कला - साहित्य

निकुञ्जमै पुगेर राजाले किन मार्थे गैंडा?

1601088653.jpg

‘अन हिज म्याजेस्टिज् सर्भिस’ नेपालका राष्ट्रिय निकुञ्ज स्थापना तथा विकासक्रमको रोचक इतिहास समेटिएको पुस्तक हो। २५ वर्षसम्म वन्यजन्तु संरक्षणमा संलग्न हेमन्त मिश्रको यो पुस्तकमा निकुञ्ज स्थापनाका दिनहरुको रोचक वर्णन छ। 

NLG Insurance
agrakhi
Yeti parketing

नेपालमा पहिलोपटक सन् १९७३ मा चितवन राष्ट्रिय निकुञ्ज स्थापना गरिएको हो। निकुञ्ज कुनै पूर्वाधार र आधारभूत मापदण्डबिना नै घोषणा गरिएपछि निकुञ्ज प्रशासन र स्थानीय बासिन्दाबीच विवाद बढेको थियो। त्यसलाई व्यवस्थापन कसरी गरियो भन्ने प्रसंग पुस्तकमा छ। 

राज्यारोहण भएपछि राजाले पितृ र देशमा शान्तिका लागि आफैंले गैंडा मार्नुपर्ने चलन रहेछ। तत्कालीन राजा वीरेन्द्रले आफू राजा भएको ६ वर्षपछि निकुञ्मा पुगेर भाले गैंडा मारेर तर्पण दिएका थिए। राजा भएको ६ वर्षसम्म वीरेन्द्र गैंडा मार्न तयार भएनछन्। किन त? यसका लागि पुस्तक पढ्नैपर्छ।

पुस्तकमा ३८ वर्षअघिको खम्पा विद्रोहको एउटा पाटो रोचक शैलीमा लेखिएको छ। बुद्धको जीवनीमाथि वृत्तचित्र बनाउने निहँुमा तिब्बतमा भएको खाम्पाको गुरिल्ला हमलाको दृश्य  बेलायतीले खिचेका रहेछन् । त्यसलाई ती बेलायतीले नै बर्णन गरेको सन्दर्भ पुस्तकमा छ । 

विदेशीहरुको नेपालमा कस्ता स्वार्थ हुन्छन् भन्ने झिनो तर महत्त्वपूर्ण अंशले नेपालप्रति विदेशीले हेर्ने दृष्टिकोण अभिव्यक्त भएको छ।

यस्तै हिप्पीकालीन काठमाडौंको परिवेश पढ्दा पाठक सन् ६० को दशकतिर फर्किन्छन्। मिश्रको हिप्पीमय काठमाडौंको वर्णनले पिको आयरको पुस्तक ‘भिडियो नाइट इन काठमाडौं’ को झल्को दिन्छ।

मिश्रले वन्यजन्तु संरक्षणका क्षेत्रमा सन् १९६७ देखि १९९२ सम्म निरन्तर काम गरेका थिए।  नेपालको संरक्षण समस्या, संरक्षणको सरकारी प्रयास र प्रशासनिक नालीबेली, ‘टेबुल’ मा बसेर गरिने संरक्षण योजना र ‘फिल्ड’ मा कार्यान्वयनको अवस्था पुस्तकका अन्य  विषयवस्तु हुन्। 

वन्यजन्तु संरक्षणका लागि प्रायः चोरी सिकार मुख्य समस्या हो। तर चोरी सिकारमा संलग्न सीमान्तकृत समुदायको आर्थिक अवस्थालाई वास्ता गरिन्न। निकुञ्जबाट हुने आर्थिक उपार्जनमा स्थानीय सीमान्तकृत समुदायलाई सहभागी नगराएसम्म संरक्षण सफल हुन नसक्ने यथार्थ छ। 

नेपालका राष्ट्रिय निकुञ्जहरुमा चितवन राष्ट्रिय निकुञ्जको आम्दानी सरदर २५ करोड माथि पुग्छ। चितवन निकुञ्जकै कारणले सौराहा पर्यटकीय नगरी भएको छ। यहाँसम्म आइपुग्न विगतमा के कस्ता प्रयास भए? मिश्रले यसको उत्तर दिएका छन्।  

अन्नपूर्ण क्षेत्र संरक्षण परियोजनाको स्थापनामा चलनचल्तीको संरक्षण सिद्धान्तविपरीत जनसहभागिता र जनताको आवश्यकतालाई अग्रभागमा राखेर संरक्षण कार्य अघि बढाएको थियो। 

सगरमाथा राष्ट्रिय निकुञ्ज स्थापनाका लागि सर एडमन्ड हिलारीको ठूलो सहयोग थियो। यी र यस्ता धेरै प्रसंग नेपालको वन्यजन्तु संरक्षणमा भएका प्रयास हुन्।।

स्थानीय बासिन्दा किन संरक्षण क्षेत्रविरुद्धमा हुन्छन् र तिनलाई कसरी सम्बोधन गर्नुपर्ने हुन्छ भन्ने संरक्षणको पाठ पुस्तकले सिकाउँछ। संरक्षण क्षेत्रबाट हुने फाइदाको पहिलो हकदार स्थानीय नभएसम्म र संरक्षण क्षेत्रमा गरिने प्रयासले स्थानीयको जनजीवनलाई सहज पार्ने प्रयास नभएसम्म संरक्षण सफल हुँदैन निष्कर्ष मिश्रको छ। 

वन्यजन्तुको चोरी सिकार नियन्त्रण गर्न निकुञ्जमार्फत हुने आर्थिक उपार्जनमा स्थानीयलाई समावेश गराउनुपर्ने कुरा पुस्तकमा उदाहरणसहित आएको छ।

पञ्चायतकालमा ‘माथिको आदेश’ का भरमा काम गर्नुपर्ने वातावरणमा हुर्केका मिश्रले गणतन्त्र स्थापना भइसकेपछिको खुला वातावरणमा पुराना दिन संस्मरण गर्दा अनेक विषयमा खुला अभिव्यक्त आएका छन्।

मिश्रकै यसअघि प्रकाशित ‘सोल अफ राइनो’ ले चितवनका एकसिङे गैंडा संरक्षण प्रयास तथा बर्दियामा गैंडा स्थानान्तरणको प्रसंगलाई सविस्तार व्याख्या गरेको छ भने ‘बोन अफ टाइगर’ ले पाटेबाघको संरक्षणलाई वर्णन गरेको छ। मिश्रको प्रस्तुत पुस्तक धेरै हदमा ती दुई पुस्तकको रचनागर्भसरह पनि छ । यसमा ती दुई पुस्तकका सन्दर्भहरुको थप व्याख्या छ।

पुस्तक : अन हिज म्याजेस्टिज सर्भिस (अंग्रेजी)
लेखक : हेमन्त मिश्र (साथमा जिम ओटावा)
प्रकाशक : वज्र बुक्स
पृष्ठ : ३५४ + १५
मूल्य : रु.९००
 

प्रतिक्रिया दिनुहोस्