मंगलबार, कात्तिक ४, २०७७

विचार

महामारीसँग जुध्न एकीकृत चिकित्सा पद्धति 

1601196722.jpg

विश्वमा कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु हुनेको नौ लाख ७५ नाघेको छ। तीन करोड १७ लाख मानिस संक्रमित छन्। यो संख्या बढ्दो छ। 

नेपालमा ७१ हजारभन्दा बढीमा संक्रमण भइसकेको छ भने मृत्यु हुनेको संख्या ४६७ पार गरिसकेको छ। अन्य देशको तुलनामा नेपालको स्थिति अत्यासलाग्दो देखिँदैन। तर हामी सामुदायिक संक्रमणको खतरामा छौं। त्यसैले उच्च स्वास्थ्य सतर्कता अपनाउनुको विकल्प छैन। 

विश्वका तमाम ठूलाठूला राष्ट्राध्यक्ष, मन्त्रीसमेत यस भाइरसको प्रभावबाट बच्न सकेनन्। यद्यपि मृत्युदर औसत २.४५ प्रतिशत मात्र छ।
वैज्ञानिकहरू कोरोना भाइरस (कोभिड १९) को पहिचान र  महामारीबाट बच्न भ्याक्सिन बनाउन सक्रिय छन्।

विश्वका झन्डै एक सय ५० देश कोरोनाको भ्याक्सिन तयार गर्ने प्रयासमा छन्। आधुनिक चिकित्सा विज्ञान (एलोप्याथी) ले यस रोगको कुनै औषधि बनाइसकेको छैन।

कतिपय देशले परम्परागत चिकित्सा पद्धतिलाई पनि कोरोना उपचारमा प्रयोग गरिरहेका छन्। ती केही मात्रामा सफल पनि भएका छन्। चीनमा कोरोना उपचारमा चाइनिज मेडिसिन प्रयोग गरिएको छ। भारतमा होमियोप्याथिक औषधि प्रयोग भएका छन्।  

आयुर्वेदिक, होमियोप्याथी, नेचरोप्याथी, युनानी चिकित्सा पद्धति सबैमा कुनै न कुनै रोगलाई समुल नष्ट गर्ने क्षमता छ। त्यसैले महामारीका बेला सबै पद्धतिलाई एकीकृत रूपमा प्रयोगमा ल्याउनु आवश्यक छ। कोरोना महामारी नियन्त्रणमा होमियोप्याथी उपचार पद्धतिबारे पनि सोच्ने हो कि?

होमियोप्याथीमा कोरोना उपचारको कुनै प्रमाण उपलब्ध छैन र यसका औषधिको क्लिनिकल ट्रायल भएको छैन भनेर भ्रम पनि फैलाएको पाइन्छ। तर के स्पष्ट हुनुपर्छ भने होमियोप्याथीका लागि मात्र होइन, कोरोना भाइरस सबै चिकित्सा पद्धतिका लागि नयाँ चुनौती हो। एक्लो होमियोप्याथी चिकित्सा पद्धतिमा मात्र कोरोना उपचारको कुनै प्रमाण छैन भन्ने तर्क गर्नु उपयुक्त होइन। 

होमियोप्याथी चिकित्सा व्यक्तिपरक उपचार पद्धति हो। यसमा रोगीको उपचार गरिन्छ, रोगको होइन। यसकारण पनि होमियोप्याथी सैद्धान्तिक रूपले कोरोना निको बनाउन सक्छ भन्ने दाबी गर्न सक्दैन। 

आयुर्वेद परम्परागत चिकित्सा पद्धति हो। यसमा चिकित्साका कैयौं सिद्धान्तको उल्लेख पाइन्छ। तिनै सिद्धान्तमध्ये एउटा होे ‘संम : संमस शमयतिस’ अर्थात् औषधि एवं रोगको लक्षणको समानताका आधारमा उपचार। 

यसै सिद्धान्तमा विकसित होमियोप्याथीमा औषधि निर्माणमा आयुर्वेदको सूत्र ‘मर्दनम् गुण वर्धनम्’ अनुरुप होमियोप्याथिक औषधिलाई शक्तीकृत (पोटेन्टटाइजेसन) गरिन्छ। सन् १८३१ मा स्कारलेट फिवरको महामारी, सन् १८४९ मा युरोपियन देशमा फेलिएको एसियाटिक कालारा (हैजा) महामारी र सन् १८५० मा पोलियो नियन्त्रणमा होमियोप्याथी औषधिको सफलतापूर्वक प्रयोग गरिएको थियो। 

भारतमा सन् १९९९ मा आन्ध्रप्रदेश सरकारले होमियोप्याथी विभागको सहयोगमा अभियान नै चलाएर डेंगु, चिकन फोक्स, चिकनगुनिया आदिको उपचार गरिएको थियो। 

संक्रामक एवं अन्य भाइरस जनित रोगमा पनि होमियोप्याथी औषधिको प्रभावले त्यहाँका जनता लाभान्वित भएका थिए। 

सबै चिकित्सा पद्धतिको उद्देश्य मानव स्वास्थ्यलाई कुनै हानि नपुर्‍याई स्वस्थ्य राख्नु हो। त्यसैले सबैको स्वास्थ्य रक्षाको संकल्प सिद्धिका लागि सबै चिकित्सा पद्धतिलाई समन्वयात्मक रुपमा अपनाउनुपर्छ। 

मान्यता प्राप्त सबै चिकित्सा पद्धतिलाई एउटै छातामुनि राखेर उपचार पद्धति अवलम्बन गर्ने हो भने कोरोनाको माहामारी कम गर्न सकिन्छ। 
(लेखक होमियोप्याथी चिकित्सक तथा प्राध्यापक हुन्)

प्रतिक्रिया दिनुहोस्