बिहिबार, कात्तिक १३, २०७७

Happy Dashain
स्वास्थ्य/जीवनशैली

देशमा स्वास्थ्यको परिभाषा कहिले फेरिएला?

1602309316.jpg
तस्बिर साभार : दडक्टरवेस्इन डट कम

निको, सन्चो, सुबिस्ता, आराम, आनन्द, निरोग, आरोग्यजस्ता शब्द स्वास्थ्यसँग सम्बन्धित छन्। यिनलाई हामी सामान्य सञ्चार सम्पर्क वा भेटघाटमा पनि प्रारम्भिक शिष्टाचारका रूपमा प्रयोग गर्छौं।

भेटघाटमा ‘आरामै हुनुहुन्छ नि! निकानन्दै? सन्चोसुबिस्तै?’ भनिन्छ। अङ्ग्रेजीमा  ‘हाउ आर यू?’ भनेको पनि यस्तै सन्चसुबिस्तै भनेर सोधेजस्तो रहेछ र त भनिन्छ- ‘आई एम फाइन।’ 

यसो भए पनि स्वास्थ्य भन्यो भनेचाहिँ कुनै शारीरिक रोग वा मानसिक समस्या नभएको अवस्थाको चित्र हाम्रो समझले समाउँछ। अझ स्वास्थ्यसेवा भन्यो भने त बिमारी हुँदा गरिने चिकित्सात्मक औषधिउपचारमा हाम्रो दिमाग दगुर्छ। किनभने दुःख, दुखाइ, पीर, चिन्ता, बिमार, आघात, रोग, बिसन्चो, असुबिस्ताजस्ता कुराले चाहिँ अस्वस्थता वा बिरामी अवस्था जनाउँछन्।

त्यसैको निवारणलाई मात्र धेरैजसो अवस्थामा हामी स्वास्थ्यका रूपमा बुझ्ने गर्छौं। यसको अर्थ सामान्यतः  आममानिसमा स्वास्थ्यबारे धनात्मकभन्दा ऋणात्मक अवधारणा नै स्थिर भएर बसेको हुन्छ। 

तर, सत्य त्यस्तो छैन। स्वास्थ्यका धनात्मक र ऋणात्मक दुवै आयाम छन्। अनि हामीले प्राथमिकता दिनुपर्ने कुरा पनि त्यही धनात्मकतातर्फ हो।

धनात्मक स्वास्थ्य (पोजिटिभ हेल्थ) र धनात्मक मनोविज्ञान (पोजिटिभ साइकोलजी) का बारेमा नेपालको स्वास्थ्य शिक्षा तथा स्वास्थ्यसेवा प्रणालीले खासै सम्बोधन गरेको पाइँदैन तर ध्यान दिनुपर्ने र प्रवर्द्धन गर्नुपर्ने पाटोचाहिँ धनात्मक स्वास्थ्य नै हो।

के हो धनात्मक स्वास्थ्य?

एलोपेथिक चिकित्सा क्षेत्रले लामो समयदेखि रोगको रोगथाम, निदान, औषधोपचार र तिनलाई निको पार्ने कुरामा जोड दिँदै आयो। रोगको उपस्थिति नहुनु मात्र स्वास्थ्य हो?  

यो प्रश्न लामै समय चिकित्सापद्धतिमा उठेन। मानिसलाई जब उत्पादकत्व र गुणस्तरको उच्च स्रोत पहिचान गरियो तब धनात्मक स्वास्थ्यको अवधारणाले स्थान पाउन थाल्यो। शारीरिक स्वास्थ्यसँग मानसिक स्वास्थ्यको गहिरो र असरदार सम्बन्ध रहेका तथ्यहरूको खुलासा हुँदै जाँदा धनात्मक स्वास्थ्यको परिप्रेक्ष्य स्वीकार गरिँदै आएको छ।

खासमा  स्वास्थ्य भनेको मानिसको शारीरिक, मानसिक र सामाजिक आरोग्यता हो। विश्व स्वास्थ्य सङ्गठनको विधानले नै  ‘रोग वा विमारको अनुपस्थिति मात्र नभएर पूर्ण शारीरिक, मानसिक र सामाजिक निकानन्द अवस्था नै स्वास्थ्य हो’  भनेको छ। 

धनात्मक स्वास्थ्य भनेको स्वास्थ्यकर दीर्घजीवनका लागि अपरिहार्य हुने जीववैज्ञानिक वा शारीरिक तत्त्व र आशावादिता, सक्रियताजस्ता मानसिक मनोवैज्ञानिक तत्त्वहरूको तन्दुरुस्तता हो। अर्थात् शारीरिक तथा मानसिक दुवै रूपमा स्वास्थ्यको समुचित व्यवस्थापन नै धनात्मक स्वास्थ्य हो।

धनात्मक स्वास्थ्यले खाली रोगको रोकथाम, निदान, स्याहार र उपचारका कुरा मात्र नगरेर पोषण, वातावरण, आहारविहारसहित शारीरिक तथा मानसिक सहजता र सन्तुलनको कुरा गर्छ। आयुर्वेदीय पद्धतिमा धनात्मक स्वास्थ्यको  अवधारणा रहँदै आएको छ। 

के हाे आध्यात्मिकता स्वास्थ्यको विषय?

