हिजो (सोमबार) देशभर ३३८ जना कोरोना संक्रमित थपिए। आइतबार र सोमबार गरी ५ जना संक्रमितको मृत्यु भयो। पछिल्ला दिनमा संक्रमण र मृत्युदर दुवै बढेको छ।
चार महिना लामो बन्दाबन्दी (लकडाउन) पछि पनि कोभिड–१९ को संक्रमण नरोकिनुमा सरकारको तयारी र जनताको हेलचेक्र्याइँ कारक भएको जानकारहरुले बताएका छन्।
जनस्वास्थ्यका विज्ञ डा. बाबुराम मरासिनी भन्छन्, ‘संक्रमण बढ्नुको मुख्य कारण विदेशबाट आउने मानिसहरुलाई सरकारले निगरानी गर्न नसक्नु, अव्यवस्थित क्वारेन्टिन, अपर्याप्त परीक्षण, कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी रुपमा हुन नसक्नु नै हो।’
साउन ७ गते लकडाउन खुलेसँगै संक्रमणको दर बढेको छ। साउन ७ गतेसम्म १८ हजार ९४ जना कोरोना संक्रमित भएकोमा २६ गते यो संख्या २३ हजार ३१० पुगेको छ। २० दिनमा ५ हजार २१६ जना संक्रमित थपिएका छन्।
समुदायमा संक्रमणको अवस्थाबारे सरकारी अधिकारी र स्वतन्त्र विज्ञहरुको मत बाझिँदै आएको छ। विज्ञहरु समुदायमा संक्रमण फैलिसकेको तर्क गर्छन् भने स्वास्थ्य मन्त्रालयले त्यसको खण्डन गर्दै आएको छ।
जनस्वास्थ्यका जानकार डा. वासुदेव पाण्डेका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो समय देखिएका संक्रमितमध्ये ६५ प्रतिशतभन्दा बढी अन्य जिल्लाबाट आएका छन् । बाँकी ३५ प्रतिशत ती ६५ प्रतिशतको सम्पर्कमा आएका मानिस हुन्।
‘उपत्यकामा देखिएका केही संक्रमितको स्रोत पहिचान गर्न नसक्दा समुदायमा छिरेको हो भन्न सकिन्छ,’ डा. पाण्डे भन्छन्, ‘उपत्यकामा समुदायमा छिरिसकेको छ तर देशको सबै ठाउँमा समुदायमा संक्रमण फैलिएको भन्न मिल्दैन । उपत्यकामा ‘क्लस्टर’ (सम्पर्क–सम्पर्क–सम्पर्क)को रूपमा फैलिसकेको छ ।’
जनस्वास्थ्यका विज्ञ डा. बाबुराम मरासिनीका अनसार नेपालमा कोरोना नियन्त्रण तथा रोकथामका लागि पर्याप्त समय थियो।
डा. मरासिनीको जिकिर छ– विज्ञहरुले सुझाव दिँदादिँदै पनि सरकारले यथास्थितिमै कोरोना नियन्त्रण गर्छु भनेर मूर्खता देखाएकाले यो अवस्था आएको हो । त्यसो त संक्रमण फैलिुनमा आम मानिसको भूमिका पनि कम छैन। जनस्वास्थ्यका मापदण्ड पालना नगरी भीडभाड गर्ने, मास्क नलगाउने, लगाए पनि चिउँडोमा लगाउने, अनेक आन्दोलन गर्ने गरेपछि संक्रमण त फैलिन्छ नै।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम आम मानिस सचेत नभएसम्म कोरोना नियन्त्रणमा कठिन हुने बताउँछन्। भन्छन्, ‘मास्क लगाइदिने र सामाजिक दूरी कायम गर्ने, भीडभाड नगर्ने हो भने नियन्त्रण हुनसक्छ, नत्र सम्भव छैन । सरकारलाई मात्र आरोप लगाएर हुँदैन।’
साँझ परेपछि होटल–रेष्टुरेन्टमा जम्मा हुने अनि चिया पसल र जिमखाना धाउने मानिसले गर्दा संक्रमण फैलिन मद्दत पुगेको गौतम बताउँछन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीका अनुसार प्रदेश नं २, काठमाडौं उपत्यका लगायत देशका केही स्थानमा कोरोना संक्रमणको अवस्था चिन्ताजनक देखिएको छ।
अधिकारी भन्छन्, ‘अवस्था चिन्ताजनक छ तर यसो भन्दैमा नियन्त्रणमा गाह्रो भइसक्यो भन्न मिल्दैन । समुदायमा गएको भन्ने कुनै आधार छैन, हामी क्लस्टर केसमा छौं, यसपछिको चरण बल्ल समुदायमा जाने हो । मन्त्रालयको मुख्य रणनीति रोकथाम नै हो । पछिल्लो समय अस्पतालमा संक्रमितहरु राख्न गाह्रो हुँदै आएको छ, त्यसैले हामीले होम आइसोलेसनको नीति ल्याएका छौं।’ संक्रमित धेरै भएपछि कन्ट्याक्ट ट्रेसिङमा पनि समस्या भएको उनको गुनासो छ ।
कोरोना संक्रमण बढ्दै जाँदा अस्पतालका बेड, उपकरण तथा स्वास्थ्यकर्मीको अभाव हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना संक्रतिका लागि २ हजार ६०० आईसियू र ९ सय भेन्टिलेटर तयार पारिएको छ। २४० आईसीयु बेड थप गर्नका लागि प्रक्रिया अघि बढाइएको सरकारले बताएको छ ।
अस्पतालहरूलाई तयारी अवस्थामा राख्न आवश्यक पूर्वाधार, स्वास्थ्य सामग्री, मानवीय तथा वित्तीय स्रोतको व्यवस्था गरिएको पनि मन्त्रालयले जनाएको छ।
सहप्रवक्ता डा. अधिकारी भन्छन्, ‘यो पूर्वाधार पर्याप्त होइन। कति संक्रमित हुन्छन् भन्ने नै थाहा छैन । हामीले अनुमान गरेभन्दा कम संक्रमित देखिएका छन् । कोरोना संक्रमणको समयमा पूर्वाधार थप भएका छन्। तर, हामीले थेग्न नसक्ने अवस्था चाँडै आउन सक्छ। यो अवस्था नआओस् भन्नका लागि रोकथाममा जोड दिएका छौं।’