काठमाडौं- जनकपुरमा चिनीभित्र लुकाएको एक थान पेस्तोलसहित युवक पक्राउ परेका छन्।
प्लास्टिकको झोलामा राखिएको चिनीभित्र लुकाइराखेको ४.५ लेखिएको अटोमेटिक पेस्तोलसहित प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–१०, बाह्रबिघाबाट युवकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ का २१ वर्षीय सुजित यादव रहेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
मिश्रका अनुसार युवकसँग पेस्तोलमा लाग्ने एक थान म्याग्जिन पनि बरामद गरिएको छ।
यादवले बिक्रीको लागि उक्त पेस्तोल ल्याएको प्रहरीले जनाएको छ। जनकपुरमा निषेधाज्ञा जारी रहेको समयमा यादव हतियार बेच्न आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।