शुक्रबार, मंसिर १९, २०७७

विदेश अर्थ
1602144415.jpg

सन् २०२० को मार्चदेखि जुनसम्म तीन महिना अवधिमा अनलाइन सपिङ साइट अमेजनका मालिक जेफ बेजोसको सम्पत्ति ४८ बिलियन डलरले बढ्यो। 

relifeinsurance

त्यही अवधिमा भिडियो कन्फरेन्स प्रोग्रामिङ जुमका प्रमुख इरिक युआनको सम्पत्ति २.५ बिलियन डलरले बढ्यो। माइक्रोसफ्टका पूर्व सीईओ स्टिभ वाल्मरले पनि आफ्नो सम्पत्ति १५.७ बिलियन डलरले बढाए।

कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा मन्दी आएको छ। केही अर्बपतिले भने निरन्तर नाफा बढाइरहेका छन्। तपाईंलाई लाग्न सक्छ संकटका बेला धनमाथि धन थुप्रनु सही समयमा सही निर्णयका कारण हो। त्यो गलत होइन, तर पूर्ण सत्य पनि होइन।

अमेरिकी क्यासिनो सञ्चालक सेल्डेन एडेल्सनको सम्पत्ति पनि ५ बिलियन डलर बढेको छ भने एलन मस्कको सम्पत्ति १७.२ बिलियन डलर बढ्यो।

जर्मन कम्पनी पीडब्ल्यूसी र स्विस बैंंक यूबीएसको कन्सल्टिङ फर्मले गरेको एक अध्ययनमा जुलाई अन्तिममा विश्वका करिब दुई हजार अर्बपतिको सम्पत्तिले नयाँ रेकर्ड बनाउँदै १० हजार करोड डलरभन्दा बढी भएको छ। सन् २०१७ मा यो ९ हजार करोड डलरभन्दा कम थियो र यो त्यस बेलाको रेकर्ड संंख्या थियो। 

२०१८ र २०१९ मा यस्तो सम्पत्ति कम हुँदै गए पनि सन् २०२० सँगै आएको महामारीको अवधिमा अर्बपतिले फेरि ठूलो नाफा कमाउन थाले। 

जर्मनीमा मात्रै जुलाई अन्त्यसम्ममा अर्बपतिको सम्पत्ति करिब ५९५ अर्ब डलर पुगिसकेको छ। यस अवधिमा अमेरिकी अर्बपतिको कुल सम्पत्तिमा ६३७ बिलयन डलर बढोत्तरी भएको छ। यही समयमा ४० मिलियन अमेरिकी बेरोजगार भएका छन्।

अन्य लाखौंले तलब पाएका छैनन् र स्टक मार्केट ३७ प्रतिशतले घटिसकेकोे छ। यी सबका बाबजुद धनी भने अझै धनी भइरहेका छन्। आखिर कसरी?

ठूलो संख्यामा अमेरिकी बेरोजगार हुँदै गर्दा र उनीहरूले विभिन्न नोक्सानी बेहोर्दै गर्दा अर्बपतिको सम्पत्ति बढ्दै गएको यो पहिलो पटक होइन।

सन् २००७ मा हाउजिङ व्यवसाय ध्वस्त हुँदा, घरजग्गाको मूल्य १२ प्रतिशतले घट्यो र अमेरिकामा ३.१ मिलयन घर बन्न सकेनन्। सेयर बजार ५० प्रतिशतले घट्यो। सन् २००९ को अन्तसम्म आइपुग्दा, ८.८ मिलियन अमेरिकी बेरोजगार भए।

घटनाक्रम त्यत्तिमै सकिएन। सन् २००९ देखि २०१२ सम्म आर्थिक आम्दानीका दृष्टिले पुछारमा रहेका ९९ प्रतिशत जनसंख्याको वृद्धि आधा प्रतिशत पनि हुन सकेन जबकि माथिल्लो एक प्रतिशको आम्दानी ३१.४ प्रतिशतले बढ्यो। 

यसका दुई कारण छन्।

पहिलो, सरकारले असन्तुलित रुपमा बैंक तथा वित्तीय निगमहरूलाई आर्थिक सहयोग दियो। सन् २००७ मा जारी गरिएको आपतकालीन आर्थिक स्थायित्व ऐनले ७०० मिलियन डलरको कोषको व्यवस्था गर्‍यो, जसले बैंकमा धरौटी रहेको न्यून मूल्यांकनका सम्पत्ति खरिदलाई सहज बनाइदियो।

सो ‘समस्याग्रत सम्पत्ति राहत कार्यक्रम’ मा राष्ट्रपति ओबामाले ७५ बिलियन डलरको कोष दिलाइदिए र घरको ब्याज तिर्न घरधनीलाई सहज बनाइदिए। 

यसले गर्दा घरधनीले झन्डै १० प्रतिशतको प्रत्यक्ष सहयोग पाए जुन बैंक तथा निगमहरूले पनि पाएका थिए। यो पहिलो कारणले सेयर बजार सम्हालिन पुग्यो। यही कारण धनीले लगानी गर्ने र नाफा कमाउने अवसर पाए जबकि विपन्नहरुले भने त्यो अवसर पाएनन्।

सन् २००८ मा संघीय बैंकले अल्पकालका लागि ब्याज घटाएर झन्डै शून्य बनाइदियो। त्यो अल्पकाल एक दशकसम्म लम्बिरह्यो, अर्थात् केही समयका लागि दिइएको ब्याज छुट १० वर्षसम्मलाई भयो।

यसले सन् २००९ को सेयर बजारलाई इतिहासकै उच्च विन्दुमा पुर्‍याइदियो। सेयरको छलाङ सन् २०२० मार्चसम्म रहिरह्यो, जबसम्म कोरोनाको महामारी देखिएन।

