काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल कोरोना भाइरसको हब अस्पताल हो। नेपालमा कोरोना संक्रमणको सुरुवाती समयदेखि नै यस अस्पतालले संक्रमितको उपचार गर्दै आएको छ।
टेकुमा दैनिक १ हजारभन्दा बढी मानिस कोरोना परीक्षणका लागि पुग्छन्। अस्पतालमा अहिले पनि ५५ जना संक्रमित उपचार गराइरहेका छन्।
गत माघ १० गते चीनको वुहानबाट आएका एक नेपालीलाई ज्वरो आउन थालेपछि टेकु अस्पताल पुगे। चीनमा कोरोना पुष्टि भइसकेकाले र उनी चीनबाट आएको हुनाले कोरोना परीक्षणको लागि उनको स्वाब निकालेर हङकङ पठाइयो।
त्यतिबेला नेपालमा कोरोना निर्क्योल गर्न सकिने ल्याब नै थिएन। रिपोर्ट नआउन्जेल उनी अस्पतालमा बसे। केही दिनमा कोरोना पोजेटिभ भएको रिपोर्ट आयो। उनी १३ दिन अस्पतालमा बसेपछि उनी कोरोनामुक्त भएर घर फर्किए।
नेपालमा पहिलो संक्रमण पुष्टि हुँदा उपचारको लागि न त सरकार तयारी अवस्थामा थियो, न कुनै अस्पताल नै। पहिलो कोरोना संक्रमित बिरामी पत्ता लगाउने समयमा टेकु अस्पताल पनि सुरक्षित थिएन, न त चिकित्सक सुरक्षित थिए। यहाँसम्म कि डाक्टर, नर्ससँग गतिलो मास्क पनि थिएन। पहिलो संक्रमितको पहिचान हुँदासम्म चिकित्सकहरुले पीपीई नै लगाएका थिएनन्। अन्य सुरक्षा सामग्रीको पनि अभाव थियो। भाग्यवश नै भनौं, चिकित्सकमा कोरोना भाइरस सर्न पाएन।
चैत ९ गते दोस्रो संक्रमण पुष्टि हुँदा पनि कोरोना संक्रमितका लागि त्यस्तो कुनै विषेश व्यवस्था गरिएको थिएन हामीकहाँ।
चैत ११ गते लकडाउन सुरु भएपछि मात्र शुक्रराज अस्पताललाई पूर्ण रुपमा कोरोनाको उपचार गर्ने अस्पतालको रुपमा परिणत गरियो। अन्य अस्पतालमा पनि अत्यावश्यकबाहेकका सेवा बन्द भए।
संक्रमणको सुरुवाती समयमा टेकु अस्पताल परिसरमा पुग्दा पनि कोरोना संक्रमण हुन्छ भनेर मानिसहरु डराउँथे। अझै पनि त्यो मानसिकता पाइन्छ कतिपयमा।
करिब ४ महिना लकडाउन भएर साउन पहिलो साता खुलेपछि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। संक्रमित हुनेमा चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी पनि उल्लेख्य छन्। आज (शुक्रबार) सम्मको तथ्यांकअनुसार संक्रमित स्वास्थ्यकर्मीको संख्या ४ सय नाघेको छ। थुप्रै अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित भएका छन्।
सुरुको दिनबाटै कोरोना संक्रमितको उपचारमा तल्लिन टेकु अस्पतालमा भने अहिलेसम्म कोही पनि चिकित्सक तथा स्वास्थ्यकर्मी संक्रमित भएका छैनन्। अहिलेसम्म करिब ३ सय संक्रमितलाई कोरोनामुक्त बनाएर घर पठाइसकेको अस्पतालले स्वास्थ्यकर्मीलाई भने अहिलेसम्म जोगाउन सकेको छ।
कसरी सम्भव भयो ?
