काठमाडौं- केही दिनअघि मात्रै कोरोनाविरुद्धको खोप पत्ता लगाएको दाबी गरेको रसियाले यसको उत्पादन थालेको छ।
त्यहाँको स्वास्थ्य मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाविरुद्धको खोपको उत्पादन थालिएको जानकारी दिएको हो।
साथै उक्त खोप यही अगस्ट महिनाको अन्तिमसम्म बाहिर ल्याउने मन्त्रालयले जनाएको छ।
विश्वका थुप्रै वैज्ञानिकहरुले रसियाले खोपको भरपर्दो परीक्षण नगरी ल्याउन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
रसियामै गरिएको एउटा स्वतन्त्र सर्वेक्षणमा त्यहाँका आधाभन्दा बढी चिकित्सकले आफूहरुलाई खोपप्रति विश्वास नभएको र आफूहरुले प्रयोग गर्न नचाहेको बताएका छन्।
रसियाले खाेप प्रयाेगमा ल्याएपछि सबैभन्दा पहिले चिकित्सक र शिक्षकहरुलाई लगाउने बताएकाे छ।
राष्ट्रपति भ्लादिमिर पुटिनले खोप सार्वजनिक भएलगत्तै खोप सबै हिसाबले परीक्षण गरिएको र आफ्नी छोरीमा पनि यो खोप परीक्षण भइसकेको बताएका थिए।
यो खोपको नाम स्पुत्निक–५ राखिएको छ। संसारकै पहिलो भूउपग्रहको नामबाट खोपको नामाकरण गरिएको रसियाको भनाइ छ।