काठमाडौं– २८ साउनसम्म मुलुकभर धान फल्ने ९८ प्रतिशत खेतमा रोपाइँ भएको छ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार हालसम्म १३ लाख ४६ हजार ९२० हेक्टर जमिनमा रोपाइँ गरिएको हो।
मन्त्रालयका अनुसार उच्च पहाडी क्षेत्रमा ९८.८४ प्रतिशत, मध्य पहाडमा ९७.२७ र तराईमा ९८.५ प्रतिशत रोपाइँ भएको छ।
मन्त्रालयका अनुसार १३ लाख ७१ हजार ७०६ हेक्टरमा धान खेती हुन्छ। यो वर्ष गत वर्षको सोही समयको तुलनामा ५१ हजार बढी हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ। गत वर्ष साउन मसान्तसम्म ९४.४३ प्रतिशत रोपाइँ भएको थियो।
यो वर्ष समयमै मनसुन सक्रिय भएको कारण पर्याप्त रोपाइँ भएको मन्त्रालयले जनाएको छ। त्यस्तै कोरोना महामारीका कारण कामकाजी उमेर समूहका व्यक्ति गाउँघर फर्किएका कारण पनि रोपाइँ बढी भएको मन्त्रालयको भनाइ छ।
उच्च पहाडी क्षेत्रमा ४८ हजार २०० हेक्टर, मध्य पहाडको ३ लाख ४६ हजार हेक्टर र तराईको ९ लाख ७७ हजार ४०१ हेक्टर जमिनमा रोपाइँ हुन्छ। मन्त्रालयका अनुसार सामान्यतया १० भदौसम्म रोपाइँ गरिन्छ।