काठमाडौं– प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनीसँग पछिल्लोपटक भेट गरेका सबैको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएको छ।
मन्त्री यादवले केही दिनअघि काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँग भेट गरेका थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेले कोरोना संक्रमण भएका व्यक्तिसँग दुई साताअघिसम्म सम्पर्कमा आएका व्यक्तिको कन्टयाक्ट ट्रेसिङ गर्नुपर्ने बताए।
मन्त्री यादवले प्रधानमन्त्री ओली, गृहमन्त्री थापा, सचिव न्यौपाने, महानिरीक्षक थापा क्षेत्री लगायतसँग भेट गरेको बिहीबार नौ दिन भएको छ।
मन्त्री यादव साउन १४ गते काठमाडौंमा आयोजित प्रहरी समायोजनसम्बन्धी समन्वय समिति बैठकमा सहभागी भएका थिए।
उनले बैठकमा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिवसहित प्रहरी महानिरीक्षकलाई भेटेर सामूहिक तस्बिर खिचाएका थिए। तर, त्यहाँ सहभागी कसैले पनि स्वास्थ्य सुरक्षाका लागि मास्क लगाएका थिएनन्।
बुधबार साँझ आएको रिपोर्टमा मन्त्री यादवलाई कोरोना संक्रमण पुष्टि भएको हो। आइतबार उनी काठमाडौंबाट फर्किएका थिए। संक्रमण पुष्टि भएका मन्त्री यादवमा लक्षण भने केही नदेखिएको बताइएको छ।
संक्रमित मन्त्री अस्पताल नगएर मन्त्री निवासमै आइसोलेसनमा छन्।
आफूमा कुनै प्रकारको लक्षण नदेखिएकाले घरमै आइसोलेसनमा बसेको उनले बताएका छन्। मन्त्री यादवले पनि आफ्नो सम्पर्कमा आएका सबैलाई पीसीआर परीक्षण गराउन अपिल गरेका छन्।
प्रदेश २ मा अहिलेसम्म ५ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २१ जनाको मृृत्यु भएको छ।
याे पनि पढ्नुस् :