यस वर्षको तीज विगतको भन्दा भिन्न हुने भएको छ। समूहमा दर खाने, नाचगान गर्ने, मन्दिर जाने, किनमेलजस्ता गतिविधि ठप्पजस्तै छन्। अन्य गतिविधि ठप्प भए पनि तीजको पूजाआजा र यसको आध्यात्मिक पक्ष झन् बढेको बताउनेहरू पनि छन्।
कोरोना महामारीले ईश्वरप्रतिको आस्था र विश्वास जस्तोसुकै बेला पनि घरमै बसेर जगाउन सकिने पाठ सिकाएको संस्कृतिविद् डा. वीणा पौडेलले बताइन्।
‘तडकभडक र भड्किलो शैलीमा तीज नमनाउँदा पनि भगवान् शिवप्रतिको आस्था कायमै रहन्छ भन्ने यो महामारीले सिकाएको छ’, पौडेलले भनिन्, ‘तीजमा एक दिन दर खानु र व्रत बस्नुको मूल उद्देश्य धर्मकर्म हो। यसमा महिनौंअघि दर खाने र खुवाउने काम पर्दैन।’
उनले तीज शिवजीको ध्यान र योगासन गरेर मनाउन सुझाव दिइन्। योगले शारीरिक र मानसिक रुपमा स्वच्छ हुन मद्दत गर्छ।
उनले भनिन्, ‘चाडपर्व रीतिरिवाज मानेर धर्मकर्म गर्ने हाम्रो पहिचान हो। पूजापाठ हाम्रो आस्था हो।’ पछिल्लो समय तीजमा विकृति भित्रिँदा आस्था नयाँ पुस्तामा आस्था हराउन थालेको उनको बुझाइ छ।
लेखक डा. ज्ञानू पाण्डे पनि यस वर्ष तीजमा अनावश्यक तडकभडक रोकिएको बताउँछिन्। उनले चाडपर्व मनाउने नाममा देखासिकी र तडकभडक गर्दा आर्थिक रूपमा पनि महिलामा थप बोझ पर्ने बताइन्।
कमाइ हुनेले त मन लागेका लत्ताकपडा र गरगहना किनेर लाउन सक्छन्। नहुनेले अरूलाई देखाउनकै लागि भए पनि ऋण काड्नु राम्रो होइन।
पाण्डेले भनिन्, ‘अरूलाई देखाउनकै ऋण काडेर गरगहना जोड्नु दुःख नै हो। चाडपर्वका नाममा आफंैले आफैंलाई दुःख दिनु गलत हो।’
तीजका बेला सबैसँग भेट हुँदा ज्ञानगुन बढाउने र विकृति–विसंगति हटाउने विषयमा अभियान चलाउनुपर्ने उनको भनाइ छ।
तीजको जमघटमा पुराना पुस्ताले नयाँ पस्तालाई तीजकै बारेमा राम्रा कुरा सिकाउन सकिन्छ। यसबाट सस्कृति पुस्तान्तरणमा सघाउन पुग्ने उनको विश्वास छ।
पाण्डेले भनिन्, ‘अघिल्लो पुस्ताले तीजका गीतसंगीतमार्फत धेरै कुरा सिकाएको थियो। ती मौलिक थिए।’ अचेलका गीतसंगीतमा त्यस्ता मौलिकता नपाइने उनले बताइन्।
समाजशास्त्रीहरू पनि तीजमा विदेशी संस्कृति र शैली भित्रिँदा परम्परा जोगाउन कठिन हुने बताउँछन्। चाडपर्वमा विदेशीको प्रभाव पर्दै जाँदा कतै यसको मौलिकता नाश हुने त हैन भन्ने चिन्ता उनीहरूको छ। त्यसो त तीजमा रहेका कतिपय नराम्रा पक्षलाई समयसापेक्ष सुधार गर्दै जानुपर्छ।
समाजशास्त्री डा. रामहरि ढकाल भन्छन्, ‘तीजमा पानी पनि नपिएर व्रत बस्नु राम्रो होइन। त्यस्तै दरका नाममा माछामासु र मदिरा सेवन गर्नु झन् गलत हो।’
दुवै काम स्वास्थ्य र धार्मिक दृष्टिकोणले राम्रो नभएको ढकालले बुझाइ छ।
‘पश्चिमा संस्कृतिको बढ्दो प्रभावले गर्दा तीजको मूल मर्म नै मासिने चिन्ता बढेको छ’, ढकालले भने, ‘आधुनिकताका नाममा देखासिखी गरेर मौलिक संस्कृति र परम्परा लोप हुन हुँदैन।’
तीजमा व्रत बस्ने शैलीदेखि गीतमा समेत परिवर्तन आएको छ। हिन्दु नारीले मात्र मनाउने तीज अचेल अन्य धर्मावलम्बीका महिलाले समेत मनाउन थालेका छन्। यसले महिलाको आपसी सम्बन्धलाई थप कसिलो बनाउन मद्दत गरेको छ।
‘तीजले व्यापकता पाउनु राम्रो हो। तर आधुनिकताका नाममा मौलिकता मिच्नु राम्रो होइन’, संस्कृतिका जानकार पदमराज जोशी भन्छन्, ‘तडकभडक गर्दा मौलिक संस्कृतिमाथि आक्रमण बढिरहेको छ। यसमा ध्यान दिनुपर्छ।’ चाडपर्व र रीतिरिवाजमा मौलिकता जोगाइराखे मात्र यिनको महत्त्व बढ्ने जोशी बताउँछन्।