छलाङको समयमा धेरै कम्पनी र तिनका लगानीकर्ताले राम्रै नाफा कमाए। कोरोना फैलिएको पाँच दिनमा १६ मार्च, २०२० मा महामारीको घोषणा गरियो। सेयर बजार इतिहासकै न्यून विन्दुमा झर्‍यो। तर पनि जुन ४ मा पुग्दा नपुग्दै धनीहरूको सम्पत्ति ५० प्रतिशले बढ्न पुग्यो। यसको एउटा कारण जनतालाई सरकारले उपलब्ध गराएको आर्थिक सहायता थियो, जसले लगानीका लागि पुँजी उपलब्ध गरायो।

फेरि पनि विगतमा जस्तै संघीय बैंकले ब्याजदरलाई शून्यमै झारिदियो। सरकारले लगानीकर्ता मुलुक आर्थिक रुपमा पुनःस्थापना नहुँदासम्म ब्याजदर नबढ्ने विश्वास दिलायो। यसले विनाब्याज धनीले लगानी गर्न पाए। 

हाइटीमा सन् २०१० मा महाभूकम्प जाँदा १९५ ट्रिलियन डलरको पुनःस्थापना बजेटको २.५ प्रतिशत मात्र हाइटीका कम्पनीले पाए। जबकि धेरैजसो ठेक्का वासिङ्टन मुख्यालय भएका ठेकेदार कम्पनीले पाए।

आफ्नो बलियो साधनस्रोत तथा सरकारी सहयोगमा अर्बपतिहरूले महामारीबाट भएका घाटालाई पूर्ति गरेको देखिन्छ। अर्को कुरा धनीमैत्री कर र कानुनी छिद्रले पनि अर्बपतिको सम्पत्ति बढ्न सघाउ पुर्‍यायो। 

कस्तोसम्म भएको छ भने अमेरिकी कर प्रशासनले अमेजनलाई दुई वर्षको कर तिर्नै नपर्ने प्रावधान गरिदिएको थियो। सन् २०१९ मा जब कर तिर्नुपर्ने बेला आयो तब कम्पनीले १६२ मिलियन डलर कर तिर्‍यो, त्यो आम्दानीको १.२ प्रतिशत मात्रै हो।

अमेजनको मात्रै कुरा होइन। सन् १९८० देखि नै अर्बपतिले तिर्नुपर्ने करको दायरा घट्दै गइरहेको छ। करको कानुन नै त्यस्तै बनाइएको छ।

सन् २०१७ को अनुसन्धानमा के पाइएको थियो भने विश्वको १० प्रतिशत कुल गार्हस्थ उत्पादन ‘ट्याक्स हेभेन’ मा पुगेको थियो। सन् २०१२ मै पनि विश्वका धनी व्यक्तिहरूले ३२ ट्रिलियन डलर ‘ट्याक्स हेभेन’ मा पुर्‍याएका थिए।

अमेरिकी शिक्षा विभागको कुल बजेटको तीन गुणा जति रकम अर्थात् २०० बिलियन डलर त कर तिर्नु नपर्ने ‘ट्याक्स हेभेन’ का देशहरूमा बर्सेनि जाने गरको छ।

विश्वभरमा कुल दुई हजार १८९ व्यक्तिको सम्पत्ति एक अर्ब डलरभन्दा धेरै छ। यूबीएस र पीडब्ल्यूसीले पछिल्लो २५ वर्षदेखि अर्बपतिको धनसम्पत्ति हिसाब राखिरहेका छन्। यस अवधिमा विश्वभरका धनाढ्यको सम्पत्तिमा पाँचदेखि १० गुणा बढोत्तरी भएको छ। 

२५ वर्षअघि सबै अर्बपतिको सम्पत्ति जोड्दा एक हजार करोड डलर पुग्थ्यो भने अहिले बढेर १० हजार करोड डलर पुगिसकेको छ। 
यी सबै वस्तुस्थितिको समीक्षा गरिसकेपछि प्रश्न उठ्छ –असमानताको तहलाई कसरी समान बनाउने त?

इन्स्टिच्युट फर पोलिसी स्टडिजले सुझाव दिएको छ– महामारीका बेला निगरानी समिति गठन गर्ने र संघीय सरकारले उपलब्ध गराउने रकम परिचालनको नियमन गर्ने, पारदर्शी कानुनलाई सबल बनाउँदै धनीले कर छल्दै पैसा लुकाउने छिद्रहरु टाल्ने।

त्यस्तै अर्बपतिलाई आपतकालीन अवस्थामा थप १० प्रतिशत कर लगाउने, कोष व्यवस्थापन गर्न प्याकेजको योजना व्यवस्था, कानुनी रुपमा उपहार दिन पाउने अधिकारको सीमा कम गर्ने र राज्यको करको दायरा कम गर्ने।

यी व्यवस्था गरिएका कानुनको मस्यौदा संसद्ले पारित गरे पनि सिनेटमा गएर अड्किरहेको छ। यी सबै नियमनकारी उपाय कार्यान्वयन गर्न राजनीतिक प्रतिबद्धता र सहकार्य चाहिन्छ। सम्पत्ति र आम्दानीको असमानताको सम्बन्ध परिवर्तन गर्ने हो भने त्यसमा हामी सबैको सहयोग आवश्यक हुन्छ।

(बिजनेस इनसाइडर, रोयटर्स र अन्य एजेन्सीको सहयोगमा । अनुवाद: महेश्वर आचार्य)
 

प्रतिक्रिया दिनुहोस्