टेकु अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीका अनुसार अस्पतालको माहोल नै संवेदनशील छ।
‘एक चिकित्सक वा स्वास्थ्यकर्मी संक्रमित हुनु भनेको सयौं अन्य मानिस संक्रमित हुनु हो। त्यसैले चिकित्सकलाई जोगाउन टेकु अस्पतालले भरमग्दुर प्रयास गरेको छ,’ राजभण्डारीले भने, ‘अस्पतालमा हरेक दिन कोरोना संक्रमितले बेड भरिएका हुन्छन्। लकडाउन भएपछि दैनिक झन्डै २ हजार मानिस पीसीआर परीक्षणको लागि आउँछन्। अहिले निषेधाज्ञा भएपछि ४ सयको हाराहारीमा आइरहेका छन्।’
टेकु अस्पताल पहिलदेखि नै सरुवा रोग केन्द्रित अस्पताल भएकाले पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरु सरुवा रोगप्रति सचेत बन्दा संक्रमण नभएको डा. राजभण्डारी बताउँछन्। उनले भने, ‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरु सरुवा रोगबाट आफूलाई कसरी बचाउने भन्ने बारेमा जानकार छन्। उनीहरु सरुवा रोगबारे पहिले नै अभ्यस्त भइसकेका हुन्छन्।’
कोरोना सक्रमण सुरु भएपछि अस्पतालको संरचना पनि फेरिएको छ। अस्पतालमा नेगेटिभ प्रेसर रुमको निर्माण गरिएको छ। बिरामीले कोठाभित्र फेरेको सास अन्य वार्ड वा अस्पतालका अन्य बिरामीमा पुग्न पाउँदैन। त्यसलाई मेसिनबाट फिल्टर गरेर मात्र बाहिर पठाइन्छ। यसले गर्दा ‘क्रस इन्फेक्सन’ हुन पाउँदैन। अस्पतालले दिनको ४ पटकसम्म वार्डहरु सफा गर्ने तथा डिसइन्फेक्ट गर्ने गरेको छ।
‘यसबेला अस्पतालले आफ्ना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पर्याप्त मात्रामा पीपीईलगायत सुरक्षाका सामग्री उपलब्ध गराउनुपर्छ। टेकु अस्पतालले आफ्ना कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई कामको प्रकृति अनुसार पीपीई उपलब्ध गराएको छ। एकपटक प्रयोग गरिएको पीपीई अर्कोपटक प्रयोग गर्न दिइएको छैन। एकजना चिकित्सकलाई जोगाउनु भनेको सयौं अन्य मानिसलाई जोगाउनु हो। त्यसैले हामीले चिकित्सकको सुरक्षामा कुनै सम्झौता गरेका छैनौं,’ डा. राजभण्डारीले भने।
अस्पतालमा भएका संक्रमितले प्रयोग गरेका सामान पनि मापदण्डअनुसार नै डिस्पोज गर्ने गरिएको उनी बताउँछन्। बिरामीले प्रयोग गरेका बेडसिट लगायत अन्य कपडा दिनहुँ ९० डिग्री सेल्सियस तापक्रममा धोइन्छ। बिरामी राख्ने बेडको दूरी पनि पर्याप्त कायम गरिएको छ।
डा. राजभण्डारीले भने, ‘चिकित्सकहरुलाई पनि एकैपटक आईसीयूमा प्रवेश दिँइदैन। आईसीयूको ड्युटीमा एकजना स्वास्थ्यकर्मी हुन्छन्, ती स्वास्थ्यकर्मीले आवश्यक पर्दा मनिटरबाट चिकित्सक वा अन्य कुराको आवश्यकता भएको जानकारी गराउँछन्। त्यसपछि अन्य चिकित्सक आईसीयूमा प्रवेश गर्छन्। अस्पतालको परिसरमा बिहान र बेलुका २ पटक डिसइन्फेक्सन गरिन्छ।’
अस्पतालमा इन्फेक्सन प्रिभेन्सन अफिसर (आईपीओ) ले चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीले पीपीई लगाए–नलगाएको, सरसफाइ भए–नभएको आदि अनुगमन गर्छन्।
कोभिडको सुरुवाती समयमा अस्पतालमा व्यवस्थित आईसीयू, अक्सिजनलगायत अत्यावश्यक सामग्री पर्याप्त थिएनन्। चिकित्सकको पनि कमी थियो। निर्देशक डा. राजभण्डारी भन्छन्, ‘मन्त्रालयले चिकित्सकको पनि पर्याप्त व्यवस्था गरिदिएको छ। अहिले आईसीयू २० वटा, आइसोलेसन बेड ३५ वटा छन्। सबै बेडमा अक्सिजन उपलब्ध छ।’
कर्मचारी तथा स्वास्थ्यकर्मीलाई उनीहरुको चाहनाअनुसार बस्ने व्यवस्था मिलाइएको छ। घरमा बस्न सम्भव नभएका स्वास्थ्यकर्मीलाई अस्पतालले नै बस्ने व्यवस्था गरेको छ। १२ घण्टा काम गरेपछि २–३ दिन छुट्टी पाउँछन्।
अस्पतालहरुले स्वास्थ्यकर्मीलाई जोगाउनुपर्नेमा डा. राजभण्डारी जोड दिन्छन्। ‘स्वाथ्यकर्मीलाई सुरक्षित नराख्ने हो भने भोलिका दिनमा अस्पताललाई धौ–धौ पर्न सक्छ। अस्पतालको संरचनामा सुधार, अक्सिजनको व्यवस्था, स्वास्थ्यकर्मीलाई तालिमको व्यवस्था गर्नुपर्छ। कोरोना संक्रमणको अर्को चरण भयो भने अस्पताललाई गाह्रो हुन्छ,’ डा. राजभण्डारी भन्छन्।