बुधबार, कात्तिक १२, २०७७

Happy Dashain
कला - साहित्य संवाद

मैले लेखेका कुराले भुइँ मान्छेलाई छोएको छैन : चन्द्रप्रकाश बानियाँ

1601039002.jpg

चन्द्रप्रकाश बानियाँको ‘महारानी’ उपन्यासले २०७६ सालको मदन पुरस्कार पाएको छ। उनका ‘ऐतिहासिक पर्वत राज्य’, ‘खस जाति र कुलपूजा’, ‘मृत्यु संस्कार मन्थन’ यसअघि नै प्रकाशित भइसकेका छन्। उनको निबन्धको सँगालो ‘भौंज्याहा’ प्रकाशोन्मुख छ। ‘महारानी’ कृतिमा आधारित रहेर बानियाँसँग नेपाल समयले गरेको छोटो कुराकानी–
  
मदन पुरस्कार पाएपछि तपाईंले लेख्नुभएको उपन्यास ‘महारानी’ चर्चामा छ। तपाईंको विचारमा यो पुस्तक किन पढिदिए हुन्थ्यो जस्तो लाग्छ?

आफ्नो सिर्जना सबैले पढिदिए हुन्छ भन्ने लाग्नु स्वाभाविकै हो। ‘महारानी’ विशुद्ध उपन्यास भन्दा पनि अहिलेसम्म नलेखिएको र विलुप्त हुने अवस्थामा पुगेको इतिहास हो। 

पर्वत राज्यको इतिहास विशाल छ। गोरखासँग पराजित भएपछि यसको इतिहास दबिएको थियो। त्यसलाई अनुसन्धान गरेर सकेजति बाहिर ल्याउने प्रयास गरेको छु। त्यसैले यो जनजनको इतिहास हो। यसले समाज परिवर्तन र राजनीतिक चेतना त दिन नसक्ला तर संस्कृति र जनभावनासँग जोडिएकाले यसको विशेष महत्त्व रहिरहनेछ। 

इतिहासलाई आख्यानमा बदल्न कठिन भएन? 

इतिहास तथ्य र प्रमाणमा आधारित हुन्छ। साहित्यमा कल्पना हुन्छ। ‘महारानी’ मा चाहिँ तथ्य बढी र कल्पना कम छ। त्यसैले यो ऐतिहासिक विषयमा आधारित उपन्यास हो। यसमा आजभन्दा तीन–चार सय वर्षको पर्वत राज्यको इतिहास छ। मेरो पुर्खाको त्यागको गाथा छ। त्यति बेलाको तथ्य खोजेर आख्यानीकरण गरेको हुँ। कठिन त हुने नै भयो।

उपन्यास लेखनको पृष्ठभूमि बताइदिनुस् न?

म २०४७ सालमा तत्कालीन एमालेका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएको थिएँ। संसद् सदस्यको कार्यकाल सकिएपछि मैले सक्रिय राजनीति छाडें। बेनीमै बस्न थालें। जिविसले प्रोफाइल बनाउने भएछ।

पर्वतको इतिहासबारे जानकारको खोजी भयो। मलाई धेरैतिरबाट इतिहास खोज्न आग्रह भयो। अनि मैलै मुस्ताङ, म्याग्दी, पर्वत र बाग्लुङको भेटेजति इतिहास पढें। ती सबै समेटेर एउटा पुस्तक तयार पारें। २०६५ सालमा ‘ऐतिहासिक पर्वत राज्य’ शीर्षकमा प्रकाशित भयो। सबैले स्याबासी दिए। तर मलाई चित्त बुझेको थिएन। 

यो पुस्तक घटना र स्थान विशेषमा आधारित थियो। यसमा जनजनको इतिहास समेटिएको थिएन। मलाई जनजनको इतिहास लेख्ने हुटहुटी चल्यो। यसलाई विशुद्ध इतिहासभन्दा कुनै आख्यानमा ढालेर लेख्दा अझै रोचक होला जस्तो लाग्यो। त्यसैले इतिहासका ती विषय समेटेर एउटा उपन्यास लेख्ने अठोट गरें। यसको १२ वर्षपछि मैले ‘महारानी’ लेख्न थालेको हुँ।

कति समय लाग्यो उपन्यास लेख्न?

उपन्यास लेख्छु त भनें। तर जाँगर चलेन। मृत्यु संस्कारसम्बन्धी पुस्तक प्रकाशित भएपछि शिखा बुक्सका पुष्पराज पौडेलले अर्को किताब छिटो लेख्नुस् भनेर आग्रह गरे। मैले लेखिनँँ। तीन महिनापछि फोन आयो। लेख्न थालेको थिइनँ।

धेरैपटक फोन आएपछि ७५ साल चैत अन्तिमतिर चारपाँच दिन लगाएर खाका तयार पारें। ७६ साल वैशाख १५ देखि भदौ १५ सम्म लगाएर ‘महारानी’ उपन्यास लेखें। दोहो¥याएर पढिनँ। प्रकाशकलाई पठाइदिएँ। 

तपाईं साहित्य लेखनमा लाग्नुभएको कहिलेदेखि हो?

