कला - साहित्य समाचार
1601691208.png

२०२३ सालमा वीर अस्पताल हातामा सुन्ने क्षमता नभएका बालबालिकालाई नेपाली सांकेतिक भाषा सिकाउन थालियो। सांकेतिक भाषामार्फत सिकाइको सुरु थियो, त्यो प्रयास।

NLG Insurance
agrakhi
Yeti parketing

सांकेतिक भाषाको आधार र अभ्यास नभएका बेला नाक, कान घाँटी विशेषज्ञ डा. लक्ष्मीनारायण प्रसादको विशेष प्रयासबाट सञ्चालित सो कक्षाका विद्यार्थी थिए– निर्मल देवकोटा, मोहन लोहनी, विजयराज ठाकुर र विजय देव।

लामो समयपछि २०४४ सालमा आएर अमेरिकी विज्ञ पेट्रिसिया रसका साथै नेपाली बहिरा व्यक्तिहरू राघववीर जोशी, निर्मलकुमार देवकोटा, धुव्रमान मास्के तथा अन्यको प्रयासमा देशभरका बहिराले प्रयोग गर्ने संकेतको संकलन गरियो।

संकलित संकेतलाई एकीकृत गरी तत्कालीन ‘सुस्तश्रवण कल्याण संस्था’, ‘बहिरा बालकको स्कुल’, नक्सालद्वारा २०४५ सालमा सांकेतिक भाषाको शब्दकोश प्रकाशित भयो। त्यो नै नेपालको पहिलो ‘नेपाली सांकेतिक भाषाको शब्दकोश’ थियो।

२०५१ सालमा तीन भागमा दोस्रो शब्दकोश प्रकाशित भयो जसमा पाठनपाठनमा प्रयोग हुने गणित, विज्ञान, नेपाली, व्याकरण र विविध शब्दसंकेत समावेश थिए।

२०६० सालमा अनुमोदित सबै शब्द तथा तिनको पर्यायवाची सांकेतिक भाषा पनि थप गरी २ हजार २ सय दुई शब्दसहितको शब्दकोश प्रकाशित भयो।

सो शब्दकोश प्रकाशित भएको झन्डै १५ वर्षपछि चार हजार सात सय शब्द रहेको अहिलेसम्मकै बहत् र वैज्ञानिक ‘नेपाली सांकेतिक भाषा शब्दकोश’ प्रकाशित भएको छ।

त्यति मात्रै होइन सांकेतिक भाषाको शब्दकोशको एप बनेसँगै सांकेतिक भाषाले ‘स्मार्ट युग’ मा फड्को मारेको छ।शब्दकोशमा भएका ४ हजार ३ सय शब्दको अर्थ, संकेत भाषा, उदाहरणसहितको भिडियो एपमा उपलब्ध छ। डेफ नेपाल एनएसएल लर्निङ एन्डरोयड भर्सनको एप अब जोसुकैले सजिलै डाउनलोड गर्न सक्छन्।

‘एन्ड्रोयड भर्सनको यस एपमा शब्दको अर्थ, संकेत भाषा, उदाहरण अफ लाइनमा पनि हेर्न सकिन्छ भने भिडियोका लागि अनलाइन हुनुपर्छ,’ एप निर्माणमा संलग्न शंकर चैसिरले भने।

हाल सांकेतिक भाषाको ५ हजार शब्द अनुमोदन भइसकेका छन्। समय क्रममा बाँकी शब्द र नयाँ शब्द पनि एपमा समावेश गर्दै लगिने चैसिरले बताए। राष्ट्रिय बहिरा महासंघ नेपालको वेबसाइटमा सो शब्दकोश उपलब्ध छ।

महासंघद्वारा प्रकाशित १२ सय पृष्ठको शब्दकोशको सम्पादन विकास घिमिरे र किरण आचार्यले गरेका हुन् भने भाषा लेखन शिलु शर्मा र विकास घिमिरेले।

शब्दकोशमा चित्र प्रतिज्ञ शाक्यले र हस्ताकार वर्गीकरण सन्तोष पौडेलले गरेका छन्। शब्दकोश निर्माणमा केपी अधिकारी, रामकुशल पन्त, सूर्यबहादुर बुढाथोकी, सुमन अधिकारी, सानु खिम्बाजालगायतको टोलीले झन्डै दुई वर्ष मिहेनत गरेको थियो।

शब्दकोशलाई स्तर अभ्यासका आधारमा तयार गरिएको लेखन कार्यमा संलग्न शिलु शर्मा बताउँछिन्। 

‘सामान्य शब्दकोशमा वर्णमालालाई आधार मानिएजस्तै सांकेतिक शब्दकोशमा हस्तआकारलाई आधार मानेर शब्दलाई क्रमैसँग राखिएको छ,’ शर्माले भनिन्, ‘सांकेतिक भाषाको अन्तर्राष्ट्रिय सिद्धान्तमा रहेर तयार गरिएको र सुन्न सक्ने तथा नसक्ने दुवै वर्ग यस शब्दकोशबाट लाभान्वित हुन सक्छन्।’

सांकेतिक भाषामा हस्तआकार, स्थान, चाल, अभिमुखीकरण, हाउभाउ गरी पाँच तत्त्व हुन्छन्। शब्दकोशमा ती सबै समेट्ने प्रयास गरिएको उनी बताउँछिन्।

