बिहीबार, वैशाख १३, २०८१

मन फुरुंग पार्ने काठमाडौंं वरपरका हाइकिङ रुट

हाइकिङले मानसिक र शारीरिक तन्दुरुस्ती बढाउने मात्रै होइन प्रकृतिसँग घुलमिल हुन र नयाँ ठाउँबारे जान्ने अवसर पनि दिन्छ।
 |  शनिबार, भदौ ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ६, २०७७

हाइकिङले मानसिक र शारीरिक तन्दुरुस्ती बढाउने मात्रै होइन प्रकृतिसँग घुलमिल हुन र नयाँ ठाउँबारे जान्ने अवसर पनि दिन्छ।

triton college

काठमाडौं उपत्यकालगायत सहरी इलाकामा हाइकिङ (छोटो दुरीको पदयात्रा) गर्ने चलन बढेको छ। हेल्थ डट हावर्ड डट ईडीयूका अनुसार प्रकृतिको एकान्तमा हिँड्दा तनाव कम हुनुका साथै शरीर स्वस्थ बनाउन निकै सहयोग गर्छ। हाइकिङ प्राकृतिक सौन्दर्यसँग निकट हुने र नयाँ ठाउँबारे बुझ्ने अवसर पनि हो।

व्यस्त जीवनशैलीबीच शरीर र मनलाई ‘रिफ्रेस’ गर्न हाइकिङ उपयुक्त विकल्प मानिन्छ। हाङकिङ रुट कहिल्यै पुरानो हुँदैन। प्रकृतिमा समयअनुसार फरक–फरक फूल फुलेका हुन्छन्। कहिले काफल पाकेका हुन्छन् त कहिले ऐंसेलु। कहिले पतझड हुन्छ भने कहिले हरियाली। त्यसैले एउटै रुटमा पनि फरक समय र अवधिमा यात्रा गर्दा नौलो अनुभव हुन्छ।

काठमाडौं उपत्यका वरिपरि धेरै हाइकिङ ट्रेल (छोटो दुरीको पदमार्ग) छन्, जहाँ बिहान घरबाट निस्केर बेलुकी फर्किन सकिन्छ। पोखरी आकारको काठमाडौं उपत्यका डाँडाकाँडाले घेरिएको छ। एकदिने हाइकिङमा काठमाडौंका शिवपुरी, चम्पादेवी, नागार्जुन, चन्द्रागिरी, ललितपुरको फूलचोकी, भट्टेडाँडा, लाँकुरी भन्ज्याङ, भक्तपुरको आशापुरीलगायत गन्तव्य चर्चित छन्।

फूलचोकी

corrent noodles
Metro Mart

उपत्यकाको सबैभन्दा अग्लो डाँडा हो– फूलचोकी। ललितपुरको पूर्वी भेगमा रहेको फूलचोकी २,७६५ मिटर उचाइमा छ। गोदावरी कुण्डबाट जंगलैजंगल सुरु हुने यात्रा डाँडा पुग्दा ९ किलोमिटर पूरा हुन्छ। ठाडो उकालो र घना जंगलबीचको ट्रेलमा गरिने यात्रा रोमाञ्चक हुन्छ। समयमा पुग्नसके डाँडाबाट सूर्योदय र सूर्यास्त अवलोकन गर्न पाइन्छ।

फूलचोकी जाडोयाममा हिउँ खेल्ने ठाउँका रूपमा पनि चर्चित छ। लेलेस्थित मनकामना मन्दिर भएर पनि फूलचोकी पुग्न सकिन्छ। तर समय केही बढी (२० किलोमिटर) लाग्छ।

साइक्लिङका लागि पनि यो चर्चित गन्तव्य हो। गोदावरीबाट सडक भएर फूलचोकीको डाँडामा पुग्न सकिन्छ। उकालो र घुमाउरो बाटो भए पनि साइकल चुचुरोसम्मै पुग्छ।

लाँकुरी भन्ज्याङ

ललितपुरको लाँकुरी भन्ज्याङ १,९७७ मिटर उचाइमा छ। लाँकुरी भन्ज्याङलाई केन्द्रमा पारेर थुप्रै हाइकिङ रुट छन्।

भक्तपुर सूर्यविनायक – पाइलटबाबा – लाँकुरी भन्ज्याङ हुँदै लुभु चर्चित रुट हो। यो रुटको दूरी करिब १५ किलोमिटर छ। पाइलटबाबा डाँडाको शिरैशिर भएकाले यो रुटबाट काठमाडौं उपत्यकासँगै विभिन्न हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ।

लुभ–लाँकुुरी भन्ज्याङ हुँदै काभ्रेको रयाले पुग्ने रुट पनि छ। गोदावरीबाट समेत लाँकुरी भन्ज्याङको हाइकिङ गर्न सकिन्छ। यो रुटको दूरी १२ किलोमिटर छ।