अध्यात्म भन्नेबित्तिकै धेरैले यसलाई भौतिक वा मूर्तताको उल्टो अभौतिक वा अमूर्त सोच वा विश्वास भन्ठान्छन्। जीवन र जगतको मूल शक्ति पदार्थ हो कि चेतना हो? भन्ने दार्शनिक छलफल हुने गरेकाले हामीलाई अन्योलमा पार्ने गरेको छ। मानवस्वास्थ्यका सन्दर्भमा गरिने आध्यात्मिकता यस्तो दार्शनिक विवादको विषय होइन।

स्वास्थ्यविज्ञानमा आउने आध्यात्मिकता (स्पिरिचुआलिटी) दर्शन वा विचारधाराका रूपमा चर्चा हुने भौतिक वा अध्यात्मवादको द्विचरविरोधी अवधारणाको रूपमा होइन।

स्वास्थ्यविज्ञानलाई हामीले शारीरिक र मानसिक दुई फाँटमा राखेर हेर्ने भएकाले मानसिक स्वास्थ्यको एक आयामका रूपमा आध्यात्मिकता उपस्थित हुन्छ।

विश्व स्वास्थ्य संगठनले ‘हरेक व्यक्तिले आफ्ना सम्भाव्यताको प्रत्यक्षीकरण गर्न सक्ने, जीवनमा सामान्य दबाबहरूको सामना गर्न सक्ने गरी उत्पादनशील र फलदायी काम गर्न सक्ने, एवं समुदायलाई योगदान गर्न शारीरिक, मानसिक र सामाजिक रूपमा सक्षम रहेको सन्चोसुबिस्ताको स्थिति’ लाई मानसिक स्वास्थ्य भनेको छ।

आध्यात्मिकता मानसिक स्वास्थ्यको एउटा महत्त्वपूर्ण पाटो हो। स्वास्थ्यविज्ञानका हिसाबले आध्यात्मिकता धर्मिक वा दार्शनिक विषय नभएर मानिसको विश्वास र विश्वासप्रणालीसँग सम्बन्धित मानसिक  वा मनोवैज्ञानिक स्वास्थ्यभित्रको विषयवस्तु हो। 

केके हुन् त स्वास्थ्यका सूचक?

स्वास्थ्यका प्रारम्भिक आयाम धनात्मक र ऋणात्मक हुन्। त्यसलाई हामी रुग्णता/रोग (इलनेस) र आरोग्य/निकानन्द (वेलनेस) भन्न सक्छौं। यी दुईको मध्यबिन्दु तटस्थ अवस्था हो। त्यसलाई हामी यसअनुसार बुझ्न सक्छौं–

आरोग्यताका पाँच प्रमुख आयाम हुन्छन्। शारीरिक वा भौतिक आरोग्यताभित्र  रोग वा बिमारको अनुपस्थिति, शारीरिक बनोट र अवयवहरूको सबलतासाथ राम्रो प्रतिरोध क्षमता पर्दछन्।

बौद्धिक वा मेधावी आरोग्यताभित्र सूचनाहरूको प्रक्रिया गरेर समस्याको समाधान निकाल्ने सक्षमता पर्दछ। संवेगात्मक वा भावनात्मक आरोग्यताभित्र कुनै पनि कुरालाई अनुभूत-अनुभव गर्ने तिनलाई व्यक्त गर्ने र आवश्यकताअनुसार तिनलाई आफ्नो वशमा राखेर परिचालित गर्ने कुरा पर्दछन्।

सामाजिक आरोग्यताभित्र परिवार, समुदाय र समाजभित्र अरू मानिससँग जोडिएर विभिन्न खालका सम्बन्धलाई व्यवस्थित गर्ने क्षमता पर्दछ। यसै गरी आध्यात्मिक आरोग्यताभित्र आफ्नो अस्तित्वबोध, जीवनप्रतिको सकारात्मक दृष्टि, आफू र आफ्नै जीवन तथा स्वास्थ्यआदिको ज्ञान र समय तथा स्थानको अभिमुखीकरणसहित विगत वर्तमान र भावी जीवनचेतना पर्दछन्। 

कसरी हुन्छ स्वास्थ्यका सन्दर्भमा आध्यात्मिकताको मापन?

धनात्मक स्वास्थ्यका हिसाबले मानिसको शारीरिक, बौद्धिक, र संवेगात्मक आरोग्यताको मापन गर्ने सूचक हुन्छन् । उदाहरणका लागि, शारीरिक स्वास्थ्यको मापनका लागि एक दिनमा मानिसले कति समय श्रम वा काममा कति समय व्यायाममा र कति समय आराम गर्छ भन्ने कुराको मापन गरिन्छ।

जस्तो भनौं,  कुनै मानिसका अरू सबै कुरा ठीक छन् तर उसलाई आरामका लागि सुत्दा निद्रा आउँदै आउँदैन भने शारीरिक र मानसिक सूचकको आधारमा उसको आरोग्यता औसत धनात्मक छैन। हो यसरी नै आध्यात्मिकताका पनि सूचकहरूको स्तरमान (स्केलिङ) मापन गरेर धनात्मकता जाँच्न सकिन्छ।

