शुक्रबार, वैशाख ७, २०८१

नेपाललाई ट्रान्जिट हब बनाउँदै लागू औषध कारोबारी

लागू औषधको दलदलमा फसेका कतिपय मुलुकमा संगठित रुपमै लागू औषधको कारोबार हुने गर्छ। नेपालमा संगठित बिक्री वितरण नभए पनि अवस्था चुनौतीपूर्ण रहेको प्रहरीकै तथ्यांकले देखाएको छ।
 |  शुक्रबार, साउन ३०, २०७७

बीपी अनमोल

बीपी अनमोल

शुक्रबार, साउन ३०, २०७७

कोकिन, सेतो हेरोइन, आइस, ब्राउन सुगर, याबा आदि निकै महँगा लागू औषध नेपालमा ओसारपसार हुनेमात्र होइन, पछिल्लो समय खपत पनि हुन थालेको पाइएको छ।

triton college

काठमाडौं– १३ साउनमा मेथएम्फेटामाइन (आइस) सहित विराटनगरबाट एक व्यवसायी पक्राउ परे।

विराटनगर महानगरपालिका–२ वरगाछी चोकको सडकमा को ३७ प ८३१६ नम्बरको मोटरसाइकलमा सवार सुन्दरहरैंचा नगरपालिका–८ का ४२ वर्षीय राजन भनिने रामप्रसाद पोखरेलको साथबाट ५३०.९३ ग्राम आइस बरामद भयो। आइस बिक्रीका लागि ग्राहकसँग मोलभाउ भइरहेको सूचना पाएको प्रहरीले उनलाई पहिलेदेखि नै निगरानीमा राखेको थियो।

‘५–६ महिनाअघि नै उक्त लागू औषध भारतको राजस्थानबाट ल्याएको देखिन्छ,’ मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले भने, ‘यसबीचमा उनले ग्राहक खोज्नमै समय बिताएको देखिन्छ।’

करिब १० वर्ष इराक बसेर फर्किएका उनले सुरुमा सुन व्यवसाय थालेका थिए। प्रहरीका अनुसार व्यवसाय घाटामा गएपछि उनले अर्काे व्यवसाय थाले । ‘जस्ताको व्यवसाय गर्दा भारतीय नागरिकहरुसँग चिनजान भएपछि लागू औषधको कारोबार गर्न खोजेको देखिन्छ,’ प्रहरी उपरीक्षक खड्का भन्छन्। अहिले उनीमाथि थप अनुसन्धान भइरहेको छ।

corrent noodles
Metro Mart

५ पुस २०७६ राति साढे ८ बजे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा यात्रुहरुको झोला जाँच हुँदै थियो।

स्क्रिनमा निगरानी गरिरहेको प्रहरीले दुई वटा सुटकेसमा पिँंधको आकार अस्वाभाविक देख्यो। क्याथे प्यासिफिकको केए १०३ नम्बरको उडानबाट हङकङ जान लागेका बेलारुसका नागरिक २१ वर्षीय पभेल भासिलिय र एलिना एल्डोसाइनाका सुटकेस थिए ती।

शंका लागेको प्रहरीले सुटकेस खोतलेर हेर्दा फल्स बटममा ३–३ किलो कोकिन लुकाइएको भेटायो।

२१ वर्षे यो जोडी समातिएपछि प्रहरीले लाजिम्पाटस्थित होटल लस्ट गार्डेनको ३०४ नम्बर कोठाबाट दुई वोलिभियन नागरिक रोबेर्टाे कार्लोस मेरुबिया मराईस र राउल जाम्ब्राना ओर्डेन्जलाई पक्राउ गर्‍यो। २१ वर्षीय युवक र युवतीलाई प्रहरीले शंंका कम गर्ने आधारमा उनीहरुले बेलरुसका जोडी युवालाई कोकिन जिम्मा लगाएका थिए।

यसअघि १ पुसमा एक बोलिभियन महिला तीन किलो कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेकी थिइन्। राति ९ बजे दुबईबाट काठमाडौं ओर्लिएकी ४१ वर्षीया हेरेरा आर्टेजा ओल्गाले प्लास्टिकमा पोको पारेको कोकिन ज्याकेटभित्र लुकाएकी थिइन्।

