हो।
स्मृति वा संस्मरण प्रायः जीवनको उत्तरार्धमा लेख्ने वा लेखाउने परम्परा छ। यसमा त नयाँ पुस्ताका स्मृतिहरू संगृहीत छन्। यसको कारण के होला?
जीवनको उत्तरार्धमा लेखिने अनुभूति, संस्मरण, डायरी र आत्मकथाको आफ्नै महत्त्व छ। गत वर्ष हजुरआमाहरूको अनुभवहरूको सँगालो ‘हजुरआमाका कथा’ अक्षर क्रिएसन्सबाट प्रकाशित भएको छ।
नयाँ पुस्ताका अनुभव र स्मृतिको महत्त्व जीवनको उत्तरार्धमा लेखेका आत्मकथाभन्दा कम हुँदैन। नेपाली पुस्तक बजारमा त्यस्ता आत्मकथा छापिएका पनि छन्।
युवा पुस्ताका आत्मकथा अपेक्षाकृत कम छापिन्छन् किनकि हाम्रो समाजमा आत्मकथा, संस्मरण वा डायरी लेख्नका लागि लेखकले विशिष्ट उपलब्धि हासिल गरेको, पद, पदक र पुरस्कारबाट सम्मानित भएको, सामाजिक प्रतिष्ठा पाएको वा नेता भएको हुनुपर्छ भन्ने भ्रम छ। त्यस्ता आत्मकथाहरू आत्मश्लाघाले भरिएका हुन्छन्।
सेलिब्रिटी युवा, विवादित युवा वा युवा नेताका आत्मकथा, संस्मरण वा डायरी बढी बिक्ने सम्भावना भयो भने छापिन्छन्। उनीहरूका प्रशंसक र कार्यकर्ताहरूको संख्या ठूलो हुन्छ र किताब बढी बिक्छ।
‘स्मृतिकथामा सत्त्व’ एकदम फरक कृति हो। यसको उद्देश्य भिन्नै छ। त्यसैले यसमा समेटिएका स्मृतिमा पद, पुरस्कार जितेको महिमागान, ‘सेलिब्रिटी’ का अनुभव र आत्मवर्णन छैन।
तपाईंको सम्पादनमा यसअघि प्रकाशित पुस्तकहरूभन्दा ‘स्मृतिकथामा सत्त्व’ पुस्तकमा के भिन्नता छ?
मैले यसअघि सन् २०१० मा ‘टेलिङ अ टेल’ र सन् २०१२ मा ‘स्वअस्तित्वको खोज’ को सम्पादन गरेकी थिएँ। दुवै कृति नारीहरूको आत्मपरक अनुभूतिको संकलन थियो। दुवै कृतिमा नारीत्वको विविधता र बहुलता, स्वतन्त्र अस्तित्वको चाहना, फरक इच्छा र सपना भए पनि समाजले उनीहरूसित गरेको एउटै ‘रोल’ को अपेक्षा र ती अपेक्षालाई चुनौती दिँदै लेखकहरूले गरेका संघर्ष र नयाँ परिचय निर्माणका अनुभव समेटिएको थियो।
‘स्मृतिकथामा सत्त्व’ मा नारीहरूका अनुभूतिसँगै पुरुष हुनुका अनुभव र फरक लैंगिक र यौनिक परिचयका अनुभव, पारिवारिक, सामाजिक र सांस्कृतिक अंकुशहरू, अपेक्षाहरू, विसंगतिहरू र तीप्रतिको आक्रोश, व्यक्तिगत संघर्ष र सामाजिक न्यायका विषय समेटिएका छन्। ती व्यक्तिगत अनुभवमा समेटिएर आए पनि सामाजिक र राजनीतिक विषय हुन्।
सशक्तीकरणका लागि यस्ता पुस्तक कत्तिको सहायक हुन्छन्? कतिपय यस्ता पुस्तक त केही समय चर्चामा रहेर हराउँछन्, हैन?
