काठमाडौं- सरकारले काठमाडौं उपत्यकामा बुधबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेपछि त्यसको प्रभाव सेयर बजारमा पनि परेको।
निषेधाज्ञा भएसँगै मानिसहरुलाई आफूसँग भएको सेयर बेचेर नगद राख्न थालेपछि बजार बुधबार १६.६ अंकले घटेर १३९१.२९ अंकमा पुगेको छ।
लगानीकर्ता संघका छेटुलाल रौनियारअनुसार मानिसहरुले आफूसँग भएको सेयर बिक्रि गरी नगद बनाएर राखरहेका छन्। ‘बजार नखुल्ने, कोरोनाको संक्रमण कहिले रोकिने हो भन्ने थाहा नहुँदा मानिसहरुमा मनोवैज्ञानिक असर परेको र उनीहरुले सेयरलाई नगदमा परिणत गरी रकमको जोहो गरिरहेका छन्।’ रौनियारले भने।
सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञानको महत्वपूर्ण भूमिका रहने गर्छ। आफ्नो लगानी क्षमता, होल्ड गर्न सक्ने अवधि अनि लगानी गरिने कम्पनीको समग्र वित्तीय अवस्थामा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।
बुधबार कारोबारमा आएका सम्पूर्ण समूहगत उपसूचक पनि ओरालो लागेको छ। यसदिन कुल १८५ कम्पनीको २४ लाख ७४ हजार ३२९ कित्ता सेयर ९७ करोड ६२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। सबैभन्दा धेरै जीवन बिमा समूहको १३६.५९ अंकले तल झरेको नेप्सेले जनाएको छ।
निषेधाज्ञामा पनि सेयर बजार बन्द नहुने
नेपाल धितोपत्र बोर्डले बुधबार रातिदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा भए पनि सेयर बजार भने बन्द नहुने जनाएको छ।
बोर्डले सेयर बजार प्रविधिमैत्री बनिसकेको र अनलाइन मार्फत् सेयर कारोबार गर्न सकिने भएकाले सेयर बजार तत्काल बन्द गर्ने कुनै निर्णय नभएको बताएको छ।
पछिल्लो समयमा अनलाइन कारोबार प्रणालीलाई नै चुस्त बनाइएको र अनलाइनबाटै युजर र पासवर्ड लिन सकिने व्यवस्था भएकोले सेयर बजार बन्द नहुने बोर्डले जनाएको हो।
बोर्डले बुधबार विज्ञप्ति जारी गरी कारोबारमा ठूलो अवरोध नआएसम्म पहिले जसरी बजार बन्द नगरिने स्पष्ट जनाएको छ। गत चैत ११ देखि लकडाउन हुँदा बोर्डले सेयर कारोबार पनि बन्द गराएको थियो। सरकारले लकडाउन खुकुलो बनाएसँगै असार १५ गतेपछि मात्र सेयर बजारको कारोबार खुलेको थियो।
पछिल्लो समयमा ६० प्रतिशत कारोबारहरु अनलाइन मार्फत् हुने गरेको बताउँदै लगानीकर्ता रौनियारले अब अनलाइन मार्फत् नै घरबाट कारोबार हुने व्यवस्था गरिनुको विकल्प नभएको र काराबार बन्द गर्नु लगानीकर्ताको हितविपरित भएको बताए।