हुन त म कक्षा ५ पढ्दासम्म सवाई छन्दमा कविता लेखेको याद छ।  कक्षा ६ पछि त्यो क्रम रोकियो। एसएलसी पास भएपछि शिक्षक भएँ। कहिलेकाहीं लेख्थें। सबैले राम्रो भनेर प्रशंसा गर्थे। लेख–लेख भन्थे, अनुरोध गर्थे, मलाई भने कर गरेजस्तो लाग्थ्यो। लेख्थें। राम्रो लेखिस् भन्थे। थप तारिफ गर्थे।

२०५५ पछि धौलागिरी साप्ताहिक र म्याग्दी सन्देशमा निरन्तर लेख्न आग्रह भयो। विगत १७ वर्षदेखि जनधारणामा लेख्दै आएको छु। फोन गरेर अनुरोध गरे भने लेख्छु। तर म जान्नेछु भनेर यस्तो भनेको होइन। कसैले कर गरेन भने लेख्नै सक्दिनँ। त्यसलाई मेरो विशेषता वा कमजोरी जे भने पनि हुन्छ। 

तपाईंलाई कवि सांसद भन्नुको कारणचाहिँ के होला?

म कवि हुँदै होइन। तर मेरो बोली अरूलाई कविता जस्तो लाग्दो रहेछ। संसद्मा बोल्दा मेरो भाषण कर्मचारीले खुब मन पराउँथे। सबैभन्दा बढी त तत्कालीन एमालेका नेता भरतमोहन अधिकारीले मन पराउनुहुन्थ्यो। उहाँ क्यान्टिनमा रहेका मैले बोल्न थालेपछि दौडेर संसद् बैठकमा प्रवेश गर्नुहुन्थ्यो। तर मैले संसद्मा कविता वाचन गरेको थिइनँ।

तपाईं आफूलाई साहित्यकार होइन भन्नुहुन्छ नि?

साहित्य भनेको अनुभूतिहरुको सुन्दर सम्प्रेषण हो। जे सोचिन्छ, त्यसलाई कलमले व्यक्त गर्न सक्दैन। मैले साहित्यकारको क्षमता र कौशल विकास गरेको छु जस्तो लाग्दैन। ७० वर्षको उमेरमा पहिलोपल्ट उपन्यास प्रकाशित भएको छ, के साहित्यकार भन्नुँ? त्यसैले अन्य साहित्यकारको पंक्तिमा आफू परें जस्तो लाग्दैन।

यस वर्ष पुरस्कार पाएपछि केहीका नजरमा म साहित्यकार रहेछु जस्तो लाग्यो। म हृदयदेखि आफूलाई साहित्यकार भन्न रुचाउन्न। किनकि मैले यसमा धेरै केही गरेको छैन। पुरस्कारले एउटा मानक स्थापना गरिदिएको छ। मलाई ठूलो जिम्मेवारीबोध भएको छ। त्यो पूरा गर्न सक्छु कि सक्दिनँ भन्ने बडो चिन्ता छ।

मैले लेखेका कुराले भुइँ तहका मान्छेलाई छोएको छैन। साहित्यमा भुइँ मान्छेका अभिव्यक्ति आउनुपर्छ। ‘महारानी’ त समयको अभिलेख मात्र हो। अर्को कुरा साहित्यकार हुनु र लेखक हुुनु भिन्न कुरा हो।

तपाईं वामपन्थी राजनीतिमा संलग्न हुनुहुँदो रहेछ। अहिले मुलुकमा वामपन्थी सरकार छ। कतै मदन पुरस्कार गुठीले सत्तापक्षलाई रिझाउन तपाईंलाई पुरस्कार दिएको त होइन?

यो धेरैले चासो लिएको कुरा हो। केही दिनअघि मेरा सहपाठी पूर्वप्रधान्यायाधीश कल्याण श्रेष्ठसहितको भर्चुअल छलफलमा पनि यस्तै कुरा उठेको थियो। अरूले पनि त्यही शंका गर्नु स्वाभाविक हो। तर मलाई यो कुरामा विश्वास छैन। किनभने म अहिले पार्टी राजनीतिमा सक्रिय छैन। मैले सक्रिय राजनीति गरेको भनेको २०४७ सालपछि जम्मा सात वर्ष हो। त्यसपछि न म कुनै पदमा छु, न कुनै पहुँच छ। 
 

प्रतिक्रिया दिनुहोस्