२० मंसिर २०७६ मा लागू औषध बनाउने सहायक रसायन इफेड्रिनसहित चिनियाँ नागरिक ३१ वर्षीय च्याङ चाओ पक्राउ परे। उनको साथबाट प्रहरीले ४ किलो २०० ग्राम उक्त रसायन बरामद गर्‍यो।

काठमाडौं महानगरपालिका–१६ स्थित एक कार्गो कम्पनीबाट न्युजिल्याण्ड पठाउन ठिक्क पारिएको उक्त रसायन चीनबाटै नेपाल ल्याइएको थियो । अर्थात् नेपाललाई ट्रान्जिटका रुपमा मात्रै प्रयोग गरियो। न्युजिल्याण्डमा उक्त रसायनको मूल्य चीनमा भन्दा २२ गुणा बढी पर्ने ब्यूरोको भनाइ छ।

पक्राउ परेका सबै विदेशी नागरिकहरु लागू औषध नियन्त्रण ऐन २०३३ को कसुरमा मुद्दामा पूर्पक्षका लागि कारागारमा छन्।

अहिले कोभिड–१९ का कारण सरकारले अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेका कारण पछिल्लो समय विमानस्थल क्षेत्रबाट लागू औषध बरामद भएको छैन।

त्यसअघि ४ भदौ २०७६ मा आइभरी कोस्टका मार्सेल गुइही त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे। लाओस–दोहा हुँदै काठमाडौं आइपुगेका उनी भारततर्फ उड्न लाग्दा एक किलो ६ ग्राम कोकिनसहित पक्राउ परेका थिए। मार्सेल लागूऔषधको अन्तर्राष्ट्रिय ओसारपसारमा सक्रिय व्यक्ति हुन्।

३ साउन २०७६ मै पोर्चुगिज नागरिक टीआगो मेन्डिज पिरेइराको साथबाट पनि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै ‘मेथ एम्फेटामिन’ नामको लागूऔषध बरामद गर्‍यो।

एअर इण्डियाको एआई–२१६ नम्बरको उडानबाट भारतको दिल्ली हुँदै जापान जान लागेका मेन्डिजका साथबाट बरामद ४ किलो २०० ग्राम मेथ एम्फेटामिनको बजार मूल्य करिब ४ करोड रुपैयाँ रहेको प्रहरीको भनाइ छ। यो नेपालमा बरामद भएको लागू औषधको अहिलेसम्मकै ठूलो परिमाण थियो।

४ माघ २०७४ मा काठमाडौंको ठमेलबाट १ किलो ९५८ ग्राम कोकिन सहित २८ वर्षीय बोलिभियाली नागरिक फ्रेडी मामानी आन्डीआ र थाई नागरिक खुआन्जाइ खनारट पक्राउ परे ।

कालो सुटकेसमा लुकाएर अन्यत्र पठाउने तयारी भइरहेका बेला पक्राउ परेका उनीहरु दुबै पुर्पक्षका लागि कारागारमा छन्।

७ असोज २०७४ मा ठमेल क्षेत्रबाटै २ किलो ७०० ग्राम कोकिन सहित बोलिभियाली नागरिक एन्ज लुपेज एधेमार र भारतीय नागरिक क्यूमार जहानलाई लागू औषध नियन्त्रण ब्यूरोले पक्राउ गर्‍यो।

उनीहरु दुवैजना बोलिभिया–ब्राजिल–इथोपिया–दुवइ रुट भएर नेपाल आइपुगेका थिए। दुवैजना अहिले पुर्पक्षका लागि कारागार चलान भएका छन्।

२६ साउन २०७३ मा काठमाडौंमै ३ किलो ५४ ग्राम कोकिन सहित पक्राउ परेका बोलिभियाली नागरिक रोसी ग्युडेय र थाइ नागरिक वायानना क्युपिकुल पनि बोलिभिया–ब्राजिल–इथोपिया–भारतको रूट हुँदै नेपाल आएका थिए। उनीहरू काठमाडौंबाट मलेसिया र दुबई जाने योजनामा थिए।