भट्टेडाँडा

भट्टेडाँडा महाभारत शृंखलामा पर्छ। २,५०० मिटर उचाइमा रहेको भट्टेडाँडा प्राकृतिक सौन्दर्यको खानी नै हो। डाँडाको केही तल सात कन्या मन्दिर छ। यो रुटमा हिँड्दा ग्रामीण जनजीवन र घना जंगलको अनुभव गर्न पाइन्छ। डाँडामा बर्खायाममा छिनमै कुहिरो लाग्ने र छिनमै मौसम सफा हुन्छ। डाँडामा जहाज निगरानीका लागि राडार राखिएको छ।

भट्टेडाँडाबाट हिमाली सौन्दर्यका साथै काठमाडौं उपत्यकाका अधिकांश भाग देखिन्छ। भट्टेडाँडाबाट दल्चोकी र माझखण्ड पदयात्रा गर्ने रुट छ। तीनपाने– सातकन्या हुँदै भट्टेडाँडा भएर सोही रुट फर्किंदा करिब १३ किलोमिटर हिँड्नुपर्छ।

पाथीभरा

पाथीभरा मन्दिर ललितपुरको दक्षिणी भेक नल्लुमा छ। सातदोबाटोदेखि नल्लुसम्मको दूरी २० किलोमिटर छ। सार्वजनिक यातायात वा आफ्नै सवारीसाधनबाट नल्लु पुगेपछि हाइकिङ सुरु गर्न सकिन्छ। नल्लु खोलाबाट पाथीभरा मन्दिर पुग्न करिब ८ किलोमिटर हिँड्नुपर्छ। मन्दिर १९ सय मिटर उचाइमा छ। लेले कुण्ड–पाथीभरा हुँदै टीकाभैरवसम्म हिँड्दा करिब १७ किलोमिटर दूरी पूरा हुन्छ।

पाथीभराबाट आँखा डुलाउँदा चारैतिर हरियाली देखिन्छ। डाँडाका बीचमा सुन्दर ग्रामीण बस्ती छन्। चराको चिर्बिर सुन्दा, गाउँले जनजीवन बुझ्दा र प्रकृतिमा फलेका फल चाख्दा स्फूर्ति मिल्छ। साइक्लिङका लागि पनि उपयुक्त छ नल्लु–पाथीभरा।

पाथीभराबाट दल्चोकीको मनकामना मन्दिर जान मिल्छ। नल्लु–दल्चोकी दुरी करिब तीन किमि छ। नल्लुबाट भारदेउ गुप्तेश्वर महादेव मन्दिर ८ किमि टाढा छ।

शिवपुरी

काठमाडौं उत्तरमा पर्ने शिवपुरी डाँडा २५६३ मिटर उचाइमा छ। नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्ने यो हाइकिङ रुटको दूरी २० किलोमिटर छ। बूढानीलकण्ठबाट निकुञ्ज प्रवेश गरेपछि विष्णुमतीको मुहान हुँदै डाँडामा पुगिन्छ। सुन्दरीजलबाट बाग्मती नदीको मुहान बागद्वार भएर पनि यो रुटमा यात्रा गर्न सकिन्छ।

वन्यजन्तु, पुतली, चराचुरुंगी र वनस्पतिबारे जानकारी लिन पनि शिवपुरी उपयुक्त छ। शिवपुरीबाट विभिन्न हिमशृंखला पनि देख्न सकिन्छ।

सुन्दरीजल

सुन्दरीजल काठमाडौं नजिकको अर्को चर्चित हाइकिङ गन्तव्य हो। सुन्दरीजलमा वनभोज जाने पनि धेरै हुन्छन्। १२८० मिटर उचाइमा रहेको यो क्षेत्र वरपर रमाइलो प्राकृतिक वातावरण छ। भक्तपुरको चाँगुनारायण–सुन्दरीजल चल्तीको हाइकिङ रुट हो। यसको दूरी करिब १९ किलोमिटर छ।

सुन्दरीजल हुँदै शिवपुरी रुटको दूरी १६ किलोमिटर पर्छ। सुन्दरीजलबाट हाइकिङ गर्दै नगरकोट पनि पुग्न सकिन्छ। यसको दूरी २६ किलोमिटर छ।

चम्पादेवी

काठमाडौंको पश्चिममा पर्ने चम्पादेवी डाँडा २,२८५ मिटर उचाइमा छ। डाँडैमा चम्पादेवीको मन्दिर छ। गुराँस, सल्लालगायतले घेरेको डाँडाबाट काठमाडौं उपत्यकाको पूरै दृश्य देखिन्छ। यहाँ पुग्न विभिन्न रुटको प्रयोग गर्न सकिन्छ।

