वरिष्ठ अर्थशास्त्री प्रा.डा. विश्वम्भर प्याकुरेल कूटनीतिज्ञ, प्राध्यापक र साहित्यकारसमेत हुन्। श्रीलंकाका लागि नेपाली राजदूत भइसकेका उनले लामो समय त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र प्राध्यापन गरे।
२०२२ सालमा ‘गर्भ’ कथा प्रकाशन गरी साहित्य लेखनमा लागेका डा. प्याकुरेलको ‘इन्द्रेणीको गुम्बजभित्र’ कथा संग्रह प्रकाशित छ। उनले सिर्जना गरेका गीत नारायण गोपाल, गोपाल योञ्जन, निर्मला श्रेष्ठ, दीप श्रेष्ठ, अम्बर गुरुङ आदिको स्वरमा सुन्न पाइन्छ।
३० को दशकपछि साहित्यभन्दा अर्थशास्त्रमा केन्द्रित डा. प्याकुरेलको हालै ‘आफैंलाई खोज्दा केही छोपिएका केही उघारिएका’ संस्मरणात्मक कृति प्रकाशित भएको छ। सोही कृतिमा आधारित भएर डा. प्याकुरेलसँग गरिएको छोटो संवाद :
आफूले भोगेका भित्री पाटो प्रस्तुत गर्न कत्तिको सजिलो भयो?
अनुभव गरेका धेरै कुरा व्यक्त गर्दा मिठास हुँदैन। तर लेख्दै जाँदा केही भन्न नचाहेका कुरा पनि आउँदा रहेछन्। कतिपय सन्दर्भचाहिँ छोप्नैपर्ने रहेछ। किनकि यो अनुसन्धान गरेर लेखिने होइन रहेछ।
संस्मरण लेख्ने प्रेरणा वा आफ्नै पूर्वतयारी केही थियो कि?
मैले कुनै प्रेरणाबाट पनि आफूले भोगेका यथार्थलाई नयाँ पुस्तासमक्ष ल्याउने प्रयास गरेको हुँ। श्रीलंकामा राजदूत भएर कोलम्बोमा रहेका बेला लेखेको हुँ। यो किताब तयार पार्न मलाई दुई वर्षजति लागेको छ। भविष्यमा संस्मरण लेख्नुपर्छ भनेर कहिल्यै टिपोट गरिनँ। डायरी लेखिनँ। जति सम्झिएँ, तिनै कुरा यो पुस्तकमा लिपिबद्ध गरेको हुँ। तर पनि लेखनमा न्याय गरेजस्तो लाग्छ।
अर्थशास्त्रका कुरा पनि छन्?
पुस्तकमा अर्थशास्त्रसँग सम्बन्धित विषय सामान्य पाठकले बुझ्ने भाषामा लेखेको छु। आर्थिक क्षेत्रको उपल्लो निकायमा बस्दाका अनुभव प्रस्तुत गरेको छु। विदेशी विश्वविद्यालयमा पढ्दाका अविस्मरणीय क्षण समेटेको छु। मैले साहित्य, प्राध्यापन, अर्थशास्त्र र कूटनीतिक क्षेत्रमा रहेर काम गरें। त्यसैले यो कृति मेरो जीवनकालका यी चार विषयको एउटा दस्ताबेज हो।
तपाईं साहित्यकारका रूपमा स्थापित भइसकेपछि अर्थशास्त्रतर्फ लाग्नुएको रहेछ। कसरी?
अर्थशास्त्रमा एमए गरेपछि मेरो जीविकोपार्जनको क्षेत्र अर्थशास्त्र बन्न थाल्यो। थप अध्ययनअनुसन्धान गर्ने, अध्यापन गर्ने र विज्ञका रूपमा काम गर्ने अवसर यसमै मिल्यो। समाजमा अर्थशास्त्रीकै रूपमा चिनिन थालें। अनि साहित्य लेखन केही ओझेलमा पर्न थाल्यो। शतप्रतिशत साहित्य लेखनमा दक्षता हासिल गर्ने कल्पना पूरा हुन सकेन। गीत सिर्जनालाई भने निरन्तरता दिइरहें।
आफैंलाई खोज्दा केही छोपिएका केही उघारिएका’ कृति किन पढ्ने?
४५ वर्षसम्म शिक्षण पेसामा बिताएँ। अर्थशास्त्रीका रूपमा मुलुकको माथिल्लो तहमा विज्ञका रूपमा रहेर धेरै काम गरें। ती समयका महत्त्वपूर्ण प्रसंग पुस्तकमा छन्। मुलुकले चिनेका सेलिब्रटीहरू नारायण गोपाल, हरिभक्त कटुवाल, अम्बर गुरुङ, गोपाल योन्जनसँग मेरो ज्यादै निकटको सम्बन्ध थियो। उनीहरूका रुचि, आनाबानी तथा उनीहरूसँग बिताएका क्षण पुस्तकमा छन्। कतिपय प्रसंग यसअघि बाहिर नआएका पनि हुन सक्छन्। यी सबै कुरा जान्न पुस्तक पढ्न जरुरी छ।
याे पनि पढ्नुस् ः