धनगढी- लगातारको वर्षासँगै खसेको पहिरोमा परेर बझाङमा दुई जना बेपत्ता भएका छन् भने चार जना घाइते भएका छन्।
जिल्लाको बुंगल नगरपालिका–५, मिडीमा गएराति गएको पहिरोमा परेर दुई जना बेपत्ता भएका छन् भने चार जना घाइते भएका हुन्। घर माथिबाट आएको पहिरोले स्थानीय प्रताप ताम्राकारको घर बगाएको प्रहरीले जनाएको छ।
पहिरोमा परेर १४ वर्षीय सचिन ताम्राकार र बुंगल नगरपालिका वडा नम्बर ४, तीर्थबगरका दमन ओखेडाका पाँच वर्षीय छोरा सुदीप ओखेडा बेपत्ता भएको प्रहरीले जनाएको छ।
यस्तै, पहिरोमा पुरिएका ४० वर्षीय पिपला ताम्राकार र उनका १८ वर्षीय छोरी सुनिता र १२ वर्षीय छोरी टिन्टी ताम्राकार र १६ वर्षीय अनिल ताम्राकार घाइते भएका छन्। उनीहरुलाई स्थानीयहरुको सहयोगमा प्रहरीले उद्धार गरेको हो।
घाइतेहरुको खिरातडी स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
“बेपत्ता दुई जनाको खोजी भइरहेको छ,” जिल्ला प्रहरी कार्यालय, बझाङका प्रहरी नायब उपरीक्षक गणेश बमले भने।