बोलिभियन नागरिक टेओडोभिच गोन्वाल्स पाओला ७ भदौ २०७३ मा ३ किलो १२५ ग्राम कोकिन सहित पक्राउ परे। बोलिभियाबाट ब्राजिल–इथोपिया–भारत हुँदै नेपाल आइपुगेका उनलाई लागू औषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको थियो।

नेपालमा हुने गरेका आपराधिक क्रियाकलापमा मात्रै होइन, पछिल्लो समय लागू औषध कारोबारमा समेत विदेशी नागरिकको संलग्नता बढेको यी घटनाक्रमले देखाउँछन्।

नेपाललाई लागू औषधको ट्रान्जिट हब बनाई पयर्टक भिसामा नेपाल आउने र यहाँबाट अन्य मुलुकमा ओसारपसार गर्ने काममा विदेशीहरुको संलग्नता बढ्दो छ।

‘अन्य देशबाट लागू औषध लिएर नेपाल आउने र यहाँबाट फेरि अरु नै देशमा लैजाने गरेको पाइएको छ,’ ब्यूरोका एक अधिकारी भन्छन्।

लागू औषध नियन्त्रण ब्यूरोमा लामो समयदेखि कार्यरत प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार नेपालमा हरेक वर्ष लागू औषधको प्रयोग बढ्दो अवस्थामा देखिन्छ। गृह मन्त्रालयले २३ असारमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार हाल नेपालमा लागू औषध प्रयोगकर्ताको संख्या १ लाख ३० हजार छ।

महँगो र हानिकारक लागू औषधसहित विदेशी नागरिकहरु पक्राउ पर्ने क्रम बढेको उनी बताउँछन्। विभिन्न मुलुकबाट कोकिन, आइस, हेरोइन, मेथ एम्फेटामिन लगायतका लागू औषधसहित विदेशीहरु काठमाडौं पुग्ने गरेको ब्यूरोको तथ्यांकले पनि देखाउँछ।

भारतीयको संलग्नता

२७ माघ २०७५ मा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले धादिङको गजुरी–१ बाट एचआर ५५ एम ९४८४ नम्बरको भारतीय कन्टेनर नियन्त्रणमा लियो।

उक्त कन्टेनरमा खानतलासी गर्दा भारततर्फ लैजान लागिएको ३६० किलो अवैध चरेश फेला प¥यो।

चरेश ओसारपसारमा संलग्न भारतको उत्तर प्रदेशका ६४ वर्षीय ओमप्रकाश र २९ वर्षीय मोरपाल वर्मासँगै बिहारका ३४ वर्षीय गुलाव खान पनि पक्राउ परे।

त्यसअघि १९ पुसमा पनि धादिङको गजुरी क्षेत्रबाटै एचआर ३८ एस ९३७१ नम्बरको कन्टेनरबाट ब्यूरोले २३५ किलो चरेश बरामद गरेको थियो।

पर्साका ५० वर्षीय लालमहम्मद गद्दी र भारत उत्तर प्रदेशका ३० वर्षीय चालक सतेन्द्रसिंह वेघल पक्राउ परे।

गद्दी भारतीय जेलमा ३ वर्ष ६ महिना कैद सजाय भुक्तान गरिसकेका लागू औषध कारोबारी हुन्। उनले ट्रकबाट भारतमा चरेस लैजाने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

१ असोज २०७६ मा प्लाष्टिकका बाल्टिनभित्र चामल र पिठोमा लुकाएर ल्याइएको ठूलो परिमाणको लागूऔषधसहित तीन भारतीय पक्राउ परे। उनीहरुलाई शान्तिनगर क्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो।

लागू औषधका व्यापारीले उक्त ड्रग काठमाडौंसम्म ल्याउन बीआर ३० पी ८६०७ नम्बरको नयाँ गाडी किनेका थिए।

लागू औषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी दीलिपकुमार चौधरी औषधीजन्य लागू औषध भारतबाट नेपाल आउने गरेको र चरेश, गाँजा लगायतका लागू औषध नेपालबाट भारततर्फ जाने गरेको बताउँछन्।

