काठमाडौं- अवैध गर्भपतन गराउँदा रुकुम पूर्वमा एक महिलाको मृत्यु भएको छ।
एक निजी अस्पतालले अवैध तरिकाले गर्भपतन गराउँदा रुकुम पश्चिम मुसिकोट नगरपालिका–८ काप्रिवासकी २६ वर्षीया पुष्पा घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ।
रुकुमकोटको छिप्रिदहस्थित रुक्मिणी अस्पतालमा गर्भपतन गराउने क्रममा साउन २० गते राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गजुसिद्धि बज्राचार्यले २२ हप्ताको गर्भपतन गराउँदा अत्यधिक रक्तश्राव भएपछि महिलाको मृत्यु भएको बताए।
अवैध तरिकाले गर्भपतन गराएको आरोपमा अस्पतालमा कार्यरत डाक्टर रुपेशकुमार सिंह र सिस्ने गाउँपालिका–४ दादिङका गणेश घर्तीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरुलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी बज्राचार्यले जानकारी दिए। पुष्पा दुई छोरीसहित रुकुमकोटमा बस्दै आएकी थिइन्।