आध्यात्मिक आरोग्यता वा रुग्णता पनि मानसिक  वा मनोवैज्ञानिक स्वास्थ्यमा रोग, समस्या र विचलनहरूको मापन गरेजस्तै गरी मापन हुन्छ । धनात्मक मनोवैज्ञानिक स्वास्थ्यका हिसाबले आध्यात्मिक आरोग्यता मापनका लागि जीवनप्रतिको प्रसन्नता-आत्मप्रसन्नता, प्रकृतिका उपहारलाई हेर्ने दृष्टिकोण र प्रकृति र त्यसको सौन्दर्यबाट लिइने आनन्द, आफ्नै जीवनको आफ्नै लागि र समाजका लागि रहेको महत्त्वको बोध र सोच, आफूबाहेक अरू चिजबिजको महत्त्वप्रतिको विश्वास, प्रतिफल नलिई वा अपेक्षा नगरी परोपकारको संलग्नता, अरूले कठिन परिस्थिति बेहोर्दा अनुभव गर्ने समानुभूति र सहयोगको प्रयास, अरूसँगको मानवीय निकटानुभव वा हार्दिकता, समुदायको अन्तरवैयक्तिक सम्बन्ध र समग्र शान्तिप्रतिको रुझान, आफूप्रतिको आल्नै सन्तुष्टि र जीवनको परिपूर्णता बारेको मानसिक भावका आधारमा आध्यात्मिकता मापन गरिन्छ। उल्लेख गरिएका विषयमा  ऋणत्मक अवस्था देखिएमा त्यो मानिस स्वस्थ हो भन्न सकिँदैन।  

अन्त्यमा,
जनस्वास्थ्यको अवधारणाभित्र सामुदायिक स्वास्थ्यको सन्दर्भमा खालि शारीरिक स्वास्थ्य–समस्याको निदान र उपचारको सेवालाई अझै पनि हाम्रो नेपालमा स्वास्थ्यसेवा भन्ने गरिएको र त्यसैअनुसार व्यवहार भइरहेको छ।

मानसिक स्वास्थ्यसेवाअन्तर्गत मनोचिकित्सा (साइक्याट्री), मनोउपचार (क्लिनिकल) विमर्श र मनोसामाजिक (साइकोसोसल) सेवाहरूको संयोजित सेवाप्रवाहको “सिंहदरबार” गाउँगाउँमा कहिले पुग्ला? यो त चिन्ताको विषय छ नै।

त्योभन्दा पनि स्वास्थ्यसेवाका एलोपेथी, होमियोपेथी, आयुर्वेद, प्राकृतिक चिकित्सा र आम्चीजस्ता विभिन्न पद्धतिका नीतिगत प्राधिकारीले आआफ्ना स्वास्थ्यसेवामा धनात्मक स्वास्थ्यको अवधारणालाई कहिले प्रणालीबद्ध गर्लान् भन्ने प्रश्नचाहिँ अझ गहन छ।

धनात्मक स्वास्थ्यको अवधारणामा आयुर्वेदपद्धतिको ठूलो योगदान रहन सक्ने अवस्था हुन सक्छ किनभने आयुर्वेद र योगका दुई पद्धतिले आध्यात्मिकतालाई स्वास्थ्यको अभिन्न अङ्ग मानिआएका छन् । चिकित्सा वा स्वास्थ्यको दृष्टिको आध्यात्मिकता र धर्म वा दर्शनको दृष्टिको आध्यात्मिकतामा ठूलो अन्तर छ।

धर्म र दर्शनको अध्यात्म सम्बन्धित धर्म वा दर्शनका अनुयायीका लागि सबै थोक हो भने चिकित्सा वा स्वास्थ्यको दृष्टिले आध्यात्मिकता भनेको शारीरिक, बौद्धिक वा संज्ञानात्मक, संवेगात्मक, सामाजिक जस्तै एकै स्वास्थ्यको अवधारणाभित्रको पाँचौँ अवयव मात्रै हो। ज्ञानका सँगसँगै विश्वासले पनि मानिसको स्वास्थ्यमा पनि असर पार्ने भएकाले स्वास्थ्यमा यसको भूमिका रहन्छ।

स्वास्थ्यका यी सबै पाटोको स्पष्ट बोधका साथ हाम्रो देशको स्वास्थ्यप्रणालीले कहिले दिशाबोध गर्ला र गति लेला? कोरोनाको कहरलाई कोरोना केयरतिर रूपान्तरण गर्दै गर्दा यी सम्पूर्णता साथको स्वास्थ्यको परिकल्पनालाई साकार बनाउँदै अगाडि बढ्ने मार्गचित्र पनि कोर्ने हैन र अब? हाम्रो देशमा स्वास्थ्यको परिभाषा कहिले फेरिएला र धनात्मक स्वास्थ्यका लागि हाम्रा सबै चिकित्साप्रणालीहरूको परिपूरक भूमिका सुरु होला र ?

प्रतिक्रिया दिनुहोस्