‘विभिन्न ठाउँमा ब्यूरोको जाँच र निगरानीले पक्राउ पर्ने क्रम बढ्दो छ,’ उनले भने, ‘खुला सीमा भएकाले पनि सहजै ओसार पसार गर्न सक्छन्।’

ब्राउन सुगर, आइस र याबाको नेपालमै हुन थाल्यो खपत

कोकिन, सेतो हेरोइन, मेथ एम्फेटामिन (आइस), ब्राउन सुगर, याबा लगायतका निकै महँगा लागू औषध नेपालमा ओसारपसार हुने मात्र होइन, पछिल्लो समय यहीँ खपत हुन थालेको पाइएको छ।

‘केही दिनअघि विराटनगरमा एक व्यापारी आइससहित पक्राउ परे,’ ब्यूरोका डिएसपी प्रेमबहादुर शाही भन्छन्, ‘पछिल्लो समय नेपालमै याबा, आइस र ब्राउन सुगरको खपत हुन थालेको भेटिएको छ।’

याबा एक चक्कीको अवैध बजारमा मूल्य ८०० देखि एक हजार रुपैयाँसम्म पर्छ भने ब्राउन सुगर र आइसको एक ग्रामको ५ देखि ७ हजार पर्छ।

नेपालमा सबैभन्दा धेरै बरामद हुने लागूऔषध कोकिन हो। सेतो हेरोइन पनि छिटपुट बरामद हुँदै आएको छ।

कोकिन र सेतो हेरोइनको माग सबैभन्दा बढी युरोप, अमेरिका, चीन र हङकङमा छ। ‘अहिलेसम्म पक्राउ परेका लागू औषध कारोबारीमध्ये अधिकांशको उडान यात्रा ब्राजिल हुँदै विभिन्न देश भएर नेपाल आउने गरेको देखिएको छ,’ ब्यूरोका एक अधिकृतले भने, ‘अधिकांशले नेपाललाई ट्रान्जिट बनाएर फेरि अन्य मुलुकमा लैजान्छन्।’

सोझै गन्तब्य मुलुकमा पुर्‍याउन असुरक्षित देखेरै उनीहरु पर्यटक भिसामा नेपाल आएर यहींबाट कारोबार गरेको पाइएको छ।

यद्यपि, नेपालमा पक्राउ परेकाहरु मुख्य कारोबारी नभई आर्थिक प्रलोभनमा परेर ओसार पसार गर्ने भरिया भएको ब्यूरोका डिएसपी शाही बताउँछन्। उनले भने, ‘मुख्य कारोबारी यहाँ आउँदैनन्।’ ल्याटिन अमेरिकी देश ब्राजिल, अफगानिस्तान लगायतका देशहरुमा कोकिनको उत्पादन धेरै हुन्छ। कोकिन र सेतो हेरोइनको अवैध बजार मूल्य प्रतिकिलो करिब ३ करोड रुपैयाँ छ।

१० वर्षमा १४९९ विदेशी पक्राउ

लागू औषधको कारोबार हरेक वर्ष बढेसँगै त्यसका कारोबारी पक्राउ पर्ने क्रम पनि बढ्दो छ।

अहिलेसम्म लागू औषध कारोबारीमध्ये भारतीय नागरिक सबैभन्दा धेरै पक्राउ परेका छन्। नेपाल प्रहरीको तथ्यांक अनुसार सन् २०१० देखि जुन २०२० सम्म लागू औषध कारोबारमा पक्राउ परेका विदेशीमध्ये १३५२ भारतीय छन् भने १४७ जना अन्य मुलुकका।

तर, पक्राउ परेका भारतीय नागरिकहरु अधिकांश गाँजा र चरेस तस्करीको आरोपमा पक्राउ परेका हुन्।

लागू औषधको दलदलमा फसेका कतिपय मुलुकमा संगठित रुपमै लागू औषधको कारोबार हुने गर्छ। नेपालमा संगठित बिक्री वितरण नभए पनि अवस्था चुनौतीपूर्ण रहेको प्रहरीकै तथ्यांकले देखाएको छ।

प्रकाशित: Aug 14, 2020| 07:05 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।