हामीले विकास र समृद्धिका कुरा सुन्दै आएका छौं। समाज समतामूलक समावेशितातिर अग्रसर रहेका कुरा पनि सुन्दै आएका छौं। देश समृद्ध भयो भने सामाजिक संरचनामा फस्टाइरहेका विभेद र पूर्वाग्रह स्वतः समाधान हुँदै जान्छन्। तर त्यो भ्रम हो। यस्ता पुस्तक सशक्तीकरणमा कति सहायक हुन्छन् त्यो दाबी गर्न त सक्दिनँ। तर हाम्रो दैनिक जीवनमा श्रव्य र दृश्य माध्यमबाट विभिन्न खालका विभेद, पूर्वाग्रह, ‘स्टिरियोटाइप’ हरूको पुनरावृत्ति भइरहेको हुन्छ।
त्यस्ता विषय हेर्दा र सुन्दा हामीलाई पनि ती विभेद सामान्य लाग्न थाल्छन्। मलाई विश्वास छ यो कृतिले यस्तै सामान्य लाग्ने विभेदप्रति पाठकलाई सचेत गराउँछ र परिवर्तनका लागि उत्प्रेरित गर्छ। हो, नयाँ कृति आउँदा निक्कै चर्चा हुन्छ र अर्को नयाँ आउने कृतिले पहिलोलाई विस्थापित गर्छ। तर राम्रा कृति हराउँदैनन्।
समयक्रममा नयाँ पाठकले त्यसको खोजी गर्छन् र कृतिका आयामबारे नयाँ पुस्ताका पाठकले फेरि बहस र विश्लेषण सुरु गर्छन्। ‘स्मृतिकथामा सत्त्व’ मा रहेका धेरै कथाको विषय जेन्डरसित सम्बन्धित छ। जेन्डर सर्वकालीन बहसको विषय हो। जेन्डर विवादित विषय पनि हो। त्यसैले मलाई लाग्छ यो कृति सजिलै हराउँदैन।
‘स्मृतिकथामा सत्त्व’ किन पढ्ने?
स्मृतिकथामा सत्त्वमा बहुल विषय र बहुल अनुभव समेटिएका छन्। यथास्थितिलाई अस्वीकार गरेर नयाँ परिचय निर्माण क्रममा गरिएका आत्मसंघर्षका कथा छन्। आत्मसम्मानका लागि लिएका निर्णयका कथा छन्।
त्यसैले यसमा ‘सर्भाइभल’ का कथा छन्। सामाजिक न्यायका कुरा गर्नु जति सजिलो छ, व्यक्तिगत रूपमा जातीय, लैंगिक, वर्गीय, यौनिक, भाषिक विभेदहरू भोग्नु र एक्लै संघर्ष गर्नु त्यति नै गाह्रो छ। यी कथाहरूले पाठकलाई परिवर्तनका लागि निरन्तर प्रयास गरिरहन प्रेरित गर्छन्। सकारात्मक परिवर्तनका सम्भावना बोकेका यी कथाले पाठकलाई गम्भीर भएर सोच्न बाध्य गर्छन् भन्ने आशा लिएकी छु।
कृति सम्पादन गर्नु र लेख्नु कुन सजिलो काम हो जस्तो लाग्छ?
कृति लेख्नु र सम्पादन गर्नु दुवै फरक कुरा हुन् र कठिन पनि। कृति लेखनमा लेखकको आफ्नो लेखनशैली, विचार, दृष्टिकोण, तार्किकता, अनुभव, सोचाइ र कल्पनाशीलता हुन्छ।
सम्पादनमा पुस्तकको समग्र संरचना, विषय, सत्य र तथ्यका साथै लेखकको आवाज, भावना र संवेदनालाई नबिगारी सम्पादन गर्नुपर्ने हुन्छ। सम्पादकको वर्चस्व भएमा लेखकको लेखनीप्रति न्याय हुँदैन। मेरा लागि कृति लेख्नु कठिन काम हो।