फर्पिङबाट सुरु गरेर हात्तीवन हुँदै चम्पादेवी र सोही रुट फर्किने एउटा विकल्प हो। यसको दूरी करिब १२ किलोमिटर पर्छ। फर्पिङ–चम्पादेवी रुटमा ढुंगा छापिएको छ। चम्पादेवी डाँडाबाट सीधै ओरोलो भएर टौदह पनि झर्न सकिन्छ। फर्पिङ–चम्पादेवी–टौदहको दूरीचाहिँ ११ किलोमिटर छ। कीर्तिपुरको मच्छेगाउँबाट चम्पादेवी जाने पनि हाइकिङ रुट छ। यो रुट पनि ११ किलोमिटर नै छ। अलि लामो यात्रा गर्ने हो भने चम्पादेवीबाट भष्मेश्वर डाँडा हुँदै चन्द्रागिरीसम्म पनि पुग्न सकिन्छ।

नागार्जुन

नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको हाइकिङ बालाजु बाइपासबाट सुरु हुन्छ । काठमाडौंको उत्तरपश्चिममा पर्ने नागार्जुनको उचाइ २,१३० मिटर छ। नौ किलोमिटर दूरीको हाइकिङ रुट घना जंगलको बीच भएर अगाडि बढ्छ। डाँडाबाट उत्तरतर्फ लाङटाङ अन्नपूर्णलगायत हिमशृंखला र उपत्यका देख्न सकिन्छ ।

चन्द्रागिरी

चन्द्रागिरी काठमाडौं उपत्यकाको चल्तीको हाइकिङ ट्रेल हो। २५०० मिटरको उचाइमा रहेको चन्द्रागिरी डाँडामा भालेश्वर महादेवको मन्दिर छ। यहाँ पुग्न विभिन्न रुट प्रयोग गर्न सकिन्छ।

कीर्तिपुर मच्छेगाउँबाट हिँडेर छापडाँडा हुँदै चन्द्रागिरी पुग्दा करिब १२ किलोमिटर दूरी पूरा गर्नुपर्छ। थानकोटबाट पनि चन्द्रागिरी पुग्ने बाटो छ। यसको दूरी एकतर्फी करिब ६ किलोमिटर छ। चन्द्रागिरीबाट काठमाडौं उपत्यकाका साथै विभिन्न हिमशृंखला देखिन्छ। बुट्यानसहितको घना जंगल भएकाले यो रुटमा चितुवालगायत जंगली जनावर पनि पाइन्छ।

आशापुरी महादेव

आशापुरी जाने रुट रानीकोटबाट देखिएको दृश्य।

आशापुरी महादेव मन्दिर २,२८० मिटर उचाइमा छ। भक्तपुर सूर्यविनायकबाट यात्रा सुरु गरेर पाइलटबाबा आश्रम, घ्याम्पे डाँडाहुँदै आशापुरी पुगिन्छ। यसको दूरी १६ किलोमिटर छ। यो रुटमा वनका साथै ग्रामीण जनजीवनबारे बुझ्ने अवसर पनि मिल्छ। सूर्यविनायक–डोलेश्वर आशापुरी मन्दिर हुँदै साँगा भन्ज्याङको रुट पनि प्रयोग गर्न सकिन्छ।

यी गन्तव्यका साथै काठमाडौं उपत्यकाबाट नजिक रहेका काभ्रेका नमोबुद्ध र बल्थली, नुवाकोटको ककनी, भक्तपुरको नगरकोटलगायत ट्रेल पनि चर्चित हाङकिङ गन्तव्य हुन्।

हाइकिङको तयारी

हाइकिङ जानुअघि त्यसको रुट, त्यहाँको जनजीवन, मौसम आदिबारे जानकारी लिनुपर्छ। पहिल्यै हिँडिसकेको कोही साथी भए झन् राम्रो। हाइकिङमा सन ग्लास, क्याप/ह्याट तथा सन प्रोटेक्सन क्रिम लैजानुपर्छ। त्यस्तै जुत्ता र पोसाक हिँड्न सजिलो हुने किसिमको लगाउनुपर्छ।

बर्खाको समयमा हाइकिङ जाँदै हुनुहुन्छ भने रेनकोट र छाता लैजानु बिर्सनु हुँदैन। अधिकांश हाइकिङ रुट जंगलैजंगलको बीचमा हुने भएकाले हलुका खानेकुरा, फलफूल, प्राथमिक उपचारका सामग्री पनि छुटाउनु हुँदैन।

साइकल सवारी : आकर्षणसँगै जोखिम पनि   

साइक्लिङमा रमाउँदै, तन्दुरुस्ती बढाउँदै

शरीर र मन बलियो बनाउन योग

प्रकाशित: Aug 22, 2020| 09:57 शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।