शब्दकोशमा शब्दको अर्थ र शब्दवर्ग (नाम, विशेषण, क्रिया, क्रियाविशेषण आदि) पनि छुट्याउनुका साथै शब्दहरूलाई बहिरा समुदायले कसरी बुभ्mछन् भन्ने अर्थ दिइएको छ। शब्दलाई वाक्यमा प्रयोगको उदाहरणसहित दिइएको छ। शब्दकोशमा प्रस्तुत मानक नेपाली वाक्यका उदाहरणले बहिराहरूको लेखाइमा हुने भाषिक त्रुटि कम गर्न मद्दत गर्छ।

राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष केपी अधिकारीले अहिलेसम्मकै बृहत् र वैज्ञानिक शब्दकोश तयार गरिएको बताए। उनले नयाँ एपमा भएको भिडियोले बहिरा समुदायसँगको सञ्चार प्रभावकारी हुने जनाए। 

‘सांकेतिक भाषा सिक्न चाहनेहरुलाई पनि यो एप उपयोगी छ,’ उनले भने, ‘एप आफैंमा एउटा शिक्षकसरह छ।’

सिकाइको महत्त्वपूर्ण साथी
माध्यमिक तहका बहिरा विद्यार्थीको सिकाइ विधिमाथि अनुसन्धान गरेका हरिप्रसाद शिवाकोटी शब्दकोश बहिरा शिक्षक तथा शिक्षार्थी दुवैका लागि उपयोगी हुने बताउँछन्।

बहिराको सिकाइमा साधारण विद्यार्थीको जस्तो पूर्णता हुँदैन। उनी भन्छन्, ‘प्रभावकारी भावसहित पढाउने हुँदा बहिरा विद्यार्थीको लगाव बहिरा शिक्षकसँग नै हुने गरेको पाइयो तर सूचना तथा जानकारी गैरबहिरा शिक्षकसँग बढी हुने गरेको पाइयो।’

के हो सांकेतिक भाषा
सुस्तश्रवण र बहिराका माझमा भाव तथा विचार विनिमय गर्ने क्रममा नै सांकेतिक भाषाको जन्म र विकास भएको हो। 

बहिरा समाजमा भाषिक सञ्चार गर्नका लागि सांकेतिक भाषाको प्रयोग हुन्छ। सांकेतिक भाषामा ती सबै विशेषता हुन्छन् जो बोली भाषामा पाइन्छन्।

सांकेतिक भाषाको पनि बोली भाषाको जस्तै भाषिक संरचना छ, स्थानीय र सामाजिक भेदर प्रयोगका शैली छन्।

सांकेतिक भाषा मुख्यतः बहिरा तथा सुस्तश्रवणले प्रयोग गर्ने भाषा हो। बहिरासँग भाषिक सम्प्रेषण गर्न बोली–भाषी समुदायले समेत सांकेतिक भाषाको प्रयोग गर्नुपर्छ।

सांकेतिक भाषा जताततै एउटै संकेत रूपको प्रयोग गरिने भाषा नभएर बोली भाषाजस्तै प्रत्येक देशमा फरक–फरक किसिमको देखिने भाषा हो। यसले कथ्य भाषालाई दृश्यात्मक रूपमा देखाउँछ।

यसमा संग्लन शारीरिक अवयव पर्दछन्। हातको सक्रियताले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। हात, हातका औंला, पाखुरा आदिको चालबाट संकेत निर्माण गरिन्छ।

२०६८ को जनगणनाअनुसार नेपालमा ७९ हजार ५१ बहिरा भएको तथ्यांक देखिए पनि अभियन्ताहरू दुई लाख बहिरा भएको अनुमान गर्छन्। नेपालमा एक सय २३ भाषा बोलिन्छ। तीमध्ये नेपाली सांकेतिक भाषा पनि एक हो।

के हो बहिरोपन ?
श्रवणशक्तिको कमी वा सुनाइसम्बन्धी अपांगता नै बहिरोपन हो। बहिरोपन जन्मजात वा आर्जित दुई प्रकारका हुन्छन्। 

वंशाणुगत गुण, कडा रोगको संक्रमण, कडा औषधि तथा लागू पदार्थ सेवन, दुर्घटना आदि कारणले व्यक्तिको श्रवण क्षमतामा ह्रास हुन्छ।
बहिरोपन बाह्य र आन्तरिक गरी दुई खालको हुन्छ। बाह्यभन्दा भित्री बहिरोपना जटिल हुन्छ। बहिरोपनका दुवै स्थिति एकै व्यक्तिमा पनि देखिन सक्छ। 

श्रवण अक्षमताकै कारण अर्थात् बहिरोपनाका कारण बहिराहरूले सांकेतिक भाषाको प्रयोग गर्छन्। २०५३ सालदेखि नेपाल टेलिभिजनबाट साप्ताहिक रूपमा नेपाली सांकेतिक भाषामा समाचार प्रसारण हुन थालेको हो। 

हाल आएर दैनिक रुपमा नेपाली सांकेतिक भाषामा समाचार प्रसारण हुँदै आएको छ।  अचेल महत्त्वपूर्ण सभासमारोहमा पनि सांकेतिक भाषाका दोभाषे प्रयोग गर्न थालिएको छ।
 

प्रतिक्रिया दिनुहोस्