काठमाडौं- कोरोना संक्रमण पहिचान भएकै अस्पतालमा बिरामीको उपचार गर्नुपर्ने भएको छ।
जुन अस्पतालमा कोरोना संक्रमितको पहिचान भएको हो, सोही अस्पतालमा उपचार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई निर्देशन दिएको छ।
कोरोना संक्रमण पुष्टि भएपछि अन्य अस्पतालमा रिफर गर्दा संक्रमितले समयमै उपचार गर्न नपाएर ज्यान गुमाउनुपर्ने अवस्था आएपछि मन्त्रालयले यस्तो नियम लागू गरेको हो। स्वास्थ्य मन्त्रालयका अनुसार यो नियम सरकारी तथा निजी दुवैखाले अस्पतालमा लागू हुनेछ।
यसअघि सरकारले कोरोना संक्रमितका लागि निश्चित अस्पताल तोकेको थियो। अन्य अस्पतालमा संक्रमित पहिचान भए तिनै अस्पतालमा पठाउने गरिन्थ्यो। संक्रमित बढ्दै जाँदा अब यसअघि तोकिएका अस्पतालले मात्रै सेवा दिन नसक्ने भएकाले अब सबै अस्पतालमा उपचार हुने व्यवस्था सरकारले गरेको हो।
कोरोना संक्रमण भए पनि सबैले अस्पतालमा भर्ना भने पाउने छैनन्। लक्षण देखिएका संक्रमितलाई मात्रै अस्पताल भर्ना गर्ने र अरुलाई आइसोलेसन सेन्टर वा होम आइसोलेसनमा राख्ने नीति सरकारले लिएको छ।
गम्भीर बिरामीले बेड नपाउने तर लक्षण नभएका बिरामीले बेड ओगट्दा समस्या देखिएको तर्क स्वास्थ्य मन्त्रालयको छ।